नम्रता गुरागाईंको निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ लोकार्पण
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार पाटनढोका बहुमुखी क्याम्पसको डेनिस हलमा नम्रता गुरागाईंको निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. लेखप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाविद् तथा समालोचक प्रा. डा. माधवप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा साहित्यकार शान्ता मानवी, साहित्यकार, समालोचक, प्राज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
लोकार्पित निबन्धसङ्ग्रहमा २६ वटा निबन्ध समेटिएका छन्। १९७ पृष्ठको पुस्तकमा लेखिकाले नेपाल र अमेरिकाको परिवेश, व्यक्तिगत जीवनभोगाइ, पारिवारिक स्मृति, सामाजिक यथार्थ, संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गरेकी छन्। उनका निबन्धमा प्रवासको अनुभव, मातृभूमिप्रतिको आत्मीयता, महिलाका सङ्घर्ष, पारिवारिक सम्बन्ध तथा बदलिँदो सामाजिक जीवनका विविध पक्ष समेटिएका छन्।
कृतिमाथि टिप्पणी गर्दै प्रा. डा. गीता त्रिपाठीले नम्रताका निबन्धमा कोमल अनुभूति, प्रतिरोधी चेतना र सरल भाषामा गहन विचार अभिव्यक्त भएको बताइन्। उनका अनुसार निबन्धहरू आत्मपरक, आख्यानात्मक तथा संस्मरणात्मक शैलीमा लेखिएका छन्। व्यक्तिगत अनुभवका माध्यमबाट सामाजिक यथार्थ र स्वास्थ्य चेतनासमेत प्रस्तुत गरिएको उनले उल्लेख गरिन्।
समालोचक डा. फणीन्द्रराज निरौलाले सात समुद्रपारिको जीवनभोगाइलाई नेपाली भाषा–साहित्यमा अभिव्यक्त गरेर लेखिकाले योगदान पुर्याएको बताए। उनले कृतिमा प्रवास र मातृभूमिबीचको सम्बन्ध, बाल्यकालका स्मृति, पारिवारिक पीडा तथा सांस्कृतिक भिन्नताका अनुभव प्रभावकारी रूपमा प्रस्तुत भएको धारणा राखे।
प्रमुख अतिथि प्रा. डा. माधवप्रसाद पोखरेलले कृतिले भूगोलभन्दा पर पनि नेपाली पहिचान र जीवनभोगाइको महत्त्व उजागर गरेको बताए। लेखिकाले भोगेका अनुभव र संवेदनाले पाठकलाई आफ्नै जीवन तथा स्मृतिसँग जोड्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली भाषा, साहित्य र पठन संस्कृतिको विकासमा जोड दिँदै लेखिकालाई सिर्जनायात्राको निरन्तरताका लागि शुभकामना दिएका थिए। लेखिका नम्रता गुरागाईंले आफ्ना निबन्धले पाठकको मन छुन सक्ने विश्वास व्यक्त गर्दै प्रतिक्रिया र सुझावका लागि आग्रह गरिन्।
प्रतिष्ठानले नेपाली चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने परम्परालाई समेत निरन्तरता दिएको उक्त कार्यक्रममा कृतिको लोकार्पणसँगै निबन्ध विधा, प्रवासी जीवन र नेपाली साहित्यको समकालीन अवस्थाबारे चर्चा गरिएको थियो।