प्रा. डा. माधवप्रसाद पोखरेललाई ५० हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
काठमाडौं। नेपाली भाषा विज्ञान, साहित्यिक निबन्ध र समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ विद्वान् प्रा. डा. माधवप्रसाद पोखरेललाई २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरिएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
विगत ४४ वर्षदेखि निरन्तर मासिक साहित्यिक गोष्ठी आयोजना गर्दै आएको साहित्य सन्ध्याले समसामयिक विषयमा बहस तथा छलफल गर्नुका साथै नेपाली प्रगतिवादी साहित्यमा योगदान पुर्याउने विभिन्न स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। साहित्य सन्ध्याको ४८१औँ विशेष शृङ्खलाअन्तर्गत असार २४ गते शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीस्थित लेखनाथ कक्षमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न समारोहमा प्रमुख अतिथिका रूपमा अंग्रेजी तथा नेपाली साहित्यका विद्वान् प्रा. डा. अभि सुवेदी उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको उपस्थिति थियो।
समारोहमा साहित्य सन्ध्याका सल्लाहकारहरू प्रा. डा. जीवेन्द्रदेव गिरी, प्रा. डा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, वासुदेव अधिकारी, प्रा. डा. देवी नेपाल, प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. माधवप्रसाद पोखरेल, प्राज्ञ विष्णु प्रभात, डा. हरिप्रसाद भण्डारी, प्रा. कोषराज न्यौपाने, प्रा. डा. लेखप्रसाद निरौला, साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल, डा. राजेन्द्रप्रसाद अधिकारी, सामाजिक रूपान्तरण अभियानका अभियन्ता केशव बडाल, महेशराज खरेल, डा. कृष्ण सुवेदी, गोपाल बराल, डा. फणीन्द्रराज निरौला, वरिष्ठ पत्रकार प्रकाश सिलवाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष नन्दु उप्रेती, प्रा. मोहनप्रसाद तिमल्सिना, डा. सुमन ढकाल, डा. नवराज रिजाल, तेजविलास अधिकारी र खेमराज निरौलालगायत साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति थियो।
समारोहको उद्घाटन प्रमुख अतिथिले दीप प्रज्वलन गरेर गरेका थिए। साहित्य सन्ध्याका सचिव जयन्ती स्पन्दनले उपस्थित अतिथि तथा सहभागीलाई स्वागत गरेकी थिइन्।
कार्यक्रममा प्रा. डा. हेमनाथ पौडेलले प्रखर समालोचक, चिन्तक, निबन्धकार तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे विस्तृत चर्चा गरेका थिए।
पुरस्कार छनोट र प्रा. डा. पोखरेलको योगदान
२०८२ सालको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान प्रदान गर्ने प्रयोजनका लागि साहित्य सन्ध्याका सल्लाहकार प्रा. डा. जीवेन्द्रदेव गिरीको संयोजकत्वमा जयन्ती स्पन्दन र गोपालकुमार मैनाली सदस्य रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएको थियो। समितिले सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व छनोट गरी सिफारिस गरेको थियो।
समारोहमा संयोजक प्रा. डा. गिरीले पुरस्कृत व्यक्तित्व प्रा. डा. माधवप्रसाद पोखरेलको व्यक्तित्व तथा कृतित्वबारे विस्तृत प्रकाश पारेका थिए। उनले नेपाली भाषा विज्ञानको क्षेत्रमा पोखरेलले गर्नुभएको अनुसन्धान, विद्यालयदेखि विश्वविद्यालय हुँदै अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्मको अध्यापन अनुभव र प्राज्ञिक योगदानको चर्चा गर्दै उहाँलाई नेपाली भाषा र नेपालको गौरवका रूपमा चित्रण गरेका थिए।
वि.सं. २००५ मङ्सिर ७ गते सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गंगाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मनुभएका प्रा. डा. माधवप्रसाद पोखरेल नेपाली वाङ्मयका वरिष्ठ भाषाविद्, प्रखर समालोचक तथा आत्मपरक निबन्धकारका रूपमा प्रतिष्ठित हुनुहुन्छ।
उहाँले पुणे विश्वविद्यालय, महाराष्ट्र, भारतबाट प्रा. भास्कर रावको गुरुकुलमा अध्ययन गरी विद्यावाचस्पति उपाधि प्राप्त गर्नुभएको हो। कोशविज्ञानलगायत विभिन्न विषयमा भारतका प्रतिष्ठित संस्थाबाट विशेषज्ञतासम्बन्धी तालिमसमेत लिनुभएको छ।
विश्वप्रसिद्ध भाषावैज्ञानिक नोम चोम्स्कीसँग मिनिमलिस्ट प्रोग्रामसम्बन्धी अध्ययन गर्नुभएका पोखरेलले जापानका भाषावैज्ञानिक शिवातानीसँग वाक्यविज्ञान र अर्थविज्ञान तथा माचुमोतोसँग संज्ञानात्मक अर्थविज्ञानसम्बन्धी अध्ययन गर्नुभएको छ। जापानको कोबे विश्वविद्यालयबाट ‘नेपाली तथा जापानी वाक्यव्याकरणको तुलनात्मक अध्ययन’ र ‘नेपाली र जापानी कोटिकारको अवधारणामा समानता’ विषयमा थप अनुसन्धानसमेत गर्नुभएको छ।
भारतको चाइना इन्टरनेसनल बेइजिङ तथा सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन ल्याङ्ग्वेजेज, मैसुरलगायत संस्थामा नेपाली भाषा विशेषज्ञका रूपमा समेत कार्य गर्नुभएका उहाँले नेपाली भाषाको अध्ययन र अनुसन्धानलाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत, जापानी, प्राकृत, पाली, चिनियाँ, कुसुन्डा, मराठी र सिंहलीलगायत भाषाको ज्ञान राख्नुहुने पोखरेलले झापाको लाप्चा र खोटाङको किराँती भाषाको अन्वेषणसमेत गर्नुभएको छ। उहाँले नेपालका ४० भन्दा बढी भाषाको स्थलगत अनुसन्धान गर्नुका साथै अलिखित अवस्थामा रहेका नेपाली भाषाका ६९ वटा लेख्य रूपसमेत तयार पार्नुभएको छ।
उहाँले तीन दर्जनभन्दा बढी विद्यावारिधि अनुसन्धानको निर्देशन गर्नुभएको छ। भाषाविज्ञान तथा समालोचनाका क्षेत्रमा दर्जनौँ गहन अनुसन्धानमूलक लेख प्रकाशित गर्नुभएका पोखरेलका अनुसन्धानले नेपाली भाषाको संरचना, व्याकरण, ध्वनि, शब्द र वाक्यविन्यासका विभिन्न पक्षलाई उजागर गरेका छन्।
नेपाली भाषामा द्विरुक्ति प्रक्रिया, सङ्ख्या र सार्वनामिक शब्दका आधारमा नेपाली भाषिकाको निर्धारण, क्रियाको रूप र तत्त्वका आधारमा नेपाली भाषिकाको अध्ययन, वाक्यतत्त्वका आधारमा नेपाली भाषिकाको सर्वेक्षण, उच्चारणका आधारमा नेपाली भाषिकाको निर्धारण, नेपाली र मैथिलीका पदसङ्गतिको तुलना, नेपालका भाषामा आत्मनेपद र परस्मैपदका व्यतिरेकी अध्ययन, नेपाली शब्दको आवृत्तिगणना, नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, गोर्खा भाषा व्याकरण चन्द्रिकाको भाषावैज्ञानिक अध्ययन तथा नेपाली भाषाका पारिभाषिक शब्दावलीलगायत विषयमा उहाँले महत्त्वपूर्ण अनुसन्धान गर्नुभएको छ।
नेपाल, भारत, जापान, चीन, स्विट्जरल्यान्ड, जर्मनी, अमेरिका र स्विडेनलगायत देशको भ्रमण गर्नुभएका पोखरेलका भाषाविज्ञान, निबन्ध र समालोचनासम्बन्धी दर्जनौँ कृति प्रकाशित छन्। ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ (पाँचवटा ठेली) लगायतका महत्त्वपूर्ण कृतिको उच्च बौद्धिकतापूर्ण सम्पादनसमेत गर्नुभएको छ।
‘मेरो मान्छे’ (२०५४), ‘नागदहको थिति’ (२०५९) र ‘गाग्रीको गाँठो’ (२०६२) उहाँका उच्च बौद्धिक विचार बोकेका चर्चित आत्मपरक निबन्धसङ्ग्रह हुन्। यी कृतिमार्फत उहाँले नेपाली निबन्ध परम्परालाई ओजपूर्ण र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ।
भाषाविज्ञानका साथै नेपाली निबन्ध र समालोचनाका क्षेत्रमा पुर्याउनुभएको अनुकरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै प्रा. डा. पोखरेललाई वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीद्वारा स्थापित ५० हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको हो।
गोविन्द भट्टको स्मृतिमा स्थापित पुरस्कारको महत्त्व
पुरस्कृत व्यक्तित्व प्रा. डा. पोखरेललाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको थियो भने विशिष्ट अतिथि गंगाप्रसाद उप्रेतीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले पुरस्कार राशि तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो।
विशिष्ट अतिथि गंगाप्रसाद उप्रेतीले साहित्य सन्ध्यासँगको सहकार्यमा गोविन्द भट्टका नाममा स्थापित पुरस्कार तथा सम्मान दोस्रोपटक प्रदान गरिएको बताउनुभयो। उहाँले गोविन्द भट्टलाई वैचारिक विद्यालयका रूपमा चित्रण गर्दै साहित्य सन्ध्याले कठिन र निरङ्कुश समयमा सप्तरीको राजविराजबाट भाषा संरक्षण अभियानका रूपमा सुरु गरेको साहित्यिक यात्राको चर्चा गर्नुभयो।
उहाँका अनुसार गोविन्द भट्टको प्रेरणाबाट सुरु भएको साहित्य सन्ध्याले समयक्रममा काठमाडौंमा साहित्यका माध्यमबाट रूपान्तरण अभियान सञ्चालन गर्दै निरन्तर मासिक कार्यक्रम आयोजना गरिरहेको छ। संस्थाले साहित्यिक प्रकाशनका साथै विभिन्न व्यक्तित्वसँगको सहकार्यमा सम्मानका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
गत वर्षदेखि गोविन्द भट्टको स्मृति दिवसकै दिन पारेर ५० हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गर्ने परम्परा सुरु गरिएको उहाँले बताउनुभयो। नेपाली साहित्यका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाको मूल्याङ्कन गरी सम्मान गर्ने परम्पराले साहित्यिक क्षेत्रलाई प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो।
उहाँले यस वर्ष सम्मानित प्रा. डा. माधवप्रसाद पोखरेल भाषाविज्ञान, निबन्ध र समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको विद्वान् भएकाले उहाँलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो।
उहाँले २०२५ सालमा झापाको धुलाबारीमा आयोजित विशेष वैचारिक गोष्ठीको स्मरण गर्दै त्यस कार्यक्रममा गोविन्द भट्ट र माधव पोखरेल दुवैको उपस्थिति रहेको उल्लेख गर्नुभयो। उक्त कार्यक्रम वैचारिक मानकीकरणको महत्त्वपूर्ण अवसर भएको र त्यहाँ सहभागी व्यक्तिका नाममा स्थापित पुरस्कार अर्को सहभागी व्यक्तित्वले प्राप्त गर्नु गौरवको विषय भएको उहाँको भनाइ थियो।
गोविन्द भट्ट र उहाँका विचार तथा साहित्यिक योगदानलाई स्मरण गर्दै उप्रेतीले माधव पोखरेलको योगदान थप उजागर हुँदै जाओस् भन्ने कामनासमेत गर्नुभयो।
प्रा. डा. अभि सुवेदीको मन्तव्य
समारोहका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले साहित्य सन्ध्याको चार दशकभन्दा लामो निरन्तर सक्रियता अनुकरणीय रहेको बताउनुभयो। सम्मानित व्यक्तित्व प्रा. डा. माधवप्रसाद पोखरेल नेपालका दुर्लभ तथा अथक अनुसन्धानमा संलग्न विद्वान् भएको उल्लेख गर्दै उहाँले वैदिक कालदेखि वर्तमान समयसम्म जोडेर आफ्नो अभिव्यक्ति र सन्दर्भलाई सार्थक बनाउन सक्ने सामर्थ्य राख्ने बताउनुभयो।
नेपालमा बोलिने भाषामध्ये आधाभन्दा बढी भाषाको ज्ञान राख्नु सामान्य उपलब्धि नभएको उल्लेख गर्दै उहाँले गोविन्द भट्टको लेखन क्षमताको पनि प्रशंसा गर्नुभयो। उहाँका अनुसार भट्टको लेखनले पाठकलाई आफ्नो चेतनाको संसारमा प्रवेश गराउने विशिष्ट क्षमता राख्थ्यो।
भट्टलाई मार्क्सवादी चिन्तकका रूपमा स्मरण गर्दै सुवेदीले मार्क्सवाद दर्शन मात्र नभई पार्टीभित्र वैचारिक प्रयोगका अनेक आयामसमेत भएको चर्चा गर्नुभयो। उहाँले भट्ट मार्क्सवादी सौन्दर्यशास्त्रीसमेत भएको उल्लेख गर्दै त्यस्ता व्यक्तित्वको अभाव अहिले खड्किरहेको बताउनुभयो।
उहाँले गंगाप्रसाद उप्रेतीलाई पनि देशका गुणग्राही व्यक्तित्वका नाममा अक्षयकोष स्थापना गर्नेजस्ता सत्कार्यका लागि विशेष धन्यवाद दिनुभयो। यस्ता महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई आफ्ना धारणा राख्ने अवसर प्राप्त भएकोमा उहाँले आभार व्यक्त गर्नुभयो।
हेमनाथ पौडेललाई पनि पारितोषिक
साहित्य सन्ध्याले यस वर्षदेखि विद्वान् व्यक्तित्वहरूले समय र मिहिनेत खर्च गरेर लेखेका अनुसन्धानमूलक सामग्रीको उचित मूल्याङ्कन गर्ने उद्देश्यसमेत अघि सारेको छ। विद्वान्हरूले लेख्नुपर्ने सामग्रीका लागि उचित पारिश्रमिक उपलब्ध गराउन नसकिने अवस्थालाई क्रमशः अन्त्य गर्दै न्यूनतम पारितोषिक प्रदान गर्ने र त्यस्ता सामग्रीलाई साहित्य सन्ध्याको मासिक प्रकाशनमा समावेश गर्ने योजना संस्थाले अघि सारेको छ।
यसै उद्देश्यअनुसार यसपटक प्रा. डा. हेमनाथ पौडेललाई पाँच हजार रुपैयाँ पारितोषिक प्रदान गर्ने निर्णय गरिएको थियो। समारोहमा प्रमुख अतिथिले उक्त पारितोषिक प्रदान गर्नुभएको थियो।
साहित्य सन्ध्याको चार दशक लामो यात्रा
समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याको स्थापना र यात्राबारे चर्चा गर्नुभयो। उहाँका अनुसार २०३३ सालमा राजविराजमा गंगाप्रसाद उप्रेतीलगायत व्यक्तित्वले नेपाली भाषाको संरक्षणका लागि साहित्यका माध्यमबाट अभियान सञ्चालन गर्ने परिकल्पना गर्नुभएको थियो।
उहाँहरू तथा त्यहाँ अध्ययनरत विद्यार्थी काठमाडौं आएपछि २०३९ पुस २ गते बुधबार नेपाल ल क्याम्पसको अनौपचारिक प्रारम्भिक समितिले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित वैचारिक अभियानको थालनी गरेको थियो। एक वर्षपछि वासुदेव अधिकारीलगायतले नेतृत्व गरेको आन्दोलनले निरन्तरता पाउँदै आएको छ।
संस्थाले हालसम्म ७८ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिसकेको छ। यसै क्रममा ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ दोस्रो विशिष्ट विद्वान् व्यक्तित्वलाई अर्पण गरिएको उहाँले बताउनुभयो।
संस्थाको लामो इतिहास निर्माणमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै उहाँले साहित्यिक अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, सल्लाहकार, अतिथि, सहभागी, सम्मानित व्यक्तित्व तथा स्रष्टा चयन समितिका पदाधिकारीप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।
अन्त्यमा अध्यक्ष राम विनयले सम्मानित व्यक्तित्व प्रा. डा. माधवप्रसाद पोखरेलले संस्थाको निर्णय स्वीकार गरी पुरस्कार तथा सम्मान ग्रहण गर्नुभएकोमा आभार व्यक्त गर्दै समारोह समापन गर्नुभएको थियो।