वरिष्ठ प्रगतिवादी साहित्यकार, कवि एवम् प्राज्ञ प्रा.जगत् उपाध्याय प्रेक्षित’को एकल कविता वाचन सम्पन्न

रमेश पोखरेल
मितिः २०७३।३।१०

असार १० गते शुक्रवार अपराह्न ठिक ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको अविरल जन साहित्य यात्रा’को २७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार, कवि एवम् प्राज्ञ जगत् उपाध्याय प्रेक्षित’का एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त उद्देश्यमूलक विशेष समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव विनोद मञ्जनले गर्नु भएको थियो । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व सम्माननीय प्रधान मन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी अतिथिहरूमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, प्राज्ञ डा.अमर गिरी, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.प्रमेश्वर कापडी, डा.हरिप्रसाद पोखरेल, समालोचक हेमनाथ पौडेल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, सचिव कृपाराम धमला, सहकोषाध्यक्ष जङ्ग पहाडी, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा.जगमान गुरुङ, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादबप्रकाश लामिछाने र सङ्गठनका पूर्व अध्यक्ष विजय सिलवाल, वरिष्ठ कवि अनिल पौडल र उमेश उपाध्याय, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, प्राज्ञ उदय श्रेष्ठ, प्राज्ञ माधव प्रधान, पेसागत मासङ्घका उपाध्यक्ष प्रेमल खनाल, प्राज्ञ पवित्रा घर्ती, प्रा.डा.इन्दु आचार्य, डा.रामप्रसाद ज्ञवाली, राममणि ढुङ्गेल, डा.भोलानाथ पोखरेल उपस्थित हुनु हुन्थ्यो ।

हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो शृङ्खलाको सत्ताइसौँ शृङ्खला सञ्चालन गर्न लागिएको, यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरि दिनका लागि कवि, गतिकार एवम् पूर्व सम्माननीय प्रधान मन्त्री झलनाथ खनालज्यूलाई अनुरोध गरिएको र आइ दिनु भएर हौसला प्रदान गरि दिनु भएको, कम्युनिस्टहरूले योजना आयोग र लोकसेवा आयोग जस्ता संस्थाहरूको परिकल्पना गरेर जनतामा राम्रा योजना पुर्याउने र जनताबाटै स्वच्छ प्रतिस्पर्धा गराएर राम्रा मान्छे छान्ने जस्ता सत्कार्य गरेको दृष्टान्त राख्दै यो पनि सत्कार्य रहेको चर्चाका साथ विशेष समारोहका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यूहरू, कवि नायक प्रा.जगत् उपाध्याय प्रेक्षित’ एवम् वाचन सहयोगी कविहरू डिल्लीप्रसाद पाण्डेय, रमेश शुभेच्छु, सुदेश सत्याल, शर्मिला गिरी र देवकुमारी लुइटेललाई माला एवम् खादा लगाइ दिएर स्वागत गरि दिन अध्यक्ष राम विनयलाई कार्यक्रम सञ्चालक विनोद मन्जनले आग्रह गर्नु भयो  । त्यसै गरी प्रमुख अतिथि पूर्व प्रधान मन्त्री झलनाथ खनालले समारोहका कवि नायक प्रा.जगत् उपाध्याय प्रेक्षित’लाई सम्मान पत्र अर्पण गर्नु भयो ।
कवि जगत् उपाध्यायको व्यक्तित्वमाथि चर्चा गर्नु हुँदै जन साहित्यिक मञ्च, नेपाल काव्य विभाग संयोजक डा.विन्दु शर्माले २०२५ चैत्रमा दैलेखको दुल्लुमा जन्मिएका जगत् उपाध्यायले २०४५ देखि साहित्य सिर्जना गरेका, हालसम्म विभिन्न विधाका दुई दर्जन पुस्तक प्रकाशित भइ सकेका र एक दर्जन प्रकाशोन्मुख रहेका, उनको कवि व्यक्तित्व पमुख रहेको, अकिङ्चन’, समयका छालहरू’ कविता सङ्ग्रह र एक खण्डकाव्य प्रकाशित रहेका, कवितामा स्पष्ट रूपमा समकालीन समय चेत अभिव्यक्त भएको, सङ्क्रमणकालीन वर्तमानका कारण जनताले हाल प्राप्त गरेका हक अधिकार फेरि खोसिन्छन् कि भन्ने सन्त्रास र चिन्ता रहि रहेको, सामाजिक रूपान्तरणको अग्रगामी चेतना अभिव्यक्त भएको, सामाजिक रुढिको विरोध गरिएको, प्राकृतिक विम्बको प्रयोग गरिएको समेतका कारणले कविता शक्तिशाली रहेका छन् । त्यसै गरी बाल साहित्यका क्षेत्रमा पनि बाल बालिकाको चेतना प्रस्फुटन गराउने क्षमताका साथ सिर्जना गरिएकाले बाल साहित्यकार व्यक्तित्व समेत उत्कृष्ट देखिएको; समालोचक व्यक्तित्व झनै खरो देखिएको, अध्ययनको विषय न्याय दर्शन रहेका कारण पनि तार्किकता ज्यादै सशक्त रहेको, पाँच ओटा पुस्तकहरूको सम्पादन र डेढ दर्जन साहित्यिक पत्रिकाको सम्पादन गरेका कारण सम्पादक व्यक्तित्व पनि प्रखर देखिएको; तिन ओटा कृति अनुवाद गरेबाट अनुवादक व्यक्तित्व समेत स्थापित भएको’ जस्ता यी सबै सक्रियताका कारण धेरै सम्मान तथा पुरस्कार प्राप्त भएका समेतको जानकारी दिनु भयो ।

समारोहका कवि नायक प्रा.जगत् उपाध्याय प्रेक्षित’ले माधव घिमिरेको प्रकृति प्रेम, युद्धप्रसाद मिश्रको क्रान्तिकारिता र नेत्रलाल अभागीको समाज निर्माणका लागि सामाजिक रूपान्तरण आवश्यक छ भन्ने चेतनाका कारण आफूलाई साहित्य सिर्जनाको क्षेत्रमा लाग्न प्रेरणा प्राप्त भएको, २०४६ अघिका आफ्ना सिर्जना जोगाउन नसकेको र त्यसपछिका सिर्जनामध्येबाट छानेर आज प्रस्तुत गर्न लागेको, इमान र स्वाभिमानको जगेर्ना गर्दै वैचारिक यात्रामा र रूपान्तरणको अभियानमा अविच्छिन्न लाग्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको, हाम्रो यात्रा अग्रगमन र राष्ट्र निर्माणका लागि हुनु पर्छ भन्ने मान्यता राखेर लेख्दा र बोल्दा छुच्चोपनको आरोप समेत भोग्नु परेको, आफूले आमाको माया नपाएको र मित्रहरूबाट समेत यदाकदा मानवीय संवेदनाको व्यवहार नपाउँदा असलको खोजी सिर्जनाका माध्यमबाट गर्ने गरेको पृष्ठभूमिका साथ अनुष्टुप छन्दको आस्था’ शीर्षकको, तोटक छन्दको अब बेर भयो’ शीर्षकको (२०५६÷५७ तिर लेखिएको), मध्य रातमा’ गद्य कविता गरी तिन ओटा सशक्त कविता वाचन गर्नु भयो । वाचन सहयोगी कविहरू कविका आफ्नै दाजु डिल्लीप्रसाद पाण्डेयले मन्दाक्रान्ता छन्दको हाम्रो यात्रा’ शीर्षकको, कवि रमेश शुभेच्छुले भुजङ्गप्रयात छन्दको ‘बिहानी नयाँ त्यो यहाँ बाँच्नु पर्छ’ शीर्षकको र उपजाति छन्दको मातृभूमिको अभिव्यञ्जना’ शीर्षकका दुइटा, प्रखर युवा कवि सुदेश सत्यालले उपजाति छन्दको देशभक्त’ शीर्षकको, शार्दूलविक्रीडित छन्दको छोड्देऊ मार्न र बाँच्न देऊ’ शीर्षकको र अनुष्टुप छन्दको उज्यालोतिर’ शीर्षकका तिन ओटा; कवि शर्मिला गिरीले पञ्चचामर छन्दको मलाई देश चाहियो’ शीर्षकको र कवि देवकुमारी लुइटेलले अनुष्टुप छन्दको के दिऊँ शुभ कामना’ शीर्षकको र सोही छन्दको आमा’ शीर्षकको गरी दुइटा कविता वाचन गर्नु भयो । सबै कविता अत्यन्त सशक्त रहेका थिए ।

वाचित कवितामाथि टिप्पणी गर्दै प्रा.केशव सुवेदीले भावकले कविका कवितालाई कसरी अनुभव गर्यो र कसरी धैर्यका साथ सुन्यो ? यत्तिले कविका कविताको शक्तिको मापन गर्दछ । आजको यस विशेष समारोहका स्रोताको उपस्थिति र धैयपूर्ण श्रवणले यसको पुष्टि गरेको, संस्कृत वाङमयका विशिष्ट विद्वान पिताका पुत्र भएकाले उहाँको र प्राच्यविद्याको संस्कार कविमा आएको, त्यसै गरी सत्सङ्गबाट माक्र्सवादी विचार समेत ग्रहण गरेकाले त्यसको प्रेरणा समेत कविको सिर्जनामा रहेको देखिएको, न्याय दर्शनको अध्ययनले त्यसको आदर्शको ग्रहण समेत कविले गरेका, दर्शनको आधारभूत मान्यतालाई माक्र्सवादी विचारसँग जोडेर सिर्जना गर्ने र विश्लेषण गर्ने क्षमता कविमा रहेको, दैलेखको सांस्कृतिक प्रभाव र प्रकृति प्रेम कवितामा अभिव्यक्त भएको र त्यसैबाट कविको कवि व्यक्तित्व निर्माण समेत भएको, साथसाथै स्नातकोत्तरमा सिर्जनात्मक लेखन विषय छनोट गरेका र त्यसको निर्देशन प्रा.घनश्याम कँडेलबाट भएकाले उहाँको प्रभाव समेत कविमा परेका देखिएको, सबै कविता सुन्दर र कमजोरी निकै कम रहेका, कवितामा सूक्तिमयता प्रभावकारी रूपमा आएको, भावकका निम्ति लेखिने कविता बुझिने नै हुनु पर्छ भन्ने मान्यता राखे पनि कवितामा व्यञ्जनाधर्मिता रहेको, आस्था र निष्ठाका अनि स्वतन्त्रताका पक्षका कविता वाचित भएका, मान्छेभित्रको मान्छेको खोजी गरिएको, आफूलाई समेत रूपान्तरण गर्ने आग्रह अभिव्यक्त भएको, एकता र सङ्घर्षको आग्रह रहेको, मानवतावादी सन्देश सम्प्रेषण गरिएको, अन्तर्राष्ट्रिय हिंसा र क्रूरताको समेत विरोध गरिएको, पद्य कविताको शक्ति प्रदर्शन गरिएको र गद्य कविता लेख्नेलाई र पद्य कवितामाथि आरोप लगाउनेलाई सुन्दर जबाफ कविताका माध्यमबाट दिइएको हुँदा कविता सशक्त रहेका धारणा राख्नु भयो ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले अविरल जन साहित्य यात्राको अविच्छिन्नताको प्रशंसा गर्नु भयो र कार्यक्रमले उपत्यका बाहिरलाई समेटोस्, कार्यक्रम नै बाहिर लैजाने प्रयत्न पनि होस् भन्ने आग्रह गर्नु भयो र आजको कार्यक्रम विशिष्ट रहेको मूल्याङ्कन गर्नु भयो ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राच्य दर्शनका अध्येता र जीवन तथा जगत्लाई नजिकबाट ठिक ढङ्गले विश्लेषण गर्ने व्यक्तित्वका रूपमा आफूले ठम्याएका जगत् उपाध्याय सफल कवि पनि हुनु हुँदो रहेछ । अहिले मुलुक कठिन अवस्थामा रहेको छ, जनतामा अन्योल र निराशा पनि छ त्यसैले साहित्यकारले यतिखेर राष्ट्रको अग्रगामी यात्रातर्फ जनतालाई प्रेरित गर्नु पर्ने दायित्व छ, सामाजिक सद्भाव खल्बलिन नदिने ऊर्जा प्रदान गर्नु अहिलेको समसामयिक आवश्यकता हो । जगत्जीका कवितामा यो प्रवृत्ति छताछुल्ल पाइन्छ । यस्तो उपयोगी र शक्तिशाली कार्यक्रम गर्ने अविरल जन साहित्य यात्राले निरन्तरता पाइ रहोस् भन्ने धारणा राख्नु भयो ।

प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व सम्माननीय प्रधान मन्त्री झलनाथ खनालले कवि प्रा.जगत् उपाध्यायको एकल कविता वाचन गरिएको आजको यो कार्यक्रम निकै महत्त्वपूर्ण रहेको आफूले महसुस गरेको, जगत् उपाध्याय प्राज्ञ र एक बौद्धिक कार्यकर्ता मात्र हुनु होला भन्ने आफूले मूल्याङ्कन गरेको तर कविता सुन्दा उहाँ एक प्रखर प्रगतिवादी कवि हुनु हुँदो रहेछ भन्ने मूल्याङ्कन गर्न म बाध्य भएको छु । नेपालको निरङ्कुश इतिहास एक प्रकारले सलल बग्दै आएको छ । एकातिर उग्र दक्षिणपन्थी र अर्कातिर उग्र वामपन्थी प्रवृत्तिका कारण मुलुकलाई अप्ठ्यारो पारेको अवस्थाको जीवन्त चित्रण कवितामा खिचिएको मैले पाएँ । नेपालमा २०५२ पछि नेकपा आओवादीले सङ्घर्षका नाममा जनतालाई दिएको पीडा कवितामा अभिव्यक्त भएको, गणतन्त्रको प्राप्तिपछिका उज्यालाका कविता पनि आज सुनाइएको, कवितामा देशभक्तिको भावना ज्यादै सशक्त रहेको, पाठकलाई सङ्घर्षका निम्ति तयार पार्ने आँटिलो पार्ने जागरणको सन्देश कवितामा रहेको, आज सुनेका सबै कविताले समाज रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गरेका; आस्था, निष्ठा र अटल वैचारिकता कवितामा प्रखर रूपमा उजागर भएको पाइएको, समाजवादतर्फको यात्रामा पुग्ने उत्कृष्ट अभिव्यिक्ति रहेको, पाठकलाई द्रविभूत पार्ने सामथ्र्य कवितामा रहेको, कविता सुनि सकेपछि वा पढि सकेपछि पाठकलाई सङ्घर्षमा लाग्ने प्रेरणा कविताले दिन सकेका मैले अनुभूत गरेको छु ।

नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सथापना भएपछि राणा शासनका विरुद्धमा, निरङ्कुश पञ्चायतका विरुद्धमा र २०४६ पछि सांस्कृतिक आन्दोलनमा आफ्ना सिर्जनाका माध्यमबाट स्रष्टाको विशिष्ट योगदान रहेको छ । यतिखेर मुलुकमा सामन्तवाद समाप्त भएको छ, राजतन्त्रको अन्त्य भएको छ, उत्पादन सम्बन्धमा पविर्तन आएको छ, ग्रामीण क्षेत्रको सामन्तवादी अर्थतन्त्र समेत समाप्त भएको छ तर सांस्कृतिक सामन्तवाद भने अझै बाँकी नै छ । जनवादी क्रान्तिको युग समाप्त गरेर समाजवादी युगको निर्माणको यात्रामा हामी छौँ । अबका हाम्रा सिर्जनामा नयाँ युगका अपेक्षा आउनु पर्छ । समृद्धिको यात्रामा अप्ठ्याराका विरुद्धमा लाग्ने साहित्यको सिर्जना गरिनु पर्दछ । अहिले हाम्रो देशमा विभिन्न खाले आक्रमणहरू देखा पर्दै छन् । पुँजीवादका शक्तिसँग हामीले लड्नै पर्छ, सामन्तवादका अवशेषसँग पनि लड्नु पर्छ । जगत्जीका आजका कविताले यी सबैसँग लड्दै नयाँ निर्माण हुने अर्काे युगको सङ्केत गरेका छन् भन्ने मैले अनुभूत गरेको छु । पूर्वीय दर्शनका बारेमा माक्र्सवादी दृष्टिकोणले लेखिएका सामग्रीको निकै ठुलो अभाव रहेको छ र जगत्जीमा त्यो क्षमता रहेको मलाई महसुस भएको छ । उहाँ यो कार्यमा लाग्नु होस् मैले व्यक्तिगत तबरबाट पनि सहयोग गर्नु पर्ने अवस्था आएमा म तयार छु  । आजको यो विशेष कार्यक्रममा उपस्थित हुने मौका मलाई प्राप्त भयो र मैले पुरै समय आज यो विशेष साहित्यिक माहौलमा बसेर कविता श्रवण गरेँ । मलाई आजको यो कार्यक्रम निकै ऊर्जामूलक, रोचक र सार्थक महसुस भएको छ । साहित्यलाई माया गर्ने र मौका मिल्दा आफू पनि सिर्जनामा रम्न खोज्ने मलाई आजको यो विशेष समारोहले ऊर्जा थपि दिएको अनुभूति भइ रहेको छ ।

सभाध्यक्ष राम विनयले प्रशासक, वैचारिक सङ्गठक, साहित्यिक अभियानका अभियन्ता आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा सिर्जना कर्मका माध्यमबाट आफूलाई सशक्त रूपमा उभ्याउन सफल साहित्यकार, प्राज्ञ, कवि, प्रखर समालोचक प्रा.जगत् उपाध्याय प्रेक्षित’का एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्त्त्विका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि पूर्व प्रधान मन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपमहासचिव घनश्याम भुसाल, विशिष्ट अतिथि, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई  हार्दिक स्वागत गर्नु भएको थियो ।

धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले सबैसँग घुलमिल हुने सरल, मिलनसार, व्यक्तिवाद होइन सङ्गठनमा भरोसा राख्ने, मनमा लागेको कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने, विद्याध्यनको आफ्नो समयका स्वर्ण पदक विचेता, मोलाहिजा नगरी प्रखर विश्लेषण सहित समालोचना गर्ने समालोचक, अध्ययनशील, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, निर्भीकतापूर्वक वैचारिक भिडन्त गर्न सक्ने जगत् उपाध्याय प्रशासक, सङ्गठक र विचारक हुनु हुन्छ । उहाँका कवितामा वैचारिक दृढता रहेको पाइन्छ भने शास्त्रीय छन्दलाई आफ्नो नियन्त्रणमा राखेर कुशल ढङ्गले खेलाउन सक्नु हुन्छ । आफ्नो क्षमताले स्थापित हुनु भएका यस्ता प्रखर व्यक्तित्वलाई आज हामीले यो शृङ्खलामा प्रस्तुत गर्यौँ । हाम्रो निम्ता स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू र विद्वान व्यक्तित्वमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ भन्नु हुँदै आगामी अट्ठाइसौँ शृङ्खलामा विराटनगरमा रहेर नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा योगदान गरि रहनु भएका प्रा.डा.बद्रीविशाल पोखरेललाई प्रस्तुत गरिने जानकारीका साथ कार्यक्रमको समापन भएको व्यहोरा निवेदन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *