हास्यव्यङ्ग्य गालीको गोली होइन, बरु यो मनोरन्जनात्मक बोली हो – नरनाथ लुइँटेल

 

परिचय 

नाम : नरनाथ लुइँटेल
जन्ममिति : २०१६ साल पुस ८ गते
जन्मस्थान : भोजपुर, सिक्तेल
पिता/माता : स्व.तारानाथ लुइँटेल/स्व. पवित्रा लुइँटेल
बसोबासको स्थान : हाल काठमाडौँ महानगरपालिका- १४, कलङ्की खड्कागाउँ

शिक्षा : एम्.ए., बि.एड्.
विधा : हास्यव्यङ्ग्य निबन्ध, कविता र समीक्षा

संपर्क : narnath@gmail.com

प्रकाशित कृतिहरू :
हास्यव्यङ्ग्य-

१. छेपन (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) – २०५१
२. सिङ न पुच्छर (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) – २०५३
३. चम्चा चिन्तन (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) – २०५५
४. बाँदरका हातमा नरिवल (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) – २०६०
५. हास्यव्यङ्ग्यकार श्याम गोतामे (जीवनी, व्यक्तित्व एवम् कृतित्वको मूल्याङ्कन)- २०५८
६. नेपाली हास्यव्यङ्ग्य (सिद्धान्त, इतिहास एवम् प्रवृत्तिहरूको अवलोकन-समीक्षा) – २०५८
७. प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध (लेखन/सम्पादन)- २०६५

गैरहास्यव्यङ्ग्य-
८. मानवअधिकारको गीत (गीतिकाव्य)- २०५२
९. कमैया मुक्तिको गीत (गीतिकाव्य)- २०५३
१०. तुवाँलो फाट्दैछ (नाटक)- २०४०
११. ठूली (शोककाव्य)- २०६६

अन्य
१२. प्रकाश (प्रौढ साक्षरता कक्षाका लागि) पाठ्यपुस्तक- २०५३ (सहलेखन तथा सम्पादन)
१३. चमेली (अनौपचारिक बालकक्षाका लागि) पाठ्यपुस्तक- २०५४ (संयोजन/सम्पादन)
१४. चमेली (निर्देशिका पुस्तक)- २०५४
१५. इन्सेक अभियानका दशवर्ष(अनुसन्धान तथा विश्लेषण)- २०५५

साहित्यिक सङ्घ-संस्थामा संलग्नता
क) पूर्व केन्द्रीय कोषाध्यक्ष – प्रगतिशील लेखक सङ्घ, नेपाल
ख) संस्थापक उपाध्यक्ष – (हाल सल्लाहकार) सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन – २०५५)
ग) संस्थापक अध्यक्ष – हास्यव्यङ्ग्य सिर्जन समूह, काठमाडौँ
घ) केन्द्रीय उपाध्यक्ष – नेपाल साहित्यिक पत्रकार सङ्घ, काठमाडौँ
घ) सचिव- युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, भक्तपुर
ङ) सदस्यसचिव – वासुदेव-विद्यादेव लुइँटेल गुठी, काठमाडौँ
च) आजीवन सदस्य – साहित्य सदन रामहिटी, बौद्ध ।
छ) सम्पादक तथा प्रकाशक – ‘फित्कौली’ मासिक -हास्यव्यङ्ग्यप्रधान साहित्यिक पत्रिका)

पुरस्कार/सम्मान
क) विरसा हास्यव्यङ्ग्य लेखन पुरस्कार २०५३ द्वारा सम्मानित ।
ख) नवरङ्ग साहित्य प्रतिष्ठान, झापाद्वारा २०५७ मा अभिनन्दित ।
ग) बुटवल साहित्य, कला, संस्कृति प्रतिष्ठानद्वारा २०५९ मा सम्मानित ।
घ) ‘जुही’ मासिक झापाद्वारा २०६२ मा पुरस्कृत ।
ङ) ‘जुही’ मासिक झापाद्वारा २०६६ सालमा ‘झर्रो’ नेपाली रत्न’ सम्मानबाट सम्मानित
च) विभिन्न प्रतियोगितात्मक साहित्यिक गोष्ठीहरूमा रचना पुरस्कृत ।

व्यङ्ग्यकार नरनाथ लुइँटेल सङ्क्षिप्त चिनारी
लामो समय देखि नेपाली साहित्यका विभिन्न विधाहरूमा सृजना गर्न तल्लिन तथा २ दशक देखी हाँस्य–ब्यङ्ग लेखनमा सक्रिय स्रष्टाको नाम हो नरनाथ लुइटेल । भोजपुर, सिक्तेल देखि काठमाडौँ महानगरपालिका सम्मको यात्रा तय गर्दा १ दर्जन जति काव्य–कृतिहरू तथा अधा दर्जन जति अन्य पुस्तकहरू लेख्नुभएका लुइटेल हास्यब्यङ्गका अलावा कविता लेखन र समिक्षामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानहरूद्वारा सम्मानित सर्जक विभिन्न साहित्यिक संघसंस्थाहरूमा पनि उत्तिकै सक्रियता पुर्वक संलग्न हुनुहुन्छ । मार्कसवादी धारमा लामो समय राजनितिमा सक्रिय लुइटेल पछिल्ला समयमा सामाजिक विकृतिमाथि व्यङ्ग प्रहार गर्दै सुन्दर र सुसंस्कृत समाजको परिकल्पना साकार पार्ने प्रयासमा निरन्तर लागिरहनु भएको छ ।

