सिद्धार्थ आर्ट ग्यालरीको ३९औँ वार्षिकोत्सवमा ‘दैविक सौन्दर्य’ कला प्रदर्शनी

काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरीको ३९औँ वार्षिकोत्सवको अवसरमा ‘दैविक सौन्दर्य’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ। मंगलबार बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ३५ जना कलाकारका परम्परागत चित्र तथा मूर्तिकला राखिएका छन्।

द्वारिकाज होटल एन्ड रिसोर्टकी क्याटरिङ डाइरेक्टर सङ्गीता श्रेष्ठ र बबरमहल रिभिजिटेडका संस्थापक गौतम शमशेर जबराले संयुक्त रूपमा प्रदर्शनी उद्घाटन गरेका हुन्। प्रदर्शनीको क्युरेसन प्रदीप शाक्यले गरेका छन्।

प्रदर्शनीमा काठमाडौं उपत्यकाको परम्परागत कला सम्पदासँग सम्बन्धित हिन्दू तथा बौद्ध धर्मका विभिन्न देवीदेवताका चित्र र मूर्तिहरू समावेश छन्। धातु, काठ र ढुङ्गालगायत माध्यमबाट निर्मित कलाकृतिले नेपाली कला परम्पराको ऐतिहासिक वैभव प्रस्तुत गरेका छन्।

क्युरेटर शाक्यका अनुसार प्रदर्शनीले नेपाली कला परम्पराको लामो इतिहास, सीप, शैली र वैचारिक विविधतालाई उजागर गरेको छ। हिन्दू र बौद्ध परम्पराका कलाकृतिलाई एउटै स्थानमा प्रस्तुत गर्दै नेपाली समाजको सहअस्तित्व र धार्मिक सहिष्णुताको पक्षसमेत देखाउन खोजिएको उनले बताए। उनका अनुसार यी कलाकृति व्यक्तिगत प्रतिभाका उपज मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका पारिवारिक सीप र पुर्ख्यौली ज्ञानका अभिव्यक्ति पनि हुन्।

ग्यालरीकी संस्थापक सङ्गीता थापाले प्रदर्शनीले जीवन्त कला परम्परालाई उजागर गरेको बताइन्। नेपाली परम्परागत कलाका सांस्कृतिक, सामाजिक, धार्मिक तथा पर्यावरणीय पक्ष महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले ग्यालरीको ३९औँ वार्षिकोत्सवका अवसरमा नेपालको ऐतिहासिक कला वैभवलाई एकै ठाउँमा चिनाउने प्रयास गरिएको बताइन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रदर्शनीले नेपाली कला, धर्म, संस्कृति, भूगोल र जनजीवनबीचको सम्बन्धलाई उजागर गरेको बताए। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले प्रदर्शित चित्र तथा मूर्तिकलाले नेपाली सभ्यताको वैभवशाली इतिहासलाई चिनाउन सहयोग पुर्‍याएको धारणा राखे।

प्रदर्शनीमा कालु कुमाल, सिद्धिरत्न शाक्य, चन्द्रश्याम डङ्गोल, पाल्साङ्मो लामा, सुन्दर सिंख्वाल, प्रदीप शाक्य, जिग्मे तामाङ, उदय बज्राचार्यलगायत ३५ जना कलाकारका चित्र तथा मूर्तिकला राखिएका छन्।

कलाकार प्रकाश मिजारले प्रदर्शनी अवलोकनपछि अध्यात्म, इतिहास र कलाको संयोजनमा तयार भएको यस प्रदर्शनीले मौलिक ऐतिहासिक कलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा जोड दिएको बताए।

सन् १९८७ सेप्टेम्बर २७ मा काठमाडौंको कान्तिपथस्थित प्रताप भवनबाट सुरु भएको सिद्धार्थ आर्ट ग्यालरी सन् १९८९ मा बबरमहल रिभिजिटेडमा सरेको थियो। त्यसयता ग्यालरीले नेपाली कला क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ। संस्थापक सङ्गीता थापाका अनुसार यस अवधिमा देश तथा विदेशमा ग्यालरीको पहलमा ६०० भन्दा बढी कला प्रदर्शनी तथा गतिविधि आयोजना भइसकेका छन्।

‘दैविक सौन्दर्य’ प्रदर्शनीले नेपाली परम्परागत कलाको ऐतिहासिक महत्त्व र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै यसको संरक्षण र निरन्तरताबारे विमर्श गर्ने अवसर प्रदान गरेको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *