खै कस्तो शुभकामना दिउँ ?

के. एस. पीडित

कोभिड १९ ,
महामारीको एउटा भयावह शृङ्खला
निसासिएको वर्तमान
मृत्यु मडारिइरहेको मेरो आकाश
सन्त्रास,संशय ,सन्नाटा,आतङक
अर्थात् जताततै छाएको मूर्दाशान्ति
त्यसको ज्वालामा लपेटिएका मेरो गाउँ
विचरा !


एक पित्को उद्धारको भिखको आशा गर्छ
ठीक यही मौकामा
हठात देशको नामबाट आदेश जारी हुन्छ –
“सक्छौ रोगको उपचार गर
सक्तैनौ मर र आफ्नो लाश आफैं सम्हाल ,
म थप केही गर्न सक्तिन”
चट्याङ भएर बज्रिएको
आफ्नै अधिकृत वारेशको यो क्रुर घोषणा
एउटा अकर्मण्यता देखेर
स्तब्ध भएको छ वस्ती
मन चिरिएर पिडा आँखाबाट बर्बरी झार्दै छ
फुट्लाजस्तो गरी मुटुको धड्कन वढिरहेछ
र, शोक र भयले गाँजेको
सती-श्रापित मेरो वस्ती
निराशाको कात्रो ओडेर बेहोस भएर ढलेको छ
अभिभावक हुनुको दायित्वबाट पन्छियो
रमिते भयो
र,नै अकर्मण्य भयो
मेरो आशा र विश्वासको धरोहर सिंहदरवार ।


यो कालो कालखण्ड
महिनौदेखि नजरबन्द वस्ती-
भोक र रोगको डर लुकाउने ठाउँ नपाएको सङ्कट
अभिभावक नुहुनुको नियति
अनि , कुवेलाको कर्कश आदेश
सबैलाई बोक्न अभिशप्त छ
यो चक्रव्यूह,छिचल्न नसकिरहेको
म – अभिमन्यु समय ,फगत रमिते भएको छु
महामारीको लप्कामा छटपटाइरहेको
आँशु र सन्तापमा डुविरहेको
उठ्नै नसक्ने गरी थलिएको वस्ती छ
र,त्यहाँका धेरैजसो घरहरू
आइसोलेशन वार्ड र क्वारेण्टाइन भएका छन्
प्रकृतिको कानूनबमोजिम वारीभरी फुलेका
तर हाँस्न नसकेका सयपत्री र गोदावरीहरू छन्
यस्तो विद्रुप घडीमा
माफ गर्नुहोला प्रियजनहरू !
खै कस्तो दशैंको ? कस्तो तिहारको ?
शुभकामनाको खुशी कोसँग साटौं ?
यो गाउँमा यसपाली ।

आशा जीवन हो
आशाको दियो बाल्नु पर्छ प्रत्येक मनमा
यो निभ्नु हुँदैन
अन्तत: उज्यालोसँग अँध्यारो हार्नेछ
अर्थात् ,रात ढल्नेछ कहर सकिनेछ
वस्तीमा खुशीको घाम झलमल्ल लाग्नेछ
कुनै दिन
मान्छेले जित्नेछ
प्रकृति मुस्कुराउँने छ
फेरी पनि दशैं आउनेछ
खुशीको त्यो विहानिमा
आपसमा हातेमालो गरेर
निधारको रातो टीकाको रोहवरमा हामी
विजयको शुभकामना अघाउँजि साटौंला नि !महामारीको शोकधुन वजिरहेको
र,मन मनबाट हाँसोखुशी हराएको यो वेलामा
मेरा प्रियजनहरू !
खै कस्तो शुभकामना
कसलाई कसरी दिउँ यो गाउँमा यसपाली ?

(२०७७/७/७ )

Comments are closed, but trackbacks and pingbacks are open.