तपाइँ आफूलाई व्यङ्ग्यकार भन्न रुचाउनुहुन्छ कि हास्यव्यङ्ग्यकार ?
प्रशान्तजी, तपाइँको यो प्रश्न हास्यव्यङ्ग्यको सैद्धान्तिक पक्षसँग पनि सम्बन्धित छ भन्ने मलाई लाग्छ । हास्यसहितको व्यङ्ग्य रचना सिर्जनामा सङ्लग्न साहित्यकारलाई हास्यव्यङ्ग्यकार भन्ने गरिएको छ । हास्य हाँसोकै सेरोफेरोमा केन्द्रित हुन्छ भने व्यङ्ग्य चाहिँ विसङ्गत पर्यावरणको व्यापकताभित्र पसेको हुन्छ । म यहाँ वरिष्ठ भारतीय व्यङ्ग्यकार तथा समीक्षक वरसानेलाल चतुर्वेदीको भनाइ सम्झन्छु । उनले भनेका छन् – “हास्यको उद्देश्य विशुद्ध मनोरञ्जन गर्नु हो जब कि व्यङ्ग्यको उद्देश्य हाँसोद्वारा दण्ड दिनु हो । हास्यमा भाव तत्व प्रमुख हुन्छ । व्यङ्ग्यमा वृद्धि तत्व । हास्यकार असङ्गतिहरूको चित्रणमा रस लिन्छ । व्यङ्ग्यकारविद्रोहलाइ वाणी दिन्छ ।” चतुर्वेदीको यस भनाइबाट पनि के पुष्टि हुन्छ भने हास्य र व्यङ्ग्य दुइ पृथक विषय वा सन्दर्भ हुन् । जब यी दुवै सन्दर्भ एकाकार भएर कुनै रचनाको संरचना तयार हुन्छ त्यो हास्यव्यङ्ग्य
रचना हो । नेपाली हास्यव्यङ्ग्यकार एवम् समीक्षक मोराश (मोहनराज शर्मा)ले भने जस्तै जीवन बाँच्ने परिधि र शैलीभित्र देखिने विकृतिमा हास्यको बीज निहित हुन्छ भने विसङ्गतिमा व्यङ्ग्यको बीज निहित हुन्छ । नेपाली साहित्यमा हास्य र व्यङ्ग्यको समुचित र एकीकृत रूप समायोजन गरी उत्कृष्ठ रचना सिर्जना गर्ने स्रष्टा हुनुहुन्थ्यो भैरव अर्याल । अर्यालका धेरैजसो निबन्धहरूमा यी दुवै पक्षको पर्याप्त सन्तुलन पाइन्छ । त्यसो भएर उहाँका निबन्ध उच्चकोटिका र कालजयी बन्न पुगेका हुन् । नेपाली साहित्यमा कतिले हास्य मात्रै लेखेका छन् भने कतिले व्यङ्ग्य मात्रै । हास्यव्यङ्ग्यका नाममा लेखिएका धेरै सिर्जनाहरूमा हास्य कम र व्यङ्ग्य बढी पाइन्छ । नेपाली साहित्यको सन्दर्भमा अहिले आएर हास्य मात्रै भए पनि, हास्यकम र व्यङ्ग्य बढी भए पनि, हास्य हुँदै नभएर व्यङ्ग्य मात्रै भए पनि यस प्रकृतिका रचनालाई हास्यव्यङ्ग्यकै कोटिमा राख्न थालिएको छ । हास्यव्यङ्ग्यलाई यसै अर्थमा परिभाषित गर्ने परम्पराको समेत आरम्भ भएको छ । हास्यव्यङ्ग्यसम्बन्धी सिद्धान्तको यो छोटो चर्चापछि म तपाइँको प्रश्नमा अन्तर्निहित मूल आशयतर्फ फर्किन्छु । मेरा रचनाको समग्र स्वरुप हेर्दा हास्य कम र बढी व्यङ्ग्य रहेको महसुस म आफैँ गर्दछु । समीक्षकहरूले पनि मेरा हास्यव्यङ्ग्य भनिएका निबन्ध र कवितामा व्यङ्ग्य प्रधान रहेको चर्चा गर्ने गरेका छन् । त्यसकारण हास्य र व्यङ्ग्यको परम्परित परिभाषामा अड्ने हो भने मलाई व्यङ्ग्यकार मात्रै भनिदिए हुन्छ । व्यङ्ग्य नै मूल प्रवृत्तिका रूपमा स्थापित हुँदै गएको वर्तमान नेपाली हास्यव्यङ्ग्य लेखनको पृष्ठभूमिलाई आत्मसात गर्ने हो भने मलाई हास्यव्ङ्ग्यकार भनिदिए फरक नपर्ला ।
साहित्यका अन्य विधा भन्दा हास्यव्यङ्ग्य विधामा रहेको भिन्नतालाई तपाइँ कसरी केलाउनुहुन्छ ?
पहिलो कुरो त हास्यव्यङ्ग्य विधा नै होइन । यो त अभिव्यक्तिको तरिका भनौँ या सिर्जना प्रक्रियाको ढाँचा मात्रै हो । यसलाई शैली भन्नु उपयुक्त हुन्छ । हास्यव्यङ्ग्यलाई धेरै पहिलेदेखि धेरैले जानेर वा नजानेर विधाका
रूपमा उल्लेख गर्दै आएका छन् । यसकारण पनि हाम्रो मष्तिष्कमा एक प्रकारको भ्रम खडा भएको हुन सक्छ । साहित्यमा कथा एउटा विधा हो, निबन्ध अर्को विधा हो । नाटक, उपन्यास, कविता, काव्य यी अलग-अलग विधा-उपविधा हुन् । यिनै विधा-उपविधाको आड लिएर हास्यव्यङ्ग्य निश्रृत हुन्छ, हुँदै आएको छ । तपाइँ हास्यव्यङ्ग्य नाटक लेख्न सक्नुहुन्छ, हास्यव्यङ्ग्य उपन्यास लेख्न सक्नुहुन्छ । थोरै भए पनि नेपाली साहित्यमा हास्यव्यङ्ग्य कथा लेखिएका छन् । गजलको लोकप्रियतासँगै हिजोआज हास्यव्यङ्ग्यात्मक गजलहरू पढ्न पाइँदै छ । नेपाली हास्यव्यङ्ग्य अधिकतम् कविता र निबन्धको संरचना अर्न्तर्गत सिर्जना भएको देखिन्छ । यिनै विधा-उपविधालाई आधार बनाएर अभिव्यक्त हुने हास्यव्यङ्ग्यलाई फेरि किन विधा भन्ने ? हो, मैले त्यसकारण पनि यसो भन्नु भ्रमपुर्ण कुरो हो भनेको हुँ । हास्यव्यङ्ग्यको प्रस्तुति कुनै विधाको ओत लागेर मात्र सम्भव छ, आफैँ विधा भएर होइन । अन्ततः कविता भएर वा कथा भएर वा निबन्ध भएर, यस्तै केही भएर मात्र तिनीहरूको अस्तित्व बोध गरिन्छ । कुनै विधाको साथ नलागी हास्यव्यङ्ग्य अवतरित हुनै सक्दैन । विभिन्न विधामा अभिव्यक्त हुने यो शैली भाव प्रकाशनको एउटा पद्धति हो । यसको उपस्थिति अन्तर्विधात्मक हुन्छ । अन्तर्विधात्मक भएकाले व्यङ्ग्यको अभिव्यक्ति कुनै एक विधामा मात्र नभएर सबै विधामा उत्तिकै भएको देखिन्छ । यसका निमित्त कविता वा निबन्ध आदिको जस्तो स्वतन्त्र र छुट्टै साहित्यिक भएभरका विधाहरू पाइक पर्दा छन् भनेर २०३५ सालमै ‘रचना’ द्वैमासिकको समालोचना अङ्कमा मोहनराज शर्माले ठोकुवा गर्नुभएको थियो । हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भमा पछि आएर निकै शोध-अनुसन्धान समेत भएका छन् । ती शोध-अनुसन्धान एवम् विश्लेषणबाट पनि हास्यव्यङ्ग्य विधा नभएर एउटा विशिष्ट शैली हो भन्ने कुरा निरुपण भइसकेको छ ।
विधा विषयवस्तुलाई विन्यास गर्दै गरिने रचना-सिर्जनाको एउटा माध्यम हो भने शैली त्यही विन्यस्त विषयलाई विशेष ढङ्गमा प्रस्तुतीकरण गर्ने एउटा कला हो । विधाले रचना पद्धति र प्रक्रियाको आधार प्रकट गर्दछ भने शैलीले त्यो आधारमा उभिएर शब्द र भावको संयोजनमा कटाक्ष प्रस्तुत गर्दछ । विधाको निश्चित मानक निर्माण भएको छ, यो साहित्यको गद्य वा पद्य, दृश्य वा श्रब्य रूपमा मात्र होइन विषयवस्तुका आधारमा, आख्यानकलाका आधारमा, छन्दकला तथा लयविधानका आधारमा, लामो या छोटो अभिव्यक्तिका आधारमा, गायन वा वाचनका आधारमासमेत रुपगत वर्गीकरण गरिएको छ । कथा, निबन्ध, उपन्यास, समालोचना, प्रतिवेदनजस्ता गद्य रूप र कविता, शोक, खण्डकाव्य, महाकाव्य, गीत, गजलजस्ता रूपहरू यहाँ सम्झन सकिन्छ । तर शैलीको उपस्थिति उपर्युक्त विधाहरूकै आश्रयमा अन्तर्विधात्मक, भाषिक, शास्त्रीय, स्वच्छन्द आदि ढाँचामा रहिआएको छ । अनि लेखकै पिच्छेका शैलीहरू फरक-फरक देखा पर्दछन् । विधा स्रष्टाको निजी पहिचान बन्न सक्दैन तर शैली भने निजी पहिचान बन्न सक्छ र बन्दै आएको छ । हास्यव्यङ्ग्य शैली कुनै एउटा साहित्यिक सिर्जनाको विधाका रूपमा नरही विभिन्न विधा उप-विधामा अन्तर्निहित भएर प्रयोग भइआएको अगाडि नै उल्लेख गरियो । विधा र शैलीका बीचमा यति धेरै भिन्नता रहँदारहँदै पनि हास्यव्यङ्ग्यलाई विधाको रूपमा बुझ्ने र विधाकै रूपमाउल्लेख गर्ने काम आफैमा हास्यास्पद होइन र ? जहाँसम्म गैरहास्यव्यङ्ग्य साहित्यिक सिर्जना र हास्यव्यङ्ग्य सिर्जनाका बीच रहेको भिन्नताको कुरा छ – मूलतः त्यो शैलीगत भिन्नता नै हो । अभिव्यक्तिका अभिधा, लक्षणा र व्यञ्जना तीन किसिमकै शब्दशक्तिको उपयोग गरेर गैरहास्यव्यङ्ग्य साहित्यिक रचना सिर्जना गरिन्छ तर अभिधा शब्दशक्तिको मात्रै उपयोग गरेर हास्यव्यङ्ग्य सिर्जना सम्भव छैन । त्यर्सथ पनि हास्यव्यङ्ग्य रचना सिर्जना गर्न अलिकति जटिल किसिमको प्रक्रिया अपनाउनु आवश्यक हुन्छ । एउटा भ्रष्ट तथा घुस्याहा कर्मचारीको प्रवृत्तिलाई देखेर तँ भ्रष्ट होस्, घुस्याहा होस् भन्यो भने हाँस उठ्दैन, बरू उसलाई रिस उठ्छ । किन कि यो गालीका रूपमा अभिव्यक्त भएको छ । हास्यव्यङ्ग्य गालीको गोली होइन, बरु यो त शिष्ट तरिकाले बोलिएको मनोरञ्जनात्मक बोली हो । यदि उसलाई तपाइँले – ओ हो, तपाइँ त साह्रै असल र इमानदार हुनुहुन्छ । घूसका नाममा एक कप चिया पनि नखाई जनताको काम खुरूखुरू गर्ने तपाइँ त सम्मान गर्नलायकको राष्ट्रसेवक हुनुहुन्छ भनिदिनुस् त, उसको घुस्याहा र भ्रष्ट प्रवृत्तिका बारेमा परिचित सबैजना हाँस्न थाल्छन् । भित्रभित्रै मुरमुरिए पनि बाहिर चाहिँ ऊ समेत हाँस्छ । यसरी हँसाइ-हर्साई मर्ममा प्रहार गर्ने धर्मसहितको लेखनकर्म नै हास्यव्यङ्ग्य हो । अभिव्यक्तिको यस्तो शैलीलाई प्राचीन पूर्वीय साहित्यशास्त्रले हास्य रस सहितको व्यञ्जना शब्दशक्ति भनेको थियो, अहिलेका हामी हास्यव्यङ्ग्य भनिरहेका छौँ । यसरी होइन भनेर हो बुझाउन अनि हो भनेर होइन बुझाउन अभिव्यक्ति प्रक्रियालाई घुमाउरो वा बाङ्गो बनाउनुपर्दछ । यही घुमाउने वा बङ्ग्याउने प्रक्रियाका कारण हास्यव्यङ्ग्य सिर्जना गर्न केही जटिल भने अवश्य नै छ ।

तपाइँले कहिलेदेखि हास्यव्यङ्ग्य लेख्न थाल्नुभयो ? हास्यव्यङ्ग्य नै किन मन परेको होला ?
म गम्भीर स्वभाव र अत्यन्तै भावुक प्रकृतिको मान्छे हुँ । पीडाजन्य अवस्थामा छटपटाउँदै कोही रोइरहेको देखेँ भने चालै नपाई मेरा आँखा आँसुले भरिइहाल्छन् । सानै उमेरदेखि कवितामा रमाउँदै आएको म निकै पछिसम्मका आफ्ना रचनामा पनि भावुकता भरिएको पाउँछु । मेरो जीवनभरिको सम्पत्ति नै आँसु र पसिना हो कि जस्तो लाग्छ । मान्छे गरिव र दुःखी भएको देखेर मेरो अन्तस्करण रोइरहेको हुन्छ । यो दारुण परिस्थितिलाई फेरेर मानिसलाई सुख र सम्पन्नता दिने काम राजनीतिको हो भन्ने टुङ्गोमा पुगेपछि म राजनीतिमा, खासगरी वाम-राजनीतिमा सक्रिय भएँ । पढ्दा-पढ्दैको कलेज र खाँदा-खाँदैको शिक्षण पेसासमेत छोडेर म राजनीतिमा होमिएँ । देश र जनताको जीवन दशा फेर्न सकिने विश्वासमा आफ्नो सबैभन्दा सिर्जनात्मक उमेरको डेढ दशक त्यतै खर्च गरेँ । यस अवधिमा पञ्चायती निरङ्कुशताको शिकार भएर चार-पाँच पटक पक्राउ परेँ, महिनौँ हिरासतमा नजरबन्द गरिएँ र प्रहरीको निर्घात कुटाइ बेहोरेँ । जेल बसेँ । भूमिगत रहेर सङ्गठन र सङ्घर्षमा समर्पित भइरहेकै बेला आश्रयस्थलमा प्रहरीको आडमा मण्डलेहरूले गरेको पटकपटकको आक्रमण र घेराबन्दीमा समेत परेँ । त्यस्ता प्रतिकुलतासँग कुस्ती खेल्दै आफनो कार्यक्षेत्रमा डटिरहेँ, खटिरहेँ । २०४६ सालमा आफ्नो समेत खुन-पसिनाले सिञ्चित प्रजातन्त्र यो देशले पायो । मेरो खुशीको सीमै रहेन । तर त्यो खुसी धेरै समय भने टिक्न सकेन । पञ्चायतलाई विस्थापित गरी शासनसत्तामा स्थापित राजनीतिक दल र दलका नेताहरूमा हुर्किँदै गएको सत्तामोह, सम्पत्ति मोह, राष्ट्र र जनताका समस्यातिर अनुत्तरदायी मनोवृत्तिले मलाई बेचैन बनाउन थाल्यो । मेरो भावुक र गम्भीर लेखनी तिनै दुस्प्रवृत्तिमाथि छेडखान, व्यङ्ग्य व्रि्रोह गर्दै हास्यव्यङ्ग्यतिर मोडियो । साहित्यिक लेखनको थालनी २०३२/२०३३ देखि आरम्भ भएको भए पनि मेरो हास्यव्यङ्ग्य लेखन चाहिँ २०४७/०४८ देखि प्रारम्भ भएको हो । लेखनसँगै उच्चशिक्षाको क्रममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रको व्यवस्थित अध्ययन-अनुसन्धान, हास्यव्यङ्ग्यका हस्तीहरू वासुदेव लुइँटेल, श्याम गोतामे, रामकुमार पाँडे, विष्णु प्रभात, रुद्र खरेलहरूसँगको बाक्लो सङ्गतले मलाई यतैतिर डोर्‍याइरह्यो । फुटकर निबन्धहरूमै सीमित रहेको मेरो हास्यव्यङ्ग्य लेखन २०५१ मा ‘क्षेपन’ हास्यव्यङ्ग्य कृतिसम्ममा उक्लियो । मेरो त्यही पहिलो कृतिले २०५१ सालको विरसा हास्यलेखन पुरस्कार प्राप्त गर्‍यो । यसरी मेरो गम्भीर एवम् भावुक स्वभाव र हाँसोठट्टा अनिव्यङ्ग्य-व्रि्रोहबीच अविच्छिन्न नाता गाँसिँदै गयो । उसले मलाई अँगालो हाल्दै गयो, मैले पनि उसलाई माया गर्दै गएँ, मन पराउँदै गएँ ।

नेपाली साहित्यको र विशेष गरेर हास्यव्यङ्ग्य साहित्यको वर्तमान स्थिति कस्तो रहेको छ त ?
मेरो विचारमा नेपाली साहित्यको वर्तमान स्थितिलाई दुवै पाटोबाट हेर्न सकिन्छ । म यसलाई सकारात्मक र नकारात्मक भन्छु । सकारात्मक पक्षका बारेमा कुरा गर्दा नेपाली साहित्य विश्वसाहित्यसँग कुम जोड्न सक्ने हैसियतमा पुगिसकेको छ । सामाजिक जीवनका अनेकन अँधेरा र उज्याला पक्षहरूको अङ्कन नेपाली साहित्यमा हुनु, मानव मनका अनेकन अनुभूतिहरू हाम्रो साहित्यमा अनुदित हुनु, विश्वव्यापी समस्याहरूलाई हाम्रो साहित्यले पर्गेल्न सक्नु, प्रकाशन प्रशारण हुँदै विश्वलाई चकित पार्ने नेट प्रविधिमार्फ सैयौँ अनलाइन पत्रिकाका माध्यमद्वारा संसारको जुनसुकै कुनामा बसेर पनि जोकोही नेपालीभाषीले नेपाली भाषामै साहित्यिक रचना पढ्न पाउने स्थितिको सिर्जना हुनु जस्ता कुरा नेपाली साहित्यको समृद्धिकै द्योतक हुन् भन्ने मलाई लाग्छ । बिस्तारै नेपाली लेखकहरू पनि आफूले रचना गरेका साहित्यिक कृतिको आमदानीमा जीवनवृत्ति गर्न सक्ने स्थितितिर उन्मुख हुँदै गइरहेका छन् । एक हजार प्रति पुस्तक बिक्री हुन वर्षौ कुर्नुपर्ने अवस्था बेहोरेर आएका नेपाली लेखकहरूकै कतिपय कृति एकै वर्षचारपाँच संस्करणमा दशौँ बीसौँ हजारको सङ्ख्या छापिएका सुखद समाचारहरू पनि यदाकदा नै किन नहोस् सुन्न पाइँदै छ । शिक्षा र चेतनाको वृद्धिले पाठकहरूको दायरा फराकिलो हुँदै जाँदो छ । हरेक वर्षनेपाली भाषामा लाखौँप्रति पुस्तक र पत्रपत्रिका प्रकाशित भइरहेका छन् । प्रकाशनको यो क्रम अब देशमा मात्रै सीमित रहन छाड्यो । विदेशी भूमिबाटै पनि ठूलो सङ्ख्यामा साहित्यिक कृति र पत्रपत्रिका प्रकाशित भइरहेका छन् । यी त भए नेपाली साहित्यको वर्तमान अवस्थाका केही सकारात्मक पक्ष । अँध्यारा र चुनौतीपर्ूण्ा पक्षहरू पनि नभएका होइनन् । नेपाली राजनीतिमा देखापरेको अकर्मण्यताले नेपाली साहित्यलाई अछुतो रहन दिएको छैन । स्रष्टाहरूमा पनि क्रमशः वर्ग देखा पर्न थालेको छ । दलीय राजनीतिको फेर समातेर राज्यको ढुकुटीमा चलिरहेका साहित्यिक सांस्कृतिक निकायमा पुगी दुइ चार वर्षमै नवधनाड्य बन्ने साहित्यकारहरूको सङ्ख्या बढ्दै छ । दलीय राजनीतिको फेर समात्न नपुगेका कतिपय स्वाभिमानी लेखकहरू आफ्नो कृति प्रकाशन गर्न आफ्नै छोराछोरीका गाँस काट्नुपर्ने स्थिति पनि कायमै छ । एउटा दुइटा टापटिपे कृति लेखीटोपलेर रातारात आफ्नो नाम साहित्यको महारथीमा दर्ता गर्नेहरू पनि देखिँदैछन् हामीकहाँ । अर्कोतिर गुटबन्दी, खिचातानी, उसले उसलाई गन्ती नगर्ने, यो पक्षको वा ऊ पक्षको, यो वादको वा त्यो वादको, उसले उसको खुट्टा तान्ने, उसले उसको अस्तित्व नै समाप्त पार्ने जस्ता असाहित्यिक, अमानवीय, असामाजिक र अमयार्दित स्थिति देखिनु पनि नेपाली साहित्यको अँध्यारो पक्ष हो भन्ने मलाई लाग्छ । यिनै अँध्यारा र उज्याला पक्षलाई काँधमा बोकेर नेपाली साहित्य समृद्धिको उकालो चढिरहेको देख्छु म । नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा पनि नेपाली साहित्यका माथि भनिएका गुणअवगुणहरू दुवै भेटिन्छन् । भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामे, वासुदेव लुइँटेल, रामकुमार पाँडे, श्रीधर खनाल, लक्ष्मण लोहनी, घटोत्कच शर्मा, मोराश जस्ता अघिल्लो पुस्ताका हास्यव्यङ्ग्यकारहरूको विरासत सम्हाल्न वर्तमानमा पछिल्लो पुस्ताको एउटा ठूलै समूह सक्रिय छ । हास्यव्यङ्ग्य प्रस्तुतिका नयाँ-नयाँ प्रविधिसहित यस क्षेत्रमा व्यङ्ग्य विद्रोहका तोप-गोलाहरू पड्की रहेका छन् । नरेन्द्रराज पौडेल, विश्व शाक्य, विष्णु प्रभात, चट्याङ मास्टर, मदनकृष्ण, हरिवंश, वात्सायन, मुकुन्द आचार्य राजेन्द्र सुवेदी, चोलेश्वर शर्मा, खगेन्द्र सङ्ग्रौला, रविकिरण निर्जीव, रुद्र खरेल, श्यामबहादुर लामा, होम सुवेदी, भोगेन्द्र बस्नेत, विमल निभा, राजव, धु्रवकृष्ण दीप, मुन पौडेल, चूडामणि खनाल, धर्मरत्न यमी, माधव पोखरेल, गङ्गाप्रसाद उप्रेती, वासु रिमाल ‘यात्री’, भाउपन्थी, तीर्थ भण्डारी, नरमेन्द्र लामा, हृदयप्रसाद मिश्र, गोपालराज मैनाली, चूडामणि रेग्मी, लक्ष्मण नेवटिया आदि स्रष्टाहरू २०४६ अघिदेखि सक्रिय थिए । २०४६ पछि हास्यव्यङ्ग्य लेखनमा ओर्लिएका स्रष्टाहरूको नामको सूची पनि छोटो छैन । अर्जुन पराजुली, आर.सी. रिजाल, उत्तमकृष्ण मजगैयाँ, केशवदत्त बडू, कृष्ण धरावासी, गणेशकुमार पौडेल, गुरुराज अधिकारी, गोपीन्द्र पौडेल, जयराम शर्मा, डम्बर घिमिरे, डम्बरबहादुर डी., तिलकराम शर्मा, दिल साहनी, धीरेन्द्र प्रेमर्षि, नरनाथ लुइँटेल, नवराज पोख्रेल, प्रकाश प्रेमी, प्रल्हाद पोख्रेल, विमल भौकाजी, बमबहादुर थापा ‘जिताली’, बि.आर. शर्मा, मनोज गजुरेल, मनोहर अधिकारी, राजेशमानसिंह, रामेश्वर लामिछाने, रामहरि बुढाथोकी, लक्ष्मण गामनागे, सुरेश श्रेष्ठ, स्नेह सायमी, श्यामल, शालु, शिवप्रकाश, शिवप्रसाद पोखरेल, शिव सापकोटा, हृदयप्रसाद मिश्र, माणिकरत्न शाक्य, हरिकला उप्रेती, गायत्री परिरोशनी, शेषराज भट्टर्राई, देवीप्रसाद चापागाइँ आदि हास्यव्यङ्ग्य लेखक-कविहरू ०४६ सालपछिको परिवर्तित परिस्थितिमा देखापरेका राजनीतिक, सामाजिक, आर्थिक र अन्य समसायिक विसङ्गतिमाथि तीव्र प्रहार गर्दै कलम चलाइरहेका छन् । लेखन प्रकाशन र प्रहसनतिर मात्रै केन्द्रित रहेको नेपाली हास्यव्यङग्य अहिले रेडियो र टेलिभिजनको माध्यमद्वारा प्रशारणको स्तरसम्म उक्लिएको छ । अनलाइन पत्रपत्रिका मार्फत यो विश्वव्यापी पनि बनिरहेको छ । लोकप्रियताको चुलीमा पुगेको हाम्रो हास्यव्यङ्ग्य लेखन, प्रकाशन र प्रशारणमा गम्भीर कमजोरीहरू पनि नदेखिएका होइनन् । हास्यव्यङ्ग्यका नाममा अशिष्ट गालीगलोज, लाजभाँड, फोहर अभिव्यक्ति, कार्टुनचित्रमार्फ अश्लीलताको प्रस्तुतिसमेत मिसिएर बिटुलो पनि बन्दो छ । यो नकारात्मक पाटो हो । हास्यव्यङ्ग्य अभिव्यक्तिलाई यसरी बिटुलो बन्नबाट जोगाउन यसका सिद्धान्त र प्रविधिमा आधारित भएर समीक्षा-समालोचना, अनुशीलन र विश्लेषण-विवेचनाको कामतिर पनि ध्यान उल्लेख्य किसिमले केन्द्रित हुनुपर्छ, यता आएर केही न केही भइरहेको पनि देखिँदै छ ।
साहित्यमा विभिन्न वाद (दर्शन) हरू छन् । किन यस्तो भएको होला ? तपाइँको छुट्टै मान्यता वा दर्शन रहेको छ कि ?
मानिस धर्तीको सवैभन्दा सचेत प्राणी हो । यही सचेतताका कारण उसले आफूलाई सर्वश्रेष्ठ प्राणीका रूपमा स्थापित गर्न सकेको छ । सर्वश्रेष्ठ मानिसको उन्नत अभिव्यक्ति नै साहित्य हो भन्ने मलाई लाग्छ । समयको पदचाप साहित्यमा अभिव्यक्त हुँदै जान्छ । अनादिकालदेखि मानिस एक्लै छैन, ऊ समूहमा बाँच्दै आएको छ । समूहले समाज बनेको छ । समयान्तरमा भूगोलको भौतिक परिवर्तनसँगै समाजका मत-मान्यताहरू पनि फेरिँदै जान्छन् । यो फेरबदललाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोण नै दर्शन हो भनेर मैले बुझेको छु । यस्तै दृष्टिकोणमा आधारित भएर साहित्यमा पनि वादहरूको निरुपण भएको छ । प्राचीनकालदेखि नै वादहरूमाथि अनेकौँ विवादहरू पनि हुँदै आएका छन् । सत्य सधैँ निरपेक्ष होइन, सापेक्ष हुन्छ । समयको एक कालखण्डमा स्थापित सत्य अर्को कालखण्डमा असत्य सबित हुनसक्छ । भौतिक परिवर्तनले मानिसको चेतनामा परिर्वतन ल्याइरहेको छ । यदि यस्तो नहुँदो हो त आजको मानिस ढुङ्गे युगभन्दा अघिकै अवस्थामा रहिरहेको हुन्थ्यो ।
जहाँसम्म मैले आत्मसात गरेको दर्शनको सवाल छ, पूर्णतः भौतिकवादी जीवनदर्शन नै मेरो दर्शन हो । म जीवन र जगत्लाई भौतिकवादी यथार्थको आँँखाले हेर्ने गर्छु । कला कलाका निम्ति, साहित्य साहित्यका निम्ति भनेरअलौकिक संसारको परिकल्पनातिर मेरो ध्यान जाँदैन । मानिसको उन्नत अभिव्यक्ति मानिएको कला र साहित्य मानिसकै निम्ति हुनुपर्छ । यसको अर्थ साहित्य जीवनमुखी हुनुपर्छ । यो निरुद्धेश्य होइन, मानवीय सभ्यता निर्माणको, निरन्तर परिवर्तनको, मानिसकै सुख-समृद्धिको विराट उद्धेश्यसहित साहित्य सिर्जना हुनुपर्छ भन्ने ठान्छु । मृत्यून्मुख चिन्तन र चेतनाले मानिसलाई, मानव समाजलाई, राष्ट्रलाई र आजको विश्वलाई गति दिन सक्दैन । त्यस्तो चिन्तन वा दर्शनलाई आत्मसात गरेर लेखिएको साहित्य त समय र श्रमको बरबादी मात्रै हो भन्ने मलाई लाग्छ । जीवन छ र नै मृत्यु छ । मृत्यु त अनिवार्य छँदै छ, अनि मरिहालिन्छ- व्थर्थै के गर्नुपर्‍यो र भन्ने हो भने त अहिले भर्खर आत्महत्या गरेर सबै भुतुभुतु मरे भइहाल्यो नि । नित्सेको निस्सारताकै पछि लाग्ने हो भने केही छिनमै यो धर्ती मानवशून्य निर्जन बस्तीमा परिणत हुनेछ । अनि किन चाहियो कविता काव्य, किन सिर्जना गर्नुपर्‍यो कला-साहित्य – ढुङ्गा माटो र पात-पतिङ्गरलाई न सङ्गीत सुन्नु परेको छ, न त साहित्यको रसास्वादन नै गर्नुपरेको छ । त्यसो भएर नै गोर्की र हार्वडहरूले आफ्नो लेखनमा जीवनकै गाथा गाए । त्यसो भएर नै चेखव र तोल्सतोयहरूले आफ्नो लेखनमा जीवनकै रङ्ग भरे । त्यसो भएर नै यता पनि देवकोटा, रिमाल र अर्यालहरूले आफ्ना रचनामा जीवनकै सङ्गीत सुसेले । गोकुल, युद्धप्रसाद, पारिजात, विकल र प्रधानहरूले जीवनकै पक्षमा अक्षरको खेती गरे । त्यसकारण साहित्य मृत्युका निम्ति होइन जीवनका निम्ति, मानवको समृद्ध सभ्यता निर्माणका निम्ति र मान्छेकै र्सवाधिक हितका निम्ति लेखिनुपर्छ भन्ने मत-मान्यता भन्नोस् वा दर्शन भन्नुस्, यसैमा अडेर म पनि थोरैतिन केही लेखिरहेको छु ।

साहित्यमा कला, जीवन र यथार्थमध्ये कुन तत्व प्रधान हुनुपर्दछ ? के कला विनाको साहित्य हुँदैन ?
तपाइँको यस जिज्ञासालाई यस अघिको प्रश्नको जवाफले पनि केही हदसम्म समेटेको छ क्यार । तथापि केही थप्न चाहन्छु । साहित्यमा जीवन र यथार्थको अङ्कन हुन्छ, हुनुपर्छ तर विशिष्ट ढङ्गले । त्यो ‘विशिष्ट ढङ्ग’ भनेकै कला हो । हामीले गर्ने सामान्य कुराकानी र साहित्यबीच भिन्नताको पहिचान गराउने तत्व पनि यही हो । देवकोटा कवितामै घण्टौँ कुरा गर्न सक्थे । यसको अर्थ उनको अभिव्यक्ति लेखनमा मात्र होइन कुराकानीको क्रममा पनि कलात्मक हुन्थ्यो भन्ने हो । तपाईं हाम्रो कुराकानी त्यस्तो हुँदैन । देवकोटामा विलक्षण एवम् विशिष्ट क्षमता, प्रतिभा र अभ्यास थियो त्यसकारण कवितामै कुरा गर्न सम्भव भएको हो । कलाविहिन अभिव्यक्ति उत्कृष्ठ साहित्यको श्रेणिमा नपरे जस्तै जीवनको यथार्थ अङ्कन नभएको तर कलात्मक नै किन नहोस् त्यस्तो अभिव्यक्ति पनि सही अर्थमा साहित्य हुँदैन भन्ने धारणा मेरो छ । हामीले के लेख्ने – र कसरी लेख्ने – पहिलो प्रश्न विचारसँग सम्बन्धित छ भने दोस्रो प्रश्न कलासँग सम्बन्धित छ । विचार र कला यी दुवैको समुचित सन्तुलनले मात्र अभिव्यक्ति सुस्वादु र सुपाच्य हुन्छ । कुनै पनि रचना सिर्जनाको श्रेष्ठता भनौँ उत्कृष्टताको मापन पनि यही हो । असल कुरा अभिव्यक्त गर्नु राम्रो हो, त्यसलाई अझ मिठासपूर्ण ढङ्गले अभिव्यक्त गर्नु झनै राम्रो मानिन्छ । के कलाविनाको साहित्य हुँदैन – भन्ने पुच्छ्रे प्रश्नमा म यतिमात्रै भन्छु- कलाविहिन साहित्य पनि लेखिन्छ, लेखिएको छ तर त्यसको आयु सारै छोटो हुन्छ । हाम्रो मनमष्तिष्कलाई झङ्कृत गर्ने क्षमता नराख्ने भएकाले त्यस्तो लेखन निष्प्रभावी बन्न पुग्दछ ।

हास्यव्यङ्ग्यले समाजमा गतिशीलता ल्याउन तथा सामाजिक रूपान्तरण ल्याउन कस्तो सहयोग गर्दछ ?
अवश्य नै धेरै सहयोग गर्दछ तथापि यो सहयोग प्रत्यक्ष हुँदैन, अप्रत्यक्ष हुन्छ । किन भने हास्यव्यङ्ग्य सिर्जनाले सामाजिक जीवनका असङ्गत पक्षहरूलाई खोतलेर मनोरञ्जनात्मक ढङ्गले हाम्रा सामु राखिदिन्छ र सुधारको आग्रह गर्छ । हुनुपर्ने कुरा नभइरहेको, गर्नुपर्ने काम नगरिरहेको, जिम्मेवारको गैरजिम्मेवारी, मानवीय कमजोरीहरू जसले सामाजिक जीवनको गतिलाई अवरुद्ध पारेका छन् । पुरातन अवैज्ञानिक संस्कार, कुचलन, अन्धविश्वास, लोभ, स्वार्थ, अहंकार, बेइमानी जस्ता दुर्गुणहरू हाम्रो सामाजिक जीवनमा प्रशस्तै छन् । मानौँ झार पतिङ्गरले कुलो थुनिएको छ । हास्यव्यङ्ग्यले कुलो थुन्ने झारपतिङ्गर देखाइदिन र त्यसलाई मिल्काएर कुलो सफा गर्न सम्बन्धित पक्षलाई प्रेरित गर्दछ । सरोकारवालाको ध्यान खिच्दछ । यसरी सामाजिक जीवनमा गतिशीलता ल्याउन अथवा रूपान्तरण गर्न र सांस्कृतिक परिवर्तनतिर उन्मुख गराउन हास्यव्यङ्ग्यात्मक प्रस्तुतिले उल्लेखनीय सहयोग पुर्‍याउँछ, पुर्‍याउँदै आएको पनि छ ।

हास्यव्यङ्ग्य लेख्न त निकै गाह्रो हुन्छ हैन र – तपाइँको अनुभवमै आधारित भएर हास्यव्यङ्ग्य लेखन-प्रक्रियाबारे केही प्रकाश पारिदनुस् न ?
सामान्यतः अन्य गैरहास्यव्यङ्ग्य सिर्जनाभन्दा हास्यव्यङ्ग्य सिर्जनाको अभिव्यक्तिशैली केही जटिल हुन्छ भनेर मैले अगाडि पनि उल्लेख गरिसकेकै छु । तपाइँले भनेजस्तो हास्यव्यङ्ग्य लेख्न गाह्रो वा सजिलो भन्ने कुरा अभ्यासमा पनि भर पर्छ । अभ्यासलाई परम्परागत भाषामा साधना भन्ने गरिएको छ । शास्त्रीय छन्दमा लेखिएका कविता मलाई औधी मनपर्छ । पाए र भेटेसम्म म पढ्छु र सुन्छु पनि तर लेख्ने अभ्यास मैले गरेको छैन । अनि मलाई शास्त्रीय छन्दमा कविता लेख भनियो भने दुइ हप्ता लगाएर लेखे पनि त्यो बन्छ जस्तो लाग्दैन । एउटा हास्यव्ङ्ग्य निबन्ध तयार गर्न भने मलाई दुइ घण्टा नै काफी छ । यस्तो किन भयो भने हास्यव्यङ्ग्य निबन्ध लेखनमा म अभ्यस्त भएको डेढदशक नाघिसक्यो । अभ्यासले हामीभित्र रहेको क्षमता र प्रतिभालाई निखार दिन्छ- हतियारमा पाइनले शक्ति दिएजस्तो । म सबभन्दा पहिले विसङ्गत पर्यावरणको पहाड खोतलेर त्यसभित्रका अनगिन्ती सन्दर्भमध्ये कुनै एउटालाई विषयका रूपमा छनोट गर्छु । यसरी छनोट गर्दा त्यस सन्दर्भसँगको सामयिक परिघटना वा तत्कालको कुनै सूचनाले पनि मलाई मद्दत पुर्‍याउँछ । कुनै बेला त अखबारमा छापिएको समाचारको एउटा शीर्षकले नै पनि मलाई आफ्नो एउटा हास्यव्यङ्ग्य निबन्धको विषय प्रदानगरेको अनुभव छ । यसरी तय गरिएको विषय मेरो मष्तिष्कमा केही समयसम्म छड्किरहन्छ । छड्किने समयअवधि दुइ-चार घण्टादेखि हप्ता-दस दिनसम्म पनि हुनसक्छ । यही अवधिमा म मनमनै विषयको समग्र खाका तयार गर्दछु । तयार खाकालाई उपयुक्त अवसरमा र एकै बसाइमा लिपिबद्ध गर्दछु । लेख्नका निम्तिमलाई कुनै विशेष समय वा स्थानको खाँचो पर्दैन । घरमा टिभी वा रेडियो बजिरहेको हुन्छ, परिवारका मानिस साथै हुन्छन् र उनीहरू टिभी हेरिरहेका वा रेडियो सुनिरहेका वा फोनमा कुरा गरिरहेका हुन्छन्, म रचना सिर्जनागरिरहेको हुन्छु । मलाई कुनै वाधा वा अवरोध भएको अनुभूति हुन्न । मेरो हास्यव्यङ्ग्य सिर्जना प्रक्रिया यही हो ।
हास्यव्यङ्ग्य लेख्ने व्यक्ति निकै फरासिलो र हँसमुख हुनुपर्छ हो – गम्भीर प्रकृतिको व्यक्तिले हास्यव्यङ्ग्य लेखेर खान सक्दैन भन्ने भनाइमाथि तपाइँको टिप्पणी ?
हास्यव्यङ्ग्य सिर्जना गर्ने व्यक्ति फरासिलो र हँसमुख स्वभावको हुनैपर्छ भन्ने छैन । विश्व साहित्यका केही हास्यव्यङ्ग्य स्रष्टा त्यस्ता थिए वा छन् होला तर नेपाली साहित्यमा चाहिँ हास्यव्यङ्ग्य सिर्जनामा सरिक रहेका धेरैजसो लेखकहरू गम्भीर स्वभावकै देखिन्छन् । मेरो जानकारी अनुसार नेपाली हास्यव्यङ्ग्यका शीर्ष व्यक्तित्व भैरव अर्यालको स्वभाव गम्भीर प्रकृतिको थियो । केशवराज पिँडाली पनि तपाइँले भने जस्ता फरासिला थिएनन् । श्याम गोतामे त झन अड्कली अड्कली एकदमै कम बोल्ने अन्तर्मुखी स्वभावका थिए । हरिवंश आचार्य अलि चटपट स्वभावका देखिए पनि मदनकृष्ण श्रेष्ठमा त्यस्तो पाइन्न । रामकुमार पाँडेको अघिल्लो स्वभाव के कस्तो थियो मलाई थाहा छैन तर पछिल्लो अवधिको उनीसँगको सङ्गतमा मैले उनलाई गम्भीर स्वभावमै भेटेको छु । मैले त वासुदेव लुइँटेल, मोहनराज शर्मा, श्रीधर खनाल, रुद्र खरेलदेखि अहिलेसम्मका धेरै हास्यव्यङ्ग्य स्रष्टाहरूलाई गम्भीर र अन्तर्मुखी स्वभावमै भेटेको छु । त्यसकारण यी केही उदाहरणहरूबाट गम्भीर प्रकृतिको मान्छेले हास्यव्यङ्ग्य लेखेर खान सक्दैन भन्ने भनाइको खण्डन गर्दैनन् र ? यति कुरा भनिसकेपछि मैले थप टिप्पणी के गरिरहनुपर्छ त ?

युवा पुस्तामा गीत, गजल र कविता लेखनमा प्रशस्त झुकाव देखिन्छ । हास्यव्यङ्ग्य लेखनतिर चाहिँ किन यस्तो झुकाव (क्रेज) नभएको होला ?
यसमा उमेरजन्य स्वभावले पनि अली बढी काम गरेको छ कि जस्तो लाग्छ । अनि गजल गीत जस्ता सिर्जना गेयात्मक भएका कारण गुनगुनाउन मिल्छ । गुनगुनाउँदै गयो एउटा अन्तरा वा शेर बनिहाल्छ । स्वतन्त्र सन्दर्भ प्रवाहलाई समातेर एउटै लयमा अलिबार गुनगुनाइरहँदा एउटा सिङ्गै गीत वा गजल निर्माण भइसक्छ । आयतनका हिसावले पनि आठ-दश पङ्क्तिमा यसको सिर्जना हुने हुँदा वर्तमान युवा पुस्ता यतातिर राम्रैसँग तानिएको छ । कविता खास गरी गद्यशैलीको कविता, मुक्तक हाइकुजस्ता कविता संरचना पनि विचार प्रवाहको एकै झोक्कालाई टिपेर लिपिबद्ध गर्न सकिन्छ । अक्षर-सङ्ख्या, गण-मात्रा आदिको बन्धन पनि यतातिर नरहेको हुँदा तुलनात्मक रूपमा यस्ता रचना सिर्जना प्रक्रियामा खासै जटिलता पनि छैन । तर हास्यव्यङ्ग्य शैली अपनाएर चाहिँ गजल, मुक्तक तथा गीतै रचना गर्नुपर्‍यो भने त्यति सजिलो लाग्दैन । झन निबन्धकै संरचनामा हास्यव्यङ्ग्य लेख्न भने अली बढी नै मेहनतको खाँचो पर्छ । त्यसमाथि भनाइलाई घुमाउरो पारेर नभनी हास्यव्यङ्ग्य हुनै नसक्ने भएकाले पनि सिकारू युवा पुस्ताको झुकाव कम हुनु स्वाभाविकै हो । विचार बुद्धि र अध्ययनको क्षेत्र फराकिलो हुँदै गएका युवा पुस्ताकै कतिपय भाइबैनीहरू भने हास्यव्यङ्ग्य लेखनमा लागिरहेका पनि छन् ।

अब अलिक फरक प्रसङ्ग । अहिलेको राजनीतिक परिस्थितिलाई तपाईं कसरी नियालिरहनु भएको छ ?
राजनीति भनेको राज्य चलाउने नीति हो । नीति आफै चल्दैन त्यसलाई चलाउने काम नेतृत्वमा रहेका मानिसहरूले गर्दछन् । नेपाली राजनीतिको केन्द्रमा रहेका नेता र नेतृत्वसँग अहिले नीति छ तर नैतिकता देखिएन । मुलुक, राष्ट्र राष्ट्रियता, नागरिकको चाहना, उनीहरूले भोग्नु परिरहेका समस्या एवम निराकरणका उपायहरूतिर हाम्रा नेताहरूले ध्यान दिन चाहेनन, सकेनन् । उनीहरूको चिन्ता र चासो भने सत्ता, पद, कुर्सी, व्यक्तिगत स्वार्थ, सुख, सुविधा आदितिर केन्द्रित भएको छ । मात्रात्मक रूपमा कसैको बढी होला कसैको घटी होला तर कोही कम रहेनन् । अहिलेको राजनीतिक अस्थिरता र अकर्मण्यताको मूल कारण नै यही हो । हिजो त्यत्रो त्याग तपस्या र समर्पण गरेर आएका नेताहरू आज नैतिक आचरणबाट यति तल झर्न वा गिर्न सक्छन् भनेर म र मजस्ता नागरिकले कहिल्यै कल्पना गरेनौँ । विख्यात हास्य कलाकार हरिवंश आचार्यले भर्खरै एउटा समारोहमा भनेजस्तै हाम्रा नेताहरूको मुख हेर्न लायक रहेको छैन । मुलुकको सर्वोच्च निकाय व्यवस्थापिका संसदले सातौँ पटकसम्म निर्वाचन गर्दा पनि प्रधानमन्त्री दिन नसकेको देखेर दुनियाँ छक्क परेको छ । संविधान बनाउने, स्थायी शान्ति कायम गर्ने कुरा धेरै टाढाको भइसक्यो । नेताहरूका यी र यस्तै आचरण र क्रियाकलापले नेपालको गणतन्त्र भन्नोस् वा लोकतन्त्र चिताइ नसक्नुको सङ्कटमा फँसिसकेको छ । म यो बेला भूपी शेरचनको
‘हामी’ कविताका यी पङ्क्तिहरू संझिरहेको छु-
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्गरोगन छुटेका, टुटेका फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ
एउटा मनोरञ्जक खेलका सामग्री
एउटा खेलाडीमाथि आश्रति,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौँ ।
मलाई लाग्छ कविता-पङ्क्तिमा उपस्थित ‘हामी’ अरू कोही नभएर हाम्रो देशका नेताहरू नै हुन् । ‘स्ट्राइकर’ बोक्ने खेलाडी अन्यत्रै छ र उसैको इसारामा, उसैको हिर्काइमा यी गोटीहरू चलिरहेका छन्, बोलिरहेका छन्, तमासा देखाइरहेका छन् । गोटीसँग न कुनै आफ्नोपन छ, न देश र देशवासीप्रति एक पित्को सम्वेदना छ । उनीहरूको यस्तो सम्वेदनाशून्य स्थितिले म यो देशमा एउटा भयानक आँधी निम्त्याइरहेको देख्छु । यदि त्यो आँधी आइहाल्यो भने उनीहरू त रहँदैनन् कोइबात थिएन, यो देशै पो नरहने हो कि भन्ने आशङ्काले म पलपल झस्किन थालेको छु ।

