साहित्य सन्ध्यामा ‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ चर्चा

रमेश पोखरेल, काठमाण्डौ

साहित्य सन्ध्याको नियमित मासिक ३६१ औँ शृङ्खला असार ४ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । कवि, समालोचक एवम् प्राज्ञ डा.अमर गिरीले ‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयमा महत्त्वपूर्ण विश्लेषण गर्नु भएको उक्त विशेष गोष्ठीमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य, सहप्रा. एवम् कवि डा.षडानन्द पौडेलद्वारा लिखित ‘देवव्रतको नेपाल यात्रा’ कविता सङ्ग्रहको समेत लोकार्पण एवम् परिचर्चा गरिएको र छत्तिस जना कविले कविता वाचन गरेको विशेष गोष्ठीको रूपमा सम्पन्न उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । प्रमुख अतिथिका रूपमा प्राज्ञ डा.अमर गिरी उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रा.जगत् उपाध्याय प्रेक्षित, डा.नारायण गड्तौला, समीक्षक उपप्रा.मुक्तराज उपाध्याय, बुद्धिजीवी परिषद्का सचिव चन्द्रबहादुर के.सी., युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डे, शब्द संयोजन साहित्यिक मासिकका सम्पादक शीतल गिरी, वरिष्ठ कविहरू उमेश उपाध्याय, कणाद महर्षि र डिल्लीराज अर्याल, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, साहित्यकार विष्णुप्रभा उपाध्याय, डा.षडानन्द पौडेलका परिवारका सदस्यहरू रमा पौडेल, ई.राजेन्द्र पौडेल, हेमनाथ पौडेल, सङ्गीता तिमिल्सिना, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ उपस्थित हुनु हुन्थ्यो ।

‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयमा चर्चा गर्नु हुँदै समालोचक, कवि प्राज्ञ डा.अमर गिरीले नेपाली प्रगतिशील साहित्यको अध्ययन २००७–२०१६, २०१७–२०४५ र २०४६ यता गरी तिन चरणमा विभाजन गरेर गर्न सकिने; २०३४ मा प्रारम्भ भएको लीला लेखन (विनिर्माणवाद) पश्चात उत्तर आधुनिकतावादको प्रारम्भ भएको मान्न सकिने; २०४६ पछि त्रिभुवन विश्व विद्यालयले यो विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन, अनुसन्धान, व्याख्या, विश्लेषण गर्न थालिएको; २०६२।६३ पछि यसको प्रभाव अझ बढी देखिएको; उत्तर आधुनिकतावादको जमेर प्रतिवाद गर्ने कार्य चाहिँ प्रगतिवादले नै गरेको छ र यो कार्य सिर्जना र समालोचनाका माध्यमबाट सशक्त रूपमा गरिएको पाइन्छ साथसाथै उत्तर आधुनिकतावादको प्रभाव पनि झनै बढि रहेको छ, यसको आक्रमण शक्तिशाली बन्दै गएको दखिन्छ । यथार्थमा संसारको कुनै पनि सिर्जना वादमुक्त हुन सक्तैन, हुँदैन । साहित्य भन्ने बित्तिकै विचार, दृष्टिकोण हुन्छ । प्रगतिवादीले आफना सिर्जनामा वर्गलाई केन्द्रमा राख्छन् तर अहिले भने वर्गलाई केन्द्रमा होइन परिधिमा राख्ने विचलन आएको छ, प्रवृत्ति बढेको छ । यही हो उत्तर आधुनिकताको प्रभाव भनेको । वर्गीय आन्दोलनबाट किनारा लागेर सामाजिक सांस्कृतिक आन्दोलनतर्फ लाग्नु, मुख्य विषय छाडेर झिना मसिना कुरामा लाग्नु, वर्गलाई होइन वर्णलाई अस्तित्वमा ल्याउन खोज्नु उत्तर आधुनिकतावादको प्रभाव हो । समाजमा विद्यमान छुवाछुतको परम्परा वर्ण व्यवस्थाको उपज होइन, पछि ल्याइएको वा थोपरिएको हो । इतिहासको व्याख्या उत्पत्तिको आधारमा होइन संस्कृतिका आधारमा गर्ने, हेर्ने प्रवृत्ति गलत छ तर त्यही भइ रहेको छ, यही नै उत्तर आधुनिकतावादको प्रभाव हो । वास्तवमा छुवाछुतको समस्या उत्पादन प्रक्रियासँग जोडिएको आर्थिक समस्या हो । प्रगतिशील आन्दोलनले जातीय मुक्तिलाई प्रमुखता दिएको छ तर यतिखेर पहिचान प्रमुख बन्न गइ रहेको छ । यही हो नव उदारवादको प्रभाव । वर्ग हराउनु र पहिचान मुख्य हो भनिनु उत्तर आधुनिकतावादकै प्रभाव हो । नारीवाद पनि यसैको प्रभावमा आएको छ । यसले नारीलाई अति विशिष्ट बनाइ दिन्छ, यो पनि प्रगतिशील वैचारिकता छोडिएको प्रमाण नै हो । उत्तर आधुनिकतावादका प्रयोक्ता ल्यौतारले यसको आक्रमणको सबैभन्दा बढी निशाना माक्र्सवादलाई बनाएका छन् । आधुनिकताको विरोधमै नित्सेले ‘ईश्वरको मृत्यु’ भनेका हुन् । महाआख्यान (माक्र्सवादी वेचारिकता)को विरोध र लघु आख्यानको वकालत नै विखण्डन पूर्ण चिन्तन हो र यसले प्रगतिशील साहित्यमा असर पारि रहेको छ । अतीतको मोह (राम्रो नराम्रो सबै), खासमा राम्रो ग्रहण गर्ने र नराम्रो कुरालाई त्याग्ने हो नि ! संस्कृतिको संरक्षण, जातीयता, हिन्दु धर्म आदि आदिका नाममा डरलाग्दो अतिवाद देखिँदै छ । माक्र्सवादी वैचारिकतामा प्रशिक्षित कुनै पनि व्यक्ति कसरी धर्मका पक्षमा वकालत गर्न सक्छ ? तर गराइँदै छ ! यही नै उत्तर आधुनिकतावादको प्रभाव हो र यसबाट अत्यन्त सजगताका साथ जोगिनु र सशक्त प्रतिकार गरिनु आवश्यक छ, नत्र भने यसले प्रगतिवादलाई धक्का दिन सक्छ भन्ने समेतको विशद परिचर्चा गर्नु भयो ।

प्रमुख अतिथि प्राज्ञ डा.अमर गिरीले डा.षडानन्द पौडेलद्वारा लिखित ‘देवव्रतको नेपाल यात्रा’ कविता सङ्ग्रहको लोकार्पण गर्नु भयो । लोकार्पित कविता सङ्ग्रहमाथि उपप्रा.मुक्तराज उपाध्यायले समीक्षा गर्नु हुँदै स्रष्टाले समाज भोग्छ, देख्छ र अनुभूत गर्छ अनि सिर्जनामा उतार्छ । त्यही अनुसार यो कृति पनि आएको छ । यसमा ४४ ओटा कविता रहेका छन्, समाजमा विद्यमान विकृतिका प्रतिको आक्रोश, श्रमको सम्मान नभएको प्रति चिन्ता र आक्रोश कवितामा आएका छन् । यद्यपि स्रष्टा र भावकको ग्रहणशीलतामा फरक पनि हुन सक्छ तथापि हामी नेपाली परनिर्भरतामा पनि आत्म सम्मान खोजि रहेका छौँ, गौरव बोध गरि रहेका छौँ, वैयक्तिक स्वार्थन्धताले समाज र हामीलाई नराम्ररी गाँजेको छ तर समयको गतिसँगै परिवर्तन भने हुन सक्छ, समाजमा मूल्यहीनता बढि रहेको, जन चाहना पुरा नभएका कारण जनता आक्रोशित छन्, मृत्यु अन्तिम सत्य हो जस्ता समसामयिक यथार्थलाई कवितामा सुन्दर ढङ्गले समेटिएको छ । कविता शास्त्रीय छन्द र मुक्त छन्दमा लेखिएका छन्, कविताले गम्भीर विषयको उठान गरेका छन् र मर्मस्पर्शी छन् । यति हुँदाहुँदै पनि स्रष्टाले कवितामा समस्या देखाउने मात्र नभई निराकरणको उपाय पनि सुझाइ दिनु बढी उपयुक्त हुन्छ भन्नु हुँदै कविलाई सुुन्दर कृति प्रकाशनका निम्ति हार्दिक बधाई दिनु भयो ।

कवि डा.षडानन्द पौडेलले धेरै अगाडि सिर्जना गरिएका र कतै न कतै प्रकाशित पनि भइ सकेका कवितालाई जस्ताको तस्तै प्रकाशित गरेको, ढिलो प्रकाशन गर्दा कविता सिर्जनाको समय क्रमसँगै सान्दर्भिकता पनि परिवर्तन हुँदो रहेछ, विज्ञहरूले कविता सङ्ग्रह पढेर प्रतिक्रिया दिनु नै हुने छ भन्नु भयो र पछिल्ला चरणका कविताको अर्काे सङ्ग्रह प्रकाशनको तयारी गरि रहेको जानकारीका साथ लोकार्पण गरि दिने प्रमुख अतिथि प्राज्ञ डा.अमर गिरी, समीक्षा गरि दिने मुक्तराज उपाध्याय एवम् साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिनु भयो ।

बालकवि नम्रता श्रेष्ठको कविताबाट कविता वाचन प्रारम्भ गरिएको थियो भने अन्य कविहरू ओमप्रसाद कोइराला, लीलाराज दाहाल, पूर्ण विराम, बलराम विष्ट, अतृप्त पाण्डेय, राधिका आचार्य, बैरागी जेठा, रामबहादुर पहाडी, सुरज आचार्य, अमर राई, प्रदीप मैनाली, भुवन सिवाकोटी, नवराज श्रेष्ठ, कणाद महर्षि, रामदेव पाण्डे, गोविन्द नेपाल, उमेश उपाध्याय, कल्पना काफ्ले, रमेश गौतम पाल्पाली, नीलहरि सुवेदी, धनबहादुर मगर, गोपाल नेपाल, विष्णु अधिकारी, नारायण भण्डारी जनकपुरे, जयन्ता पोखरेल, तारा गाउँले, अशोक कुँवर, अमृता स्मृति, भावना न्यौपाने, माधव पोखरेल, डिल्लीराज अर्याल, चुडा निर्भीक, ध्रुवराज घिमिरे, पुण्य गौतम ‘विश्वास’ र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित रचनामाथि डा.नारायण गड्तौलाले टिप्पणी गर्नु हुँदै स्रष्टा शब्दमा खेल्ने सचेत व्यक्ति हो । प्लेटोकै पालादेखि कविलाई राज्यले हेला गरेको छ तर सिर्जना स्रष्टाको महान् सम्पत्ति हो । आफूले गरेको सिर्जनालाई स्रष्टाले पटक पटक पढ्नु पर्छ, अरूका रचना पढ्नु पर्छ र आफ्नो रचनासँग दाँज्नु पर्छ, त्यसो भयो भने मात्रै परिष्कार हुँदै जान्छ । इतिहास चेतनाका, समाज चेतनाका विम्बको प्रयाग गर्न गरियो भने सिर्जना सुन्दर हुन्छन् । निजी समस्या सबै छाडेर देश र समाजको चिन्ता गर्दै कविले कविता लेख्छ, आजका कविता पनि त्यसै गरी लेखिएका छन् । यिनको सुन्दरताका लागि कवि अध्ययनशील हुनै पर्छ । आजका कवितामा देशको समसामयिक परिवेश चित्रण, युगको विचलन आदिलाई विचारको माध्यमबाट चुनौतीका साथ सम्प्रेषण गर्दै रूपान्तरणको आग्रह गरिएका पाइन्छन् तर यी कवितामा धेरैमा परिष्कारको आवश्यकता छ भन्ने धारणा राख्नु भयो ।

गोष्ठीका सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । अहिले उत्तर आधुनिकतावादले प्रगतिशील साहित्यलाई घेराबन्दी गर्न खोजि रहेको छ, समाज निरुद्देश्य हिँडि रहेको छ, विचार विहीन भइ रहेको छ त्यसैले हामीले आज यो विषयमा चर्चा गर्नु उपयक्त ठान्यौँ र प्राज्ञ डा.अमर गिरीलाई अनुरोध गर्यौँ । त्यसै गरी वाचित रचनामाथिको टिप्पणीका लागि डा.नारायण गड्तौलालाई आग्रह गर्यौँ । उहाँहरू आइ दिनु भयो र जानकारीमूलक बौद्धिक चर्चा गरि दिनु भयो । विज्ञहरू, साहित्यकारहरू समय निकालेर यहाँ आइ दिनु भयो, सबै सबैमा हार्दिक धन्यवाद छ भन्नु हुँदै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धताका साथ गोष्ठीको समापन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *