वासुदेव लुइँटेल पुरस्कारद्वारा महजोडी सम्मानित

नेपाली साहित्य र समस्त स्रष्टाका बीच हास्यव्यङ्ग्य क्षेत्रको नोबेल पुरस्कार मानिने वासुदेव लुइँटेल पुरस्कार २०६६ द्वारा महजोडीलाई सम्मान गरिएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीद्वारा भदौँ २३ गते आयोजित पुरस्कार समर्पण समारोहमा नेपालका लोकप्रिय हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रूपमा प्रदान गरियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले कलाकारद्वयलाई पुररस्कारको नगद रु १ लाख ११ हजार १ सय ११ रकम र कदरपत्र समर्पण गर्नुभएको थियो ।

Maha Jodi Award Reception Picture

समारोहलाई सम्वोधन गर्दै कुलपति वैरागी काइँलाले वासुदेव लुइँटेलप्रति श्रद्धाभाव व्यक्त गर्दै नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ३० वर्षदेखि क्रियाशील रहेर विशिष्ट उचाइ प्राप्त गर्नुभएका महजोडीलाई सम्मान गर्ने अवसर पाएकोमा आफैँ धन्यधन्य रहेको बताउनुभयो । वैरागी काइँलाको कथन थियो– हाम्रो मुलुकमा व्याप्त रहेको विसङ्गति, भ्रष्टाचार, चोरी, नातावाद, किर्पावाद, फरियावाद के थोक छैन मदनकृष्ण र हरिवंशले व्यङ्ग्य नगरेको विषय ? देशका यति ठूला प्रतिभालाई मेरो हातबाट सम्मानित गर्ने अवसर दिएकामा म वासुदेव–विद्यादेव लुइँटेल गुठीप्रति आभार व्यक्त गर्दछु ।

वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष रोचक घिमिरेले वासुदेव लुइँटेलको छोपिएको तस्विरको घुम्टो उघारी त्यही तस्विरलाई समारोहको अध्यक्षता प्रदान गर्नुभएपछि उपस्थित महानुभावप्रति स्वागत मन्तव्य दिनुभएको थियो । मन्तव्यका क्रममा उहाँले भन्नुभयो– “नेपाली हास्य–व्यङ्ग्यलाई गोडमेल मलजल गर्दै उन्नतिमा पु¥याउन मन–वचन–धन–श्रम खर्चेर लागिपर्ने नेपाली हास्यव्यङ्ग्यका छहारी श्रद्धेय हास्यदेव वासुदेव माड्साबले भावनात्मक अध्यक्षता गर्नुभएको यो समारोह आज खास महत्वको भएझैं लाग्दछ । वासुदेव लुइँटेलले नेपाली हास्य व्यङ्ग्यको प्रगतिको जे जस्तो सपना देख्नुभएको थियो त्यसलाई साकार पार्न निरन्तर आफ्नो श्रम सीप र साधना खर्चदै शिखर तर्फ उक्लिरहेका विख्यात प्रतिभाहरूलाई आज सम्मानित गरिँदैछ । मदनकृष्ण हरिवंशको जोडीले प्रस्तुत गरेका असङ्ख्य हास्य व्यङ्ग्यात्मक श्रव्य दृश्य प्रहसनहरूले नेपाली हास्यव्यङ्ग्य शैलीको विकासमा अपूर्व योगदान गरेको चर्चा गर्दै रोचक घिमिरेले अगाडि भन्नुभयो– हास्य र व्यङ्ग्यको सन्तुलित सम्मिश्रण, सामाजिक–राजनीतिक–प्रशासनिक विसङ्गति विकृति र व्यभिचारप्रति कठोर तर शिष्ट स्तरीय व्यङ्ग्य प्रहार, आफ्नो धरातलीय यथार्थको टट्कारो स्वाभाविक प्रस्तुति महजोडीका हास्यव्यङ्ग्य प्रहसनको विशेषता रहेको छ । महका प्रस्तुतिहरू दर्शक–श्रोताहरूका मथिङ्गलमा दीर्घकालीन प्रभाव पार्न सक्षम त हुन्छन् नै आफ आफ्ना कमजोरी सुधार्न लक्षित पक्षलाई खुराकको काम समेत तिनले गर्दछन् । हास्यव्यङ्ग्यका यस्ता महिमाशाली व्यक्तित्वहरूले वासुदेव लुइँटेल पुरस्कार स्वीकृत गर्दा हाम्रो गुठीको गौरव बढेको अनुभव हामीेले गरेका छौं ।”

प्रमुख अतिथि एवम् अतिथिलाई गुठीका कोषाध्यक्ष डा. नन्दिता शर्माले पुष्पगुच्छा दिनुभएको थियो भने सम्मानित प्रतिभालाई गुठीका उपाध्यक्ष डा. सुषमा आचार्यले पुष्पमाला पहि¥याउनुभएको थियो । गुठीका संस्थापक अध्यक्ष डा. भीष्म प्रसाइँले प्रतीक चिन्ह प्रदान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्व महजोडीको हास्यव्यङ्ग्य अभिनय कलाकार व्यक्तित्वका बारेमा साहित्यकार तथा सिने निर्देशक प्रकाश सायमीले प्रकाश पार्नुभएको थियो । सायमीले भन्नुभयो– “महले आफ्नो समयमा बनाएका प्रहसनलाई नेपाली रचनासत्तामा एक सशक्त कलाको रूपमा मात्र नभइ समय परिवर्तनको कारिगरको रूपमा ठाउँ बनायो । दुवै हास्य अभिनेतामा समयको पीडा, समकालिकताको दंश र मानवमनको विवृत्तिले एक आकार ग्रहण गर्दै गएको समय यी जोडीले नेपाल र भारतका नेपालीलाई हँसाउन मात्र होइन, ब्युँझाउन पनि प्रशस्त योगदान पु¥याएका छन् ।

सम्म्मानित प्रतिभा मदनकृष्ण श्रेष्ठले समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्दै यो पुरस्कारबाट विभूषित हुन पाएकोमा आफ्ना अग्रज तथा प्रेरणाका स्रोत श्रद्धेय वासुदेव लुइँटेलज्यूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँको कथन थियो– हास्यव्यङ्ग्य क्षेत्र नभैदिएको भए न यो पुरस्कार स्थापना हुन्थ्यो, न त हामी पुरस्कृत हुन्थ्यौँ । सहयात्री हरिवंश आचार्यसँगको आत्मीयता, सद्भाव र निरन्तर उनको साथ नपाएको भए यस क्षेत्रको यति लामो यात्रा पार गर्न शायद सम्भव थिएन । उहाँले एक्लै काम गरेको भए थाकिसकेको पनि हुन सक्थें हुँला भन्नुभयो । आफ्नो हास्यव्यङ्ग्य प्रस्तुतिलाई मन पराइदिने सम्पूर्ण दर्शकहरूप्रति पनि श्रेष्ठले धन्यवाद दिन चुक्नुभएन । २०४७ सालमा जगदम्बाश्री पुरस्कारबाट विभूषित हुँदाको दिन र भैरव पुरस्कारले सम्मानित भएको स्मरण गर्दै पुरस्कार पाउँदा कसलाई पो खुशी नलाग्ला र भन्दै आफूलाई चित्त नबुझ्दा घोषणा भइसकेको पदक लिन अस्वीकार गरेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभएको थियो ।

त्यसै गरी अर्का सम्मानित प्रतिभा हरिवंश आचार्यले हास्य र ब्यङ्ग्य भनेकोे जेरी र स्वारी जस्तै हो भन्दै स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्ने, जेरी मात्रै देख्यो भने स्वारीको याद आइहाल्ने बताउनु भयो । उहाँको कथन थियो– हास्य र ब्यङ्ग्य भनेको अलि अलि हामी “मह” जोडी जस्तै पनि हो । मदनकृष्णलाई एक्लै देख्यो भने ‘हरिवंश खैत !’ भनेर सोधिहाल्छन्; फेरि हरिवंशलाई मात्रै एक्लै देख्यो भने ‘जोडी किन छुटेर हिँडेको ?’ भन्दछन् । मन्तव्यको क्रममा आचार्यले देशको वर्तमान रोदनपूर्ण स्थितिको चित्रण यसरी गर्नुभएको थियो– “बाटोमा हिँडेको मान्छेको मुहारमा हास्य देखिन्छ कि भनेर हे¥यो भने सवैको मुहार मलिनो देखिन्छ । कसैको मुखमा हास्य देखिँदैन । कर्मचारीको मुखमा हास्य देखिन्छ कि भनेर हे¥यो भने नातावादले गर्दा होला; एकदुई जना भ्रष्टाचार गर्ने कर्मचारीको मुखमा बाहेक अरु कसैको मुखमा हास्य देखिँदैन । व्यापारी, उद्योगपतिको मुखमा हास्य देखिन्छ कि भनेर हे¥यो भने अपहरण, चन्दा आतङ्क, हड्तालले गर्दा होला; एक दुई जना काला व्यापारीको मुखमा बाहेक कसैको मुखमा हाँसो देखिँदैन । कति उद्योगपति, व्यापारीहरू हाँसो खोज्न पलायन भैसके विदेशतिर । बुद्धिजीवीहरू हाँसो खोज्न विदेश पलायन हुँदैछन् । देशका हजारौँ हजार युवा हाँसो खोज्न अरबतिर पलायन हुन्छन् । तर ती युवाहरू अरबतिर पनि हाँसो भेट्दैनन् । हाँसोले नेपालीलाई पछ्याउनै छोडिसक्यो ।”

समारोहमा प्रमुख अतिथि वैरागी काइँलाद्वारा वासुदेव लुइँटेलप्रति शोक श्रद्धा व्यक्त गर्दै गुठीका उपाध्यक्ष डा. सुषमा आचार्यद्वारा रचना गरिएको ‘शोक शब्दाञ्जली’ काव्यको अङ्ग्रेजी अनुवाद ‘एफ््युजन्स अफ ग्रीफ’को विमोचन गरिएको थियो । विमोचित कृतिबारे वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले समीक्षात्मक टिप्पणी गर्नुहुँदै कृतिमा शोकको विशिष्ट अभिव्यञ्जना भएको बताउनुभयो ।

पुरस्कार अर्पण समारोहमा नेपालका साहित्य र कला क्षेत्रका स्वनामधन्य व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो । श्यामप्रसाद, कमलमणि, विष्णु प्रभात, बुँद राना, टेकवीर मुखिया, बसुन्धरा भुषाल, रामकुमार पाँडे, यादव खरेल, डा. महेश अधिकारी, आनन्ददेव भट्ट, डा. भीष्म प्रसाइँ, गोविन्द भट्ट, डा. गोविन्दराज भट्टराई, डा. सुषमा आचार्य, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, डा. जीवेन्द्रदेव गिरी, भैरव रिसाल, हरिगोविन्द लुइँटेल, प्रकाश सायमी, रामशरण खड्का, अच्युतरमण अधिकारी आदि आदिको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

समारोहको अन्ततिर रसमाधुरीको रूपमा सिस्नुपानी नेपालले हास्यव्यङ्ग्य प्रस्तुति गरेको थियो । प्रस्तुतिमा लक्ष्मण गामनागे, आरसी रिजाल, हरिकला उप्रेती, धीरेन्द्र प्रेमर्षि र मनोज गजुरेल जुट्नुभएको थियो । प्रस्तुतिमा समसामयिक हास्यव्यङ्ग्य कविता, मुक्तक र गजलहरू समावेश थिए । मनोज गजुरेलका सामयिक दुई प्रहसनले स्रोताहरूलाई राम्रै मनोरञ्जन प्रदान गरेको थियो । समारोहको अन्त्यमा गुठीका सदस्यसचिव नरनाथ लुइँटेलले प्रमुख अतिथि, अतिथि, सम्मानित प्रतिभा एवम् सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै वासुदेव लुइँटेलको स्मृतिमा रचित ‘हास्यदेव“ शीर्षकमा कविता वाचन गर्नुभएको थियो ।

समारोहका सञ्चालक टङ्क आचार्यले वासुदेव लुइँटेलका केही कवितात्मक फाँकीहरू प्रस्तुत गर्नुभएको थियो भने गुठीका अध्यक्ष रोचक घिमिरेले वासुदेव लुइँटेलको तस्विरलाई पुनः घुम्टो ओढाएर समारोह समाप्त भएको जानकारी दिनुभयो ।

२०६३ भदौ २५ गते दिङ्गत हुनुभएका वासुदेव लुइँटेल स्वयमले २०५० सालमा स्थापना गर्नुभएको वासुदेव लुइँटेल पुरस्कारद्वारा यस अघि हास्यव्यङ्ग्य चित्रकार बलराम थापा (२०५१), हास्यकलाकार गोपालराज मैनाली (२०५२), हास्यव्यङ्ग्य लेखक केशवराज पिँडाली (२०५३), हास्यव्यङ्ग्य चित्रकार दुर्गा बराल (वात्सायन) (२०५४), हास्य कलाकार राजपाल थापा (२०५५), हास्यव्यङ्ग्य लेखक श्रीधर खनाल (२०५६), हास्यव्यङ्ग्य चित्रकर मोहनश्याम महर्जन ‘खोकना’ (२०५७), हास्य कलाकार वसुन्धरा भुषाल (२०५८), हास्यव्यङ्रग्य लेखक रामकुमार पाँडे (२०५९) र हास्व्यङ्ग्य चित्रकार टेकवीर मुखिया (२०६४) जस्ता हास्यव्ङ्ग्य साहित्य र कलासाधकहरू सम्मानित भइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.