यस्तो विषम परिस्थितिबाट मुलुकलाई त्राण दिने कार्यमा हास्यव्यङ्ग्य स्रष्टा र साहित्यले कस्तो भूमिका खेल्न सक्छन् ?
लेखक, साहित्यकार तथा कलाकारहरूको दायित्व भनेको आफ्नो रचना-कर्मद्वारा खबरदारी गर्नु हो । हामी आफ्नो समस्त सिर्जनात्मक बल खर्च गछौँ, गरी पनि रहेका छौँ । नेतृत्वले बाटो विराइरहेको, अकर्मण्यतामा फसिरहेको, निहित स्वार्थको खाडलमा भासिँदै गएको कुरा हाम्रा यताका हास्यव्यङ्ग्य सिर्जनाले राम्रोसँग औँल्याइरहेका छन् । भर्खरै गएको गाईजात्राको अवसरमा प्रस्तुत भएका हास्यव्यङ्ग्य प्रस्तुतिको निसाना पनि यतैतिर केन्द्रित देखिन्थ्यो । हामीले गर्ने त यस्तै हो गरिरहेका छौँ । हाम्रा सिर्जना र प्रस्तुतिका तीरहरू, गोला र बारूदी प्रहारहरूले उनीहरूको छाला नछेडे पनि आम नागरिकमा भने सकारात्मक प्रभाव छोडिरहेको छ । परिस्थिति फेर्ने काम आम नागरिकको हो, हामी पनि नागरिककै पङ्क्तिमा छौँ । स्रष्टाले सिर्जना गरेको साहित्यले चेतना निर्माण गर्दछ । नागरिकको चेतनाले फड्को मारेपछि धेरै कुरा उलटपुलट हुन्छ ।
हास्यव्यङ्ग्य साहित्यमा राजनीतिको कस्तो प्रभाव रहेको हुन्छ त ?
राज्यसञ्चालनको मेरुदण्ड नै राजनीति हो । अनि राजनीतिलाई देशोन्नति र नागरिकको सेवामा समर्पित गराउने काम राजनेताले गर्दछन् । यही मेरुदण्ड विसङ्गत्रि्रस्त बनेर थलियो भने समाज वा देशका अन्यान्य अङ्गहरूलाई स्वतः विकृत र विसङ्गत बनाउँदै लैजान्छ । जब राजनेताले राजनीतिलाई आफ्नो निहित स्वार्थतिर परिचालित गर्न खोज्छ तब धेरै कुरा बिग्रन थाल्छ । यस्तै बिग्रेको, भत्केको, नष्टभ्रष्ट भएको विकृत पर्यावरण नै हास्यव्यङ्ग्य सिर्जनाको प्रमुख आधार हो । यसो हुँदा राजनीतिक निर्णय, दाउपेच नेताका कार्यकलाप, नेतृत्वका हानाथाप जस्ता यावत् विषय हास्यव्यङ्ग्य प्रहारका निसाना बनेर आउने नै भए । पछिल्लो चरणको नेपाली हास्यव्यङ्ग्य लेखनमा राजनीतिक विषय बढी आइरहेको देखिन्छ । यो स्वाभाविक पनि हो । यसैलाई प्रभाव भन्दा पनि फरक पर्दैन कि ।

जातीय, लैङ्गकि, सामाजिक तथा राजनैतिक मुक्ति तथा समानताका पक्षमा हास्यव्यङ्ग्य साहित्यले कतिको विचार प्रवाह गरेको छ ?
धेरै गरेको छ । बहुजातीय, बहुधार्मिक र बहुभाषिक हाम्रो देशमा सहिष्णुता कायम नरहे विखण्डित हुने सम्भावना रहिरहन्छ । यो सम्वेदनशील विषयमा स्रष्टाहरू सचेत छन् । नेपाली हास्यव्यङ्ग्यले देशमा विद्यमान जातीय असमानता, लैङ्गिक भेदभाव, सामाजिक उत्पीडनजन्य विसङ्गतिमाथि पनि प्रशस्त दृष्टि पुर्‍याएको छ । पुरानो पुस्ताले पनि लेखेको थियो र पछिल्लो पुस्ताले पनि लेखेर पर्याप्त विचार प्रवाह गरिरहेको छ भन्ने मलाई लाग्छ ।

हास्यव्यङ्ग्य साहित्यमा नेपालभित्र प्रचलनमा रहेका आञ्चलिक भाषाहरूको स्थिति कस्तो रहेको छ ?
समग्र साहित्यमै नेपाली भाषा बाहेक नेपालमा बोलिने अन्य राष्ट्रिय भाषाहरू उपेक्षामा परेका छन् । ०४६ को परिवर्तनपछि पनि यो स्थिति कायम रह्यो । स्थानीय प्रयत्नले मात्र यो स्थितिमा सुधार ल्याउन सकिन्न । राष्ट्रिय नीति बनाएर सबै भाषाको उत्थानका निम्ति प्रयत्न गरिनुपर्दछ । तर यसो भएको छैन । यति हुँदाहुँदै पनि मैथिली, नेपालभाषा, भोजपुरी जस्ता केही समृद्ध भाषामा साहित्य र हास्यव्यङ्ग्य रचनाको उपस्थिति देखिन्छ । तर त्यो पनि पर्याप्त भने छैन । तामाङभाषा, मगर र गुरुङभाषामा केही पत्रपत्रिका निस्कन थालेका छन्, चलचित्रहरू निर्माण हुन थालेका छन् । हास्यव्यङ्ग्य लेखनको उपस्थिति भने शून्य बराबर रहेको छ ।

देश सङ्क्रमण कालमा भएको बेला, परिवर्तनलाई कसरी सम्बोधन गरिरहेको छ समकालिन नेपाली हास्यव्यङ्ग्य साहित्यले ?
नेपालको हास्यव्यङ्ग्य लेखनले परिवर्तनलाई संबोधन गरिरहेको छ । पर्याप्त भने छैन । सङ््क्रमणकालको अवधि यति धेरै लम्बिन्छ होला भन्ने थिएन । समस्याहरू थाती रहने र नयाँ-नयाँ रूपमा बल्झिरहने गर्नाले पनि
यस्तो भएको हो । समकालीन साहित्यिक सिर्जनामा आजको परिवर्तन पूर्व र परिवर्तन पछिको स्थिति, वर्तमान अन्यौल, अस्थिरता, अस्थिरता बीचको आशा-निराशा, बढिरहेको बेरोजगारी, रोजगारीका रूपमा भइरहेको विदेश पलायन जस्ता यावत विषय क्षेत्रमा प्रभावपूर्ण हास्यव्यग्य कविता, गीत-गजल र निबन्धहरू लेखिएका छन् ।

अहिलेको नेपाली राजनीतिमा हास्यव्यङ्ग्यको हस्तक्षेप कम भए जस्तो लाग्दैन तपाइँलाई ?
प्रकाशित भएका सामग्रीहरूको आकलन गर्दा अनि टेलिभिजन र रेडियोमा प्रस्तुत भइरहेका सामग्रीहरूको अवलोकन गर्दा मलाई पटक्कै त्यस्तो लाग्दैन । तर गुण, स्तर र प्रभावकारिताको हिसावले चाहिँ चित्त बुझ्दो स्थिति छैन भन्नुपर्छ ।

राजनीतिमा रहेका विभिन्न वादहरू जस्तै हास्यव्यङ्ग्य साहित्यकारहरूले पनि विभिन्न -राजनैतिक) विचारहरू अँगालेका देखिन्छन् । यसले नेपाली साहित्यको विकासमा कस्तो टेवा पुर्‍याउला ?
कुनै पनि स्रष्टा आफूलाई मन परेको दल वा राजनीतिक आस्थामा प्रतिवद्ध हुन सक्छ । लेखक पनि एउटा नागरिक हो । नागरिकको हैसियतले यो उसको अधिकार पनि हो । तर ऊ जुनसुकै राजनीतिक आस्थामा आवद्ध भए पनि वा रहे पनि उसको सिर्जनामा राष्ट्रको ढुकढुकी चल्नुपर्दछ । यति मात्रै भयो भने नेपाली साहित्यको श्रीवृद्धिमा उसको पनि सिर्जनाले अवश्य टेवा पुर्‍याउँन सक्छ ।

इतिहास हेर्दा हास्यव्यङ्ग्य साहित्यको विकास राम्रैसँग भएको देखिन्छ अहिले अलिक खस्केको हो ?
खस्केकै हो भनिहाल्ने स्थिति त होइन, तथापि भैरव अर्याल जस्ता सिद्धहस्त हास्यव्यङ्ग्यकारका उत्कृष्ट हास्यव्यङ्ग्य सिर्जना तथा कृति पढ्ने अवसर पाएका नेपाली पाठकहरूले आज त्यस्तै स्वादका कृति वा रचना पढ्न पाइरहेका भने छैनन् । अर्यालले हास्यव्यङ्ग्य लेखिरहेको वा प्रकाशित भइरहेको कालखण्ड नेपाली हास्यव्यङ्ग्यको स्वर्णकाल तथा उत्कर्ष काल थियो भनेर यसका अध्ययताहरूले चर्चा गरेका छन् । रुद्र खरेल, चोलेश्वर शर्मा, नरेन्द्रराज पौड्याल, विष्णु प्रभात, चट्याङ मास्टर आदिका हास्यव्यङ्ग्य सिर्जनामा अर्यालको झझल्कोसम्म आएको भेटिन्छ । खरेल त गइसक्नुभयो । शर्मा र चट्याङको लेखन पातलिँदै गएको छ । असाध्य राम्रो सम्भावना बोकेर पछिल्लो पुस्ताका लक्ष्मण गामनागे जस्ता केही हास्यव्यङ्ग्यकारहरू मेहनत गरिरहेका छन् । त्यसकारण पनि म निराश छैन । उछिन्नै नसके पनि अबको नेपाली हास्यव्यङ्ग्यले अर्यालको उचाइ भेट्न सक्छ भन्ने कुरामा म विश्वस्त छु । यत्ति हो, अझै केही समय लाग्न सक्छ ।

भानुभक्त, मोतिराम, भीमनिधि, भैरव अर्याल हुँदै अहिलेको युवा पुस्तासम्म आइपुग्दा गैरहास्यव्यङ्ग्यको तुलनामा हास्यव्यङ्ग्य साहित्यको विकास र स्थान कस्तो रहेको छ? अनि समकालिन विश्वसँग यसलाई तुलना कसरी गर्ने ?
उचाइको चुचुरो टेक्न नेपाली हास्यव्यङ्ग्य उकालो उक्लिरहेको छ । यसले आफ्नो मानक खडा गरिसकेको छ र स्रष्टा, द्रष्टा एवम् पाठकको ध्यान प्रभावकारी ढङ्गले आफूतिर तान्न सकेको छ । साहित्यका प्राय सबै विधामा
यसको उपस्थिति रहे पनि उपन्यास, कथा नाटकतिर यो अलि कमजोर अवश्य देखिएको छ । हास्यव्यङ्ग्यका विविध प्रविधिहरूलाई आत्मसात गर्दै यो नकार्नै नसकिने गरी लोकप्रिय पनि बनिरहेको छ । विश्साहित्यका हास्यव्यङ्ग्य कृति तथा सिर्जनासँग कुम जोर्न सक्ने हैसियतमा यो आइपुगेको छ । खालि खाँचो छ हास्यव्यङ्ग्य सिर्जना र प्रस्तुतिलाई नै पेसा बनाएर लाग्ने स्रष्टाहरूको ।

व्यक्तिगत प्रसङ्गमा तपाइँ आफैँलाई कसरी मूल्याङ्कन-विश्लेषण गर्नहुन्छ ?
म आफूलाई कुनै घागडान साहित्यकार वा हास्यव्यङ्ग्यकार ठान्दिन । जीविका आर्जनका निम्ति प्राध्यापन, सम्पादन र रेडियोकर्मीका रूपमा अधिकतम समय बेचेर बाँकी रहेको थोरै समय यतातिर लगाइरहेको म मामुली लेखक हुँ । त्यसमाथि पनि राजधानीमा हुने साहित्यिक गतिविधि, गोष्ठी र कार्यक्रमहरूले जबरजस्ती मेरो त्यही वचत समय पनि चोरीदिने गरेका छन् । लेख्नुपर्ने विषयको पहाड मेरा अगाडि छ तर लेख्न भ्याइरहेको- सकिरहेको छैन । लेख्ने भन्दा पनि खालि यस विषयमा लेख्न पाए हुन्थ्यो, उस विषयमा लेख्न पाए हुन्थ्यो भनेर म कल्पिने गरेको छु । २०४७/२०४८ पछि यता हाम्फालेर जे जति लेखेँ त्यो साह्रै न्युन हो भन्ठान्छु । लेखेछापिएकै आफ्ना सिर्जनाप्रति म सन्तुष्ट छैन । जे जस्तो लेख्नुपर्थ्यो लेख्न सकिन भन्ने आत्मबोधले मलाई सधैँ चिमोटिरहन्छ । आफ्ना बारेमा आफैँले पनि मूल्याङ्कन गर्ने बेला अझै भइसकेको छैन कि जस्तो लाग्छ ।

हास्यव्यङ्ग्य साहित्यमा लाग्न उत्सुक युवाहरूलाई तपाइँ कस्तो सन्देश दिन चाहनुहुन्छ ?
हास्यव्यङ्ग्य साहित्यतिर उत्सुक युवा मित्रहरू, जानेर वा नजानेरै पनि तपाइँहरूको उत्सुकता ठीक ठाउँमा थुरेको छ । लगन र मेहनत खर्चने हो भने तपाइँलाई हास्यव्यङ्ग्यले धेरै माथि उठाउँछ । यसको क्षेत्र र फैलावट ब्यापक छ । तपाईं निख्रिएर लाग्नुभयो भने नाम र दाम दुवै एकसाथ तपाईंतिरै सोहोरिनेवाला छ । त्यसकारण ढुक्कसँग यसैलाई पेसा वा व्यवसाय बनाउने गरी लाग्नुहोस् । पढ्नुस् खुब पढ्नुस्- हास्यव्यङ्ग्य पढ्न पट्यार लाग्दैन । लेख्नुस्, खुब लेख्नुस्- जाँगर र जुक्ति अलिक बढी चाहिन्छ । बस्, हास्यव्यङ्ग्यको भविष्य त उज्यालो छँदैछ, तपाइँ पनि आफ्नो भविष्य उज्यालो र चम्किलो बनाउनुहोस् । सन्देश नै त नभनौँ क्यारे, म त यही सल्लाह दिन्छु ।

अन्त्यमा, केही नसोधिएको वा भन्न छुटेको कुरा भन्न चाहनुहुन्छ ?
प्रशान्तजी, प्रत्यक्ष चिनजान नभए पनि नेट-प्रविधिमार्फत तपाईंले चलाएको अनलाइन पत्रिकाका निम्ति हास्यव्यङ्ग्य साहित्यका बारेमा झण्डै २ दर्जन प्रश्न पठाइ मजस्तो मामुली लेखकसँग अन्तर्वार्ता लिएर आफ्ना धारणा राख्न मौका दिने जुन धृष्टता गर्नुभयो- त्यसका निम्ति तपाइँलाई साधुवाद भन्छु । विश्वभरि छरिएका DreamLandNepal का अनलाइन पाठकहरूलाई मेरो गन्थनयुक्त यो अन्तर्वार्ता पढिदिनुभएकामा धन्यवाद छ ।

1 Comment

  1. Please Comment this Interview.

Leave a Reply

Your email address will not be published.