काठमाडौँ। आर.आर. क्याम्पस, प्रदर्शनी मार्गमा शनिवार आयोजित साहित्य सन्ध्याको ४७१ औँ मासिक शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा र विशेष कविगोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालन रहेको थियो।
प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले प्रगतिवाद र उत्तरआधुनिकतावादको ऐतिहासिक र दार्शनिक आधारमा विशद परिचर्चा गर्नुहुँदै मध्ययुगको पुनर्जागरणदेखि माक्र्सवाद र उत्तरआधुनिकतावादको उदय तथा प्रभावको व्याख्या गर्नुभयो। उहाँले पश्चिमी दर्शन, हिप्पी आन्दोलन, फ्रान्सको १९६८ आन्दोलन, डेरिडा र मेसिल फुकोजस्ता विद्वानका विचार र पुँजीवाद, माक्र्सवाद तथा सामाजिक रूपान्तरणसँगको सम्बन्धलाई स्पष्ट पार्नुभयो।
समारोहमा ओमप्रसाद कोइराला, खेमराज निरौला, रत्ननिधि रेग्मी, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, नवराज श्रेष्ठ, कुमार नेपाल, डा.मनोज जोशी, रामबहादुर पहारी, विन्दु अधिकारी ढकाललगायत २३ कविहरूले कविता, गीत र एलाक वाचन गर्नुभयो। वाचित रचनामाथि डा.प्रतिभा पुनले समीक्षा गर्दै सामाजिक यथार्थ, वर्गीय चिन्तन र साहित्यको भौतिक–वैचारिक मूल्याङ्कनमा केन्द्रित विश्लेषण प्रस्तुत गर्नुभयो।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्यालाई सामाजिक रूपान्तरण अभियानका लागि कार्यशालाजस्तो संस्था भनेका छन्। उहाँले नयाँ र पुराना स्रष्टालाई भेला गराएर बहस, छलफल र कविगोष्ठी गर्दै आएको र आगामी महिनामा पनि विशेष विषयमा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
कार्यक्रममा उपस्थित सबै अतिथि, स्रष्टा र साहित्यप्रेमीहरूलाई धन्यवाद दिइएको छ।
