पारिजातका कृतिमाथि चित्रकला प्रदर्शनी

मैतीदेवीस्थित पारिजात स्मृति केन्द्रमा शुक्रबारदेखि ‘पारिजातका कृतिमाथि चित्रकला प्रदर्शनी’ सुरु भएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारहरूले चित्रकला सिर्जना गरेर नयाँ कामको थालनी गरेको बताए। उनले एक स्रष्टाको कृतिमाथि अर्को स्रष्टाले सिर्जना गरेको कलाकृतिले कलाकारहरूबीचको सिर्जनात्मक बुझाइको अन्तरसमेत उजागर गर्ने धारणा व्यक्त गरे।

प्रदर्शनीमा सहभागी कलाकार सौरगंगा दर्शनधारीले एक स्रष्टाको रचनामाथि अर्को स्रष्टाले कला सिर्जना गर्नु चुनौतीपूर्ण भए पनि त्यसले रचनाको मर्म र भावनाको गहिराइ बुझ्न सघाउने बताइन्। उनले भनिन्, “रङ र रेखामार्फत पारिजातका कृतिलाई कलाकारले न्याय गरेको अनुभव गरेँ।”

चित्रकला प्रदर्शनी र कलाकारका बारेमा जानकारी दिँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव देवेन्द्र थुम्केलीले स्रष्टाका कृति र रचनामाथि गरिएको चित्र सिर्जनाले नयाँ आयाम थपेको बताए। सामाजिक रूपान्तरण र जागरणमा यो कार्य फलदायी हुने विश्वास व्यक्त गर्दै उनले भने, “शब्दलाई रङ र रेखाका माध्यमबाट कलाकारले अर्को सिर्जनात्मक अभिव्यक्तिमार्फत प्रस्तुत गरी स्रष्टा–स्रष्टाबीचको सिर्जनात्मक बुझाइको अन्तरलाई केलाएका छन्।”

पारिजात स्मृति केन्द्र, पारिजातको कृतित्व र चित्रकलाबारे चर्चा गर्दै डा. महेश मास्केले पारिजातको कृतित्व र व्यक्तित्वलाई चिरस्थायी बनाउन कलाकारहरूले चित्र सिर्जनामार्फत महत्त्वपूर्ण योगदान दिएको बताए। उनले पारिजातको साहित्यिक योगदान, कृतित्व तथा साहित्य र चित्रकलाबीचको सम्बन्धबारे चर्चा गरे।

पारिजात स्मृति केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष सुकन्या वाइबाले पारिजातका कृतिमाथि चित्रकला सिर्जना गरेर कलाकारहरूले उनीप्रति न्याय गरेको बताइन्। केन्द्रका अध्यक्ष इन्दिरा दलीले कलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई उजागर गर्ने काम कलाकारहरूले गरेको बताइन्। डा. अमृता शर्माले सहजीकरण गर्दै समता, न्याय र प्रगतिवादका क्षेत्रमा पारिजातले पुर्‍याएको योगदानबारे चर्चा गरिन्।

नेपाली साहित्यमा विशिष्ट योगदान दिएकी स्रष्टा पारिजातका कविता, कथा, उपन्यास, आत्मसंस्मरणलगायतका कृतिमा केन्द्रित रहेर १६ जना कलाकारले चित्र सिर्जना गरेका छन्।

प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशव राज खनाल, डिबी भण्डारी, लीलाधर केसी, मोहन शिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकालका कलाकृति राखिएका छन्।

प्रदर्शनीमा आधुनिक समसामयिक, मिथिला, पर्वते तथा थाङ्का कला शैलीमा चित्रहरू सिर्जना गरिएका छन्।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *