काठमाडौँ, २०७२ वैशाख १०
नेपाल प्रज्ञाप्रतिष्ठान भाषा (मातृभाषा) विभागको आयोजनामा संस्कृत साहित्यका प्राचीन वैयाकरण पाणिनिको अष्टाध्यायी सूत्रहरूको प्रयोग सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले पाणिनीको अष्टाध्यायी सूत्रहरूमा आधारित प्रवचन कर्ता प्रा.डा. गोविन्द बोल श्रेष्ठको व्यक्तित्व प्रकाश पार्नुभएको थियो । उहाँले नयाँ किसिमले शब्दको शक्ति बुन र बुझाउन पाणिनिकृत सूत्रहरूलाई आधार मान्नुपर्ने बताउनु भयो ।
प्रवचन कर्ता प्रा.डा. गोविन्द बोल श्रेष्ठले ६ प्रकारका सूत्रलाई वृतमा समावेश गरी व्याख्या गर्दै पाणिनिको अष्टाध्यायी फिजिक्स (भौतिक विज्ञान) मा अधारित रहेको बताउनु भयो । पेसाले इन्जिनियर श्रेष्ठले बिगत २ वर्षदेखि पाणिनिको व्याकरणका अष्टाध्यायी सूत्रहरू बारे अनुसन्धान गर्दै आउनु भएको छ । उहाँले पहिलो वेद ऋग्वेद भएको भन्दै हजारौँ वर्षसम्म वेद प्रचलनमा नआए पनि वृहस्पतिले इन्द्रलाई अष्टाध्यायी व्याकरण सिकाएको प्राचीन प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रवचन कार्यक्रममा विशेष अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले पाणिनिलाई वैज्ञानिक दृष्टि भएका विद्वान् हुन् भन्ने तथ्य प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा सहभागी विभिन्न विद्वान्हरूले आआफ्ना कोणबाट जिज्ञासा प्रस्तुत गर्नु भएको थियो । प्रा. देवीप्रसाद गौतम र प्रा.डा. माधवप्रसाद पोखरेलले अष्टाध्यायी सूत्रहरू बारे श्रेष्ठले भौतिक कोणबाट गर्नुभएकामा डा. श्रेष्ठलाई धन्यवाद दिनु भयो यो उहाँको नवीनतम् व्याख्या सराहनीय छ ।’
त्यसै गरी सहभागीहरू जनार्दन घिमिरे, प्रा.डा. विष्णुराज आत्रेय, भीमनारायण रेग्मी, लक्ष्मीप्रसाद खतिवडा, आमोद वद्र्धन कौडिन्यायन लगायतले प्रवचन विषयमा आआफ्ना जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरे, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ सदस्यहरू, प्राज्ञ सभा सदस्यहरू लगायत विशिष्ट विद्वान् विदूषीको उल्लेख्य सहभागिता रहेको थियो । प्रवचन कार्यक्रम प्रा.डा. माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।