झापा, २०७९ जेठ १६
शिक्षा नै समुन्नत जीवनको आधार हो भन्ने मान्यता बोकेको पोखरेल परिवारले समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। झापा जिल्लाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन माध्यमिक विद्यालयमा अध्ययनरत चार जना जेहेनदार तर आर्थिक रूपले कमजोर विद्यार्थीको वार्षिक पठनपाठन खर्च आफ्नै पहलमा व्यहोर्ने निर्णय पोखरेल परिवारले गरेको हो।
वि.सं. २०२९ सालमा ओखलढुंगाबाट झापाको स्कुलचौनमा बसाइँ सरेको यस परिवारका बुबा शेषराज पोखरेल र आमा गङ्गादेवी पोखरेलको शिक्षाप्रतिको अगाध श्रद्धाले नै तीन सन्तानलाई उच्च शिक्षासम्म पु¥याएको छ। जेठो छोराका रूपमा रमेशप्रसाद पोखरेल नेपाली साहित्यका स्नातकोत्तर तथा शिक्षकका रूपमा कार्यरत छन् भने सानुराज पोखरेल कानुन र राजनीति शास्त्रका स्नातकोत्तर तथा वरिष्ठ अधिवक्ताका रूपमा स्थापित छन्। बहिनी बुनाले जापानबाट लैङ्गिक समानता विषयमा विद्यावारिधि गरी हाल स्वतन्त्र विज्ञका रूपमा कार्य गरिरहेकी छिन्।
यसै परिवारले आफ्ना स्वर्गीय बुबाआमाको सम्मानमा स्कुलचौन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा २ देखि १० सम्मका चार विद्यार्थी—मनिषा विक, मञ्जरी सिलवाल, वेञ्जु आचार्य र फणीन्द्र घिमिरेको वार्षिक पठनपाठनका लागि आवश्यक पर्ने कुल रु.५२,०००।– (बाउन्न हजार) बराबरको सहयोग रकम विद्यालयको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जम्मा गरिसकेको छ।
यो सहयोग राष्ट्रिय वाणिज्य बैंक गौरादहमा राखिएको पोखरेल परिवारको तीन लाख रुपैयाँको अक्षयकोषबाट भविष्यमा क्रमशः बढाउँदै दस लाख रुपैयाँ पुर्याउने दीर्घकालीन योजनाको प्रारम्भिक कार्यान्वयन हो। यस अक्षयकोषको ब्याज तथा थप व्यक्तिगत सहयोगमार्फत आगामी दिनमा अन्य विद्यार्थीलाई पनि सहयोग गरिने जनाइएको छ।
मातातीर्थ औँसीको अवसरमा आयोजित विशेष समारोहमा स्वयम् शेषराज पोखरेल र गङ्गादेवी पोखरेल सशरीर उपस्थित भई अभिभावकत्व ग्रहण गरेपछि उक्त सहयोग कार्यक्रमको औपचारिक सुरुआत गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार खरेल, विद्यालयका प्रधानाध्यापक गुरुदेव भण्डारी, निवृत्त शिक्षक तिलबहादुर बस्नेत, वडाअध्यक्ष जगन्नाथ खनाल, श्याम निरौला लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा पोखरेल परिवारले विद्यालय र स्थानीय समुदायप्रति आभार व्यक्त गरेको थियो।
पोखरेल परिवारको यो सत्कर्मले स्थानीय तहमा शिक्षाप्रतिको लगाव बढाउने र अन्य परिवारलाई पनि समाजसेवामा अग्रसर गराउने विश्वास लिइएको छ।
“शिक्षा नै मानवीय धन हो, शिक्षा नै समुन्नत जीवनको आधार हो” भन्ने दृष्टिकोण बोकेको पोखरेल परिवारलाई सम्मान गरौं।

