“कवि हुनु भनेको आजिवन प्रतिपक्षी हुनु हो” – विक्रम सुब्बा

परिचय:
नाम : विक्रम सुब्बा
औपचारिक नाम : डिल्ली विक्रम इङ्वाबा
जन्म मिति : वि.सं. २००९, पौष २० गते (January 3, 1953)
जन्मस्थान : पाँचथर फिदीम – ६, ओदिन
स्थाई ठेगाना : ८६/१५ शंखमूल, काठमाण्डौ
फोन : ४७८३५०१(घर), ९८५१०-७२९६५ (मोवाइल)
ईमेल : ingwaba2005@gmail.com
सम्प्रति : निर्देशक, हर्डेक-नेपाल
 
प्रकाशन
१. शन्तिको खोजमा (खण्डकाव्य)– २०३४ – Nepal
२. कविको आँखा कविताको भाखा (कविता संग्रह) – २०३९ – Nepali
३. सगरमाथा नाङ्गै देखिन्छ (कविता संग्रह) – २०४१ – Nepali
४. Concise Limbu Grammar and Dictionary – 1985 (२०४२) – English (Joint research and co-authored with late Dr. Alfons Wiedert, Kiel University/Germany
५. सुम्निमा पारुहाङ (मुन्धुम काव्य)– २०४५ – Nepali
६. विक्रम सुब्बाका कविता र गीतहरू – २०६०, प्रकाशक: लक्ष्मीसुन्दर निङलेखु , शंखमुल काठमाण्डौ – Nepal
७. Community Radio : Strategic Planning Manual , 2062, Jointly with Raghu Mainali, Published by CRSC/NEFEJ, 2063 – English
८. Community Radio: Joint Marketing Strategy, 2063, Jointly with Raghu Mainali and Yadav Chapagain, Published by CRSC/NEFEJ – English
९. निरंकुस जुँगाविरुद्ध (कविता संग्रह) – २०६५, मुन्धुम प्रकाशन काठमाण्डौ – Nepali
१०. Community Radio Performance Assessment System, 2066, Jointly with Yadav Chapagain and Raghu Mainali, Published by CRSC/NEFEJ, 2066 – English
११. Community Radio: Organizational Strengthening Guidelines, 2066, Jointly with Yadav Chapagain and Raghu Mainali, Published by CRSC/NEFEJ, 2066 – English
१२. सुरक्षित तथा प्रबावकारी विकास द्वारा जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापन कार्यालय २०१०,

कवि विक्रम सुब्बा सङ्क्षिप्त चिनारीः एक कविता, गीत लेख्ने र विकास परामर्शदाता नामक स्वतन्त्र खेतालाको काम गरि खाने मानिसको नाम विक्रम सुब्बा हो ।

नेपाली साहित्यको वर्तमान स्थिति कस्तो रहेको छ?
तुलनात्मक रुपमा नेपाली साहित्य केही अघि बढेको देखिन्छ । संख्यात्मक रुपमा धेरै पुस्तकहरू प्रकाशन भइरहेका छन् । धेरै मानिस साहित्यमा लागेका देखिन्छन् । पहिले पहिले सबै साहित्यकारले सबै साहित्यकालाई चिन्थे । अचेल सहित्यकारहरू चिन्न पनि गाह्रो हुन थालेकोछ । ठुलो भीड छ । सकेसम्म कतै जागिर खाने र रिटायर्ड जीवनमा साहित्यकार हुनेहरू पनि धेरै छन् । दुइचार कथा कविता लेख्ने, पार्टीको ताबेदारी गर्ने र प्रज्ञाप्रतिष्ठानमा सदश्य हुने र पार्टीले ठुलो साहित्यकार बनाइदिएका साहित्यकार पनि छन् । दुइचारजना साथीहरु मिल्यो दुइचार गोष्ठी आयोजना गर्‍यो र सबैसँग चिनजान गर्‍यो र त्यो जमातले ‘साहित्यकार’ भनेपछि साहित्यकार भएका पनि छन् । केही सञ्चार माध्यममा पत्रकारिता गर्नेहरुसँग राम्रो दोस्ती गर्‍यो अनि आफ्नो पुस्तकको ‘पुस्तक समिक्षा’ गज्जबले लेखाएर प्रकाशन गर्‍यो र ठुलो साहित्यकार भइ हाल्ने खालका साहित्यकार पनि छन् । अर्थात संख्या धेरै भएपछि प्रतिस्पर्धा पनि बढछ र प्रतिस्पर्धाले राम्रा प्रतिभाहरु जन्माउँदै जाला ।

अहिले साहित्यमा विभिन्न वाद (दर्शन) हरू देखापरेका छन् । यसमा तपाइको विश्लेषण कस्तो रहेको छ ? साहित्यका आयाम र दर्शनहरू विच कुनै सम्बन्ध छन् ?
कतिपय साहित्यिक ‘वाद’ वा आन्दोलनहरूले नेपाली साहित्यको ज्यानमा नयाँ रगत प्रशारण गरिदिएका छन् । जस्तै: हलन्त बहिस्कार आन्दोलनले सबै शब्दमा खुट्टा काट्ने प्रचलनमा सुधारै ल्यायो, झर्रोवादले नेपालीको तत्भवलाई प्रयोगमा ल्याउँने र तत्सम वा आगन्तुक शब्दको गुलामीबाट मुक्त हुने कुरा गर्‍यो, तेस्रो आयामले जीवनको सम्पूर्णतालाई अभिव्यक्ती दिने चेतना फैलायो, रंगवादले सबै रंगहरुले उत्तिकै सम्मान पाउँनु पर्ने कुरा गर्‍यो । तर कतिपय ‘वाद’ वा आन्दोलनहरू ‘म वा हामीलाई चिन’ भनेर ठूलो स्वरमा कराएजस्तो भएकोछ ।

साहित्यका आयाम र दर्शनहरू बिच सम्बन्ध हुन्छ । ‘जीवन’ वा ‘समाज’ वा ‘मुलुक’ एक तथ्यांक हो । त्यसलाई हिजोका दिनमा जसरी हेरिन्थ्यो र बुझिन्थ्यो आजका दिनमा नयाँ परिवर्तनले सृजना गरेको परिस्थिती अनुसार बुझ्नु पर्ने हुन्छ र त्यसलाई हिजोको आँखाला हेरेर हिजोकै अर्थमा बुझे ठाडै गल्ती हुनेछ । नयाँ जमानालाई नयाँ आँखाले हेर्नु पर्छ भन्ने कुराहरू नै जीवन, समाज र मुलुकका लागि नयाँ नयाँ आयाम हुन् । ती नयाँ नयाव आयामहरूलाई साहित्यहारूमा लेखिन्छन् । ती सहित्य कासरी लेख्ने भनेर सैद्धान्तिकिकरण गर्नुलाई ‘दर्शन’ वा ‘वाद’ भन्ने हो ।

अनुचित नभएमा तपाइकुन आयामको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने मान्यता रहेको छ ?
”म कवि हुनु भनेको आजिवन प्रतिपक्षी हुनु हो” भन्ने कुराका पक्षमा उभिएर कविता लेख्छु । जुन दिन कविले सम्झौता गर्छ त्यो दिनदेखि राम्रो कविता लेखिन्न भनि ठन्छु । त्यसै भएर म कुनै साहित्यक जागिर र पुरस्कार पनि लिनु हुन्न भन्छु । साहित्यक जागिर र पुरस्कारले पनि साहित्यकारलाई विस्तारै “उच्च घरानिया” चिन्तनतिर पलायन गराइदिन्छ र एक दिन गएर उ आम जनताभन्दा बढी आफ्नै “उच्च घरानिया”हरूको ताबेदारी गर्न थाल्छ । साहित्यकारले नै आलोचना गर्न छोडेपछि यो समाजमा नराम्रा कुराहरूको राज्य चल्ने हुन्छ भन्ने चिन्ता हो मेरो ।

साहित्यमा कला, जीवन र यथार्थ मध्ये कुन तत्व अनिवार्य हो जस्तो लाग्छ तपाइलाइ ? केहि साहित्यकारहरू कला विनाको साहित्य हुँदैन भन्छन् । यसमा तपाइको कस्तो मत रहेको छ ?
‘जीवन’ पहिलो कुरा हो । जीवन नै यथार्थ पनि हो । जीवन छ र त त्यसलाई सिंगार्न पाइन्छ जसलाई हामी ‘कला’ भन्दछौँ । अर्थात जीवन छ र त हामी जीवनका भोगाइ या अनुभवहरुलाई लेख्न पाउँछौँ । यही लेखेको कुरालाई मिठासपूर्ण किसिमले लेख्नु नै कला हो । त्यसैले साहित्यमा कला हुनु पर्‍यो । कलात्मक अभिव्यक्ति साहित्यले माग्छ ।

साहित्यमा धर्म, संस्कृति र राजनितिको कस्तो प्रभाव रहेको हुन्छ ? या यिनिहरूको प्रभाव रहनु हुन्न भन्ने मान्यतालाइ तपाइ कसरि लिनुहुन्छ ?

माथि नै ‘जीवन’ सबैभन्दा पहिलो कुरा हो भन्ने कुरा गरियो । जीवन, कुनै न कुनै समाजमा विद्यमान हुन्छ । समाजमा धर्म, सँस्कृती र राजनीति हुन्छ जसको छाप साहित्यमा पर्छ । कसैले धर्म, सँस्कृती र राजनीतिको प्रभाव साहित्यमा हुनु हुन्न भनेर के गर्ने? जसले यसो भन्छ उसैको रचना लिएर केलाउँने हो भने त्यो धर्म, सँस्कृती र राजनीतिको प्रभाव पाइन्छ । अर्थात साहित्य समाजभन्दा माथि र आकासभन्दा तल कतैतिर तुर्लुङग झुण्डिएको हुन्न बरु समाजमै रचित हुन्छ त्यसैले धर्म, सँस्कृती र राजनीतिको अन्तरघुलन साहित्यमा भएके हुन्छ । 

अब अलिक फरक प्रसङ्ग । अहिलेको विषम परिस्थितिलाइ कसरि नियालिरहनु भएको छ र तपाइको यसमा कस्तो विश्वेषण रहेको छ ?

‘अहिलेको विषम परिस्थिति’ भनेर विश्व र नेपालको परिस्थितीलाई इङगित गर्नु भएको हो भने पहिलेका पुँजीवादी र साम्राज्यवादीहरूले नयाँ किसिमले (विश्व बैँक, आइएनएफ, यूएन, अनेकौँ अन्तराष्ट्रिय संघसँस्था र ‘उदार अर्ततन्त्र’ मार्फत) दुनियालाई कब्जा गरेर लुटि रहेका थिए । तर हालै २००८ देखि सुरु भएको रिशेसनमा उनको ‘अमेरिकन मोडल को पुँजीवाद’ तहस नहस भएकोछ । (Freefall; America, Free Markets, And the Sinking of the World Economy, Joseph E. Stiglitz, w. w. Norton & Company, New York London; 2010)

अर्को पक्ष हेर्ने हो भने चीन र भारतजस्ता नयाँ र ठुला अर्थतन्त्रहरू आघि आएका छन् । भर्खर केही महिना अघि मात्र जापान विश्व अर्थन्त्रहरूको सूचिमा दोस्रो स्थानबाट तेस्रो स्थान झरेकोछ । चीन दोस्रो स्थानमा उक्लिएकोछ र अब २५ वर्षमा चीनले अमेरिकाको पहिलो स्थान खोस्ने छ भन्ने भविष्यवाणी गरिँदैछ । चीनको अफ्रिका, ल्याटिन अमेरिका र एशियामा जुन साइजको लगानी गरेर अघि बढी रहेछ त्यसले सो भविष्यवाणि पुरा हुने सक्ने पनि देखिन्छ । चीनले अहिलेको रिशेसनबाट मुक्त हुने स्टिमुलशको रुपमा अमेरिकालाई समेत १.५ ट्रिलियन डलर दियो । यो एक नौलो उदाहरण हो । अर्थात विश्व बजार या अर्ततन्त्र अब चिन र भारत मार्फत एशिया, अफ्रिका र ल्याटिन अमेरिका तिर सर्दैछ ।

अर्थतन्त्र जसको बलियो हुन्छ उसैले दुनिया कब्जा गरेको बिगतको इतिहास हेर्दा अब चीन र भारत बजार साम्राज्य कायम गर्ने किसिमले बढेका देखिन्छन् । अर्थात कुनै जमानामा बृटेन, फ्रान्स, पोर्टुगल, डच जस्ता मुलुकहरुको अर्थतन्त्र बलियो भयो र उनिहरुले संसार कब्जा गरे भने अब चीन र भारतको पालो आउँदै गरएको देख्छु ।

नेपालको परिस्थिती भन्ने हो भने सामन्तहरूको नायके (नारायण हिटीमा रहेको) सँस्था ‘राजतन्त्र’ ढलीसकेको जस्तो देखिन्छ । तर हरेक पार्टीहरू आफुलाई ‘नारायण हिटी’ ठानिरहेका छन् र हरेक राजनीतिको झोला बोक्नेहरु आफुलाई ‘राजा’ र जनतालाई ‘रैती’ ठानिरहेकै छन् । अहिले आएर तिनै नयाँ ‘नारायण हिटी’, तिनै सिरिपेचबिनाका नयाँ ‘राजा’हरु र आमुल परिवर्तन गर्न चाहनेहरू बिच द्वन्द चलिरहेछ । जसमा अमेरिका र भारत खुलेरै नयाँ ‘नारायण हिटी’, सिरिपेचबिनाका नयाँ ‘राजा’हरुको पक्षमा लागेका छन् । भारतको योजनै सन् २०१५ सम्ममा नेपाललाई भारतमा गाभ्ने कुरा नेहरू डक्ट्रिन वा ईन्दिरा गान्धिको बेला ‘र’ले योजना तर्जुमा गरेको कुरा पुस्तकहरूमै पढन पाइन्छ (हेर्नुस्: जासुसीको जालो विदेशी गुप्तचरहरुको नेपालमा चलखेल, पृष्ट २-६०, २०६५, सरोजराज अधिकारी, प्रकासक सुनिता भट्टराई) अझ के पनि हल्ला सुनिन्छ भने नेपाल सरकारको टप लेवलका अफिसरहरू र मन्त्रीहरू समेत गरेर करिव दुइ हजारको संख्यामा “र” कै “ग्राण्ड डिजाइन” अनुसार नेपाललाई भारतमा गाभ्ने कसरतमा छन् अरे । किनभने “र” को विश्लेषणमा अहिलेको जस्तो सुवर्ण अवसर नआउँन सक्छ रे । सरकार दुनियाको सबैभन्दा नालायक कठपुतली भएकोछ । संबिधान सभा कुन दिन बिघटन हुने हो था’छैन । संबिधान सभा रहिरहे र संबिधान बनाए पनि ‘हिन्दी’ लाई पनि ‘सरकरी कामकाजको भाषा’ र ‘मधेश’ लाई हाल छुट्टै राज्यका रुपमा स्थापन गर्ने र दोस्रो चरणमा ‘मधेश’लाई भारतमा गाभ्ने भारतको रणनीति पनि पढ्न पाइरहेका छौँ ।

पुराना पार्टीहरूले अमेरिका कै उदार अर्थतन्त्रलाई अपनाएका थिए । नयाँ जोश लिएर आउँने माओवादीले नेपाली अर्थतन्त्रको नयाँ केही खाका ल्याउला कि भनेर आशा गरेको त्यो पनि केही देखिँदैन । राजनीतिक परिवर्तनलाई जग दिने अर्थतन्त्रले हो । त्यसपछि साँस्कृतिक परिवर्तनको कुरा आउँछ । अहिले नेपालमा राजनीतिक परिवर्तन नै टुंगो लागिसकेको छैन । आर्थिक परिवर्तनको खाका छैन । साँस्कृतिक परिवर्तनको कुरा कहिले काहीँ पुस्तक विमोचन गर्दा कुनै कुनैले उल्लेख गर्ने गरेको पाइन्छ । बस् । यस्तै छ विषम परिस्थिती र हालत ।

नेपाली राजनिति र साहित्य कुनै न कुनै रूपमा एकआपसमा जोडिएका छन् । अहिलेको विषम राजनैतिक परिस्थितिमा साहित्यको कस्तो प्रभाव हुनु पर्दछ ?

लेखकले जहिले पनि जीवन लेख्ने हो, समाज लेख्ने हो, मुलुक लेख्ने हो । आफु बाँचेको दुनिया लेख्ने हो । जीवन, समाज र मुलुक कहिले राजाको निरंकुश शासनमुनि पिस्सिएको बेला त्यसबाट मुक्ति पाउँन लागिपरेका जनतालाई उत्साह थप्न सघाउँने गरि साहित्य लेखिन्छ । आफुले बाँचेको युग पनि कहिले हस्तक्षेपकारीहरुको दबदबामा चल्ने अवस्था आउँछ र मुलुकलाई जोगाउँन प्रोत्साहित गर्ने साहित्य लेखिन्छ । भारतले नेपाललाई मिच्न थाले त्यसको बिरोधमा साहित्य लेखिन्छ । अहिलेको अवस्थामा नेपाललाई बाह्य हस्तक्षेपबाट बचाउने, आन्तरिक परिस्थिती सुधार्ने र उन्नतितर जाने सम्भावनाहरु साहित्य लेखिनु पर्छ ।

केहि पहिले देखि जातिय, लैङ्गिक, सामाजिक तथा राजनैतिक मुक्ति तथा समानताका कुराहरू उठ्न थालेका छन् । नेपाली साहित्यले यि कुराहरूको उठान पहिले देखिनै गरिरहेको हैन र ? अब यसमा साहित्यकारहरूको भुमिका कस्तो हुनु पर्दछ भन्ने लाग्दछ तपाइलाइ ?

हो, युग युग देखि दबिएर बसेका (जातिय, लैङ्गिक, सामाजिक आदि अधिकारका कुराहरू) आवाजहरू बाहिर आएका छन् । अब यी सबैलाई राज्यले संबोधन गर्नु पर्ने भएकोछ । त्यसको निम्ती साहित्यकारहरूले पनि अब साहित्य मार्फत लेखेर देखाइ दिनु पर्‍यो । जस्तै: जातीय सवाल के कस्तो अवस्थामा छ र यसलाई कसरी संबोधन गर्नु पर्छ । सो नगरे के कस्तो नकारात्मक सामाजिक अवस्था सृजना हुन्छ? लैँगिक असमानता समाजमा के कसरी ब्याप्त रहेको छ? त्यसलाई उचित किसिमले संबोधन गरे समाजमा के कस्तो फायदा हुन्छ? वा बञ्चितिमा पारिएकाहरूको अधिकार के के हुन्? ती अधिकारहरू कुन कुन समाज र तप्काले पाए वा पाएनन्? र अधिकार नपाउँनेहरू के कसरी अन्यायमा परेका छन्? र त्यस्तो परिस्थिती रहिरहे के नकारात्मक अवस्था सृजना होला? भन्ने अनकौँ कोणबाट कथा, उपन्यास, निबन्ध, कविता, गीत लेख्न सकिन्छ ।

जातिय मुक्तिको सवालमा अहिले चलिरहेको प्रभावलाइ कसरी हेर्नुहुन्छ ? यसमा साहित्यकारहरूको, विश्लेषकहरूको कस्तो भुमिका रहेको छ र रहनु पर्दछ भन्ने लाग्दछ तपाइलाइ ?

लैङ्गिक अधिकार, मानव अधिकार र जातीय अधिकारहरू के के हुन र तिनको प्रत्याभूति के कसरी गर्नु पर्छ भन्ने कुरा धेरै वर्षको अध्ययन र छलफलका आधारमा CEDAW, Human Rights, UNDRIP र ILO 169 जस्ता महासन्धीहरू तैयार भए जसमा नेपाल सरकारले हस्तक्षर गरिसकेकोछ । दु:ख साथ भन्नु पर्छ कि धेरै साहित्यकारहरूले CEDAW, Human Rights, UNDRIP, CBD, Child Rights र ILO 169 पढेका छैनन् । यी महासन्धीहरू नपढी जातीय अधिकार भनेको के हो ? मानव अधिकार भनेको के हो? बालबालिकाको अधिकार भनेको के हो? महिलाको अधिकार के के हुन्? भन्ने नै बुझिन्न र सो नबुझि ‘जातिय मुक्ति’को साहित्य, महिला मुक्तीको साहित्य, बालबालिकाको निम्ती साहित्य, दलित मुक्तीका निम्ती साहित्य लेख्न सक्ने कुरै भएन । त्यसैले सबैभन्दा पहिले साहित्यकारहरूले CEDAW, Human Rights, UNDRIP, CBD, Child Rights र ILO 169 पढनु पर्‍यो त्यसपछि जसको अधिकारका बारेमा लेख्न मन लाग्छ लेख्नु पर्‍यो । अथवा सो कुरा मन नपरे त्यसको बिरोधमा लेख्नु पर्‍यो । तर हचुवाको भरमा लेख्नु भएन । यसले समाजमा स्वस्थ्य सँस्कारको विउ रोप्दैन ।

देश परिवर्तनको संघारमा भएको बेला, परिवर्तन वा नयाँ युगलाइ कसरी सम्बोधन गरिरहेको छ समकालिन नेपाली साहित्यले ?

अहिले समकालिन नेपाली साहित्यको प्रवृत्ति हेर्ने हो भने शोषण, गरिबी, अभाव, पछौटेपन, मानवीय मूल्य र अस्तित्वको खोजी, युद्धको विरोध, अदुरदर्शिता, दुश्चरित्तरता, सत्तामोह, शान्तिको कामना, पीडा, चिन्ता, असन्तुष्टि, अशान्ति, हत्याहिंसा, भय, आतङ्क, अविश्वास, नारीवादी चेतना आदि मुखरित भएको देखिन्छ । साहित्यले यिनै सवालहरूलाई सम्बोधन गर्नु पर्दछ भनि उजागर गरेको पाइन्छ ।

भनिन्छ स्रष्टा समाजका द्रष्टा हुन् । अहिले रूमल्लिरहेको देखिने नेपाली राजनितिमा साहित्यको हस्तक्षेप हुनु पर्छ वा पर्दैन ? यसमा तपाइको मान्यता कस्तो रहेको छ ?

कुनै स्रष्टा, स्रष्टा भन्दा पहिले परिस्थितीको अध्येता र विश्लेषक हो । राम्रो अध्ययन र विश्लेषण गर्ने क्षमता भएको स्रष्टाले द्रष्टाका रुपमा बाटो देखाउँने काम पनि गर्न सक्छन् । तर परिस्थितीको अध्ययन नगर्ने र विश्लेषण गर्न पनि नसक्ने अनि सिरिफ दुइ-चार कथा वा कविता लेख्दैमा कसैले ‘म स्रष्टा हुँ त्यसैले द्रष्टा पनि हुँ’ भनेर दाबी गर्न त मिल्दैन ।

अहिलेको अवस्थामा साहित्यले हस्तक्षेप गर्नु पर्छ कि पर्दैन भन्ने कुरामा – जसले हस्तक्षेप गर्छ उ परिवर्तनको पक्षमा र जसले हस्तक्षेप गर्दैन उ यथास्थितीवादी खेमामा बस्छन् । सन्सार, दुनिया, चराचर र हरेक अणु-अणु परिवर्तनशील छन् भने समाज परिवर्तनको बिपक्षमा उभिनेहरुको भविष्य छैन ।

जसरी राजनितिमा बिभिन्न किसिमका विचारहरू रहेका छन् त्यसैगरि साहित्यमा पनि विभिन्न विचारहरू रहेका देखिन्छन् । के यसले नेपाली साहित्यको विकाशमा टेवा पुर्याउला ?

समाजमा बिभिन्न वर्गका मानिस छन् , विभिन्न जातजाती छन् , विभिन्न उमेर समुहका मानिस छन् , स्त्री पुरुष छन् , मानिस बसोबास गर्ने स्थानहरूमा पनि भौगोलिक विविधता छ , शिक्षाका दृष्टिले , शहर वा ग्रामीण क्षेत्रमा बसोबास गरेको कारणले जीवनमा विविधता छ र त्यहाँ अनेक अन्तरविरोधहरू पनि छन् । यो सत्यतथ्य हो । समाजका अन्तरविरोधलाई बुझ्ने र विश्लेषण गर्ने वीधिका रुपमा कसैले भाग्यवादलाई लिए , कसैले कुरानलाई लिए , कसैले बाइबल समाए , कसैले बुद्धको विश्लेषण गर्ने तरिका अपनाए र कसैले द्वन्दात्मक भौतिकवादको दर्शनलाई अँगाले । अर्थात फरक फरक मानिसको अधिकार हासिल गर्नका लागि फरक फरक सिद्धान्तका आधारमा राजनीति हुन थाल्यो । समाजमा विविधता भएपछि त्यसैको प्रकटीकरण(Manifestation) राजनीतिक विचारधारमा हुने नै भयो । जसरी समाजमा विविधता छ त्यसैगरी साहित्यका क्षेत्रमा पनि विविधता हुने नै भयो । समाज जस्तो छ त्यस्तै हुने नै भयो । समाज विविध किसिमको र साहित्य चाहीँ एकै किसिमको त हुनै सक्दैन । समाज एकै किसिमको होस्, राजनीति एकै किसिमको होस्, भाषा र भेष पनि एकै किसिमको होस् र सहित्य पनि एकै किसिमको होस् भनेर त महेन्द्रले पञ्चायत मार्फत तीन दशक कोशिष गरेकै हो तर त्यो नेपालीलाई मान्य भएन । बरु नेपालीले पहिले पञ्चायत र हालसालै राजतन्त्रै फालिदिए । त्यसैले राजनीतिमा वा सहित्यमा विविधता भनेको नेपाली समाजको स्वाभाविक प्रकटीकरण(Manifestation) हो भनि बुझेर ग्रहण गर्नु पर्छ । त्यसै अवधारणमा रहेर साहित्य रचना गर्न सके मात्र नेपाली साहित्यमा टेवा पुग्छ । हामीले पञ्चायती व्यवस्थाको अवधारणा अनुसारको ‘एक भाषा एक भेष’तिर फर्केर साहित्य रचे अब त्यो नेपाली साहित्य होइन पञ्चायती साहित्य हुन जाला ।

नेपाली साहित्य भन्नाले नेपाली भाषाको मात्रै नभएर नेपाल भित्र प्रचलनमा रहेका सबै आँचलिक भाषाहरूको साहित्य भनेर बुझ्नु पर्दछ भन्ने मान्यतालाइ कसरि लिनु भएको छ ? के यसले सबै भाषा–भाषिकाको साहित्यिक विकाशमा योगदान दिन सक्ला ?

हो, ‘नेपाली साहित्य’ भन्नाले (खस) नेपाली भाषाको मात्रै नभएर नेपाल भित्र प्रचलनमा रहेका सबै भाषाहरूको साहित्य भनेर बुझ्नु पर्दछ भन्ने मान्यता’ एकदम ठीक छ । खस नेपाली भाषाको विकास खस नेपाली समाजले नै गर्ने हो । अन्य जातजातीका भाषाको विकास पनि तत्त-तत्त भाषा बोल्ने मानिसहरूले नै गर्ने हो । सरकारले वा अन्यले त केही सहयोग सम्म गर्ने हो । जस्तै भनौँ खस नेपाली भाषा कुनै अमेरिकन मानिसले आएर बोल्दिएर विकास हुन्न । त्यस्तै लिम्बु भाषाको विकास पनि खस बाहुनले बोल्दिएर हुन सक्दैन । त्यसैले नेपालका सबै भाषाहरू नेपाली भाषा हुन् । यी सबै भाषा हाम्रो मुलुकका अमुल्य सम्पती हुने भनेर ‘कसैलाई काखा कसैलाई पाखा’ मात्र सरकारले नगरेर सबैलाई समान प्रोत्साहन दिए पुग्छ । त्यसपछि ती भाषा र साहित्य आफै विकास हुँदै जान्छन् । 

फरक प्रसङ्गमा । स्वदेशी र प्रवासी नेपाली साहित्यको विचमा केहि दुरी रहेको छ भनिन्छ । के यो सत्य हो ? यदि यसो हो भने यसलाइ कम गरेर कसरी समग्र नेपाली साहित्यको उचाइ बढाउन सकिन्छ ?

स्वदेशी र प्रवासी नेपाली साहित्यको विचमा केहि दुरी रहेको छ । यो सत्य हो र यो रहनु पर्छ र रहन्छ नै । किनभने अमेरिकामा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, रुसमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, ईङलेण्डमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, जर्मनीमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, बेल्जियममा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, जापानमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, हङकङमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, अरबमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, दार्जिलिङमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, जुम्लामा बसेको नापलीले त्यहीँको जीवन लेख्छ, काठमाण्डौमा बसेको नापलीले त्यहीँको जीवन लेख्छ । र यी फरक फरक धरातलमा लेखिएका साहित्य फरक फरक हुनु नै स्वाभाविक छ । फरक फरक धरातलमा लेखिएका साहित्यहरू बरु एकै किसिमको हुन गए अस्वाभाविक र अचम्म हुन्छ । हो कुनै कुनै काठमाण्डुको लेखक अमेरिका गए त्यहाँको सस्मरण लेख्ला तर साहित्यकार ले जहाँ जे भोग्छ त्यही लेख्ने हो । 

विश्व साहित्यमा नेपाली साहित्यको स्थान र स्तर कहाँ पाउनु भएको छ ? यसलाइ सुधार गर्न के गर्नु पर्ला ?

विश्व साहित्यमा नेपाली साहित्यको स्थान दया लाग्दो छ । यही अगस्त महिनाको पुस्तक प्रदर्शनी आयोजकहरू मध्ये एक जनाको अन्तर्वार्ता पढेको थिएँ । उनले यस्तै प्रश्नको जवाफमा ‘नेपाली लेखकहरू पुस्तक लेख्दैनन् बरू दुइ-चार पुस्तक र गुगलमा केही साइट हेरे ‘कटपेष्ट’ गर्छन् र त्यो कटपेष्ट पनि झुर किसिमको हुन्छ’ भनेका थिए । अर्थात नेपाली लेखकहरुको प्रसस्त अध्ययन-अनुसन्धान गर्ने र पुस्तक लेख्ने हैसियत त छैन । हाम्रो मुलुकमा स्कुल र विश्वविद्यालयमा कस्तो मानिसले पढाउँछ? चिटसिट चोरेर पढि सके पछि कतै जागिर नपाए पछि शिक्षक हुनेहरूबाट शिक्षा ग्रहण गरेका हाम्रो भिजन, सोचाइ, कार्यशैली कस्तो होला?

अर्को कुरा, यहीँ भारतमा एउटा पुस्तक चल्यो भने लेखक करोड पनि हुन्छ । नेपालमा डोबहादुर बिष्टको Fatalism and Development नामक पुस्तक २ महिना सम्म बिक्रीको टप लिष्टमा बसेको बेला एक हप्ता त ९ वटा किताब बिक्दा पनि त्यो किताब हप्ताको टप लिष्ट परेको रहेछ । यस्तो छ हाम्रो पुस्तक बजार । त्यसैले यहाँ राम्रो पुस्तक लेख्नेहरू अंग्रेजीमा लेख्न खोज्छन् किनभने त्यसबाट गुजारा चल्ने खालको आय हुन्छ । पुस्तक लेख्नु भनेको नेपालमा साहित्यमा लागेर हिँडेका साथीभाइलाई बाँड्न वा आफ्नो जागिरको प्रोमोशनमा केही अंक थपाउँनका निम्ती पुस्तक छपाउँनेहरू मात्र धेरै छन् । यस्तो छ हालत ।

सुधारको कुरा गर्ने हो भने दुनियाका साहित्यमा नेपाली लेखकहरूको पहुँच बाढाउँनु पर्छ । तर अंग्रेजी पुस्तक राम्ररी पढ्न सक्ने नेपाली साहित्यकार कति छन्? भनेर जवाफ खोज्ने हो भने १० प्रतिशत नाँघ्दैन । नेपाल भित्र मात्र होइन अमेरिका बसेका नेपाली साहित्यकारले पनि गहिरो दार्शनिक पुस्तक अंग्रेजीमा पढ्न परे बुझ्ने कमै होलान् । त्यसैले नेपालमा अंग्रेजी राम्रो बोल्न र पढ्न जान्नेलाई नै लेखक नभए पनि ‘विद्वान’ मान्ने एक निकृष्ट चलन छ ।

नेपाली साहित्यकारहरुको संसारका साहित्यमा पहुँच ‘हिन्दी अनुवाद मार्फत’ हुने गरेको छ । हिन्दी अनुवादकहरुको स्तर भनेको तेस्रो दर्जाको हिन्दी फिल्मी शैलीको रहेको सबैलाई अबगत भएकै कुरा हो । त्यसैले नेपाली साहित्यलाई विश्वसाहित्यको हाराहारीमा पुर्‍याउँने कुरा बेकारको गफजस्तो छ । नेपाली साहित्यले विश्वसाहित्यको जस्तो हुनु पनि किन परेको छ र? नेपाली साहित्य सिरिफ नेपाली साहित्य जस्तै भए त पुगिहाल्छ ।

व्यक्तिगत प्रसङ्गमा । विक्रम सुब्बा नेपाली साहित्य आकाशमा स्थापित र सुपरिचित नाम हो । व्यक्तिगत रूपमा तपाइ आफैलाइ कसरी विश्लेषण गर्नुहुन्छ ?

यसमा एउटा भनाइ राखौँ । एक पत्रकारले एकजना साहित्यकारलाई ‘तपाइँ त महान व्यक्ती’ भनि प्रशंसा गरेछन् । साहित्यकारले त्यसको जवाफमा भनेछन् – ‘महान व्यक्ति त अरूले देख्ने कुरा हो । तर म कति हरामी छु भन्ने कुरा त म आफुलाई मात्र था’छ ।’ अर्थात विक्रम सुब्बा भन्ने नाम कतिले सुनेका छन्? भनेर सर्भे गर्ने हो भने – दशपन्ध्र साहित्यकार साथी, एकदुइ पत्रकार र दुइचार समालोचकले चिनेका होलान् । बस् । त्यतिमै मेरो नाम स्थापित भइहाल्यो । हालत यस्तो छ ।

तथापी, मेरो विचारमा विक्रम सुब्बा एकजना इमान्दार भएर बाँच्न खोज्दाखोज्दै उमेरले डाँडा काटेर छक्क परेर बसेको मानिस हो । उसको जीवन निर्देशक तीन उद्देश्य र तीन चाहनाहरू निम्न रहे:

तीन उद्देश्यहरू

कविता लेख्ने, २) घर खर्च पुग्दो (मात्र) कमाउँने, र ३) सञ्चार तथा प्रकाशन मार्फत समाजलाई केही आफ्ना कुरा छोड्ने ।

तीन चाहनाहरू

ऋण नलागोस्, २) रोग नलागोस्, र ३) कसैले छि: नभनोस् 

नवोदित साहित्यकारहरूलाइ के कस्तो सल्लाहा सुझाव दिन चाहानुहुन्छ ?

म साहित्यको पनि कविता फाँटको मानिस भएकाले कविता लेखन बारे मेरो अनुभवहरु मात्र भन्न सक्छु । जुन हालसालै लिपिबद्ध गरेको छु र यसैसाथ अनुसुचिका रुपमा संलग्न छ ।

अन्त्यमा, केहि नसोधिएको वा भन्न छुटेको कुरा भन्न चाहानुहुन्छ ?

अहिलेको युग सूचनाको युग हो । अनुसन्धानको युग हो । अनुसन्धान गरेर र प्रमाणित गरेर जसले देखाउँन सक्यो उसैले जित्ने युग हो । अनुसन्धानको निम्ती नभइ नहुने कुराहरू मध्ये एउटा पक्ष अध्ययन सामग्री हुन् । तपाइँ नै हेर्नोस् हाल सबै बिकसित मुलुकहरूमा ठुला ठुला लाइब्रेरी देखिन्छन् । जसले गर्दा नेपालका बारेमा अध्ययन गर्न बेलायतको वा अमेरिकाको लाइब्रेरीमा जानु पर्ने लाजलाग्दो अवस्था छ । त्यसैले, अन्त्यमा, संसार भरिका नेपालीहरू मिलेर एउटा “नेपाली साहित्यको वृहद डिजिटल लाइब्रेरी” स्थापना गर्नु पर्ने भएकोछ । जसमा अहिले सम्मका र पछि लेखिने सबै नेपाली र नेपाल बारेका पुस्तक लगायत (स्रब्य-दृश्य समेत) सामग्री संकलन होस् । जसमा हरेक अनुसन्धान कर्ता तथा अध्येताहरु घर बसि बसि पस्न र अध्ययन गर्न सकुन् भन्ने एउटा भिजन लिएको छु । यो काम हामी सबैले मिलेर गरौँ भन्छु । मैले केही सघाउँनु पर्छ भने म पनि तैयार छु ।

1 Comment

  1. लगभग सबै अन्तरवार्ता पढे धेरै कुरा सिक्ने बुझ्ने र मनन गर्ने मौका पाए । प्रिय कवि प्रशान्तजी लाई हार्दिक धन्यवाद सहित आदरणीय कवि अग्रज दाई बिक्रम सुब्बाज्युलाई हादिक नमन गरे ।

Leave a Reply

Your email address will not be published.