कविहरू कवितामै रोएको दिन

नरनाथ लुइँटेल

राजधानीमा नियमित हुँदै आएको कोक अर्थात कोठे कविता गोष्ठीको उनन्चासौँ शृङ्खला शोक गोष्ठीका रुपमा सम्पन्न भयो ।

ओमीको तस्विर दीक्षितलाई हस्तान्तरण गर्दै ओमीका माता पिता ओमीप्रति समर्पित कविता वाचन गर्दै स्रष्टा लुइँटेल

(ओमीको तस्विर दीक्षितलाई हस्तान्तरण गर्दै ओमीका माता पिता)  (ओमीप्रति समर्पित कविता वाचन गर्दै स्रष्टा लुइँटेल) 

आरम्भदेखि नै कोक गोष्ठीमा सक्रिय स्रष्टा ओमी शर्माको असामयिक निधनले स्रष्टाहरूमा उत्पन्न गरेको शोकलाई कवितात्मक अभिव्यक्ति दिइएको शोकगोष्ठीले धेरैलाई अश्रुपुरित बनाएको थियो ।

छन्दमा सुललित कविता रचना गर्न रुचाउने ओमी कोक अर्थात कोठे कविता गोष्ठीमा सक्रिय हुनुहुन्थ्यो । २०६७ असोज ९ गते अचानक दिवङ्गत हुनुभएकी शर्माको सम्झना गर्दै राजधानीमा मङ्सिर १० गते उनन्चासौँ कोकगोष्ठी शोकगोष्ठीका रूपमा आयोजना भएको थियो । दुई दर्जनभन्दा बढी स्रष्टाहरूले ओमीप्रति श्रद्धा र सम्झना गर्दै कवितापुष्प अर्पण गरेका थिए । स्रष्टाहरूबीच ओमी कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा गोष्ठीले छर्लङ्ग पारेको अनुभव हुन्थ्यो ।  

 ओमीको सिर्जना वाचन गर्दै गायिका लोचन भट्टराई

(ओमीको सिर्जना वाचन गर्दै गायिका लोचन भट्टराई) 

 छन्दका कविता प्रस्तुत हुने गरेको गोष्ठीमा ओमी शर्माप्रति श्रद्धाभाव व्यक्त गर्न स्रष्टाहरू कवितामै ओर्लिएका थिए । ओमीका पिता तथा बृद्ध साहित्यकार गुरुशेखर शर्माको प्रमुख आतिथ्यमा विशेष अतिथि हुनुहुन्थ्यो कृष्णप्रसाद पराजुली । गोष्ठीको सभापतित्व रमा शर्माले गर्नुभएको थियो । ओमीको तस्विरमा कष्णप्रसाद पराजुली र कमल दीक्षितले पुष्पगुच्छा अर्पण गरेपछि ओमीकै आवाजमा ओमीका दुइवटा कविताको ध्वनिमुद्रण प्रस्तुति सँगै गोष्ठी आरम्भ भयो । ओमीको ध्वनिमुद्रणको प्रस्तुति सञ्चारकर्मी तथा स्रष्टा नरनाथ लुइँटेलले गर्नुभएको थियो । ओमीकै आवाजमा ‘कुहिरो’र ‘वसन्त’शीर्षकका कविताले वातावरणलाई भावविभोर बनाएको महसुस हुन्थ्यो । ओमी शर्मा छन्दमा रचना गर्ने मात्रै होइन आफ्ना र अरूका पनि छन्दोबद्ध कविता सिर्जनालाई सुमधुर लयमा प्रस्तुत गर्न असाध्य सिपालु हुनुहुन्थ्यो । दिवङ्गत हुनुभन्दा अघिल्लो दिन मात्रै पनि स्रष्टा माधव घिमिरेको जन्मोत्सव समारोहमा गौरी शोककाव्यका अंश वाचन गरी स्रोताहरूलाई मन्त्रमुक्त पार्नुभएको थियो ।  

 गोष्ठीमा सहभागी स्रष्टाहरू

 (गोष्ठीमा सहभागी स्रष्टाहरू)

  तिनै कविताकला र सुमधुर गलाकी धनी ओमीप्रति शब्दश्रद्धा व्यक्त गर्दै २७ जना स्रष्टाहरूले आ–आफ्ना कविता पुष्प अर्पण गरे । सबै कविता छन्दमा आवद्ध थिए । गोष्ठीमा शरदकुमार भट्टराईले ‘श्रद्धा सुमन’, घनश्याम कँडेलले ‘ओमीको स्मृति’, रामप्रसाद ज्ञवालीले ‘निभ्यो जीवनको दियो’, प्रभा भट्टराईले’ ‘ओमीलाई सम्झँदै’, भरत पीडितले ‘तिमी धन्य थ्यौ’, प्रल्हाद पोखरेलले ‘ओमी’, बुनु लामिछानेले ‘ओमी बनी जन्मनु’जस्ता भावपूर्ण कविता प्रस्तुत गरेका थिए । गोष्ठीमा ओमीको व्यक्तित्वमाथि प्रकाश पार्ने कविता सिर्जनाकै बाहुल्यता थियो । तथापि स्रष्टा भुवनहरि सिग्देलले भने ओमी शर्माको देहान्त भएको खबरले हतप्रभ भएको सन्दर्भ सहित–‘अहो गोपी अगुल्टो समायौ कसोरी ?अहो दागबत्ती लगायौ कसोरी’जस्ता पङ्क्ति सुनाउँदा जोसुकैका आँखा डब्डबाएका देखिन्थे । असमयमै निभेको दियोको चर्चा गरिएका कविता वाचित भइरहँदा स्रोतामाझ हुनुहुन्थ्यो ओमीका पति गोपी, छोरी प्रतिष्ठा, पिता गुरुशेखर, माता र अन्य आफन्तजनहरू । सबै सबै अश्रुशिक्त ।  गोष्ठीमा ख्यातिप्राप्त गायिका लोचन भट्टराईले ओमीको ‘सहेली’शीर्षकको कविता सिर्जना, रमा शर्माले ओमीको समस्यपूर्ति, प्रेक्षा लम्सालले ओमीको ‘हवा’शीर्षकको सिर्जना र अनुराधा लम्सालले ओमीको ‘मार्ग’शीर्षकको सिर्जना प्रस्तुत गरेका थिए ।   

  

(अतिथिको आसनमा गुरुशेखर शर्मा, रमा शर्मा र कृष्णप्रसाद पराजुली) 

गोष्ठीमा हेमराज अभागी, अच्युतरमण अधिकारी, भाग्यशाली अधिकारी, फत्ते बहादुर, युवराज गौतम, गीता कार्की, बलराम दाहाल, नरनाथ लुइँटेल, रमेश खकुरेल, श्रीहरि फुयाल, शैलेन्दुप्रकाश नेपाल, देवकुमारी लुइँटेल, शरदकुमार वस्ती, कृष्णप्रसाद पराजुली, सीताराम अधिकारी, डा. टीकाराम अधिकारी, रमेश खकुरेल लगायतका कविहरूद्वारा आफ्ना सिर्जना मार्फत स्रष्टा ओमीप्रति शब्द पुष्प अर्पण गरिएको थियो । गोष्ठी अवधिभरि सुँकसुँकाइरहेका स्रष्टा कोशराज न्यौपाने भने आफ्नो सिर्जना प्रस्तुत गर्न असर्ममर्थ रहे, उनको सिर्जना प्रल्हाद पोखरेलले वाचन गरिदिएका थिए ।   

गोष्ठीको अन्त्यमा ओमीका पिता गुरुशेखर शर्माले ओमीको तस्वीर मदन पुस्तकालयका निम्ति कमलमणि दीक्षितलाई हस्तान्तरण गर्नुभएको थियो ।

2 Comments

  1. दिवङ्गत श्रष्टालाइ श्रध्दाञ्जली तथा शोकसन्तप्त परिवारलाइ धैर्य धारणको लागि प्रार्थना। कवित्व शक्तिले कविलाइ अमरत्व प्रदान गरोस्।

  2. ओमी दिदी, तपाई भौतिक रुपमा हामी माझ नरहनु भए पनि, तपाईको सुन्दर मन छुने कविताहरु र हँसिलो मुहार म सधैं सम्झिरहनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *