संकटमा संथाल संस्कृति

 झापार मोरङका विभिन्न ठाउँमा ढोल बजाएर दशैं आएको जनाउ दिने आदिवासी सन्थालहरू घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म टोलीहरू बनाइ नाच देखाउने र रातभरि जागै बस्ने गर्दथे । तर, यो साल असोज आधा भइसक्दा पनि न ढोल बजेको छ, न नर्तकहरूकै तयारी । यो वर्षको नागपञ्चमीमा पनि ढोल बजेको उति सुनिएन । झापा, लखनपुर – ३ का लखिराम मुर्मु (सन्थाल) भन्छन्, “पहिले–पहिले धान रोपे पछि बाजागाजाको जोहो गरिन्थ्यो र गोडेपछि नाचको तयारी हुन्थ्यो । यसपालि धान पसाउन थालिसक्यो, बाजा बिग्रेर केही गरेको छैन ।” सन्थाल क्लबका सचिव समेत रहेका मृमु ८–१० वर्षअघि किनेका ढोल र मादलमध्ये धेरैजसो फुटेका र बाँकी पनि काम नदिने अवस्थामा भएको बताउँछन् । ३० वर्षदेखि यो संस्कृति धान्दै आएका झापा, गौरादहका किस्टन टुडु भन्छन् “बाजा मर्मत गर्ने पैसा पनि छैन ।” भैरब मुर्मुलाइ यस वर्ष नाचै देखाउन नपाइएला भन्ने पीर छ । “उसै त हिजोआजका केटाकेटी नाच्न मन गर्दैनन्, त्यसमाथि बाजा बिग्रेर थन्केको छ”, उनी भनछन्, “एउटा टोलीको नाचका सामान जुटाउन कम्तीमा रू. १० हजार चाहिन्छ । मजदुरी गरेर जीविका चलाउने सन्थालहरूले के जुटाउन सक्थे र ।” प्रत्येक दशैंमा मेला लगाउँदै आएको सगुन युवा क्ल्बका अध्यक्ष हुकुमसिंह राइले दशैंमा नाच देखाएर आउने पैसाले सन्थालहरूले घर खर्च टार्न थाले पछि बाजा मर्मत हुनछाडेको बताए । दशैंमा झापा र मोरङका तीन दर्जनभन्दा बढी स्थानमा हुने सन्थाल नृत्य प्रतियोगितामा पनि सहभागिता घट्दै गएको छ । क्ल्बका अध्यक्ष राइ भन्छन्, “फेरि नाच टोली बोलाएर मात्र के गर्नु, धेरैजसोसँग बाजै हुँदैन ।” राजनीतिक, आर्थिक र शैक्षिक रूपमा पछिपरेका सन्थालहरको संस्कृति संरक्षणमा आदिवासी जनजाति क्षेत्रमा क्रियाशील संघसंस्था र सरकारले पहल नगरेको सरोकारवालाहरूको गुनासो छ । युवराज विवश, झापा 

(यो समाचार हिमाल खवरपत्रिकाको १६ असोज – १५ कात्तिक २०६७, 2 Oct. – 1 Nov. 2010 को अङ्कमा प्रकासित समाचार यहाँ साभार गरिएको हो । सं.)

Leave a Reply

Your email address will not be published.