‘रत्न–महेश्वर’ स्मृतिग्रन्थको लोकार्पण तथा परिचर्चा सम्पन्न

चैत्र २५ गते शनिबार अपराह्न १ बजे बानेश्वर क्याम्पस, काठमाडौँमा ‘रत्न–महेश्वर’ स्मृतिग्रन्थको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ । विख्यात हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम)को प्रमुख आतिथ्य र कीर्तिशेष महेश्वर घिमिरेका ८५ वर्षीय साइँला भाइ पशुपति घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोहमा डा.रमेश शुभेच्छु, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यङ्ग्यकार डम्बर घिमिरे, साहित्यकार एवम् नेपाल सरकारका सहसचिव लक्ष्मी निरौला, सहसचिव शिव कार्की, साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल, जीवनाथ अधिकारी, अम्बिका घिमिरे, माधुरी घिमिरे, हरिप्रिया भट्टराई, रत्न–महेश्वरका छोराबुहारीहरू गणेश घिमिरे ‘मार्मिक’–रेखा भट्टराई, भीम घिमिरे–दुर्गा चुडाल, रमेश घिमिरे–अनिता ढकाल, दिनेश घिमिरे–विद्या भट्टराई र सुशील घिमिरे–रिना दाहाल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


नातानाला, शुभेच्छुक, इष्टमित्र, साहित्यकार, पत्रकारलगायतको खचाखच उपस्थितिमा सम्पन्न भएको उक्त लोकार्पण तथा परिचर्चा समारोहमा रत्न–महेश्वरका काइँला छोरा दिनेश घिमिरेले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुहुँदै यो स्मृतिग्रन्थ बुबा र आमा गुमाउँदाको पीडाको अभिव्यक्ति हो, परिवारका तर्फबाट श्रद्धाको पुष्पार्पण हो, हाम्रा अभिभावकका सत्कर्म र त्यागको सम्मान पनि हो । ‘जित्नका लागि हार्नुपर्छ’ भन्ने बुबाको मार्गदर्शन हाम्रो जीवनभोगाइको प्रेरणाको स्रोत रह्यो र रहिरहोस् पनि भनेर स्मृतिग्रन्थ प्रकाशन गर्ने जमर्काे गरेका हाँै । यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिलगायत सम्पूर्ण उपस्थित आदरणीयजनमा हार्दिक स्वागत गर्दछु भन्नुभयो ।


नातिनी स्मृति घिमिरेले सञ्चालन गरेको उक्त समारोहको समुद्घाटन प्रमुख अतिथिले पानसमा बत्ती प्रज्ज्वलन गरेर गर्नुभएको थियो । सभाध्यक्ष, प्रमुखअतिथि, अतिथिहरू र रत्न–महेश्वरका पाँचैजना छोराहरूले ‘रत्न–महेश्वर स्मृतिग्रन्थको संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो भने लोकार्पित कृतिको समीक्षा गर्दै डा.रमेश शुभेच्छुले पहिले पहिले पितृका नाममा चौतारो निर्माण गर्ने, पाटीपौवा बनाउने, हिटीधारा निर्माण गर्ने परम्परा थियो र राजामहाराजाका नाममा मात्र स्मृतिग्रन्थ प्रकाशित हुन्थे । अग्रजका कीर्ति तथा कर्मलाई जोगाउने, अभिलेखीकरण गर्ने र इतिहासको जगेर्ना गर्ने अनुकरणीय सत्कर्मका रूपमा आएको यो स्मृतिग्रन्थ रत्न–महेश्वरका ज्येष्ठ सुपुत्र गणेश घिमिरे ‘मार्मिक’को अथक लगनको परिणामस्वरूप जन्मेको छ । यसमा उहाँका चारैजना भाइहरू तथा सम्पूर्ण परिवारजनको साथसहयोग रहेको छ । पूर्वीय परम्पराअनुसार ‘मातृपितृदेवो भव’को दर्शनलाई अनुशरण गरेर बुबाआमाका प्रति सम्मानभाव जाहेर गर्न यो कृति तयार पारिएको छ र यहाँ आमा बढी उजागर हुनुभएको छ । कान्छो छोरो गर्ममै हुँदा वैधव्य जीवन बाँच्न बाध्य हुनुभएकी आमाले आमा र बुबा दुइटैको भूमिका निर्वाह गर्नुपरेकाले पनि आमाको महिमागान यहाँ गाइएको छ । परिवारका सदस्यहरूका, पुजेका दुई गुरुहरूका, सङ्गत गरेका आफन्त र छरछिमेकी एवम् इष्टमित्रका स्मरणहरू यस कृतिमा समेटिएका छन् । आमाका माइतीतिरका, घरतिरका, नातिनातिनीका लेखहरू यहाँ समाविष्ट छन् । यो कृतिको अध्ययनबाट यो परिवारका सदस्यले आफ्ना पुर्खाबाट असल संस्कार प्राप्त गरेका रहेछन् भन्ने सजिलै शिक्षा ग्रहण गर्नसकिन्छ र बालकैमा अभिभावकविहीन भएका सन्तान आजको अवस्थामा आउनु र श्रद्धाको पुष्पार्पणका रूपमा यो स्मृतिग्रन्थ प्रकाशित गर्नु महान् सत्कर्म हो । सम्पत्तिले होइन संस्कारले सन्तान सन्तान बन्दारहेछन् भन्ने दृष्टान्त यो कृतिले प्रस्तुत गरेको छ । आपूm बसेको र बाँचेको समाजले पनि सम्मानित ठानेको वा मूल्याङ्कन गरेको आमाको व्यक्तित्व बढी उजागर भएको छ । यो पुस्ताको सत्कर्मका माध्यमबाट भावी पुस्तालाई अभिभावकको महत्त्वबोध गराउने र इतिहासको संरक्षण गर्ने सत्कर्म यो कृतिका माध्यमबाट उदात्तीकरण भएको छ भन्ने धारणा राख्नुभयो ।


सविता बराल र जानुका गुरागाईँले कृतिभित्रबाट कवितावाचन गर्नुभएको थियो भने महेश्वरका कान्छा भाइ हास्यव्यङ्ग्यकार डम्बर घिमिरेले दाजु–भाउजूको सत्कर्ममय जीवनका प्रति पुष्पगुच्छा समर्पण गरिएको यो स्मृतिग्रन्थमा विद्वानका भावना अटाएका छन् र यसर्थमा यो पुराण नै हो, यो संस्कारको कर्म पनि हो । आमा बितेको एक वर्षमै स्मृतिग्रन्थ प्रकाशित हुनु परिवारका तर्फबाट गरिएको बाबुआमाप्रतिको सम्मान हो, अर्चना हो, पूजा हो, श्रद्धा हो । मेरा प्रथम गुरु दाजु महेश्वर यो कृतिका माध्यमबाट अमर बन्नुभएको छ, प्रेरणाकी स्रोत भाउजूको सार्थक जीवन अभिलिखित भएको छ भन्नुभयो ।


साहित्यकार लक्ष्मी निरौलाले रत्न–महेश्वरका सन्ततिले यो स्मृतिग्रन्थका माध्यमबाट आफ्ना आमाबुबालाई अमर पार्ने काम गर्नुभएको छ र अग्रजका सत्कर्मलाई नियाल्ने र अभिलिखित गरी अरूलाई पनि यो मार्गमा लाग्ने प्रेरणा प्रदान गर्ने कार्य स्तुत्य रहेको धारणा व्यक्त गर्नुभयो ।


स्मृतिग्रन्थका सम्पादक गणेश घिमिरे ‘मार्मिक’ले बुबा कीर्तिशेष भएपछि उहाँको सम्झना र सम्मानमा ‘महेश्वर’ खण्डकाव्य लेखेर प्रकाशित गरेको थिएँ । त्यो वेलामा बुबाको एउटा फोटो पनि पाइएन र बुबाको आकृति सम्झेर कलाकारलाई आग्रह गरी बुबाको चित्र तयार पारिएको र आमा र अरू आफन्तलाई देखाउँदा करिब नब्बे प्रतिशत मिल्यो भन्ने प्रतिक्रिया पाएको हुँ । परिवारजन, आफन्त, इष्टमित्रले भोगेका हाम्रा बुबाआमाका प्रति व्यक्त गर्नुभएका शब्दसम्मानलाई अभिलिखित गरेका हौँ, हामीले भोगेका अभिभावकलाई सम्मान जाहेर गरेका हौँ । हाम्रो इतिहासको जगेर्ना गर्दै अभिभावकबाट प्राप्त भएको प्रेरणालाई भावी पुस्तासम्म जीवित राख्ने प्रयत्न गरिएको हो । कतिपय रचना लिखित रूपमा आए भने कतिपय रेकर्ड गरेको अवस्थामा पनि आए । ती सबैलाई सम्पादन गर्ने कार्य मैले गरेको हुँ र यो सत्कर्मका लागि सम्पूर्ण परिवारजनको साथ रहेको हुँदा सबैमा आभार व्यक्त गर्दछु भन्नुभयो ।


प्रमुख अतिथि चट्याङ मास्टरले बुबाआमा कहिल्यै मर्दैनन् अजम्बरी हुन् । बाबुआमा भनेका सन्तानका मार्गदर्शक हुन् । बाबुआमाको अभावको पीडा अक्षरमा लेखेर सकिँदैन । बुबाको अन्तरहृदयको माया र आमाको सदाबहार माया अत्यन्त गहन छ, महान् छ । यो ग्रन्थ बुबाआमाका प्रति गरिएको प्रायश्चित पनि हो । आमाबुबा मरेपछि मात्र होइन उहाँहरू जीवित हुँदैमा उहाँहरूका सत्कर्मका गाथा लेखिनुपर्छ । दश पुस्तासम्म बाबुआमाको अंश वा सादृश्य सन्तानमा आउँछ । जीवनको पहिलो गुरु भनकै बाबुआमा हुन् । आफ्ना बाबुआमाले जीवनमा गरेका सत्कर्मलाई सम्झेर सन्तानले प्रकाशित गरेको यो स्मृतिग्रन्थ गर्व गर्नलायक सत्कर्म हो । जसको स्रोतबाट हामी जन्मियौँ, जसको ज्ञानबाट हामी पल्लवित भयौँ उहाँहरूको गुणको ऋण तिर्ने सत्कर्म हो यो । अझ भनौँ यो कृति बाबुआमाको पूजा नै हो । हामी सबैले आआफ्ना बाआमाका बारेमा लेखौँ र जीवितै अवस्थामा बाबुआमालाई सुनाऔँ भन्ने धारणा राख्नुभयो ।


सभाध्यक्ष पशुपति घिमिरेले अग्रजलाई सम्झिने, आदर गर्ने, असल गुणलाई लिपिबद्ध गर्ने; देखे, जानेका, सुनेका, भोगेका अनुभूतिको प्रकटीकरण स्मृथिग्रन्थमा गरिन्छ र यो अनुकरणीय एवम् प्रेरणास्पद कुरा हो । वि.सं.१८६२ मा रणबहादुर शाहले विर्ता हरण गरेपछि हामीले विर्तामा पाएको २,५०० मुरी धानको बिउ लाग्ने खेत रैकर गराउनुपर्ने र तिरो तिर्नुपर्ने भएकाले आधामा घट्यो । अर्थात् सम्पन्न परिवारमा वि.संं.१९८९ माघ महिनामा दाजु महेश्वरको जन्म भएको हो । समभावको स्वभाव भएका उहाँ काठमाडौँमा अध्ययन गर्न आउनुभएको भए पनि २००४ सालमा बुबाको निधन भएपछि पढाइ छाडेर घरव्यवहारमा फर्कनुभएको थियो । उहाँ पारिवारिक सल्लाहमा काम गर्ने, पात्रो आफैँ लेख्ने, कविता लेख्ने अत्यन्त लगनशील र मिहिनेती व्यक्ति भए पनि बयालिस वर्षकै अल्पायुमा उहाँको निधन भयो । कान्छो छोरो गर्भमै हुँदा पतिवियोग सहन बाध्य भाउजूले पाँचजना छोरा र एक छोरीको लालनपालन, शिक्षादीक्षामा आपूmलाई सम्पूर्णरूपमा समर्पित गर्नुभयो । उहाँहरूको त्यो त्याग, बलिदान, तपस्या, सत्कर्मलाई परिवारजनले अभिलिखित गरी यो स्मृतिग्रन्थ तयार पार्नु, आज सार्वजनिक गर्नु सारै ठुलो सत्कर्म हो, महान् कार्य हो । यसले एकातिर दाजु–भाउजूलाई अमर बनाएको छ भने अर्कातिर असल सन्तानका लागि प्रेरणा पनि प्रदान गरेको छ, इतिहासको अभिलेखन गरेको छ । यसर्थ यो स्तुत्य कर्म बनेको छ । आज यो विशेष समारोहमा उपस्थित भइदिनुहुने सबै सबैका प्रति पनि आभार व्यक्त गर्दछु भन्नुहुँदै सभाको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *