काठमाडौं, साउन ९ — साहित्य सन्ध्याको कार्यसमितिको शुक्रवार साँझ बसेको बैठकले २०८१ सालको “साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान” वरिष्ठ समालोचक, कवि, भाषाविद् र साहित्यसेवी प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गर्ने निर्णय गरेको छ।
साहित्य सन्ध्याका अनुसार नेपाली, संस्कृत र अङ्ग्रेजी तीनै भाषामा दखल राख्ने त्रिपाठीलाई नेपाली समालोचनामा पुर्याएको दीर्घकालीन योगदानका आधारमा सम्मानित गर्न लागिएको हो। पुरस्कार राशी ५०,००० रुपैयाँ रहेको छ।
त्रिपाठीको जन्म वि.सं. १९९९ साल चैत १३ गते तनहुँ जिल्लाको चुँदीरम्घामा भएको हो। उहाँले २००८ सालदेखि सृजनायात्रा र २०१८ सालदेखि समालोचनात्मक लेखन सुरु गर्नुभएको थियो। उहाँका ‘नेपाली कविताको सिंहावलोकन’, ‘विचरण’, ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा’, ‘साहित्य सिद्धान्तः शोध तथा सृजन विधि’ लगायतका कृतिहरू नेपाली समालोचनाको माइलस्टोन मानिन्छन्।
कवि, महाकवि, निबन्धकार, भाषाविद्, अनुवादक र सम्पादकको रूपमा समेत स्थापित त्रिपाठी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका पूर्व डिन र नेपाली केन्द्रीय विभागका पूर्व प्रमुखसमेत रहनुभएको छ।
उहाँका योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी २०७८ असोज २५ गते शनिवार, अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा एक विशेष समारोहबीच पुरस्कार प्रदान गरिने छ।
पुरस्कार छनोटका लागि साहित्य सन्ध्याका सल्लाहकार प्रा. जगत उपाध्याय ‘प्रेक्षित’को संयोजकत्वमा प्राज्ञ माया ठकुरी र रमेश पोखरेल सदस्य रहेको समितिले सिफारिस गरेको थियो। सो सिफारिसको आधारमा कार्यसमितिले निर्णय लिएको हो।
