रमेश पोखरेल
वैशाख २९, २०६९, काठमाण्डु
आज वैशाख २९ गते शुक्रवार अपराह्न १ बजे राष्ट्रपति भवन शीतल निवासमा शब्द संयोजन साहित्यिक मासिकको ९५ औँ अङ्क मोदनाथ प्रश्रित विशेषाङ्कको विमोचन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले एक विशेष समारोहमा गर्नु भयो ।
राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल बन्दको प्रतिकूल दिनमा पनि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ विष्णु प्रभात, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा.के.बी.थापा, प्रा.गोपीकृष्ण शर्मा, भिक्टर प्रधान, डा. जुगल भूर्तेल, साहित्यकार रोचक घिमिरे, डा.मोदनाथ प्रश्रित, डा.जीवेन्द्र देव गिरी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
शब्द संयोजन साहित्यिक मासिकका सम्पादक रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा डा. मोदनाथ प्रश्रित र शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक तथा प्रकाशक वासुदेव अधिकारीले राष्ट्रपति डा.रामवरण यादवज्यूलाई पुष्पगुच्छा अर्पण गरी स्वागत गर्नु भएको थियो भने राष्ट्रपतिज्यू तथा उपस्थित विशिष्ट व्यक्तित्वलाई शब्द संयोजन प्रश्रित विशेषाङ्कका अतिथि सम्पादक डा.जीवेन्द्र देव गिरीले स्वागत गर्नु भएको थियो ।
सममाननीय राष्ट्रपतिले शब्द संयोजन मोदनाथ प्रश्रित विशेषाङ्कको विमोचन गर्नु भयो र राजनीतिको व्यवस्थापन ठिक ढङ्गले गर्न नसकिएको वर्तमान अवस्थामा यो समाजले र राष्ट्रले नै सम्मान गर्नु पर्ने, राष्ट्रलाई गुन लगाइ रहनु भएका, सिङ्गो र अखण्ड राष्ट्रका पक्षधर, जसलाई जे चाहियो त्यही ज्ञान र विशेषज्ञता प्रदान गर्न सक्ने विशिष्ट क्षमताका धनी र एक शब्दमा भन्नु पर्दा इनसाइक्लोपेडिया भन्न मिल्ने आयुर्वेदका ज्ञाता डा.मोदनाथ प्रश्रितसँग २२–२३ वर्ष पहिलेदेखि नजिकको सम्बन्ध रहेको र सर्वाधिक सरल व्यक्तिका रूपमा आफूले प्रश्रितलाई पाएको भन्नु हुँदै यस्ता समाज र राष्ट्रकै लागि गुणी सावित भएका व्यक्तित्वका बारेमा मुलुकभरका विद्वान व्यक्तित्वले गरेको चर्चा, विश्लेषण तथा मूल्याङ्कन समावेस भएको यस्तो उत्कृष्ट कृति विमोचन गर्ने अवसरका लागि मलाई सम्झना गर्नु भएकोमा हार्दिक धन्यवाद दिन्छु भन्नु भयो ।
विमोचित मोदनाथ प्रश्रित विशेषाङ्कका बारेमा प्रा.राजेन्द्र सुवेदीले चर्चा गर्नु हुँदै ८० जना स्रष्टाले मोदनाथ प्रश्रितको बहु आयामिक व्यक्तित्वका बारेमा र उहाँले लेख्नु भएका साहित्यका सबै विधाका कृतिका बारेमा वृहत् चर्चा, विश्लेषण, समालोचना गर्नु भएको यो कृति अनुसन्धानात्मक रहेको धारणा व्यक्त गर्नु भयो ।
अर्का विद्वान प्रा.डा.माधवप्रसाद पोखरेलले आधुनिक चिकित्सा विज्ञानका विद्वान राष्ट्रपतिले आयुर्वेदका ज्ञाता डा.मोदनाथ प्रश्रितका बारेको अनुसन्धानात्मक कृतिको विमोचन गर्ने अवसर परेको यो क्षणमा देशैभरिका विद्वान व्यक्तित्वले उहाँका बारेमा गरेको विषद् चिर्चाको यो सङ्ग्रह अत्यन्तै पठनीय, सङ्ग्रहणीय र ऐतिहासिक रहेको चर्चा गर्नु भयो ।
विशेषाङ्कमा विषद् चर्चा गरिएका अनुकरणीय व्यक्तित्व डा.मोदनाथ प्रश्रितले कृतिमा आफ्ना रचनाका बारेका राजनीतिक, साँस्कृतिक, ऐतिहासिक, दार्शनिक, पौराणिक आदि विविध पक्षमा विद्वान व्यक्तित्वले चर्चा गर्नु भएको, सम्माननीय राष्ट्रपतिज्यूले समेत मेराबारेमा यति धेरै प्रशंसा गरि दिनु भएको यो घटना र यो विशेष कार्यक्रम मेरै जीवनका लागि पनि ऐतिहासिक रहेको, कतै म फुर्किन्छु कि भन्ने डर पनि रहेको तर मैले मेरो जनता र राष्ट्रप्रतिको कर्तव्यलाई सदैव शिरमा राख्नु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको हुँदा सचेत हुने धारणा व्यक्त गर्नु भयो र सबै सबैलाई हार्दिक धन्यवाद दिनु भयो । सम्माननीय राष्ट्रपतिज्यूमा विशेष हार्दिक आभार व्यक्ति गर्दछु भन्नु भयो ।
शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक वासुदेव अधिकारीले लेखनीका माध्यमबाट ‘इन्साइक्लोपेडिया’, ‘नेपालका राहुल सांकृत्यायन’ भनिए पनि पाँच पाँच दर्जन नेपाली साहित्यका सबै विधाका कृति रचना गरि सकेका, रचनाकै माध्यमबाट नेपाली समाजको रूपान्तरणको अभियान हाँक्न सफल वैचारिक व्यक्तित्वका बारेमा पर्याप्त चर्चा हुन नसकेको पो हो कि भन्ने ठानी शब्द संयोजनले यो प्रयत्न गरेकोमा देशैभरिका विद्वान व्यक्तित्वले उहाँका बारेमा रचनाको बाढी नै बगाइ दिनु भएकाले जुही पत्रिकाले निकालेको मोदनाथ प्रश्रित विशेषाङ्कमा मात्र सबै सामग्री अटाउन नसकिएकै कारण शब्द संयोजनले प्रश्रित विशेषाङ्कको दोस्रो भाग जस्तै मानी यो रूपमा सबै सामु सार्वजनिक गरिएको जानकारी दिनु हुँदै सम्माननीय राष्ट्रपतिज्यूले विशेष समय दिई विमोचन गरि दिनु भएर हामीलाई हौसला प्रदान गरि दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु भन्नु भयो र यस कार्यमा सहयोग गर्ने सबै सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।
त्यसपछि राष्ट्रपतिज्यूसँग सामूहिक फोटो खिचाउने कार्यक्रम सम्पन्न भयो र सबैलाई जलपानमा सरिक हुन आग्रह गरियो । उक्त जलपान कार्यक्रममा पनि राष्ट्रपतिज्यू सहभागी हुन भयो ।