बौद्ध दर्शनमा सामाजिक चिन्तन विषयक गोष्ठी

काठमाडौं, असार ११ । नेपाल प्रज्ञाप्रतिष्ठान (दर्शनशास्त्र विभाग र लुम्बिनी विश्व विद्यालयको संयुक्त आयोजनामा  बौद्ध दर्शनमा प्रतिपादित समाजिक चिन्तन’ विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।

image

दर्शन शास्त्र विभागका प्रमुख प्रा.डा. दिनेशराज पन्तको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध जीवन पद्धती हामी नेपालीहरूको महत्वपूर्ण पक्ष हो र यसलाई हामीले भन्दा अझ बढी संसारका अरू देशमा महत्व दिइँदै आएको बताउनु भयो । सामाजिक विग्रहको वर्तमान अवस्थामा शान्तिको निम्ति बौद्ध दर्शनले दिएको योगदान विशिष्ट खालको छ । प्रज्ञा प्रतिष्ठान र लुम्बिनी विश्व विद्यालय बीच सहकार्य गर्दै हामी बुद्ध दर्शनसँग सम्बद्ध विषयमा शोध अनुसन्धानका अघि बढ्न सक्छौँ’ उप्रेतीले भन्नु भयो ।

गोष्ठीमा विशिष्ट अतिथि लुम्बिनी विश्व विद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले यस कार्यक्रम मार्फत बुद्ध दर्शनमा सामाजिक चिन्तन छ कि छैन भनेर केलाउने प्रयत्न गरिएको बताउनु भयो । उहाँले बुद्धले समकालीन समाजको अध्ययन गरेका थिए र समाजको व्यवहारको अध्ययन गरेका थिए भन्दै तत्कालीन समाजमा मिथ्या दृष्टि व्याप्त भएकाले सम्यक दृष्टि अघि सार्दै समाजलाई नयाँ बाटोमा लैजाने प्रयत्न गरेको उल्लेख गर्नु भयो ।

गोष्ठीमा वाल्मिीकि विद्यापीठ, बौद्धदर्शन विभागका विभागीय प्रमुख काशीनाथ न्यौपानेले बौद्ध चिन्तनमा प्रतिबिम्बित समाज दर्शन’ विषयक कार्यपत्र पस्तुत गर्दै जातिवादमा बुद्धको दृष्टि, नीच या उच्चको आदर्श, मूलभूत आदर्श बुद्धचिन्तनको आर्थिक आयाम, शैक्षिक आयाम आदिबारे प्रकाश पार्नु भएको थियो ।

बौद्धधर्म र समाज शास्त्रीय चिन्तन ः एक अध्ययन’ शीर्षकमा अर्को कार्यपत्र प्रस्तुत गर्दै बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिवि कीर्तिपुरका डा. सुरेन्द्रमान बज्राचार्यले बौद्धकालीन समाज, बुद्धले खोजेको समाज, बौद्धधर्म र समाजशास्त्र, बौद्ध दर्शनमा समाजशास्त्रीय चिन्तन बारे प्रकाश पार्नु भयो ।

image

कार्यपत्रमाथि समीक्षा गर्दै डा.कवीन्द्र बज्राचाचार्यले कार्यपत्र स्तरीय र विश्लेषणमूलक रहेको बताउनु भयो । छलफल सत्रमा तत्क्षेत्रका विभिन्न विद्वान्हरू आचार्य नोर्बु शेर्पा, प्रा.डा. इन्दिरा जोशी, शितल गिरी, शनतकुमार वस्ती, विद्यानाथ उपाध्याय, हरिप्रसाद सोडारी, डा. मिलन शााक्य,  नित्यलाल पाण्डे, नारायण प्रसाद गौतम, पदम प्रसाद भिक्षु बोधिया, निर्मल श्रेष्ठ, इन्द्र काफ्लेले कार्यपत्रका विविध पक्षमाथि जिज्ञासा एवम् टिप्पणी गर्नु भएको थियो ।

कुलपतिद्वारा दीप प्रज्वलन गरी आरम्भ भएको कार्यक्रमा सदस्य सचिव प्रा.डा जीवेन्द्र देव गिरीले स्वागत मन्तव्य दिनु भएको थियो भने बौद्ध मन्त्र वाचन गरिएको थियो । डा. भद्ररत्न बज्राचार्यले धन्यवाद ज्ञापन र प्रा.डा. दिनेशराज पन्तले समापन मन्तव्य दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *