साहित्य सन्ध्याको ४७० औँ शृङ्खलामा प्रगतिशील साहित्य र एआईमाथि विशेष परिचर्चा

काठमाडौँ। साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला शनिबार विशेष समारोहका रूपमा सम्पन्न भएको छ। २०८२ मङ्सिर ६ गते अपराह्न १ बजे गुगलमिटमार्फत आयोजित कार्यक्रममा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा विशद परिचर्चा तथा विशेष कविगोष्ठी सम्पन्न गरियो।

राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा. मुकेश चालिसे सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी अजय शर्मा, कवि यशोदा अधिकारी, प्रा.डा. लेखप्रसाद निरौला, डा. रामहरि लम्साल, डा. राजेन्द्रप्रसाद अधिकारी, डा. कृष्ण सुवेदी, डम्बर पहाडी, कृष्ण बाउसेलगायत अग्रज तथा समकालीन स्रष्टाहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि प्रा.डा. मुकेश चालिसेले ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा प्रस्तुतिकरण गर्दै प्रगतिशील साहित्यको अवधारणा, ऐतिहासिक विकास र नेपाल तथा विश्व सन्दर्भमा यसको भूमिका स्पष्ट पार्नुभयो। उहाँले उमेरले विचारलाई सीमित नगर्ने र विचारकै कारण स्रष्टा अजर रहने धारणा व्यक्त गर्नुभयो। ज्येष्ठ नागरिकप्रति देखिँदै आएको उपेक्षा पुँजीवादी सोचको परिणाम भएको उल्लेख गर्दै विचार र कर्मको एकता नै प्रगतिशीलताको मर्म भएको बताउनुभयो।

‘साहित्यमा एआईको प्रयोग’ विषयमा वरिष्ठ सञ्चारकर्मी अजय शर्माले एआईको विकासक्रम, नेपालमा कानुनी र नीतिगत अवस्था तथा साहित्य र पत्रकारितामा यसको प्रयोगबारे चर्चा गर्नुभयो। एआई अत्यन्त सहयोगी प्रविधि भए पनि मौलिकता, भाव, शैली र कपीराइटका सवालमा सचेत रहनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रममा डम्बर पहाडी, डा. कृष्ण सुवेदी, महेशराज खरेल, कृष्ण बाउसे, रामचन्द्र दाहाल, ओमप्रसाद कोइरालालगायत स्रष्टाहरूले कविता, गीत, गजल र आलेख वाचन गर्नुभएको थियो।

वाचित रचनामाथि समीक्षा गर्दै अतिथि कवि यशोदा अधिकारीले साहित्य सन्ध्यालाई नेपाली प्रगतिशील साहित्यको दीर्घकालीन काव्यशाला भन्दै प्रशंसा गर्नुभयो। उहाँले आजका सिर्जनामा श्रम, पर्यावरण, राजनीतिक विकृति, मानवता, राष्ट्रप्रेम र ज्येष्ठ नागरिक उपेक्षाका विषय प्रभावकारी रूपमा उठाइएको बताउनुभयो।

समारोहको समापन गर्दै सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक रूपान्तरणको अभियानका रूपमा निरन्तर अघि बढिरहेको उल्लेख गर्दै आगामी शृङ्खलामा पनि महत्त्वपूर्ण विषयमा बहस र कविगोष्ठी आयोजना गरिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *