रमेश पोखरेल, काठमाडौं
साहित्य सन्ध्याको नियमित मासिक ३५७ औँ शृङ्खला फागुन १ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘लघु कथा लेखन परिचर्चा’ विषयमा लघु कथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले चर्चा गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन पूर्वार्धमा रूपक अलङ्कारले र उत्तराद्र्धमा रमेश पोखरेलले गर्नु भएको थियो भने अतिथिका रूपमा डा.षडानन्द पौडेल, डा.फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कवि कणाद महर्षि, हेटौँडाका कवि आर.सी.रिजाल र आनन्दराम पौडेल उपस्थित हुनु हुन्थ्यो ।
श्री ओम श्रेष्ठ ‘रोदन’ले लघु कथा अहिले लोकप्रिय लेखन बनि रहेको, प्रविधिको उच्च विकासका कारण मान्छेसँग लामो समय अध्ययनका लागि नभइ रहेको वर्तमानमा लघु कथा पठन संस्कृति बढेको, २००७ सालमा पूर्णप्रसाद ब्राह्मणको लघु कथा सङ्ग्रह प्रकाशित भएपछि लघु कथा लेखनको प्रारम्भ भएको; लघु कथाको सिद्धान्त, इतिहास, पृष्ठभूमि, समालोचना जस्ता केही अभिलेख नभएकाले यो विधा अलि पछाडि परेको, २०५४ सालमा रेयुकाइ नेपालसँग मिलेर यसका केही आधारभूत सिद्धान्त तयार पारिएको, जस अनुसार २५० शब्दसम्मको सीमामा लघु कथा लेखिनु पर्ने तय गरिएको, २०६४ सालमा सिद्धान्त केन्द्रित बहस गरिएको, छोटो पार्दैमा लघु कथा हुन्छ भन्ने भ्रम हटाइएको, विदेशी विद्वानका परिभाषामा समेत केही अन्योल र द्विविधा रहेको भए पनि अहिले भने त्रिभुवन विश्व विद्यालयले यसका सैद्धान्तिक आधार तयार पारी एम.फिल र विद्यावारिधि गराइ रहेको, २५० शब्दसम्मको सीमा भने २००७ सालताका लेखिएका लघु कथाहरू २५० शब्द वरपर रहेर लेखिएकाले पनि सो सीमा उपयुक्त होला भन्ने ठानिएको, एउटा राम्रो लघु कथा केही विशिष्ट सन्देशका साथ टुङ्गिइ सकेपछि त्यसलाई तन्काउन सकिदैन, शीर्षक केही रहस्यात्मक होस्, पहिलो वाक्य नै कौतुहलमय होस्, लघु कथामा व्याख्यात्मक र उदाहरण दिने खालका सन्दर्भ पनि हुनु नहुने, थोरै शब्दमा धेरै भन्नु पर्ने भएकाले घटनालाई स्वाट्टै बढाउनु पर्ने र अन्तिम वाक्य झट्का दिने खालको हुनु पर्ने, घटनालाई पाठकको चाहनानुसार बुझ्ने बनाइ दिनु पर्ने; थोरै पात्र, विम्बात्मक, व्यङ्ग्यात्मक, सीमित परिवेश लघु कथामा हुनु पर्ने, लघु कथामा समकालीनता आवश्यक हुने, यसको आकार छोटो हुने भएकाले सोझै पहाड चढ्न कठिन नै हुन्छ । त्यति हुँदाहुँदै पनि अहिले यसका प्रतिको आकर्षण बढेको छ, ऊर्वर बन्दै गइ रहेको छ भन्ने धारणा राख्नु भयो ।
बालकविहरू प्रयत्ना सिलवाल र अनुश्री आचार्यका कविता वाचनबाट गोष्ठीको थालनी गरिएको थियो भने मुकुन्द न्यौपाने, प्रेम सिलवाल, गोपाल नेपाल, कणाद महर्षि, रमेश गौतम ‘पाल्पाली’, लीलाराज दाहाल, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रशान्त खरेलले लघु कथा वाचना गर्नु भएको थियो । कविहरू रमेश पोखरेल, रूपक अलङ्कार, नवराज श्रेष्ठ, प्रदीप खद्योत, यशोदा अधिकारी, आर.सी.रिजाल, आनन्दराम पौडेल, कल्पना काफ्ले, पुण्य गौतम ‘विश्वास’, डम्बरध्वज लिम्बू, इन्द्रजित शर्मा चौलागाईँ, गोविन्द प्रसाद आचार्य, गणेश पौडेल र तारा गाउँलेले समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
वाचित रचनामाथि डा.षडानन्द पौडेलले टिप्पणी गर्नु हुँदै स्रष्टाको सिर्जना भन्नु नै महान कार्य हो, नवीन कार्य हो, कतै कसैलाई नामसारी नहुने सम्पत्ति हो । स्रष्टाका सृजना कृतिहरू अमर सन्तान हुन् । लघु कथामा सार वस्तु, उत्कर्षतिर जाने अवस्था र अप्रत्यासित निष्कर्ष हुनु आवश्यक छ । त्यति भयो भने मात्र लघु कथा राम्रो र सफल मानिन्छ । लघु कथाको रचना गर्भ कतै न कतै कुनै न कुनै तरिकाले आइ दिनु पनि उचित हुन्छ । लघु कथाको आकारको कुरा चाहिँ स्रष्टाको कौशलमा भर पर्ने कुरा हो । समाजमा व्याप्त रहेका विकृति, विसङ्गति रूपान्तरण गर्ने कार्यमा हाम्रा रचनाले भूमिका खेल्न सके भने रचना सुन्दर र सार्थक बन्छन् त्यसैले स्रष्टाले यो पक्षलाई महत्त्वका साथ ध्यान पुर्याउनु पर्छ र सिर्जना गर्नु पर्छ । आज वाचित रचनाहरू त्यो दिशातिर उन्मुख छन् भन्ने धारणा व्यक्त गर्नु भयो ।
गोष्ठीका साभाध्यक्ष राम विनयले साहित्य सन्ध्याको हरेक महिनाको गोष्ठीलाई विशेष महत्त्वको पार्ने हाम्रो प्रयत्न अनुरूप हरेक महिना केही न केही विशेष विषयमा चर्चा गर्ने र कविहरूका सिर्जना सुन्ने गरेका छौँ । आज हामीले ‘लघु कथा लेखन र यसमा ध्यान दिनु पर्ने पक्षहरू’ विषयमा श्रीओम श्रेष्ठ ‘रोदन’बाट नेपाली साहित्यको इतिहासदेखि वर्तमानसम्मको र राम्रा लघु कथा लेख्न के के कुुरामा सावधानी अपनाउनु पर्छ भन्ने परिचर्चा सुन्यौँ । उपस्थित सबैलाई आजको यो गोष्ठी लाभप्रद भयो होला भन्ने हामीलाई लागेको छ । अर्काे कार्यक्रममा हामी फेरि अर्काे कुनै विषय लिएर आउने नै छौँ । आजको यो विशेष समारोहमा उपस्थित सबै सबैलाई हार्दिक धन्यवाद छ भन्नु हुँदै गोष्ठीको समापन गर्नु भयो ।






