बाल साहित्य सृजना र पठन बारे गोष्ठी

काठमाडौँ, २०७२ असार १६ ।
नेपाल प्रज्ञाप्रतिष्ठान साहित्य (लोक वार्ता र बाल साहित्य) विभागको आयोजनामा बाल साहित्य सृजन र पठन संस्कृतिको विकास’ विषयक विचार गोष्ठी सम्पन्न भयो ।

image

गोष्ठीको आरम्भमा प्रमुख अतिथि बाल साहित्यकार शान्तदास मानन्धरले बाल कविता वाचन गर्नु भएको थियो । मानन्धरले बाल साहित्य बालकको निम्ति लेखिएको हुनुपर्ने’ बताउँदै बाल बालिकाको मानसिकता अनुरुप बाल साहित्य सृजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गोष्ठीमा पूर्व कुलपति वैरागी काइँलाले विशेष अतिथिको मन्तव्य प्रस्तुत गर्दै यस गोष्ठीले बाल साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले समाजलाई सुन्दर बनाउन समयमै केटाकेटीको मनोवृत्तिमा सुन्दर भाव जगाउने दृष्टिले कार्य गरेमा नेपाली समाज सुन्दर हुने विश्वास व्यक्त गर्नुभयो ।

image

मन्तव्यकै क्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा बाल साहित्यको मूल्याङ्कन र सर्वेक्षणको आवश्यकता औँल्याउँदै बाल साहित्य लेखनको परम्परा राम्रो बसेको बताउनु भयो ।

गोष्ठीमा सहभागी सबैलाई स्वागत गर्दै उपकुलपति विष्णु विभु घिमिरेले साहित्यका माध्यमबाट बालकलाई असल नागरिक बनाउन मद्धत पुग्दछ भन्नु भयो । यसैगरी सदस्य सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले उपस्थित विद्वान् विदुषी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विभागीय प्रमुख तथा गोष्ठीका संयोजक प्राज्ञ नर्मदेश्वरी सत्यालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै बाल बालिकालाई सफल र योग्य नागरिक बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले बालहत्या’ शीर्षकको कविता समेत वाचन गर्नु भएको थियो ।

image

मन्तव्यकै क्रममा प्रा.डा. सुषमा आचार्यले समाज र घर परिवारबाट नै बालबालिकामा छाप पर्ने हुँदा साहित्यले बालकको व्यक्तित्वमा ऐना जस्तो छर्लङग देखाउन सक्नु पर्ने बताउनु भयो ।

बालकवि निहारिका अधिकारीद्वारा कवि दुर्गालाल श्रेष्ठको सडक छापे सानो भाइ’ शीर्षक कविता बाचन गरिएको गोष्ठीमा प्रा.डा. महादेव अवस्थी र प्रा.डा. रमेश भट्टराईले क्रमशः बालकविता सृजन, सम्पादन र प्रकाशन’ एवम् बाल बालिकामा पठन संस्कृतिको विकास’ शीर्षकमा दुईवटा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमाथि समीक्षा गर्दै प्रमोद प्रधानले कार्यपत्रमा बाल साहित्य लेखनको ऐतिहासिक सन्दर्भ नपरेको उल्लेख गर्नु भयो । अर्का समीक्षक प्रा.रञ्जुश्री पराजुलीले कार्यपत्रमा बाल साहित्य सिर्जनामा बाल बालिकाको उमेरगत रुचिलाई ख्याल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न कोणबाट जिज्ञासा प्रस्तुत गर्नु भएको थियो । जिज्ञासा प्रस्तुत गर्नेहरूमा श्री राम शर्मा, लक्ष्मी एडी, भिक्टर प्रधान, उर्मिला पन्त र प्रा.डा. हेमाङ्गराज अधिकारी हुनुहुन्थ्यो ।

प्रा.डा. चूडामणि बन्धुले गोष्ठी समापन मन्तव्यका क्रममा प्रज्ञाप्रतिष्ठानले बाल साहित्यका क्षेत्रमा समेत कार्य आरम्भ गरेकामा खुसी व्यक्त भन्नुभयो ।

गोष्ठीमा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभासदहरू, बाल साहित्यका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका पदाधिकारी एवम् विभिन्न क्षेत्रका विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *