मितिः २०६८।१।३
रमेश पोखरेल
उपाध्यक्ष, साहित्य–सन्ध्या
साहित्य–सन्ध्याको ३०२ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनीमार्गमा ‘प्रगतिशील साहित्यको उत्थानमा साहित्य सन्ध्याको भूमिका’ विषयमा विशेष परिचर्चा एवम् कवि गोष्ठी सम्पन्न गरियो । ठीक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा वरिष्ठ प्रगतिवादी चिन्तक एवम् प्राज्ञ विष्णु प्रभात प्रमुख अतिथि हुनुहुन्थ्यो भने साहित्य सन्ध्याका सल्लाहकार द्वय वासुदेव अधिकारी र सह प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, वरिष्ठ कवि कणाद महर्षि, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव खगेन्द्र राई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । गोष्ठीको अध्यक्षता साहित्य सन्ध्याका अध्यक्ष श्री राम विनयले गर्नु भएको थियो ।
गोष्ठीको प्रारम्भ गर्दै ‘प्रगतिशील साहित्यको उत्थानमा साहित्य सन्ध्याको भूमिका’ विषयमा समालोचक एवम् सह प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले २०३७ मङ्सिरदेखि राजविराजबाट सुरु गरिएको साहित्य सन्ध्याका सुरुका सञ्चालकहरू नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान उपकूलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा केशवप्रसाद उपाध्याय, अनिरुद्ध तिमिल्सीना, शिशु देवकोटा प्रमुख हुनु हुन्थ्यो । सुरुमा नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्य राखेर स्थापना गरिएको यो संस्था करिब दुई वर्ष त्यहाँ सञ्चालन भएर सञ्चालकहरूको काठमाडौँ बसाईँ सराइसँगै संस्था पनि काठमाडौँ आएका र यहाँ आएपछि भने निरङ्कुशतन्त्रको समाप्ति र राजतन्त्रको अन्त्यको उद्देश्यले वैचारिक पार्टीको सामिप्यमा रहेर सञ्चालन हुन थालेको । साहित्य सन्ध्याले प्रगतिशील साहित्यको मात्र होइन समग्र नेपाली साहित्यको उत्थानमा महत्त्वपूर्ण योगदान गरेको, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना हुनु भन्दा पहिले २००९ सालमै प्रगतिशील लेखक सङ्घको स्थापना भएर क्रियाशील रहेको आधारमा हेर्दा राज्यले साहित्यको उत्थानका लागि संस्था स्थापना गर्नु अघि नै प्रगतिशीलहरू क्रियाशील भैसकेका र त्यही विचारबाट अभिप्रेरित भएर अगाडि बढेको साहित्य सन्ध्या नेपालमा क्रियाशील अन्य सबै संस्थाभन्दा बढी क्रियाशील रहेको सक्रिय संस्था हो । नेपालमा भएका प्रजातान्त्रिक अन्दोलनमा यसले सक्रिय सभहभागिता जनाएको छ । त्यसैको परिणाम स्वरुप संस्थाले आज ३०२ औँ कार्यक्रम सम्पन्न गरिरहेको छ भन्ने धारणा राख्नु भयो । साथै सन्ध्याले आफ्ना कार्यक्रमहरूमा गोष्ठी, छलफल, बहस, परिचर्चा जस्ता कार्यक्रम सम्पन्न गरेर स्रष्टाहरू समेतलाई क्रियाशील पारेको, थुप्रै हालका स्थापित स्रष्टाहरूलाई यस संस्थाले उत्पादन गरेको; पढ्ने, टिप्पणी गर्ने लगातार काम दिएर समालोचकहरू पनि उत्पादन गरेको छ । नेपाली प्रगतिवादी साहित्यमै रहेका दुइटा अलग अलग धारलाई पनि समन्वय गर्दै यस संस्थाले २०४२ सालदेखि राष्ट्रिय स्तरमा नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्य अनुरूप हालसम्म २६ जना स्रष्टा र एक मानव अधिकारवादी संस्था गरी २७ जना साहित्य सन्ध्या पुरस्कार तथा सम्मानद्वारा सम्मानित भैसकेका समेतको चर्चा गर्नु भयो । सबैलाई समेट्ने कुरामा सन्ध्याले अब सङ्कीर्णता राख्नु नहुने, प्रकाशनमा बढी सक्रिय हुनु पर्ने, संस्थाका गतिविधिलाई अभिलिखित गर्नु पर्ने, बालबालिका र उनीहरूको साहित्यलाई प्रोत्साहन गर्नु पर्ने सुझाव समेत दिनु भयो ।
प्रमुख अतिथि प्राज्ञ विष्णु प्रभातले प्रेक्षितले उठाउनु भएका सबै कुराहरूमा समर्थन जनाउँदै राष्ट्रियता र देशभक्तिपूर्ण चिन्तन सन्ध्याको अर्काे विशेषता हो । यसले सदैव राष्ट्रियतामाथि प्रहार भएका बेला खबरदारी गर्ने गरेको छ । हाल आएर लोकतान्त्रिक गणतन्त्रको पृष्ठपोषणमा जुटेको सन्ध्यामा आउने स्रष्टाहरूले पनि आफ्ना रचनाहरूमा निखार ल्याउँदै सन्ध्याको अभियानमा समर्पित हुने र रचनाका माध्यमबाट चेतना फैलाउने काम गर्नु पर्ने धारणा राख्नु भयो ।
गोष्ठीमा अतीन्द्र दाहाल, प्रतीत बर्दियाली, रमेश पोखरेल, गायत्री विष्ट, रमेशचन्द्र गौतम ‘पाल्पाली’, वासुदेव अधिकारी, गोपाल मैनाली, नर्मदेश्वरी सत्याल, भागवत आचार्य, बालकवि प्राञ्जल आचार्य, जयन्ती स्पन्दन, थरेन्द्र बराल, डिल्लीराज अर्याल, गोविन्द बराल, कणाद महर्षि, सुरेन्द्र पुलामी मगर, रामबहादुर पहाडी, पीताम्बर भण्डारी, प्रेम सिलवाल, प्रशान्त खरेल, जयन्ता पोखरेल, बालाकृष्ण अधिकारी, पुण्य गौतम ‘विश्वास’, बलराम विष्ट, गोविन्दप्रसाद आचार्य, नितु दाहाल, ऋषिराम अर्याल, हीराधन राई, ख्यालमान राई, खगेन्द्र राई, नारायण निराशी, सेढाइँजी कामदार, निरज घिमिरे, अर्जुन अन्योल र पूर्णविरामले आआफना कविता, गीत, गजल, हाइकु वाचन गर्नु भएको थियो । गोष्ठीको समापन गर्दै सभाध्यक्ष राम विनयले अर्काे पटक अर्के समसामयिक विषयमा विस्तृत छलफल गर्ने र कवि गोष्ठीको आयोजना गर्ने जानकारी दिनु भयो र सन्ध्याले यस्ता विशेष महŒवपूर्ण कार्यक्रमहरू गर्ने गरी वार्षिक क्यालेन्डर नै बनाएको जानकारी दिनु भयो ।