साहित्य सन्ध्यामा ‘समसामयिक विषयसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री ४०७ औँ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४०७ औँ शृङ्खला साउन ३ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।

वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य देबु लुइटेल र जयन्ती स्पन्दनले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव एवम् सन्ध्याका सल्लाहकार प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञपरिषद् सदस्य प्रा.डा.हेमनाथ पौडेल, पूर्व मन्त्री शान्तामानवी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष मातृका पोखरेल, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष, कवि तथा समालोचक डा.अमर गिरी, प्रा.डा.खेम दाहाल, प्रा.डा.भीम खतिवडा, डा.राजेन्द्रप्रसाद अधिकारी, साहित्य सन्ध्याका सल्लाहकार द्वय वासुदेव अधिकारी र विधान आचार्य, प्राज्ञ नन्दु उप्रेती, अग्रज साहित्यकारहरू सीताराम नेपाल, राममणि ढुङ्गेल र डम्बर पहाडी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 

सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई कवितावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको भए पनि प्रविधिले सबैलाई साथ नदिएकाले इलामदेखि नेपालगन्ज, सुर्खेत, दाङसम्मका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार गोष्ठीमा बालकृष्ण लामिछाने इलाम, प्रा.डा.भीम खतिवडा धरान, गायत्री चापागाईँ विराटनगर, अमर गिरी दाङ, हरि तिमिल्सिना नेपालगन्ज, प्रकाश सिलवाल, गोमादेवी कटुवाल, ललिता दोषी, डा.बालचन्द्र मिश्र, रिता खत्री, डम्बर पहाडी, जयन्ती स्पन्दन, विधान आचार्य, डा.भागवत आचार्य, गोपालकुमार मैनाली, रमेश शुभेच्छु, गिता सापकोटा, सरस्वती चिमौरिया काभ्रे, गणेश घिमिरे ‘मार्मिक’, प्रमोद स्नेही, प्रा.डा.कृष्णप्रसाद घिमिरे, जयन्ता पोखरेल, अच्युत घिमिरे, डा.राजेन्द्रप्रसाद अधिकारी, गायत्री लम्साल, राममणि ढुङ्गेल, सीताराम नेपाल, नन्दु उप्रेती, मातृका पोखरेल, प्रा.डा.हेमनाथ पौडेल, वासुदेव अधिकारी, राम विनय र प्रा.जगत्प्रसाद उपाध्यायले आआप्mना समसामयिक कविता, गीत, लघु कथा, निबन्ध वाचन गर्नुभयो ।

 वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि प्रा.जगत्प्रसाद उपाध्यायले सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानको आफैँमा एउटा सशक्त संवाहक बनेको साहित्य सन्ध्याको नियमित मासिक ४०७ औँ शृङ्खलामा आज प्रमुख अतिथिको रूपमा उपस्थित भएर यो विशेष शृङ्खलामा वाचित रचनामाथि टिप्पणी गर्नेसमेतको अवसर प्राप्त भएकोमा म आयोजक संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु । सन्ध्याका नियमित मासिक यस्ता शृङ्खलामा स्रष्टाहरूले समसामयिक विषयमा आफ्ना सिर्जना वाचन गर्ने र अन्ततः रूपान्तरणको आग्रह गर्ने परम्परा रहेको र आजको यो शृङ्खलामा यही प्रवृत्ति कायम रहेको छ । पैँतिस जना स्रष्टाले आफ्ना सिर्जना वाचन गरेको र प्रविधिको व्यवस्थित संयोजन भएको आजको यस शृङ्खलामा पद्यलयका, लोकलयका र गद्यलयका कविता वाचन भएका छन्, लघु कथा र निबन्ध एक एकओटा वाचन भएका छन् । नेटको गडबडीका कारण सबै रचना राम्रोसँग सुन्ने अनुकूलता मिलेन तापनि सामान्य सुनाइका हिसाबले समग्रमा आज वाचित सिर्जनाले नेपालका समसामयिक सन्दर्भहरूलाई, विश्वसन्दर्भलाई, कोरोना महामारी र यसले पारेको प्रभावको सन्दर्भलाई, दक्षिणको छिमेकीले सीमाना अतिक्रमण गरेको अनि हेलाँहोचो गर्ने हेप्ने प्रवृत्ति देखाएको सन्दर्भलाई अनि मुलुकको शासनसत्तमा रहेको सत्तारुढ दलको आन्तरिक किचलोसमेतका सन्दर्भलार्ई विषयवस्तु बनाएका छन् । महामारीको कारणले प्रविधिमैत्री गोष्ठी गर्नसकिएको र प्रविधिका माध्यमबाट साविकमा काठमाडौँमा रहनुहुने स्रष्टालाई मात्र जोडेर सिर्जनावाचन गराउने सन्ध्याले देशैभरका स्रष्टालाई जोडेको सुन्दर परिदृश्य पनि आजको गोष्ठीमा देखिएको छ र सुदूर पूर्वको इलामदेखि पश्चिमको नेपालगन्जसम्मका स्रष्टाका सिर्जना श्रवण गर्ने अवसर प्राप्त भएको छ ।

आज वाचित सबै सिर्जनाले आजको हामीले बाँचेको युगको चित्रण गरेका छन्, हामीले देखेभोगेका समस्याको सटिक चित्रण गरेका छन्, राष्ट्रिय चेतनाको भावना सम्प्रेषण गरेका छन्; भाषा, संस्कृति र माटाको मायाका पक्षमा अनि एकताका पक्षमा दृढतापूर्वक वकालत गरेका छन् । आजका प्रायः सबै सिर्जना विचार, कला, भाषा, भाव र लयचेतनाका दृष्टिले पनि सुन्दर र परिष्कृत रहेका छन् । कविताले सङ्घर्षको मार्गका पक्षमा र निराशाका विपक्षमा वकालत गरेका छन् र भानुभक्तको नेपाली साहित्यमा रहेको योगदानका पक्षमा वकालत गर्नेदेखि सीमा अतिक्रमणले सम्पूर्ण देश दुखेको पक्षलाई जोडदारढङ्गले उजागर गरेका छन् भने नक्सामा देशको अतिक्रमित भूगोल समेटिएको पक्षको सराहनासमेत अभिव्यक्त भएको छ । राष्ट्रप्रेमका माध्यमबाट नेपालीका बिचको एकताको आह्वान गर्दै समसामयिक सबै सबै पक्षमा स्रष्टाले यसैगरी खबरदारी गर्नुपर्ने आजको आवश्यकतालाई सिर्जनाले सगर्व उठाएका छन् । त्यसैले आजको गोष्ठी अत्यन्त सार्थक रहेको छ । झण्डै साढे तीन घण्टासम्म सुन्दर सिर्जना श्रवण गर्नपाउँदा मलाई पनि गौरवानुभूति भएको छ र म साहित्य सन्ध्यालाई पुनः हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो ।     

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री तेस्रो गोष्ठीमा पूर्वको इलामदेखि दाङ हुँदै नेपालगन्जसम्मका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा साहित्य सन्ध्याका सल्लाहकार एवम् वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । उपाध्यक्ष रमेश पोखरेलले दिनुभएको जानकारीअनुसार सार्वजनिक सूचना नगरी गोष्ठीमा उपस्थित हुनसक्ने भनी जानकारी दिनुहुने ५६ जना स्रष्टालाई आमन्त्रण गरिएकोमा ३७ जनाको प्रत्यक्ष सहभागिता रहेको छ । प्रविधिले साथ नदिँदा दुई जना स्रष्टाले सिर्जनावाचन गर्नसक्नुभएन, अर्काेपटक हामी अवश्यै सुन्ने छौँ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस शृङ्खलामा प्रमुख अतिथिको रूपमा उपस्थित भइदिएर वाचित सिर्जनामाथि टिप्पणीसमेत गरिदिनुहुने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्धमा, राष्ट्रवादका पक्षमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । आज उपस्थित प्रमुख अतिथि, सबै अतिथि, स्रष्टा र उहाँहरूका सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.