काठमाडौँ, असार २८ –
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा साहित्यकार खेमराज निरौलाद्वारा लिखित कथासङ्ग्रह ‘नयाँ युगका नयाँ कुरा’ को लोकार्पण तथा विशेष परिचर्चा शनिबार अपराह्न बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा सम्पन्न भयो।
प्रा. डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नु भयो भने सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभयो।
कार्यक्रममा माननीय मेनका पोखरेल, महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, प्रा.डा. देवी नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती प्रज्वलन गरेर गर्नु भयो। उपस्थित सम्पूर्ण विद्वत् व्यक्तित्वलाई सङ्घकी कोषाध्यक्ष गीता सापकोटाले स्वागत गर्नुभयो। त्यसपछि प्रमुख तथा विशेष अतिथि र अतिथिहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो।
सहप्रा. गोपाल न्यौपानेले कथासङ्ग्रहको सशक्त विश्लेषण प्रस्तुत गर्दै भने, “दुई मृगौला बिग्रिएपछि जीवनसङ्गिनीबाट जीवनदान पाएका निरौलाले पाँचौँ कृतिका रूपमा यो सङ्ग्रह ल्याउनु प्रेरणादायी छ।” उनले कथासङ्ग्रहलाई सामाजिक यथार्थको प्रखर चित्रणका रूपमा व्याख्या गर्दै समकालीन विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक दृष्टिकोण प्रकट भएको बताए।
डा. हरिप्रसाद सिलवालले कथासङ्ग्रहमा निरौलाको कविवृत्ति र निबन्धीय शैली झल्किएको बताउँदै कथाका शीर्षक र पात्र काव्यात्मक भए तापनि विषयसँगको मेल कतैकतै कमजोर रहेको टिप्पणी गरे। उनले कथामा सामाजिक, पारिवारिक विछोड, यौनिकता, शिक्षा, भ्रष्टाचार, राजनीतिक भ्रष्टता, वृद्ध–अवस्थाको पीडा, कोरोना महामारीको त्रासलगायत समसामयिक यथार्थ प्रभावकारी रूपमा चित्रित भएको बताए।
दुवै समालोचकले कथाकारको यथार्थवादी दृष्टिकोण र आलोचनात्मक यथार्थवादलाई सफल रूपमा उतारिएको निष्कर्ष दिएका थिए।
प्रा.डा. जीवेन्द्र देव गिरीले खेमराज निरौलालाई “नयाँ जीवन प्राप्त गरेर पनि पाँच कृति प्रकाशित गर्ने जोश र कर्मठता भएका स्रष्टा” भन्दै उच्च प्रशंसा गरे। उनले साहित्यमा जीवन–सत्यको चित्रण मात्र होइन, दिशानिर्देश दिने तत्वको पनि समावेश हुनु आवश्यक रहेको विचार राखे।
कथाकार खेमराज निरौलाले आफूले जीवनमा भोगेका संघर्ष र जीवनसङ्गिनी मातृका चापागाईं निरौलाको योगदानले आफू फेरि साहित्यमा फर्कन सफल भएको बताउँदै, “यो कथासङ्ग्रह मेरो जीवनको पुनर्जन्मपछिको अभिव्यक्ति हो,” भने।
अध्यक्ष नर्मदेश्वरी सत्यालले सामाजिक रूपान्तरणलाई उद्देश्य राखी लेखिने सशक्त कृतिहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै निरौलाको कथासङ्ग्रहले यथार्थ उजागर गर्दै विकृतिमाथि निर्मम प्रहार गरेको बताइन्।
कार्यक्रममा डा. गोविन्दप्रसाद आचार्य, डा. रमेश शुभेच्छु, खगेन्द्र चापागाईं, द्वारिकानाथ गौतम, फणीन्द्रराज निरौला, खगेन्द्र लुइटेल, आनन्द नेपाल, महेशराज खरेल, प्रशान्त खरेललगायत साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रमले साहित्य, समाज र जीवन–यथार्थबीचको सम्बन्धलाई उजागर गर्दै खेमराज निरौलालाई समसामयिक यथार्थका सशक्त कथाकारको रूपमा पुनःस्थापित गराएको सहभागीहरूको धारणा रहेको थियो।
