मोहन विक्रम सिंहलाई युद्धप्रसाद स्मृति पुरस्कार

कविवर युद्धप्रसाद मिश्रको २३ औँ स्मृति दिवसको अवसरमा फागुन ६ गते मङ्गलवार अपराह्न ३ बजे नेपाल ल क्याम्पसको सभाकक्षमा नेपाली प्रगतिवादी साहित्य एवम् वामपन्थी राजनीतिका अग्रज व्यक्तित्व मोहनविक्रम सिंहलाई ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।

मिश्र प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहको सञ्चालन मिश्र प्रतिष्ठानका सदस्य डा.नारायण गड्तौलाले गर्नु भएको थियो भने प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसाल उपस्थित हुनु हुन्थ्यो अन्य अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, कविवर मिश्रसँग नजिकबाट सङ्गत गर्ने गोविन्द ज्ञवाली, प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ के.के.कर्माचार्य, साहित्य सन्ध्याका अध्यक्ष राम विनय र मोहनविक्रम सिंहकी जीवन सङ्गिनी दुर्गा पौडेल उपस्थित हुनु हुन्थ्यो ।
कविवर मिश्र तथा सहिदको सम्झनामा एक मिनेट मौन धारण गरी आरम्भ गरिएको उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरू तथा सम्पूर्ण स्रष्टालाई डिल्लीराज अर्यालले शब्द स्वागत गर्नु भएको थियो भने वरिष्ठ कवि एवम कविवर मिश्रसँग केही समय सङ्गत गर्ने अवसर प्राप्त गरेका जगन्नाथ आचार्यले कविवर मिश्रका केही कविता वाचन गर्नु भएको थियो ।

अग्रज स्रष्टा एवम् वरिष्ठ राजनीतिज्ञ मोहनविक्रम सिंहको व्यक्तित्वका बारेमा भगवानचन्द्र ज्ञावलीले विस्तृत रूपमा चर्चा गर्नु हुँदै २००९ सालअघिसम्म वामपन्थी राजनीतिमा नरहनु भएका सिंहले २००९ सालमा राहुल सांकृत्यायनसँग भेट गरेपछि कम्युनिस्ट विचारधाराप्रति आकर्षित हुनु भएको, अनुवाद साहित्य, समालोचना तथा सौन्दर्य चिन्तनका क्षेत्रमा समेत दख्खल राख्नु भएको समेतका बारेमा प्रकाश पार्नु भयो । पार्टीको निर्णयानुसार सार्वजनिक समारोहमा सम्मान ग्रहण नगर्ने भनी आफ्नो प्रतिनिधि पठाउनु भएका सिंहकी जीवन सङ्गिनी दुर्गा पौडेलले सिंहद्वारा प्रेशित लिखित मन्तव्य समारोहमा पढेर सुनाउनु भयो । कविवर मिश्रसँग लामो सङ्गत गर्नु हुने गोविन्द ज्ञवालीले अभावका बिच पनि त्यो समयमा काम गर्दा सुखानुभूति हुने गथ्र्याे तर अहिले समय फेरिएको छ, राजनीति फेरिएको छ, हामीले ढाल्नु पर्ने भनेको व्यवस्था पनि ढलेको छ तर जनताको जन जीविकामा तात्विक अन्तर आउन सकेको छैन र समग्रमा आजको समय सुखद हुन सकेको छैन, कविवर मिश्रको सपना जस्तो समाज बनाउन सकिएको छैन भन्ने धारणा राख्नु भयो ।

डा.बालचन्द्र मिश्रले मिश्र प्रतिष्ठान स्थापना तथा अक्षय कोष स्थापनाका बारेमा प्रकाश पार्नु भयो । प्रमुख अतिथि भैरव रिसालले कविवर मिश्र निष्ठा र इमानका धरोहर हुनु भएको धारणा राख्दै यस्तो गरिमामय समारोहमा प्रमुख अतिथि हुन पाएको र साहित्य तथा राजनीतिका शीर्षस्थ व्यक्तित्वलाई सम्मान गर्न पाएकोमा खुसी लागेको भन्नु हुँदै कार्यक्रमको व्यवस्थापनका पक्षमा केही सुझाब समेत दिनु भयो । समारोहका अध्यक्ष वासुदेव अधिकारीले २००८ सालदेखि अथक साधना गर्ने वरिष्ठ नेता एवम् स्रष्टा मोहनविक्रम सिंहलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको धारणा सहित समारोहमा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।

त्यसै गरी फागुन ७ गते बुधवार मिश्र प्रतिष्ठानले मिश्र सङ्ग्रहालय चरखण्डी, भक्तपुरसम्म दुइटा बसमा काठमाडौँबाट स्रष्टाहरूलाई लगी कविवर युद्धप्रसाद मिश्र स्मृति पुरस्कार तथा सम्मानबाट सम्मानित वरिष्ठ स्रष्टा एवम राजनीतिज्ञ मोहनविक्रम सिंहसँग अन्तरक्रिया तथा सङ्ग्रहालयको अवलोकन समेतको कार्यक्रमको आयोजना गर्यो । मिश्रको सालिकमा माल्यार्पण गरी थालिएको उक्त कार्यक्रमको पनि अध्यक्षता मिश्र प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीले गर्नु भएको थियो भने सञ्चालन डा.बालचन्द्र मिश्रले गर्नु भएको थियो । मोहनविक्रम सिंह नै प्रमुख अतिथि रहनु भएको उक्त विशेष समारोहमा उहाँले विचारको निरन्तरता र विचार तथा व्यवहारको तादात्म्य सबैभन्दा बढी आवश्यक भएको, स्वार्थ प्रेरित भएर राजनीतिमा लाग्नेहरू स्खलित हुने, २०१० सालमा आफू नेपाल कम्युनिस्ट पार्टीमा आएको, कथा तथा उपन्यास पनि लेखेको तर हराएका, कविता आफ्नो रुचिको विषय भएको, नाटक पनि रुचिकै विषय रहेको, साहित्य र राजनीतिको अन्तरसम्बन्ध हुने, आफूले पढेका अधिकांश साहित्यकारमध्ये कविवर मिश्रका कवितामा विचलन विरुद्धको सन्देश ज्यादै प्रवल रहेको पाएको धारणा राख्नु भयो । उहाँको धारणापछि प्रा.डा.कृष्णबहादुर थापा, प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, राम विनय लगायतले सिंहसँग अन्तरक्रिया गर्नु भएको थियो ।  त्यसपछि मिश्रको जन्मस्थान चरखण्डीको खोँचको अवलोकन भ्रमण समेत गरी साँझ सबै जना दुइटै गाडीमा काठमाडौँ फर्केका थिए । कार्यक्रम अत्यन्त व्यवस्थित, उपलब्धिमूलक भएको टिप्पणी सहभागीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *