‘अविरल जनसाहित्य यात्रा–८४’मा विराटनगरका सशक्त प्रगतिवादी स्रष्टा शिवनायरण पण्डित ‘सिङ्गल’का कविता गुञ्जिए

मङ्सिर ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८४ औँ शृङ्खलामा पूर्वको विराटनगरमा रहेर सिजृना, सङ्गठन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका सशक्त प्रगतिवादी कवि शिवनारायण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)का एक दर्जन कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले स्थायी समिति सदस्य पूर्वमन्त्री एवम् साहित्यलाई माया गर्ने लालबाबु पण्डित उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा एमाले संस्कृति विभागका सचिव राजेश थापा, महासङ्घका उपाध्यक्ष आर.सी. न्यौपाने, प्रा.केशव सुवेदी, देविका तिमिल्सिना, चिन्तामणि सिवाकोटी, नर्मदेश्वरी सत्याल, डा.भागवत आचार्य, डम्बर पहाडी, महेशराज खरेल, साधुराम नेपाल, खेमराज निरौला, सीताराम पण्डित, लालबहादुर भुजेल, शार्दूल भट्टराई, कुन्ता शर्मा उपस्थित हुनुहुन्थ्यो ।


अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण र प्रमुख अतिथिलाई पुष्पगुचछा अर्पण गरी स्वागत गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले गर्नुभएको थियो ।
अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै २०१९ सालमा जन्मिएका एसएनपी सिङ्गलको खास नाम शिवनारायण पण्डित ‘सिङ्गल’ रहेको; पचारप्रसारबाट टाढा रहने स्रष्टा भए पनि सिर्जना, सङ्गठन र सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका; एउटा कवितासङ्ग्रह, एउटा उपन्यास प्रकाशित गराइसकेका, ‘कालो सूर्य’ नेपाली उपन्यासलाई मैथिलीमा अनुवाद गरेका, एउटा कवितासङ्ग्रह, एउटा नाटक र एक निबन्ध तथा लेखहरूको सङ्ग्रह प्रकाशनको पर्खाइमा रहेका सिङ्गल मूलतः कवि र आख्यानकार हुन् । आफ्ना सिर्जनाका माध्यमबाट सामाजिक रूपान्तरणको स्पष्ट चेतना र सन्देश सम्प्रेषण गर्ने सिङ्गल धेरै साहित्यिक एवम् सामाजिक सङ्घसंस्थाहरूमा सक्रिय रहेका छन् र उनले गरेको साहित्यको सेवावापत धेरै सङ्घसंस्थाले उनलाई सम्मानित तथा पुरस्कृतसमेत गरेका छन् । आजको यो विशेष समारोहमा यिनै सक्रिय स्रष्टाका एक दर्जन कविता सुन्ने छौँ भन्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले विगत सात वर्षदेखि देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज विराटनगरमा रहेर साहित्य सिर्जना गरिरहेका एसएनपी सिङ्गललाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा पूर्वका स्रष्टालाई प्रस्तुत गरिने सूचनासहित आमन्त्रण गरेकामा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत पनि गर्दछु भन्नुभयो ।


कविनायक शिवनारायण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)ले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूm साहित्यको विद्यार्थी नभएको, छापाखाना सञ्चालन गर्ने पेसामा रहेको, वाचन वैशिष्ट्य पनि खासै नरहेको तर साहित्य सिर्जनामा अभिरुचि राखी सिर्जनारत रहेको स्रष्टालाई राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालले लामो समयदेखि मासिकरूपमा आयोजना गरिरहेको यो विशेष समारोहमा आफ्ना एक दर्जन कविता सुनाउने गरी प्राप्त भएको अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु । मैले कविता सिर्जना गर्दा सदैव देशलाई सम्झिने गरेको छु । समाजले मानिस र मानिसका बिचमा विभेद गरेको पीडाले मन चिमोटिँदा, भ्रूणहत्याका माध्यमबाट मानवजीवनको अन्त्य भइरहेको देख्दा र सुन्दा, दाइजोप्रथाले समाज आक्रान्त भइरहेको देख्दा, परिवर्तनका चर्का कुरा गरे पनि नेपाली राजनीति र नेतृत्वले देश र जनताले अनुभूत गर्नेगरी काम नगरेर नागरिकको अन्तरमनमा निराशा पैदा गराइरहेको देख्दा, समाजमा नारी उत्पीडन नघटेको र त्यसमा पनि नारीले नै नारीको उत्पीडन गरिरहेको देख्दा मेरो मन व्यथित हुन्छ र त्यसलाई म साहित्यमा परिवर्तन गर्ने प्रयत्नस्वरूप सिर्जनामा लाग्ने गर्दछु भन्ने जानकारीसहित ‘भिक्षाटनमा आमा’, ‘मेरो समाज’, ‘हस्तिनापुर नेपाल’, ‘विधवा नारी’, ‘कुब्जा’, ‘देशमा बाढी पसेको छ’, ‘काठमाडौँको थप्पड’, ‘मच्छड र मानिसको युद्ध’, ‘सिंहदरवार’, ‘तेतर सदा’ शर्षिकका नेपाली भाषाका र ‘हमर देश कतेक सुन्दर’ शीर्षकको मैथिली भाषाको कविता गरी एघारओटा सशक्त कविता वाचन÷गायन गर्नुभएको थियो भने सहयोगी कवि डम्बर पहाडीले ‘ढड्वा मलाह’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।


वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै कवि एवम् समीक्षक देविका तिमिल्सिनाले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८४ औँ शृङ्खलामा पुगेको छ । एकैजना स्रष्टाका एक दर्जन कविता सुन्ने÷सुनाउने र वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थिति गुणात्मक रहेको छ । आज हामीले कवि शिवनारायण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)का कविता सुन्यौँ । २०७१ सालदेखि साहित्य प्रकाशनमा समेत सक्रिय रहेका कवि सिङ्गल बहुप्रतिभाशाली स्रष्टा हुन् । आज वाचित सबै कविताले सामाजिक रूपान्तरणको अपेक्षा गरेका छन् । विचारविनाको भाव मात्र कविता हुँदैन भन्ने आग्रह कविको रहेको देखिन्छ, जुन सत्य हो । वाचित सबै कविताको भाव प्रभावपूर्ण छ । सिङ्गो देशका जनताका पीडा कवितामा उजागर भएका छन् । कवितामा नवनिर्माण, आशावादिता र मानवताको पक्षधरता रहेको पाइन्छ । साथै मानवीय विभेदको विरोध, सामाजिक सद्भावको पक्षधरता, शिल्पका साथै विचारको राप अत्यन्त सुन्दरढङ्गले अभिव्यक्त भएको पाइन्छ । सामाजिक शोषणका यावत पक्षलाई कवितामा उजागर गरी त्यसको अन्त्यको आग्रह गरिएको छ । नेपाली समाजका सम्पूर्ण विकृत पक्षलाई कवितामा उजागर गरी रूपान्तरणका पक्षमा स्पष्ट सन्देश सम्प्रेषण गरिएको छ । कवितामा तराई मधेसका विकृत समस्या र उत्पीडनको जीवन्त चित्रण गरिएको छ । नेपाली राजनीतिले देखाएको सत्तास्वार्थको सशक्त विरोध कवितामा गरिएको छ । प्रकृतिले समान उपहार दिएर विभेद नगरे पनि समाजमा विभेद, रुढि, छुवाछुत कायम रहेको; स्वार्थका लागि देशै बेच्न पनि तयार देखिएको दूरावस्थाका प्रति कडा आक्रोश व्यक्त गरिएको छ । सबै कवितामा राष्ट्रियताको वकालत गरिएको छ । हेर्दाहेर्दै देश मागेर खाने दास भएकोमा चिन्ता जाहेर गरिएको छ र आत्मनिर्भर हुने सन्देश सम्प्रेषण गरिएको छ । महिला उत्पीडनका प्रति कडा प्रहार गर्दै महिलालाई भोग्या मान्ने पितृसत्तात्मक चिन्तनको कडा विरोध गरिएको छ । राजनीति विकृत भएका कारण सामाजिक परिवर्तन अपेक्षानुरूप नभएको सन्देश सम्प्रेषण गरेका कवितामा जनताका आबाज तथ आग्रह मुखरित भएको पाइन्छ । पौराणिक विम्बको प्रयोग गरिएको छ र कविता सुबोध्य रहेका छन् भन्ने धारणा राख्नुभयो ।


विशेष अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो चौराासिऔँ शृङ्खलामा आज अत्यन्त सशक्त स्रष्टा एसएनपी सिङ्गललाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुरयाउँछ । आजको यो विशेष समारोहमा त विराटनगरका स्रष्टालाई सुन्ने अवसर प्राप्त भएको छ र कविले आफ्ना कवितामा ग्राम्यजीवनका दुर्लभ शब्दको प्रयोग गर्नुभएको छ, विम्ब र प्रतीकको प्रयोग पनि सुन्दर रहेको छ । नेपाली गरिबले बाँचेको जीवनलाई कवितामा मर्मान्तरूपमा चित्रण गरिएको छ । समाजमा रहेका सामाजिक विभेद, विकृति र विसङ्गतिको सशक्त चित्रण गरिएको हुँदा आजको यो समारोह उत्कृष्ट रहेको अनुभूति भएको धारणा राख्नुभयो ।


प्रमुख अतिथि लालबाबु पण्डितले आज परिचित र आफ्नै जिल्लावासी स्रष्टा एसएनपी सिङ्गलका कविता सुन्ने अवसर मिल्यो । वाचित सबै सिर्जना मर्मस्पर्शी छन् । कविताले मेची–महाकालीका बिच सद्भाव र एकताको आग्रह गरेका छन् । सिंहदरवार रूपान्तरण नभएको सत्य हो र रूपानतरण हुनै पर्ने सत्यलाई पनि कविताले उजागर गरेको पाइन्छ । शासनसत्तामा समन्वयको अभाव देखिएको, सृष्टिमा सम्पूर्णता छ तर दृष्टिमा दोष छ भन्ने सत्यलाई पनि कविताले स्थापित गरेको पाइन्छ । जापानका प्रधानमन्त्रीसँगको भेटमा उनले ‘हामीलाई प्रकृतिले ठगेको छ तर नेपाल प्राकृतिक हिसाबले स्वर्ग छ’ भनेको कुरा म अहिले पनि सम्झन्छु । परिवर्तनको चाहना राखेर वा भाषण गरेर मात्र रूपान्तरण हुनसक्तैन, देश र जनताका प्रतिको कर्तव्य पनि पूरा गर्नुपर्दछ । समाजको चेतना नै उल्टो भएकोमा सुल्ट्याउने प्रयत्न गर्नुपर्दछ । बाहिर देखिने आवरण र भित्री व्यवहारमा फरक देखिनुले सामाजिक रूपान्तरण हुनसक्तैन । रूपान्तरणको अभियानमा सबै सबैले आआफ्ना क्षेत्रबाट योगदान गर्नुपर्दछ । समस्याको उचित समाधान खोजियो भने मात्र रूपान्तरण हुनसक्छ । देशभित्र विविधता छ भन्ने स्वीकारेर पछौटेपन हटाउनुपर्दछ । हाम्रो आफ्नो परिस्थिति र सामाजिक विकृतिलाई पहिचान गरेर रूपान्तरणको इमानदार प्रयत्न गरिनुपर्दछ । हामीकहाँ मात्र होइन संसारमै पछौटेपन पाइन्छन् त्यसैले समस्या एकले अर्कातिर पन्छाएर समस्याको समाधान हुँदैन । सचेत वर्गमै समस्या र कमजोरी देखिन्छन् ! परिवर्तन गर्ने भनेको पीडामा, मारमा परेकाकै प्रयत्नले सम्भव हुने कुरा हो । निराश नभइकन सबैले कर्तव्यको पालना गर्ने हो भने रूपान्तरण गर्नसकिन्छ । विकसित मुलुकमा पनि समस्या छन्, हुन्छन् किनभने फोहोर सबै ठाउँमा हुन्छ । फोहोर देखेर भाग्ने होइन सफाइको अभियानमा लाग्नुपर्छ । खराब गर्नेलाई समाजले पनि अङ्कुश लगाउने वातावरण तयार पारिनुपर्दछ । आजका सबै कविताले यी कुराको सङ्केत गरेका छन् त्यसैले यो समारोह विशेष महत्त्वको बनेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, सङ्गठन, राजनीतिक–सामाजिक रूपान्तरण अभियानका अत्यन्त सक्रिय, अथकित, अविश्रान्त अभियन्ता शिवनारायण पण्डित ‘सिङ्गल’ (एसएनपी सिङ्गल)लाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने सिङ्गल आफैँमा प्रचारभन्दा टाढा रहने स्रष्टा हुन् । विचारले मात्र सामाजिक रूपान्तरण सम्भव छ भन्ने ठान्ने अनि जनताकै सेवामा समर्पित भइरहने अनुशासित अभियन्ता भएकाले कविले आफ्ना कवितामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै हाम्रो समाजको रूपान्तरणका पक्षमा आबाज उठाएका छन् । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने र सिर्जनालाई कलात्मक पार्ने उनको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । अभिव्यक्तिमा स्पष्टता रहेका यी स्रष्टा सिर्जनामा मात्र होइन अनुवादमा समेत सक्रिय रहेका छन् । आफ्ना सिर्जनामा लैङ्गिक विभेदको कडा विरोध गरिएको छ र विकृत राजनीतिलाई चुनौतीका साथ सचेत पार्ने काम गरिएको छ । कवितामा विचारलाई प्रवाहपूर्णरूपमा सम्प्रेषण गरिएको छ । विपन्न जनताले बाँचेको अभावपूर्ण जीवनलाई कवितामा मर्मान्तरूपमा उजागर गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरिएको छ । सुन्दर ग्राम्य विम्बको प्रयोग र वाचन वैशिष्ट्य आजका कविका विशेषता रहेको देखिन्छ । यिनै गुणग्राही स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी पुस महिनामा ८५ औँ ‘अविरल जनसाहित्य यात्रा’मा भैरहवामा रहेर नेपाली प्रगतिवादी साहित्यमा विशेष योगदान गरिरहेका प्रा.डा.कपिल लामिछानेलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *