साहित्य सन्ध्याको ४६७ औँ शृङ्खलामा शुभकामना कविगोष्ठी र ‘कथाको कथा’ परिचर्चा

साहित्य सन्ध्याको नियमित मासिक ४६७ औँ शृङ्खला अन्तर्गत २०८२ असोज ४ गते शनिबार अपराह्न १ बजे गुगलमिटमार्फत ‘शुभकामना कविगोष्ठी’ आयोजना गरिनुका साथै कथाकार डा. विष्णुप्रसाद दाहालद्वारा लिखित कथासङ्ग्रह ‘कथाको कथा’ माथि परिचर्चा गरिएको छ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवीको उपस्थिति रहेको थियो। कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्याल, साहित्य सन्ध्याका सल्लाहकारहरू प्रा.डा. कृष्णप्रसाद घिमिरे (नेपालगन्जबाट) र वासुदेव अधिकारीलगायत अग्रज तथा समकालीन स्रष्टाहरूको सहभागिता रहेको थियो।

कथासङ्ग्रह ‘कथाको कथा’ माथि परिचर्चा गर्दै प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले डा. विष्णुप्रसाद दाहाल प्रगतिशील चिन्तनका सचेत कथाकार भएको उल्लेख गर्नुभयो। कृतिमा समेटिएका दशवटा मध्यम आकारका कथाले समाजमा व्याप्त अन्धविश्वास, रुढि, नेतृत्वको अकर्मण्यता, गरिबी, वैदेशिक पलायन, बिमा र आर्थिक अनियमितता, सामन्ती प्रवृत्ति, नयाँ वर्ष र चाडपर्वका नाममा मौलाएको विकृति तथा श्रम र मिहिनेतको मूल्यजस्ता विषयलाई जीवन्त रूपमा चित्रण गरेको उहाँको धारणा थियो। सरल भाषाशैलीमार्फत असल विचार सम्प्रेषण गर्ने कथाकारको प्रयत्न प्रशंसनीय रहेको टिप्पणी गर्दै कतिपय स्थानमा अझ स्पष्ट अभिव्यक्ति आउन सके थप सशक्त हुने संकेत पनि गर्नुभयो।

कार्यक्रममा सावित्री श्रेष्ठ, डा. हरिप्रसाद सिलवाल, महेशराज खरेल, डा. राजेन्द्रप्रसाद अधिकारी, उमेश उपाध्याय, नर्मदेश्वरी सत्याल, राम विनयलगायत स्रष्टाहरूले कविता, गीत र गजल वाचन गर्नुभएको थियो। वाचित रचनामाथि टिप्पणी गर्दै प्रा.डा. गिरीले बालकवितादेखि प्रौढ कविता, मुक्तलय, शास्त्रीय छन्द र लोकछन्दसम्मका विविध सिर्जना सुन्न पाइएको उल्लेख गर्नुभयो। हालै घटेका जेनजेड आन्दोलन र त्यसका नाममा भएका तोडफोड, आगजनी तथा विध्वंशप्रति कविताहरूले चिन्ता, प्रश्न र चेतना व्यक्त गरेको उहाँको मूल्याङ्कन थियो। निराशालाई आशामा रूपान्तरण गर्ने र अँध्यारोका विरुद्ध आवाज उठाउने आग्रह कवितामा स्पष्ट देखिएको उहाँले बताउनुभयो।

विशिष्ट अतिथि शान्ता मानवीले कठिन परिस्थितिमा पनि साहित्य सन्ध्याले समसामयिक विषयमा बहस, छलफल र सिर्जनात्मक अभिव्यक्ति निरन्तर अघि बढाइरहेकोमा प्रशंसा गर्नुभयो। प्रविधिमैत्री माध्यमबाट सम्पन्न आजको कार्यक्रम सार्थक र समयसापेक्ष रहेको उहाँको धारणा थियो।

कृतिका स्रष्टा डा. विष्णुप्रसाद दाहालले मान्छेको भोगाइ आफैँमा कथा हुने मान्यताबाट ‘कथाको कथा’ को जन्म भएको बताउँदै कृतिमाथि परिचर्चाको अवसर प्रदान गरेकोमा साहित्य सन्ध्या र समीक्षकप्रति आभार व्यक्त गर्नुभयो।

समारोहको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्यालाई एक प्रकारको साहित्यिक कार्यशालाका रूपमा व्याख्या गर्दै सामाजिक विकृति र शासकीय विसङ्गतिका विरुद्ध साहित्यका माध्यमबाट आवाज उठाउने अभियान निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आगामी महिनामा पनि विशेष विषयमा बहस तथा कविगोष्ठी आयोजना गरिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *