२०७४ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण समारोह सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३८७ औँ शृङ्खला यसपटक भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान (नाचघर)को सानो सभाकक्षमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने विशेष समारोहको रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.आनन्ददेव भट्ट हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा नेपाल प्रज्ञाप्रतिष्ठ
ानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’को अक्षयकोष स्थापना गर्ने डा.मदनप्रसाद सत्याल, ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’को अक्षयकोष स्थापना गर्ने प्राज्ञ नर्मदेश्वरी सत्याल, ‘साहित्य सन्ध्या हरिप्रिया हरिप्रसाद चापागाईँ मासिक नियात्रा पुरस्कार’को अक्षयकोष स्थापनाकर्ता नियात्राकार पोष चापागाईँ, वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्य सन्ध्याका सल्लाहकार एवम् साहित्य सन्ध्याका अभियन्ता वासुदेव अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ कलाकार एवम् प्राज्ञ के.के.कर्माचार्
य, प्रा.डा.कृष्णप्रसाद घिमिरे, वरिष्ठ कविहरू उमेश उपाध्याय, विधान आचार्य, अनिल पौडेल र स्नेह सायमी, जनसाहित्यिक मञ्च, नेपालका महासचिव विनोद मन्जन; साहित्यकार, गीतकार एवम् माननीय सानु पहाडी उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि आनन्ददेव भट्टले पानसमा बत्ती प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त विशेष समारोहमा उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वलाई सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले स्वागत गर्नुहुँदै सांस्कृतिक संस्थान पञ्चायतकालमा दरवारका निम्ति गानाबजाना र मनोरञ्जन प्रदान गर्ने संस्थाका रूपमा रहेको र त्यसपछि पनि साहित्य, कला, वाध्यवादन र संस्कृतिको समानरूपमा सम्वर्धन गर्ने संस्थाका रूपमा विकसित नभइरहेको अवस्थामा हामीले यसलाई साझा थलोको रूपमा विकसित गर्नुपर्दछ र मुलुकको पहिचानको धरोहरका रूपमा रहेका कला, साहित्य, वाध्यवादन एवम् सबैखाले संस्कृतिको जगेर्ना गर्ने केन्द्रको रूपमा स्थापना गर्नुपर्दछ भन्ने मान्यताका साथ साहित्य सन्ध्या जस्तै क्रियाशील सबै खाले सङ्घसंस्थासँग सहकार्य गर्दै आइरहेका छौँ र गरिरहने छौँ । जनस्तरबाट र सामाजिक रूपान्तरणको पक्षमा समर्पित व्यक्तित्वहरूबाट सञ्चालित र आफ्नै प्रयत्नले विशिष्ट पहिचान कायम गर्न सफल रहेको साहित्य सन्ध्यासँग यसअघि पनि सहकार्य गर्ने अवसर प्राप्त भएको थियो र आजको यो विशिष्ट समारोहको आयोजनामा पनि सहकार्य गर्ने अवसर प्राप्त भएकोमा हामीलाई खुसी महसुस भइरहेको छ । हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने सबै आदरणीय व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्दछु भन्नुभयो ।
साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारीको संयोजकत्वमा डा.फणीन्द्रराज निरौला र डा.भागवत आचार्य सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको र उक्त समितिको सिफारिसमा २०७४ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान साहित्यकार, स्तम्भकार, राजनीतिक विश्लेषक आनन्दराम पौडेललाई अर्पण गर्नलागिएकाले उहाँको व्यक्तित्वका बारेमा प्रकाश पार्नुहुँदै पुण्य गौतम ‘विश्वास’ले साहित्य सन्ध्या आफैँमा सामाजिक रूपान्तरण अभियानको लरतरो अभियान नभएको, जनस्तरमा गहिरोसँग भिजेको संस्था रहेको र यसले तिसको दशकदेखि साहित्यमा सक्रियतापूर्वक क्रियाशीलता देखाइरहेका शक्तिशाली स्रष्टा आनन्दराम पौडेललाई पुरस्कारका निम्ति छनोट गरेकोमा अत्यन्तै सही छनोट भएको भन्ने लागेको छ, गौरवबोध भएको छ । वि.सं.२०१२ साउन ४ गते मकवानपुर जिल्लाको नामटारमा आमा चन्द्रकुमारी र बुबा पं.टीकाप्रसाद उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका आनन्दराम पौडेल सरकारको उच्च प्रशासक भएर बस्दा पनि कुर्सीमा ओथारा नबस्ने, ठुलो महत्वाकाङ्क्षा पनि नराख्ने, स्वाभिमानी, देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने, प्रखर लेखन र प्रस्तुति भएका, लोभानीपापानीबाट मुक्त निर्भीक स्रष्टा मात्र होइन उनी सूचना र अध्ययनमा सदैव अपडेट भइरहने राष्ट्रवादी अभियन्ता भएकाले साहित्य सन्ध्या पुरस्कारका लागि छनोटमा पर्नुभएको हो । यो सुखद अवसरमा म उहाँलाई बधाई दिन्छु र सम्मानयोग्य ठान्ने स्रष्टा चयन समिति तथा साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो ।
सम्मानित व्यक्तित्व प्रा.डा.देवबहादुर रोका र नेहा लामाको व्यक्तित्वका बारेमा प्रकाश पार्दै जयन्ती स्पन्दनले प्रा.डा.देवबहादुर रोका स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा मध्यम वर्गीय परिवारमा जन्मिएर पनि भारतको लखनउ र बनारसबाट आयुर्वेदको कायचिकित्सामा उच्च शिक्षा हासिल गरी तीन दशकभन्दा बढी प्राध्यापनका माध्यमबाट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद्, आयुर्वेद अस्पताल नरदेवी विकाससमिति जस्ता महत्त्वपूर्ण निकायमा रही उल्लेख्य योगदान गर्नुभएको, आयुर्वेद क्याम्पसको प्रमुखका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मात्र नभई आयुर्वेद शिक्षण अस्पतालको निमित्त कार्यकारी प्रमुखको रूपमा सेवारत रही नेपालमा आयुर्वेद शिक्षा र चिकित्साका क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभई आयुर्वेदलाई आधुनिक चिकित्साको भरपर्दाे विकल्पका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान गर्नुभएका, सिङ्गो जीवन आयुर्वेदका क्षेत्रमा समर्पण गर्नुभएका; सङ्गठन, प्राध्यापन र नीतिनिर्माणका माध्यमबाट आयुर्वेदका क्षेत्रमा गरिमामय कार्यसम्पादन गर्नुभएका कारण उहाँको यो अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै २०७४ सालको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्न सिफारिस गरिएको हो ।
त्यसैगरी सृजना तामाङ तथा विकास लामाकी सुपुत्रीका रूपमा अत्यन्त विपन्न परिवारमा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.९ (साविक दाप्चा छत्रेबाँझ)मा जन्मिएर पनि सानैदेखि अनुशासित, लगनशील, व्यवहारिक, इमानदार, निष्ठावान् मात्र होइन अत्यन्त मिहिनेती विद्यार्थीका रूपमा चिनिन सफल भई आपूmसरहका अन्य विद्यार्थीकी प्रेरणाकी स्रोतसमेत बन्न सफल भएकी नेहाकी आमा क्यान्सरले पीडित हुनुभएकी र बाबुले अर्की ल्याएर आमालाई बेसहारा पारेको दर्दनाक अवस्थामा पनि अरूको घरमा सेवा गरेर पठनपाठन सुचारु राख्दै आमासमेतको हेरचाहको जिम्मेवारी यो सानै उमेरमा लिइरहेकी नेहाको पठनपाठनमा समेत सहयोग पुगोस्, पीडामा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने अभिप्रयाले उनको उज्ज्वल भविष्यको कामनासहित २०७४ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’का लागि छनोट गरिएको व्यहोरा जानकारी गराउनुभयो ।
त्यसपछि विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले माल्यार्पण गरेर र प्रमुख अतिथि प्रा.आनन्ददेव भट्टले रु.१५,०००।– राशिको २०७४ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ साहित्यकार आनन्दराम पौडेललाई अर्पण गर्नुभयो । त्यसैगरी विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले माल्यार्पण गरेर र प्रमुख अतिथि प्रा.आनन्ददेव भट्टले रु.१०,०००।– राशिको २०७४ सालको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ आयुर्वेद चिकित्सा क्षेत्रका विद्वान प्रा.डा.देवबहादुर रोकालाई अर्पण गर्नुभयो । त्यसैगरी विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले माल्यार्पण गरेर र प्रमुख अतिथि प्रा.आनन्ददेव भट्टले रु.१०,०००।– राशिको २०७४ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ विपन्न छात्रा नेहा लामालाई अर्पण गर्नुभयो ।
प्राज्ञ एवम् पुरस्कारको अक्षयकोष स्थापना गर्नुहुने नर्मदेश्वरी सत्यालले सकारात्मक सोच राखेर काम गर्ने हो भने पुरुषले दस वर्षमा गर्ने रूपान्तरण महिलाले दुई वर्षमा नै गर्नसकिने र समाजमा हुने अनावश्यक टीकाटिप्पणीमा पनि आफैँ रूपान्तरण हुँदै जाने अवस्था हुँदो रहेछ । समाज रूपान्तरण उपदेशले होइन आपूmबाट थालिने कर्मबाट हुनसक्छ भन्ने स्पष्ट मान्यताका साथ हामीले आपूm मरेपछि गरिने परम्परागत सबै खाले कर्म नगर्ने र त्यसमा लाग्ने खर्च अहिले नै छुट्याएर अक्षयकोष स्थापना गर्ने निर्णय गर्यौँ । हाम्रा सासू–ससुराको वार्षिक श्राद्ध गर्ने जस्तो परम्परागत कार्य पनि नगरी वर्षमा एकपटक समाज रूपान्तरणका पक्षमा र मानवहित एवम् समाजहितमा समर्पित व्यक्तित्वलाई सम्मानित गरेर बुबाआमालाई सम्झने निर्णय गर्यौँ र अक्षयकोषको स्थापना गर्यौँ । समाज रूपान्तरण जबरजस्त हुने कुरा नभएकाले सत्कर्मका माध्यमबाट र सकारात्मक सोच राखेर काम गरियो भने अपेक्षित लक्ष्यप्राप्ति हुनसक्छ भन्ने उद्देश्य राखेका हौँ । फलस्वरूव आज दुई फरक फरक क्षेत्रका व्यक्तित्व सम्मानित हुनुभएको छ । यो अभियानले निरन्तराता पाइनै रहने छ भन्नुभयो ।
सम्मानित व्यक्तित्व आनन्दराम पौडेलले आनन्ददेव भट्ट जस्तो सरल र पवित्र व्यक्तिको हातबाट जनस्तरबाट स्थापित अत्यन्त गरिमामय साहित्य सन्ध्या पुरस्कार पाएकोमा मलाई अत्यन्त गौरवबोध भएको छ । स्रष्टा सरल र महत्वाकाङ्क्षविहीन नै हुन्छ र उसको चाहना न्यायपूर्ण समाजको स्थापना होस् भन्ने रहन्छ तर हाम्रो समाज बिग्रिँदे गएको मलाई भान भएको छ, विखण्डित र प्रतिरोधहीन समाज निर्माण हुँदै छ कि भन्ने चिन्ता लाग्छ, असहिष्णु समाज बन्नलागेको वा लहै लहैमा कुद्ने मनोविज्ञान बढेको हो कि भन्ने चिन्ता लाग्छ ! किनभने देवकोटाका सालिक भत्काइँदै छन् तर प्रतिवाद कोही कसैले गर्दैन ! यो विषम अवस्थामा हामी स्रष्टा सम्वेदनशील हुनुपर्छ भन्ने मेरो आग्रह हो र म त्यसतर्फ केन्द्रित गर्दै कलम चलाउने गर्छु । आजको यो गरिमामय सम्मानले मलाई थप जिम्मेवारीका साथ सिर्जनायात्रामा लाग्न घचघच्याएको छ भन्ने बुझेको छु र सम्मानलायक ठानेकोमा फेरि पनि हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो र एउटा शक्तिशाली कविता वाचन गर्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व प्रा.डा.देवबहादुर रोकाले स्याङ्जाको मध्यम वर्गीय परिवारको म अध्ययनका लागि काठमाडौँ आएको र आयुर्वेद क्याम्पसमा परिवर्तनका कुरा गर्दा अराष्ट्रिय तत्त्वको आरोप झेलेको, भारतबाट उच्च शिक्षाध्ययन गरेर फर्केको, ०४६ सालको आन्दोलनमा सक्रिय भएवापत फेरि दुःख पाएको भए पनि हाम्रो देशको आफ्नोपन छ र त्यसलाई जुनसुकै क्षेत्रमा पनि समयसापेक्ष पार्दै जाने हो भने हामी आत्मनिर्भर हुनसक्छौँ तर हामीकहाँ परिवर्तन गर्नै नखोज्ने जडतावाद हावी छ तापनि हाम्रा प्रयत्नले भारतका आयुर्वेद पढेका विद्यार्थीभन्दा हाम्रा विद्यार्थी राम्रा उत्पादन गर्न समर्थ भयौँ । पढाउने, बिरामी जाच्ने र उपचार गर्ने अनि निस्वार्थ काम गर्ने गर्यौँ भने एक न एक दिन कतै न कतैबाट सम्मानित हुनसकिन्छ भन्ने आदर्श विद्यार्थीलाई सिकाउने म स्वयम्लाई आज तपाईँहरूले सम्मानयोग्य ठानिदिनुभयो । यो सम्मानले मलाई पनि कर्मको फल पाएँ कि भन्ने लागेको छ भने मेरा विद्यार्थी समेतका लागि यो प्रेरणाको विषय बनेको छ, इमान्दार र कर्तव्यपरायण मान्छेलाई खोज्ने संस्था पनि हुँदारहेछन् भन्ने अनुभूति भएको छ, डा. मदन सत्याल जस्ता पुरस्कार स्थापना गर्ने गुणग्राही व्यक्ति पनि समाजमा हुँदा रहेछन् भन्ने अनुभूति भएको छ । यो सम्मानले रूपान्तरणका पक्षमा योगदान गर्न, आयुर्वेद चिकित्सा आधुनिक चिकित्साको भरपर्दाे विकल्प हो, लामा र दीर्घरोगका लागि अत्यन्त लाभदायी विकल्प हो भन्ने स्थापित गर्न मलाई प्रेरणा प्राप्त भएको छ, जिम्मेवारी थपिएको अनुभूति भएको छ । आजको यो अवसरका लागि म आयोजक संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो ।
नियात्राकार पोषरमण चापागाईँले आफ्ना दिवङ्गत बुबाआमाको सम्झना र सम्मानमा रु.एक लाखको अक्षयकोष राखी साहित्य सन्ध्याको मासिक शृङ्खलामा प्राप्त हुने नियात्रामध्ये उत्कृष्ट एक जनालाई रु.१,०००।– पुरस्कार र सम्मानपत्र प्रदान गर्ने उद्देश्यका साथ नियात्रासाहित्यको उत्थानमा आपूm लागेको धारणा राख्नुभयो । जसअनुसार यो वर्षभरिमा पुरस्कृत हुनुभएका तर सम्मानपत्र नदिइएका स्रष्टाहरू राम विनय, प्राज्ञ नर्मदेश्वरी सत्याल, बलराम अधिकारी, अच्युत घिमिरे र डा.सावित्री श्रेष्ठलाई प्रमुख अतिथि आनन्ददेव भट्टले सम्मानपत्र अर्पण गर्नुभयो भने नियात्राकार पोष चापागाईँले माल्यार्पण गर्नुभयो ।
वरिष्ठ एवम् आदरणीय ९१ वर्षीय पत्रकार भैरव रिसालले साहित्य सन्ध्याको यो विशेष समारोहमा आऊँ आऊँ लागेर म आएँ । दिउँसो सुरु हुने तर सन्ध्या नाम राखिएको यो विशेष समारोहमा पुरस्कृत हुनुहुने सबैलाई आदरभाव व्यक्त गर्दछु, बधाई दिन्छु । हाम्रा लोकभाका आफैँमा ठुला साहित्य हुन्, दर्शन हुन् । आठ घण्टा काम, आठ घण्टा आरामको मइ दिवसको नाराले हाम्रो देशमा सार्थकता पाइरहेको छैन, श्रम र पसिनाको सम्मान अझै हुनसकेको छैन । यो पक्षमा साहित्यकारहरूको मैले ध्यानाकर्षण गर्न मात्रै खोजेको हुँ । साहित्यका विद्वानहरूको यो जमघटमा शुभकामनाका शब्द राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले साहित्य सन्ध्याले थालनी गरेको नियमित लामो परम्पराअनुसार नै आज पुरस्कार तथा सम्मान अर्पणको विशेष समारोह सम्पन्न भएको छ । २०१० सालमा मैले कविता लेखेर रु.५।– को पुरस्कार पाउँदा मलाई ठुलो प्रेरणा प्राप्त भएको अझै सम्झना छ । त्यसैले पुरस्कारले स्रष्टालाई हौसला र प्रेरणा थप्ने कार्य गर्दछ, सत्कर्ममा लाग्न प्रेरित गर्दछ । प्रकृति र मान्छेको सम्बन्ध छ, रुख र मान्छेको परिपूरक सम्बन्ध छ । साहित्यकारले यस्तै विलक्षण कुराको खोजी गर्छ र समाजलाई झकझक्याउने काम गर्छ । त्यसैले साहित्यकार समाज रूपान्तरणको सम्बाहक हो । त्यसैले आआप्m्नो क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई आजको यो विशिष्ट समारोहमा तीनओटा महत्त्वपूर्ण पुरस्कार तथा सम्मान अर्पण भएका छन् । साहित्य सन्ध्याका वर्षभरिका शृङ्खलामा पुरस्कृत छ जनाले सम्मानपत्र प्राप्त गर्नुभएको छ । म सबै सबैलाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।
प्रमुख अतिथि प्रा.आनन्ददेव भट्टले साहित्य सन्ध्याको यस वार्षिक पुरस्कार सम्मान अर्पण विशेष समारोहमा आज पुरस्कृत हुनुहुने साहित्यकार आनन्दराम पौडेल, आयुर्वेद चिकित्सा क्षेत्रमा विद्वान प्रा.डा.देवबहादुर रोका र छात्रा नेहा लामालगायत प्रतिभाहरूलाई म उहाँहरूले समाज तथा राष्ट्रप्रति गर्नुभएको योगदानको प्रशंसाका साथै सम्मान गर्दछु । यस सम्मानबाट उहाँहरूलाई त यथोचित प्रेरणा मिल्ने नै छ, साथै सम्मान तथा पुरस्कारका लागि योग्य व्यक्तिको छनौट भएमा त्यस पुरस्कारले व्यक्ति, समाज तथा राष्ट्रलाई सकारात्मक ऊर्जा, प्रेरणा र सन्देश दिन्छ र राष्ट्रनिर्माणमा लाग्न समर्पित गराउँछ । आज पुरस्कृत प्रतिभाहरू पुरस्कार तथा सम्मान पाउनयोग्य हुनुहुन्छ । यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ भन्ने मैले आशा गरेको छु ।
कुनै संस्था स्थापना गर्नु ठुलो कुरा होइन, त्यसको निरन्तरता र लक्ष्यप्राप्तिका लागि निरन्तर लागिरहनु अझ महत्त्वपूर्ण कुरा हो । प्रगतिशील स्रष्टाहरूको अगुवा संस्था साहित्य सन्ध्याले लगभग ३७ वर्षमा ३८७ शृङ्खला पूरा गरेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । म यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र संस्थाको लक्ष्यप्राप्तिमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
प्रगतिशीलताको ढुकढुकी सामाजिक रूपान्तरणमा भेटिन्छ । रूपान्तरणको अर्थ सकारात्मकता, ऊध्र्वता र निरन्तर उज्यालोतर्फको यात्रा हो । यसका लागि समस्त मानव मात्रको गरिमा, सम्मान र जीविका सुनिश्चित गर्नु पहिलो चरण हो भने मानवीय अन्तश्चेतनाको विकासद्वारा परिवार, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय तहसम्म मानवीय मूल्य, गरिमा, न्याय स्थापनामार्फत् विश्वबन्धुत्व कायम गर्नु यसको लक्ष्य हो । मानव सभ्यताको इतिहास सकारात्मक गुणहरूको पहिचान र सोको अनुसरणद्वारा निर्माण भएको हो । प्रगतिशील स्रष्टाहरूले पनि यस कुरालाई अझ मनन गर्नु आवश्यक छ । देशको राजनीतिक, सामाजिक व्यवस्थामा परिवर्तन भए पनि हाम्रा विचार, संस्कार र संस्कृतिमा निरन्तर परिष्कार नगर्ने हो भने प्रगतिशीलताको स्पन्दन छाम्न हामी असमर्थ हुने छौँ । प्रगतिशील स्रष्टाले यसतर्फ गम्भीर हुनु आवश्यक छ ।
हामीसँग सबै थोक छ तर अभावमा छौँ ! प्राकृतिक स्रोत साधन छ तर घरवारविहीन छौँ ! जमिन छ तर पेटभर खान नपाउने अझै धेरै नै छौँ ! हाम्रो देशमा अन्य देशका मान्छे आएर श्रमको आपूर्ति गर्नुपर्दछ तर हाम्रा युवा बाहिर जान बाध्य छन् ! यस्तो परिस्थितिमा हामीले श्रमको गरिमा र समानताको सन्देश छर्नु र देशमा रोजगारी सिर्जनामार्फत विकास र समृद्धिको लागि मार्ग प्रशस्त गर्नु अहिलेको आवश्यकता हो । हामी देशभित्र सानोतिनो काम गर्न हिच्किचाउँछौँ तर विदेश गएर त्यही काम थोरै पारिश्रमिकमा गर्न किन तयार हुन्छौँ ? यस्ता कर्मले देशलाई केन्द्रमा राख्नुपर्नेमा व्यक्ति आफैँलाई पो केन्द्रमा राखिरहेका छौँ कि ! गम्भीर भएर सोच्ने वेला आएको छ । प्रगतिशील स्रष्टाहरूलाई यसतर्फ आफ्ना सिर्जना केन्द्रित गर्न म आग्रह गर्दछु ।
सन्ध्याको आजको यो ३८७ औँ कार्यक्रम अत्यन्त गरिमामय भएको मलाई अनुभूति भएको छ । यसमा सम्बद्ध सबै पदाधिकारीलाई म धन्यवाद दिन्छु । कार्यक्रममा मलाई प्रमुख अतिथिको भूमिका प्रदान गर्नुभएकोमा हार्दिक धन्यवादसमेत ज्ञापन गर्दछु भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै आआफ्ना क्षेत्रका विद्वान एवम् पुरस्कारको उद्देश्यमुताविकका व्यक्तित्वहरूलाई आज हामीले साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गरेका छौँ । अशक्तताका बाबजुद प्रा.आनन्ददेव भट्ट आइदिनुभएको छ, थानकोटदेखि हाम्रो अभियानका प्रेरक व्यक्तित्व आदरणीय डा.मोदनाथ प्रश्रित आइदिनुभएको छ, ९१ वर्षको उमेरमा पनि हाम्रो यो समारोहमा आफ्नो गरिमामय उपस्थिति जनाइदिनुहुने भैरव रिसालज्यू हुनुहुन्छ । म हार्दिक हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्यासँगको सहकार्यमा जोडिनुभएका डा.मदनप्रसाद सत्याल, प्राज्ञ नर्मदेश्वरी सत्याल, नियात्राकार पोषरमण चापागाईँ अनि हामीले अर्पण गर्नलागेको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान ग्रहण गर्न आइदिनुहुने आनन्दराम पौडेल, प्रा.डा.देवबहादुर रोका र नेहा लामा, हाम्रो निम्ता स्वीकारेर आइदिनुहुने तपाईँ सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, सहकार्य गरिदिनुहुने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाज्यू लगायत सबै सबैमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *