वयोवृद्ध प्रगतिवादी कवि हर्ष स्याङ्बोको एकल कविता वाचन सम्पन्न

रमेश पोखरेल, काठमाण्डु

मिति: २०७३।११।१३।६

फागुन १३ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बाग बजारमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा विगत तिन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३४ औँ शृङ्खला सम्पन्न गरियो । वयोवृद्ध प्रगतिवादी कवि हर्ष स्याङ्बोका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त उद्देश्यमूलक विशेष समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । वयोवृद्ध एवम् वरिष्ठ सामाजिक रूपान्तरण अभियानका अभियन्ता तथा वयोवृद्ध प्रगतिवादी कवि हर्ष स्याङ्बोका समकालीन लक्ष्मीभक्त उपाध्यायज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा प्रा.केशव सुवेदी, समालोचक यादब भण्डारी, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, वरिष्ठ कवि वासुदेव अधिकारी, प्राज्ञ सानु पहाडी, जन गायक चेतनारायण राई, महासङ्घका सचिव कृपाराम धमला र सहकोषाध्यक्ष जङ्ग पहाडी, सहयोगी कविहरू कमला पराजुली, डम्बर पहाडी, श्याम रिमाल, धनकुमारी सुनार, अनिता लामा र सूर्य बि.सी. उपस्थित हुनु हुन्थ्यो ।
हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको चौतिसौँैँ शृङ्खला सञ्चालन गर्न लागिएको, एकानब्बे वर्षको उमेरमा पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा र सामाजिक रूपान्तरण अभियानमा समर्पित शीर्षस्थ ऐतिहासिक धरोहर हर्ष स्याङ्बोका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारी रमेश पोखरेलले दिनु भयो । यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरि दिन गरिएको अनुरोध स्वीकार गरी अस्वस्थ हुँदाहुँदै पनि आइ दिनु भएका वयोवृद्ध एवम् सामाजिक रूपान्तरण अभियानका धरोहर, निष्ठाका प्रतिमूर्ति लक्ष्मीभक्त उपाध्यायलाई सभाध्यक्ष राम विनयले स्वागत गर्नु भयो अनि प्रमुख अतिथिले समारोहका कवि नायक हर्ष स्याङ्बोलाई माल्यार्पण गरी सम्मान पत्र अर्पण गरी सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरू कमला पराजुली, डम्बर पहाडी, धनकुमारी सुनार, श्याम रिमाल, अनिता लामा र सूर्य बि.सी.लाई अतिथि आसन गराइयो ।
समारोहका नायक वयोवृद्ध प्रगतिवादी कवि हर्ष स्याङ्बोको व्यक्तित्वमाथि प्रकाश पार्नु हुँदै जन साहित्यिक मञ्च नेपालकी कोषाध्यक्ष यशोदा अधिकारीले वि.सं.१९८३ मङ्सिरमा भारतको दार्जिलिङमा जन्मिएका स्याङ्बोको घर भने सिन्धुपाल्चोकको बोथाङ गा.वि.स.मा रहेको, दाबा स्याङ्बो र कुशाङ डोल्माका सुपुत्रका रूपमा जन्मिएका उनका पिता दार्जिलिङको चिया कमानमा मजदुरका रूपमा कार्यरत रहेका कारण उनको जन्म भने दार्जिलिङमा भएको हो । पटना विश्व विद्यालयबाट समाज शास्त्रमा प्रि युनिभर्सिटीसम्मको शिक्षा आर्जन गरेका उनले चिया कमानमा मजदुरमाथि गरिएको शोषणलाई नजिकबाट देखेका कारण न्यायका पक्षमा लाग्ने प्रेरणा प्राप्त गरेका, २००५ सालमा बनारसमा गएर पुष्पलालसँग सम्पर्क गरेका र २००६ सालमा विद्यार्थी फेडरेसनको सदस्यता लिएका, सोही सालमा सथापित कम्युनिस्ट पार्टीको सदस्यता समेत ग्रहण गरेका, २००७ सालको क्रान्तिमा भैरहवामा सरिक भएका, २००८ सालमा पश्चिम गण्डकी अञ्चल सदस्य भएका, २००८ सालमा मुस्ताङमा जनता विद्यालयको स्थापना गरेर पार्टी सङ्गठनको काम समेत अगाडि बढाएका, विख्यात कवि भूपि शेरचनलाई नेपाल कम्युनिस्ट पार्टीको सदस्यता दिलाएका, २००९ देखि १६ सालसम्म काश्की जिल्लामा पार्टी सङ्गठन विस्तारका लागि सक्रिय रहेका, २०१७ सालमा राजाले प्रजातन्त्र खोसेपछि सिक्किम प्रवासमा गएका र सोही स्थानमा साहित्यका माध्यमबाट रूपान्तरण अभियानमा समर्पित रहेका भए पनि त्यहाँका जनताको आन्दोलनमा सहभागी भएको आरोपमा निष्काशनमा परेका, २०२६ सालमा पक्राउ परी केन्द्रीय कारागारमा दुई वर्ष बन्दी जीवन बिताएका, २०५६ सालको संसदीय चुनावमा सिन्धुपाल्चोक क्षेत्र नं.१ बाट चुनाव लडे पनि पराजित भएका स्याङ्बोका ‘मुर्दाको आबाज’ कविता सङ्ग्रह २००८, श्यामप्रसाद शर्माको सहयोगमा २०६६ सालमा ‘आबाज हराएको सहरमा’ कविता सङ्ग्रह र २०६३ सालमा ‘मखमली’ उपन्यास प्रकाशित भएका छन् । पुष्पलाल, तुलसीलाल अमात्य र मनमोहन अधिकारीसँगको सम्पर्कले माक्र्सवादतिर आकर्षित भएर ठमेलकी विद्या राणासँग वैवाहिक जीवनमा बाँधिएका, दुई छोरी हाल विदेशमा रहेका र उनी भने धर्म छोरीसँग मनोहराको सुकुम्वासी वस्तीमा एक्लो जीवन बिताइ रहेका छन् तापनि आफ्नै कविता अङ्ग्रेजीमा अनुवाद गरि रहेका, तामाङ जातिको इतिहास, संस्कृति र उत्पत्तिका बारेमा अङ्ग्रेजीमा पुस्तक समेत लेखि रहेका स्याङ्बोको साहित्य सिर्जनाको मूल प्रवृत्ति सामाजिक रूपान्तरण रहेको धारणा व्यक्त गर्नु भयो ।
कवि नायक हर्ष स्याङबोले आफूले सिर्जना गरि रहेका कवितामाथि विश्वास गरेर, शारीरिक रूपमा अशक्त रहेको मलाई खोजी समेत गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिनु भएकोमा आयोजकलाई धन्यवाद दिनु भयो । धर्म गरिबहरूको अफिम हो र सामन्तले त्यसैका आधारमा शोषण गर्दछन् भन्ने कार्लमाक्र्सको धारणाबाट आफू प्रेरित भएको, समाज ध्वंश गर्न डोजर चलाइनु हुँदैन भन्ने मान्यताको पक्षपाती रहेको, २००५ सालमा पुष्पलाललाई भेट्न गएकै वेलामा आग्रामा ताज महल हेरेपछि वास्तवमा त्यो ताज महल बनाएको त मजदुरले हो नि भन्ने लागेर कविता लेखेको पृष्ठभूमि बताउँदै ‘ताज महल’, ‘अभिव्यक्ति’, ‘नयाँ वर्ष’, ‘मान्छेको इतिहास’, ‘जीवन र मृत्युको दोसाँधमा’ र ‘डोजर नचलाऊ’ शीर्षकका अत्यन्त शक्तिशाली, सुन्दर र वैचारिक कविता वाचन गर्नु भयो भने वाचन सहयोगी कमला पराजुलीले ‘डेङ्जोङका अबोला पहाडहरूसित’ शीषर्कको, डम्बर पहाडीले ‘मेरो जन्म दिन’ शीर्षकको, धनकुमारी सुनारले ‘मुक्तिचाह’ शीर्षकको, श्याम रिमालले ‘धर्म र क्रान्ति’ शीर्षकको, अनिता लामले ‘हेलो अफगानिस्तान’ शीर्षकको र सूर्य बि.सी.ले ‘पथभ्रान्ति’ शीर्षकको गरी सबै अत्यन्त शक्तिशाली, विचार प्रधान र कलात्मक कविता वाचन गर्नु भयो । २००५ सालदेखि २०६९ सालसम्म देखिएका र प्रायःजसो केन्द्रीय कारागारमा बन्दी जीवन बिताउँदा लेखिएका कविता रहेका थिए ।
वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक यादब भण्डारीले कविता भनेको व्यक्तिको छायाँ नै हो । आज वाचित सबै कविता क्रान्तिको भट्टीमा पाकेका राता कविता रहेका, कविताहरू सङ्घर्षको हतियार बनेर आएका, कविको मुख्य उद्देश्य विचारको प्रतिपादन, सङ्घर्ष र क्रान्ति रहेको देखिएको; माक्र्सवादी चिन्तनको जगमा उभिएर कविता सिर्जना भएका, जेलभित्रको कठोर परिवेशले पनि कविभित्रको आस्था नडगमगाएको, कवितामा विषयको विविधता भए पनि सारमा रूपान्तरणको वैचारिकता प्रतिविम्बन भएको, जेलमा मान्छेलाई थुन्न सकिएला तर उसको आस्था र विचारलाई थुन्न सकिँदैन भन्ने दृष्टान्तका रूपमा कविता आएका, शासकीय क्रूरता र गरिबले भोगेको उत्पीडनलाई उजागर गर्दै सामाजिक न्यायको आग्रह कवितामा गरिएको, केही कवितामा विचारले कलालाई थिचेको भए पनि बलियाले निर्धालाई गर्ने अन्यायको अन्त्य नभएको र आज पर्यन्त विद्यमान रहेको यथार्थको अभिव्यक्ति कवितामा रहेको, हिंसाको विरोध र मानवताको वकालत कवितामा गरिएको, अफगानिस्तानी जनता साम्राज्यवादको र कथित प्रजातन्त्रको पेलाइमा परेको दृष्टान्तका माध्यमबाट नेपाली जनताका भोगाइ पनि उस्तै रहेको दृष्टान्त पेस गरिएको, सामाजिक रूपान्तरणका अभियन्ता व्यक्तिगत स्वार्थभन्दा टाढा हुने हुँदा जेलमा जन्मदिन मनाउनुको अर्थ खोजिएको, क्रान्तिकारी व्यक्ति पनि आखिर मान्छे नै हो ऊ पनि कुनै वेला अलमलमा रहन्छ भन्ने दृष्टान्त पेस गरिएको, सिक्किमका जनता र उनीहरूको सोझोपनलाई अत्यन्त सुन्दर विम्ब र प्रतीकका माध्यमबाट व्यक्त गरिएको, कथित धर्म र वास्तविक धर्मको तुलना गर्दै मान्छे मान्छेका बिचमा वैमनष्यता होइन तिनको पाखण्डको विरोध गर्नु पर्छ भन्ने मानवतावादको वकालत गरिएको, परिवर्तन र मृत्यु शाश्वत हो भन्ने दर्शनका साथ जीवनमुखी सन्देश कवितामा दिन खोेजिएको, वर्गीय चरित्रको सुन्दर अभिव्यक्ति कवितामा प्रस्तुत भएको, बुद्धिजीवीहरू शासकका पक्षमा रहने गरेको प्रति आक्रोश व्यक्त गर्नुका साथै मजदुरका पक्षमा वकालत गरिएको, मानवीय चेतना र समाजको वास्तविकता सुन्दर ढङ्गले उजागर गरिएको, नयाँ वर्ष आए पनि गरिबको जीवन उस्तै रहेको प्रति चिन्ताभाव व्यक्त गरिएको, हिंसा र अन्यायको सदैव विरोध गरिएको र रूपान्तरणका पक्षमा वकालत गरिएको, माक्र्सले पनि कवितामा विचार र कलाको संयोजन गरिनु पर्दछ भन्ने धारणा राखे अनुसार केही कवितामा कलामूल्य केही कमजोर रहेको पाइएको, कवितामा कथात्मक शैलीको सुन्दर प्रयोग गरिएको, अधिकांश कवितामा सुन्दर र सशक्त विम्बको प्रयोग गरिएको, कुनै कुनै कवितामा वर्णात्मकताको बाहुल्य रहेको पाइन्छ तापनि समग्र कवितामा शैलीको चमत्कार र विद्वताको प्रदर्शन होइन जनतालाई जगाउने, सामाजिक रूपान्तरणको दुन्दुभि बजाउने सरल र स्पष्ट अभिव्यक्ति पाइन्छ । एकानब्बे वर्षका उमेरसम्म सिर्जनाका माध्यमबाट समाजिक रूपान्तरण अभियानको नेतृत्व गर्न सक्नु कविको विशिष्ट प्राप्ति हो । यो सक्रियताले निरन्तरता पाइ रहोस् भन्ने कामना गर्नु भयो ।
प्रा.केशव सुवेदीले वयोवृद्ध कवि हर्ष स्याङ्बो जीवित इतिहास मात्र होइन सङ्घर्षको शिखर पनि हो । उनका कविता सुन्दा युद्धप्रसाद मिश्र, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालले जस्तै प्रकृतिको सुन्दर र रागात्मक चित्रण गरेको पाइन्छ, प्रगतिवादी विचार अभिव्यक्त भएको पाइन्छ । सिक्किम र नेपालको समेत लामो राजनीतिक द्वन्द्वको इतिहासको प्रभाव उनका कवितामा परेको, सिक्किमले भोगेको दुर्भाग्य जस्तै हामी पनि कठिन मोडमा रहेको यथार्थलाई ‘म’का तर्फबाट समाजको यथार्थको प्रतिविम्बन कवितामा भएको, विविध विषय र सन्दर्भ कवितामा उजागर भएका, यत्रो उमेरमा पनि सिर्जनामा सक्रिय रहेका स्रष्टा रूपान्तरणका पक्षमा दृढ रहेको धारणा राख्नु भयो ।
विशिष्ट अतिथि पूर्वमन्त्री शान्ता मानवीले इतिहास बोकेका शीर्षस्थ साहित्यिक धरोहरलाई जन साहित्यिक मञ्चले यो विशिष्ट समारोह मार्फत उजागर गरेको, कवि स्वयम्को जीवन यात्रा प्रवाहमय रहेको, कविता कलात्मकै मात्र भए र विचार विहीन भए भने रूपान्तरणको नेतृत्व गर्न नसक्ने तर कवि स्याङ्बोका कविता सुन्दा विचार र कलाको सन्तुलन रहेको पाइएको, विचारले नै मान्छेलाई बाँच्न सिकाउँछ र सही विचार अवलम्बन गरेको छ भने त्यसले काव्यात्मकता समेत प्रदान गर्दछ । साहित्यले राजनीतिलाई निर्देशित गर्न सक्नु पर्दछ । कवि स्याङ्बोको यति लामो यात्रामा विचार निर्देशित सिर्जनाले असल समाज निर्माणको गोरेटो बनाउन सहयोग पुर्याएको छ । आफ्नो धरातल नछाडेको अविचल व्यक्तित्वको कविता र उनको कवित्व तथा व्यक्तित्वका बारेमा प्रकाश पारेको सुन्दा आफूले २०३२ सालमा भूमिगत भएर सामाजिक रूपान्तरण अभियानमा समर्पित हुँदाको सम्झना भएको अनुभूति भएको धारणा राख्नु भयो ।
प्रमुख अतिथि लक्ष्मीभक्त उपाध्यायले २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले कला, साहित्य र संस्कृतिको विकास नहुँदासम्म क्रान्ति सफल हुँदैन र समाज समुन्नत हुँदैन भनेर संस्कृति विभागको गठन गरेका थिए । पार्टी गठनकै समयमा कवि हर्ष स्याङ्बो, श्यामप्रसाद शर्मा, युद्धप्रसाद मिश्र, भवानी घिमिरे, देवीप्रसाद किसान जस्ता कविहरूले जनताको चेतना जगाउने जागरणका कविता लेखेका थिए । कविहरू समाजका विकृतिका विरोधमा नै रहन्छन् र कविताले समाजका जनतालाई चेतना भर्ने र जगाउने कार्य गर्नु पर्दछ । पुरानो र विकृत साहित्य, कला र संस्कृतिमाथि हस्तक्षेप गरेर त्यसमा रूपान्तरण गर्न सक्ने गरी साहित्य सिर्जना गरिनु पर्दछ । ओझेलमा परेका तर प्रतिभावान् स्रष्टालाई खोजी गरी उसका कविता सुन्ने, कवितामाथि चर्चा गर्ने र लेख्ने थप प्रेरणा प्रदान गर्ने, दुख पाएकालाई उजागर गर्ने यस्ता सत्कर्म गरिनु र गरि रहनु आवश्यक छ । यतिखेर सत्ताले विचारमा हस्तक्षेप गरेकाले विचार बोक्ने मान्छेहरू अलमलमा परेका छन् । सत्ता निर्लज्ज रूपमा वैचारिक क्रान्ति सकिएकोले आर्थिक क्रान्ति गर्नु पर्छ भन्ने उडन्ते विचार सम्प्रेषण गरि रहेको छ, जुन हास्यास्पद छ । अहिले हामीले भोगि रहेको गणतन्त्र बुर्जुवा गणतन्त्र हो । जनतालाई ढाँट्ने झुटो क्रान्तिले मुलुक बन्दैन । मुलुकमा भ्रष्टाचार, लुट, हत्या, बलात्कार व्याप्त रहेको छ । यतिखेर हाम्रो राजनीति सतहमा मात्र दौडि रहेको छ । तर हर्ष स्याङ्बो भने समुन्नत समाज निर्माणका लागि कलम चलाउने स्रष्टा हुन् । राम्रा कवि हुन् । उनी सदैव एउटै विचारमा अडिक रहेर आफ्ना सिर्जनाका माध्यमबाट समाजका अन्याय, अत्याचार, विभेद, आतङ्क आदि सबै पक्षमा रूपान्तरणको आबाज बुलन्द गरि रहेका छन् । एकानब्बे वर्षको उमेरसम्म अर्थात् २००५ सालदेखि हालसम्म गरी ६८ वर्षसम्म निरन्तर रूपमा आफ्ना सिर्जना मार्फत सामाजिक रूपान्तरणका पक्षमा आबाज बुलन्द गर्नु सामान्य कुरा होइन, यस्तो अविचलित यात्रा सामान्य धैर्यता पनि होइन । उनी आफ्नो समयमा खुब रसिला कवि थिए, अत्यन्त कुशल सङ्गठक थिए । उनले त्यस वेलाका विख्यात कवि भूपि शेरचन लगायत चर्चित व्यक्तिहरूलाई नेपाल कम्युनिस्ट पार्टीको सदस्यता दिलाएका थिए । उनको अमूल्य योगदानको कदर भने नेपाली राजनीतिले गर्न सकेन । त्यो असचेत वेलामा उनले ठमेलकी विद्या राणासँग अन्तरजातीय विवाह गरेका थिए । नेपालको इतिहासमा पहिलो पटक पार्टीमा अन्तरजातीय विवाहका लागि निवेदन नै गरेर र पार्टीको स्वीकृति लिएर उनको अन्तरजातीय विवाह भएको थियो । त्यसपछिको दोस्रो अन्तरजातीय विवाह मनमोहन अधिकारीले गरेका थिए । मनमोहन उच्च जातको बाहुन भएकाले साधना प्रधानको परिवारले सहजै स्वीकार गरेको थियो तर पुष्पलाल तल्लो जातका भनेर सहाना प्रधान र पुष्पलालको विवाहलाई त्यो परिवारले सहजै स्वीकार गरेको थिएन । मनमोहनले आफ्नो समुदायकी नेवारकी छोरीसँग विवाह गरेको देखेर झोक्किएका तुलसीलालले बाहुनकी छोरीसँग अन्तरजातीय विवाह गरेका थिए । अन्तरजातीय विवाहको समेत इतिहास निर्माण गरेका अविचल, असल विचारका पक्षपाती, सामाजिक रूपान्तरण अभियानका शीर्षस्थ धरोहर हर्ष स्याङ्बोलाई खोजी गरी यो विशेष समारोहमा कविता सुन्ने, विशेष परिचर्चा समेत गर्ने जस्तो पुनित कार्य जन साहित्यकि मञ्च, नेपालले गरेको र कवि हर्ष स्याङ्बोको समकालीन भएका नाताले मलाई आमन्त्रण गरी प्रमुख अतिथिको हैसियतले सहभागिता जनाउने अवसर दिनु भएकोमा मैले गौरव अनुभूति गरेको छु र तपाईँ आयोजकहरूलाई हार्दिक धन्यवाद दिन्छु भन्नु भयो ।
सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा झन्डै सात दशकसम्म आफूलाई समर्पित गर्दै नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । सशक्त वयोवृद्ध कवि हर्ष स्याङ्बोका एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्तित्वका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि सामाजिक रूपान्तरण अभियानका निष्ठावान् एवम् शीर्षस्थ धरोहर लक्ष्मीभक्त उपाध्यायज्यूू, टिप्पणीकार यादब भण्डारीज्यू, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नु भएको थियो ।
धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको एक छत्र सात दशक नेतृत्व गर्ने, बाइस वर्षको उमेरमै सचेतताका साथ राजनीतिमा समाहित हुने, कुशल नेतृत्व प्रदान गर्ने, कुशल सङ्गठक, निष्ठाका साथ आफ्नो कर्ममा र सिर्जनामा लाग्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, सिर्जनामा आञ्चलिकताको प्रयोग गर्ने, तेजिलो र ओजस्वी स्वरका धनी, विचारले मान्छेलाई शिखरमा पुर्याउँछ भन्ने कुराका साक्षी वा दृष्टान्त व्यक्तित्व; समाजका विकृति, विसङ्गति र आदर्शको स्खलनका प्रति आक्रोश व्यक्त गर्ने र सशक्त कविता सिर्जना गर्न सक्ने वयोवृद्ध एकानब्बे बर्से कवि हर्ष स्याङ्बो विचारलाई कलाको सुन्दर लेपन गरी शक्तिशाली सम्प्रेषण गर्न सक्ने स्रष्टा हुन् । आजको यो विशेष समारोहमा यिनै स्रष्टाको व्यक्तित्व उजागर गर्ने र लेखकीय क्षमताका बारेमा परिचर्चा गर्ने कार्य हामीले सम्पादन गरेका छौँ । यो कार्यक्रमको उद्देश्य पनि यही नै हो । हाम्रो निम्ता स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू र विद्वान व्यक्तित्वमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ भन्नु हुँदै आगामी पैँतिसौँँ शृङ्खलामा प्रखर युवा कवि भारद्वाज मित्रलाई प्रस्तुत गरिने अनि सोको जानकारी पनि गराइँने व्यहोरा निवेदन गर्दै अध्यक्षज्यूको अनुमतिले समारोह समापन भएको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published.