साहित्य सन्ध्यामा विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ
मितिः २०७१।९।५

साहित्य सन्ध्याको ३४४ औँ कार्यक्रम पुस ५ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा विशेष कविगोष्ठीका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका कार्य वाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, प्राज्ञ सानु पहाडी, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी र कवि गोविन्दप्रसाद आचार्य उपस्थित हुनु हुन्थ्यो ।

image

गोष्ठीको प्रारम्भमै सञ्चालक गोपालकुमार मैनालीले मुलुकमा व्याप्त वेथितिका विरुद्धमा र रूपान्तरणका पक्षमा अभियान सञ्चालन गरि रहेको साहित्य सन्ध्याको यो नियमित मासिक गोष्ठी एक प्रकारको कार्यशाला हो र यहाँ नयाँ तथा पुराना स्रष्टालाई एकै थलोमा उभ्याएर सिक्ने सिकाउने समेतको कार्य गरिने हुँदा आजको यस विशेष कविगोष्ठीमा निम्ता स्विकार गरी उपस्थित हुनु हुने सबैलाई स्वागत छ भन्दै कार्यक्रमको थालनी गर्नु भयो ।

image

गोष्ठीमा पुनाराम गिरी, ऋचा, अतृप्त पाण्डेय, नराज श्रेष्ठ, पूर्ण विराम, डिल्लीराज अर्याल, ओमप्रसाद कोइराला, डम्बर पहाडी, तिलस्मी आभास, जे.के.सायब सारा, प्रदीपरत्न शाक्य, मोहनमणि पोखरेल, प्रशान्त खरेल, गोविन्दप्रसाद आचार्य, रामप्रसाद प्रसाईँ, गोपाल नेपाल, रिता निरौला, भोलानाथ सुवेदी, रत्ननिधि रेग्मी, दुर्गा वनवासी, पुण्य गौतम ‘विश्वास’, वासुदेव अधिकारी, इन्दु अंशु, मुक्तान थेवा, राजेश विद्रोही, सोझो गाउँले, अशोक सुवेदी, डम्बरध्वज लिम्बू, गोविन्दराज सुवेदी, रूपक अलङ्कार, भागवत आचार्य, बैरागी जेठा र गोपालकुमार मैनालीले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।  

image

गोष्ठीको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले देशमा जब जब सङ्कट आइ पर्छ स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट कस्सिएको दबाब दिनु पर्छ भन्ने मान्यता राख्ने र सोही अनसारको कार्य सम्पादन गर्ने संस्था हो । यसले सदैव नयाँ र पुराना पुस्तालाई एकै थलोमा भेला गर्छ र सिक्ने सिकाउने कार्य गर्छ । त्यस हिसाबले आज वाचित तेत्तिस ओटा रचनाले देशको समसामयिक यथार्थलाई उजागर गर्ने, व्यङ्ग्य गर्ने र सोझै वा ध्वन्यार्थमा रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने कार्य गरेका छन् । केही रचनामा अन्योल वा द्विविधा रहेको देखिए पनि नियमित उपस्थित हुने र अग्रजका रचना श्रवण गर्ने अनि प्रयोग भएका विम्ब अनुशरण गर्ने गरेमा आफूलाई खार्न यो चौतारी सबैलाई उपयुक्त हुने छ । सन्ध्याले नयाँ बानेश्वर चोकमा नै सडक कविता गोष्ठी समेत आयोजना गर्ने र रूपान्तरणका पक्षमा दबाब दिने योजना बनाएको हो तर त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हुँदा अब नयाँ ढङ्गले सोचेर आगामी योजना बनाई सबैलाई आमन्त्रण गरिने छ । आजको गोष्ठीका रचना निकै सुन्दर र उत्कृष्ट आएका हुँदा गोष्ठी उपलब्धिमूलक रहेको निष्कर्षका साथ आइ दिनु हुने सबै सबैमा हार्दिक धन्यवाद भन्दै गोष्ठीको समापन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *