बालसाहित्य र प्रविधिबारे साहित्य सन्ध्यामा विशेष परिचर्चा

२०८२ साउन ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६५ औँ शृङ्खलामा ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशिष्ट अतिथिका रूपमा प्रा.डा.ध्रुवकुमार घिमिरे र कार्तिकेय घिमिरे उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्याल डा.राजेन्द्रप्रसाद अधिकारी, देवीप्रसाद घिमिरे, डा.गोविन्दप्रसाद आचार्य, चिन्तामणि सिवाकोटी, खेमराज निरौला, गङ्गा कर्माचार्य पौडेल, प्रलेस ललितपुरका सचिव मिसन अधिकारी, बैरागी जेठागायतको उपस्थिति रहेको थियो ।


‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा चर्चा गर्नुहुँदै विशिष्ट अतिथि कार्तिकेय घिमिरेले साहित्य सन्ध्याको यो लामो अनवरत यात्रामा विविध समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको संस्थाले आज ज्यादै महत्त्वपूर्ण विषयमा बहस गर्ने गरी आयोजना भएको यो विशेष समारोहमा आफ्ना धारणा राख्ने अवसरका लागि हार्दिक धन्यवाद दिन्छु । वर्तमानमा पर्याप्त बालसाहित्य लेखिएको पाइन्छ र लेखिएका साहित्यलाई रेकर्डिङ गर्ने, चित्रका माध्यमबाट अभिव्यक्त गर्ने, छायाङ्कन गर्नेलगायतका प्रविधिको प्रयोग गर्नथालिएको पाइन्छ । आजभन्दा बिस–पच्चिस वर्ष पहिलेदेखि नै भारतीय साहित्यकारहरूले प्रविधिको प्रयोग गरी नेपाली बालसाहित्यलाई पनि बालबालिकाका तहसमम पुर्याएकोसमेत पाइन्छ । नेपालीले बसोवास गर्ने विदेशी भूमिसम्म पनि बालसाहित्यलाई पुर्याउने र भाषा बचाउने प्रयासका रूपमा पनि प्रविधिको प्रयोग गर्नसकिन्छ र आवश्यक छ । सामाजिक सञ्जालको प्रयोगका माध्यमबाट र हालका दिनमा कक्षाकोठामै प्रविधिका माध्यमबाट बालसाहित्यका गीत, कथा, कविता पुर्याउने चलन स्थापित हुँदै गइरहेको छ । हाम्रो समाजमा बालशोषणदेखि अत्याचारसम्म हुने गरेका यथार्थलाई प्रविधिका माध्यमबाट उजागर गर्ने र सचेतना अभियान सञ्चालन गर्ने पनि प्रयास भइरहेका छन् । क्यानडाले १६ वर्षसम्मका बालबालिकाका लागि चाइल्ड एप बनाएर त्यसमा जोड्ने र बालोपयोगी सामग्री दिने कार्य गरेको छ भने चीनले बालमैत्री सामाजिक सञ्जालकै विकास गरेको छ । यस्ता मुलुकले अभिभावकलाई नै जिम्मेवारी दिएर बालबालिकाका लागि उपयोगी हुने सामग्री दिने वा उनीहरूलाई हेर्ने, पढ्ने व्यवस्थासमेत गरेका छन् । सामाजिक सञ्जालका नराम्रा पक्षबाट बालबालिकालाई कसरी बचाउने ? राम्रा कुराको ग्रहण कसरी गर्ने भन्ने विषयमा हामीकहाँ अलि बढी नै चुनौती पनि देखिएका छन् । त्यति हुँदाहुँदै पनि राम्रा राम्रा बालिसाहित्यका रचना पर्याप्त भएका÷आएका छन् तर साइबर अपराध पनि बढेको पाइएको छ । हाम्रा विद्यालयमा बालसाहित्यको राम्रो सदुपयोग हुननसकेको अवस्था पनि छ । बाहिरी मुलुकमा सरकारी सचेतना बढी पाइन्छ भने हामीकहाँ त्यसको न्यूनता रहेको छ । बच्चाको उमेरसमूहअनुसारका बालबालिकालाई लाभ पुग्ने सामग्रीभन्दा बाहेकका नकारात्मकता सिर्जना गर्ने सामग्रीलाई बन्देज गरी प्रविधिको पहुँच पुर्याउनु आजको आवश्यकता हो । सामग्रीको सही छनोट गर्ने, प्रयोगको समय यकिन गर्ने, प्रविधि उपलब्ध गराउने र ती सामग्रीलाई बालकको जीवनसँग, प्रकृतिसँग, व्यवहारसँग जोड्ने काम गर्ने हो भने बालसाहित्यले बालबालिकाको क्षमता अभिवृद्धिमा ठुलो भूमिका खेल्ने निश्चित छ । फेरि सबै कुरा सामाजिक सञ्जालबाट मात्रै दिनुपर्छ भन्ने मान्यता पनि आफैँमा ठिक होइन । प्रविधिको सही प्रयोग, ज्ञानबर्धक तथा सन्देशमूलक सही सामग्रीको छनोट आवश्यक हुन्छ । देशसुहाउँदा नागरिक तयार पार्ने कुरामा र बालबालिकाको सरोकारका कुरामा अन्य मुलुकभन्दा हामी अझै पनि पछाडि रहेका हुँदा यस्तो गम्भीर विषयमा सरोकारवालाको ध्यान जानु भने नितान्त आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहमा ओमप्रसाद कोइराला, प्रवीण जोशी, गोपाल नेपाल, बैरागी जेठा, डा.मनोज जोशी, शनि नेपाल, खेमराज निरौला, कुमार नेपाल, तिलप्रसाद न्यौपाने, महेशराज खरेल, बलराम विष्ट, कृतिका श्रेष्ठ, डा.राजेन्द्रप्रसाद अधिकारी, पोष चापागाईँ, नर्मदेश्वरी सत्याल, नवराज श्रेष्ठ, देबु लुइटेल, डा.फणीन्द्रराज निरौला, दीनेशराज खरेल, कार्तिकेय घिमिरे, गङ्गा कर्माचार्य पौडेल, चिन्तामणि सिवाकोटी, यदुनाथ वसन्तपुरे, डा.गोविन्दप्रसाद आचार्य, प्रशान्त खरेल, गोपालकुमार मैनाली, देवीप्रसाद घिमिरे, अर्जुन अन्योल र जयन्ती स्पन्दनले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।


विशिष्ट अतिथि प्रा.डा.ध्रुवकुमार घिमिरेले ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ विषयमा थप प्रकाश पार्नुहुँदै भोलिका हाम्रा साहित्यका पाठक भनेकै आजका बालबालिका हुन् । प्रकृतिकै गहिरो अध्ययन, अनुसन्धान गरिरहेको शास्त्र विज्ञान हो भने तिनै समग्र अनुसन्धानलाई आआफ्ना तरिकाले प्रयोग गरिने विधि चाहिँ प्रविधि हो । प्रविधिको गहन अध्ययन पनि विज्ञानले नै गर्दछ । विज्ञानलाई चित्रका माध्यमबाट वा अन्य माध्यमबाट ससाना बालबालिकासम्म पुर्याउन सकिन्छ त्यसैले बालसाहित्यका माध्यमबाट विज्ञासम्मत तथ्यहरू सम्प्रेषण गरिनुपर्दछ । बालकको रुचि जगाउने र रुचिकर पारेर तथ्यहरूलाई प्रस्तुत गर्नु आवश्यक छ । प्रविधिमैत्री सामग्री बालउपयोगी पनि, रुचिकर पनि र विज्ञानसम्मत पनि भए भने साँचो आर्थमा बालउपयोगी बन्नपुग्छन् तर त्यही प्रविधिको दुरुपयोग चाहिँ बालकका लागि मात्र होइन सबैका लागि हानिकारक हुन्छ भन्ने धारणा राख्नुभयो ।


वाचित रचनामाथि पनि समीक्षा गर्नुहुँदै विशिष्ट अतिथि प्रा.डा.ध्रुवकुमार घिमिरेले आजको यो विशेष समारोहमा बालकविता, प्रौढकविता, लघुकथा, साइनो कविता हामीले सुन्यौँ । कवितामा बन्दी जीवन र स्वतन्त्र जीवनको तुलना गर्दै स्वतन्त्रताका पक्षमा वकालत गरिएको छ । कवितामा राष्ट्रियताका भाव आएका, समसामयिक विद्रोही स्वर पनि मुखरित भएको पाइएको छ । प्रतीकात्मक शैलीमा हाम्रो गौरवशाली संस्कृतिका बारेमा प्रकाश पारिएको छ । स्वदेशप्रेमको भाव उजागर गर्ने र प्रजातन्त्रको लामो सङ्घर्ष अनि जनअपेक्षा पूरा नभएका पक्ष पनि कवितामा आएका छन् । मुलुक र लोकतन्त्र जोगाउने दायित्वबोध गर्नुपर्ने सन्देश पनि कवितामा आएको छ । विभिन्न क्षेत्रमा जरो काट्ने र अवरोध सिर्जना गर्ने मुसा प्रवृत्ति देखिएकोमा कवितामा चिन्ताभाव व्यक्त गरिएको छ । युवापलायनको बाध्यात्मकताका प्रति पनि कटाक्ष गरिएको छ र रोक्नसक्नुपर्ने सन्देश सम्प्रेषण गरिएको छ । हाम्रा विगतदेखिका मानसकिता र कुपरम्परा बदल्न नसकिएको पीडाभावसहित नयाँपुस्तालाई त्यो जिम्मा लिने आग्रह पनि कवितामा आएको छ । नियात्राकविताका माध्यमबाट प्राकृतिक सुन्दरताको बयान गरिएको छ । गणतन्त्रको रक्षा गर्नुपर्ने, समय खेर फाल्ननहुने, देश फर्कन आह्वान गरिएका सन्देश दिने कविता पनि वाचित भएका छन् । स्वर्ग र नर्कको भ्रमका विरुद्धका वैचारिक कविता वाचित भएका र बालकलाई हेलाँ गरेर शब्द प्रयोग गरिनुनहुने, देशको माया गर्नुपर्ने, गाउँले र सहरिया बालकको तुलना गरिएकासमेतका कविता वाचित भएका छन् । न्याय नपाउनुको पीडा कवितामा उजागर गरिएको छ । समसामयिक विषयवस्तुका सिर्जना सुनिएको र बालसाहित्यका बारेमा निकै महत्त्वपूर्ण बहस गरिएको आजको यो विशेष समारोहमा बालबालिकाको उल्लेख्य सङ्ख्या उपस्थित गराउनसकिएको भए निकै फलदायी हुने थियो भन्ने लागेको छ । साहित्य सन्ध्याले वर्षमा कम्तीमा एकपटक भए पनि बालसाहित्यजस्तो गम्भीर विषयमा छलफल गर्ने, बहस गर्ने र सरोकारवालाको ध्यानाकृष्ट गराउने प्रयत्नलाई निरन्तरता दिइरहेकोमा भने आपूmलाई ज्यादै खुसी लागेको छ भन्ने धारणा राख्नुभयो ।


सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ भने कुनै न कुनै महत्त्वपूर्ण विषयमा हरेक महिना बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेको छ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा भने ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’जस्तो गहन एवम् महत्त्वपूर्ण विषयमा विशेषज्ञ व्यक्तित्व प्रा.डा.ध्रुवकुमार घिमिरे र कार्तिकेय घिमिरेबाट विशद परिचर्चा भएको छ । वाचित रचनामाथि पनि प्रा.डा.ध्रुवकुमार घिमिरेले नै मसिनोगरी समीक्षा गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो, सबै सबै गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *