राष्ट्रिय नाचघरमा कवि रूपक अलङ्कारको एकल कवितावाचन सम्पन्न

रमेश पोखरेल, काठमाडौं

वैशाख २० गते बिहीबार अपराह्न ४ बजे सांस्कृतिक संस्थानको आयोजनामा संस्थानको सानो सभाकक्षमा अहिलेको समयका सशक्त युवा कवि रूपक अलङ्कारका एक दर्जन शास्त्रीय छन्दका सुन्दर कवितावाचन गर्ने ‘स्रष्टा र सिर्जना–२’ विशेष शृङ्खला सम्पन्न भयो ।

जनसाहित्यिक मञ्च नेपाल तथा साहित्य सन्ध्याका अध्यक्ष अग्रज साहित्यकार राम विनयको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको अध्यक्षता सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गर्नुभएको थियो भने सञ्चालन कवि रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहमा प्राज्ञ नर्मदेश्वरी सत्याल, डा.देवी नेपाल, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना विभागका प्रमुख प्रभाकरदेव शर्मा, कविहरू लक्ष्मी निरौला, चेतनाथ धमला, कलाधर काफ्ले, नारायण निरासी, शैलेन्द्र अधिकारी, अनाम मण्डलीका पूर्व अध्यक्ष सुरेश सुवेदी तथा कविका वाचन सहयोगी कविहरू केशव भट्टराई, जय गौडेल र ज्ञानु विद्रोही अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सभाध्यक्ष राजेश थापा र प्रमुख अतिथि राम विनयले पानसमा बत्ती बालेर समारोहको समुद्घाटन गर्नुभएको थियो भने सभाध्यक्षले कवि नायक, प्रमुख अतिथि र टिप्पणीकार डा.देवी नेपाललाई खादा तथा माला लगाएर सम्मान गर्नुभएको थियो ।

उपस्थित साहित्यकार, कवि तथा साहित्यानुरागीहरूलाई सभाध्यक्ष राजेश थापाले स्वागत गर्नुहुँदै सांस्कृतिक संस्थान अर्थात् राष्ट्रिय नाचघरको यो मञ्चलाई कला, साहित्य, वाध्यवादन र संस्कृतिको केन्द्रका रूपमा विकसित गर्ने लक्ष्य राखेर कार्यक्रम गरिरहिएको, हरेक महिनाको दोस्रो बिहीबार सङ्गीतलाई, तेस्रो बिहीबार कवितालाई र चौथो बिहीबार वाध्यवादनलाई दिएर एक एक जना विशिष्ट स्रष्टालाई उपस्थित गराई रसास्वादन गराउने कार्यक्रम तय गरिएको र संस्थानलाई गतिमय बनाउँदै यस्ता विशिष्ट कार्यक्रमलाई संस्थानका तर्फबाट र सहकार्यका माध्यमबाट निरन्तरता दिने उद्देश्य रहेको जानकारीसहित उपस्थित सबैलाई हार्दिक स्वागत गर्नुभयो ।

शृङ्खलाका कविनायक रूपक अलङ्कारले संस्थानको दोस्रो यस्तो विशिष्ट शृङ्खलामा नै आपूmलाई अवसर प्रदान भएकोमा संस्थान र महाप्रबन्धक राजेश थापाप्रति हार्दिक कृतज्ञता जाहेर गर्दछु । साहित्य सामान्य मनोरञ्जनको मात्र विषय होइन, बरु यो त सामाजिक–सांस्कृतिक रूपान्तरणको महत्त्वपूर्ण र शक्तिशाली हतियार हो । कवितालाई सुन्दर पार्ने रहरले मात्र पुग्दैन यसलाई विशिष्ट बनाउन कविले आफ्नो साधना, लगन र मिहिनेतका माध्यमबाट विचार, कला र शब्दको सुन्दर संयोजन गर्नु आवश्यक हुन्छ भन्ने आफ्नो मान्यता रहेको छ । कविता कस्ता भएका छन् भन्ने पक्ष चाहिँ यहाँहरूको मूल्याङ्कनको विषय हो भन्नुहुँदै कवितारचनाको रचनागर्भसहित ‘प्रसङ्ग फेरि बदलियो’, ‘आत्मआलोचना’, ‘बाँकी काम’, ‘समृद्धिसपना’, ‘घर’, ‘पूmल र जीवन’ र प्रतिज्ञा’ शीर्षकका शास्त्रीय छन्दका अत्यन्त सुन्दर र सशक्त सातओटा कवितावाचन गर्नुभयो भने उहाँका सहयोगी कविहरू ज्ञानु विद्रोहीले ‘बाग्मतीको चिठी सगरमाथालाई’ शीर्षकको, जय गौडेलले ‘यो देशको ऐन खै ?’ र काउसो’ शीर्षकका, केशव भट्टराईले ‘रापती’ र ‘कामना’ शीर्षकका अत्यन्त शक्तिशाली कविता सुन्दर लयमा वाचन गर्नुभयो ।

वाचित कविताहरूमाथि अहिलेको समयका चर्चाको शिखरमा रहेका सशक्त कवि, समालोचक, प्राध्यापक एवम् छन्दशास्त्रका विज्ञ डा.देवी नेपालले टिप्पणी गर्नुहुँदै धादिङ जिल्लामा तीस वर्षअगाडि जन्मिएका रूपक अलङ्कार संस्कृत साहित्यका विद्यार्थी र आफ्ना शिष्य रहेका, संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्ने; साहित्य सन्ध्याका सदस्य, जनसाहित्यिक मञ्च नेपालको काठमाडौँ जिल्ला अध्यक्ष, अनाम मण्डलीका अध्यक्षका रूपमा सक्रियता देखाइरहेका व्यक्त्त्विलाई सांस्कृतिक संस्थानले यस्तो विशेष समारोहको आयोजना गरेर आफ्ना कविता सुनाउने अवसर प्रदान गरेकोमा संस्थान र यसका महाप्रबन्धक राजेश थापालाई हार्दिक धन्यवाद भन्न चाहन्छु र कविलाई बधाई । हिजोसम्म संस्थानको यो भव्यतातर्फ हामी आँखा लगाउँदैनथ्यौँ किनभने हामीलाई अवसर प्राप्त हुँदैनथ्यो तर एक जना साहित्य, कला र संस्कृतिमा भिजेको अनि यो क्षेत्रलाई माया गर्ने व्यक्त्त्वि राजेश थापाको संस्थानमा उपस्थिति रहेपछि साहित्यले पनि अवसर प्राप्त गरिरहेको छ । यसनिम्ति पनि यो सत्कार्य स्तुत्य रहेको छ । आफ्ना शिष्य रूपक अलङ्कारले उम्दा सिर्जना आज सुनाएका छन् । उनले मेरै निर्देशनमा ‘गजलकार बूँद रानाको गजलकारिता’ विषयमा स्नातकोत्तरमा शोधकार्य गरेका हुन् । अहिलेको युवा पुस्ताका उनी सशक्त हस्ताक्षर पनि हुन् । गजलकारकै रूपबाट चिनिएका उनले आज यहाँ सुनाएका एक दर्जन कवितामा प्राकृतिक शब्दको छनोट गरिएको छ, कस्ता मान्छे र कुन ठाउँमा कस्तो रचना सुनाउने भन्नेसम्मको हेक्का राख्ने कविका रूपमा उनी स्थापित भइरहेका छन्, वाचित कवितामा व्यङ्ग्य र करुणा उत्तिकै जमेर प्रस्तुत भएको छ, छन्दमा कविता लेख्नेलाई कृत्रिमताको आरोप पनि लाग्ने गरेको छ तर रूपक यो आरोपबाट मुक्त छन् । ग्रामीण जनजीवनलाई चित्रण गर्ने सुन्दर शब्दको चयन कवितामा गरिएको छ । व्यङ्ग्यचेतनाको मात्रा प्रखर छ र सबै कवितामा युगचेतना प्रतिविम्बित भएको छ । हाँसी हाँसी, सुम्सुम्याई सुम्सुम्याई प्रहार गर्ने उनको शैली विशिष्ट रहेको छ । संवेदना र विचारको सशक्त संयोजन गर्दै सकारात्मक बाटो देखाउने काम कविले कवितामार्फत गरेका छन् । राम्रोलाई राम्रो भन्ने पक्ष सकारात्मक छ । भूकम्पको पीडाको सम्झना गर्दै यस्तो त्रासदीको मिति क्यालेन्डरबाटै हटाउने आग्रह गरिएको छ । पूmलबाट जीवनको महत्त्व खोज्ने, सङ्कल्पको दृढता अभिव्यक्त गर्ने कार्यलाई कविले आफ्ना कवितामा छओटा छन्दको प्रयोगका माध्यमबाट उजागर गरेका छन् । संस्थानले थालनी गरेको यो पाठशालामा कविनायकलाई कठघरामा उभ्याउने र मूल्याङ्कन गर्ने कार्य पनि भएको छ । कवितामा कविताका शब्द र कविको वाचन शैली दुबै शक्तिशाली हुन्छन् । यो पाटोमा कवि र आजका वाचनसहयोगी कविहरू सफल छन् । कविको यो युगीन चेतनाको यात्रा निरन्तर रहोस् र छन्द मिलाउनका लागि व्याकरण बिगार्ने सानातिना कमजोरीमा पनि ध्यान जाओस् भन्ने आग्रह गर्नुभयो ।

प्रमुख अतिथि राम विनयले मुलुक अहिले समृद्धिको यात्रामा रहेको छ । जिउँदा र सार्थक सपना देख्ने र देशलाई सही बाटोमा डोहोर्याउनका लागि देश र जनताका पक्षमा सिर्जना गरी नराम्रा पक्षमा खबरदारी गर्नु स्रष्टाको आजको आवश्यकता हो र आज रूपक अलङ्कारका कविताले पनि यही धर्म निर्वाह गरेका छन् । यस्तो महत्त्वपूर्ण कार्यक्रमको थालनीका लागि सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापालाई धन्यवाद अर्पण गर्दछु र कविको भविष्यसम्मको सोद्देश्यमूलक सफल यात्राको कामना गर्दछु भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.