वि.सं. २०४४ पुस १९ मा डा. मोदनाथ प्रश्रितको अध्यक्षतामा स्थापना भएको ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ले आफ्नो ३८ वर्षे यात्रा पूरा गर्दै पुस १९ गते शनिबार ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित उक्त समारोह महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
समारोहमा संस्थापक महासचिव तथा नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्त प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू सुजिता शाक्य, हेमराज राई र विनोद श्रेष्ठ, महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, लक्ष्मण रायमाझी, विष्णु प्रभात, प्रा. जगत उपाध्याय ‘प्रेक्षित’, प्रा.डा. हेमनाथ पौडेल, लक्ष्मी माली, स्नेह सायमी, पूर्व महासचिव राजेश थापा, शुष्मा राजभण्डारी, श्याम तमोट, राम विनय, डम्बर पहाडी, नर्मदेश्वरी सत्याल, रमेश पोखरेल, डा. कृष्ण सुवेदी, नन्दु उप्रेती, आकाश थापा, माधव प्रधान, डा. प्रतिभा पुन, नारायण परिश्रमी, के.के. कर्माचार्य, अशोक राई, मधु गुरुङ, वासुदेव अधिकारी, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहको सुरुवात राष्ट्रगानबाट गरिएको थियो भने मुलुकको राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। सोही अवसरमा महासङ्घको नवस्थापित कार्यालयको उद्घाटन प्रमुख अतिथि रघुजी पन्तले गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय जनसङ्गीत सङ्घ, बागमती प्रदेशका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए भने छेवाङ तेन्जिङ लामाको समूहले टुङ्नाको सुमधुर धुन सुनाएको थियो। भरत नेपाली र सूर्य मगरले सारङ्गीको धुन प्रस्तुत गरेका थिए भने नन्दु उप्रेतीले समसामयिक कविता वाचन गर्नुभएको थियो।
समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै महासङ्घकी उपाध्यक्ष नमुना शर्माले विगत ३८ वर्षको यात्रामा महासङ्घले सामाजिक रूपान्तरणको सांस्कृतिक अभियानमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। यस अभियानमा समर्पित केही अभियन्ताहरूको अवसान भइसके पनि उनीहरूको योगदानलाई स्मरण गर्दै सांस्कृतिक आन्दोलनलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि रघुजी पन्तले महासङ्घले आफ्नो स्थापना कालदेखि नै विभिन्न आरोह–अवरोह पार गर्दै सांस्कृतिक आन्दोलनलाई अगाडि बढाएको बताउनुभयो। उहाँले प्रविधिको तीव्र विकासले सिर्जनशीलतामा चुनौती थपेको उल्लेख गर्दै स्रष्टाहरूले पुरानो अनुभवको सम्मान गर्दै नयाँ पुस्तालाई समेटेर वैचारिक र सिर्जनात्मक यात्रालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले महासङ्घले स्रष्टाहरूलाई आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने तथा व्यक्तित्व विकास गर्ने महत्वपूर्ण मंच प्रदान गरेको बताउनुभयो। सांस्कृतिक रूपान्तरणका लागि चेतना र विचार निर्माण अत्यावश्यक रहेको उल्लेख गर्दै बुढानिलकण्ठ नगरपालिकाले महासङ्घको अभियानमा सहकार्य गर्ने निर्णय गरिसकेको जानकारी दिनुभयो।
एमाले केन्द्रीय सदस्य सुजिता शाक्यले विद्यार्थी जीवनदेखि नै आफू यस संस्थासँग जोडिएको स्मरण गर्दै कला, साहित्य र संस्कृतिका माध्यमबाट चेतना प्रवाह गर्न संस्कृतिकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। प्रविधिको दुरुपयोग र सामाजिक जिम्मेवारीबाट विमुख हुने प्रवृत्तिलाई रोक्न सांस्कृतिक चेतनाको आवश्यकता अझ बढेको उहाँको भनाइ थियो।
त्यस्तै अतिथि हेमराज राईले महासङ्घले ३८ वर्षको गौरवपूर्ण यात्रा तय गरेको उल्लेख गर्दै परिवर्तनलाई सम्बोधन गर्ने नयाँ सिर्जना र युवापुस्तालाई समेट्ने प्रयास अझ सशक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
समारोहका अध्यक्ष अशोककुमार राईले झण्डै चार दशकको यात्रामा महासङ्घ सशक्त सांस्कृतिक संस्थाका रूपमा स्थापित भएको बताउँदै सांस्कृतिक नीतिको अभाव अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। सांस्कृतिक अभियानलाई अझ प्रभावकारी बनाउन सिद्धान्त र व्यवहारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
समारोहको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।
