रमेश पोखरेल, काठमाडौँ
मितिः २०६९।१०।६
(फाइल तस्विर)
साहित्य सन्ध्याको ३२३ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘उत्तर आधुनिकता र प्रगतिशीलताबारे चर्चा तथा सहिद दिवस कविता गोष्ठी’ सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका समकक्षी वयोवृद्ध ८६ बर्से स्रष्टा हर्ष स्याङ्बो, प्राज्ञ प्रा.डा.महादेव अवस्थी, वरिष्ठ कविहरू कणाद महर्षि, आनन्दराम पौडेल र रामबहादुर पहाडी, गायिका सानु पहाडी र समीक्षक नरनाथ लुइटेल अतिथिको रूपमा उपस्थित हुनु हुन्थ्यो ।
उक्त विशेष गोष्ठीमा ‘उत्तर आधुनिकता र प्रगतिशीलता’ विषयमा चर्चा गर्दै प्राज्ञ प्रा.डा.महादेव अवस्थीले उत्तर आधुनिकता र प्रगतिशीलता दुबै विषय समाज विज्ञानसँग सम्बन्धित रहेका, उत्तर आधुनिकता भनेको पनि आधुनिकताकै निरन्तरता रहेको र यो सिङ्गो पश्चिमी सामाजिक सभ्यताको अर्थमा आएको हो । पश्चिमाहरू साहित्य भनेको पराऔद्योगिक साँस्कृतिक अध्ययन हो भन्ने गर्दछन् । खासमा चाहिँ दबाउँने र दबिनेका बिचको द्वन्द्वकै रूपमा यो वाद पनि विकसित भएको हो, यसले आबाज विहीनहरूका आबाज उठाउँनु पर्ने कुरा नै गरेको छ । वास्तवमा सबै किसिमका आबाजहरूको समवेत स्वर हो उत्तर आधुनिकता । तर यसले विविध क्षेत्रमा विभेद गरेर भ्रम सिर्जना गर्ने काम गरेको छ । बहुल स्वरका नाममा अराजकताको स्थापना गर्दै सबैलाई एकतावद्ध पार्ने प्रगतिशील वैचारिकतामा प्रहार गर्ने काम गरेको छ । समाजको आर्थिक तथा साँस्कृतिक रूपान्तरण गर्ने माक्र्सवादको उद्देश्यलाई विशृङ्खलित पार्दै अराजकतामा अवतरण गराउँने काम उत्तर आधुनिकताले गरेको छ । हाम्रो जस्तो मुलुकले आधुनिकता थेग्न सक्छ, पश्चिमा मुलुकको सिको गर्ने कुराले भने हाम्रो हित गर्दैन । समाजमा दबिएका, थिचिएका, पीडामा परेका मान्छेका विषय साहित्यले उठाउँनु पर्ने र समतामूलक समाज निर्माणका पक्षमा लाग्नु नै हाम्रो सन्दर्भमा आधुनिकता हो । मार्मिक, मर्मभेदी, रसिलो पारेर जन समस्यालाई, समाजका यथार्थ अन्तरसम्बन्धलाई अध्ययन गरेर, राष्ट्रिय आवश्यकता पहिल्याउँदै साहित्य सिर्जना गर्नु हाम्रो सन्दर्भमा आधुनिकता हो, उत्तर आधुनिकताका पछाडि दौडनु आवश्यक छैन भन्ने धारणा व्यक्त गर्नु भयो ।
गोष्ठीको प्रारम्भ सभाध्यक्ष राम विनयको कविता वाचनबाट भएको थियो भने समापन ८६ वर्र्षीय कवि हर्ष स्याङ्बोको कविता वाचनबाट गरिएको उक्त गोष्ठीमा सहिद तथा अन्य विषयका कविता, गीत, मुक्तक वाचन गर्नेहरूमा प्रेम सिलवाल, निर्भीक राई, पञ्चकुमारी परियार, आनन्दराम पौडेल, कणाद महर्षि, डिल्लीराज अर्याल, गणेशकुमार जी.सी., बाजुराम पौडेल, वैरागी जेठा, धु्रवराज घिमिरे, रामबहादुर पहाडी, नर्मदेश्वरी सत्याल, सरोज दिलु विश्वकर्मा, डम्बर पहाडी, सानु पहाडी, केशवराज निश्चल, भोलानाथ सुवेदी, पुण्य गौतम ‘विश्वास’, साम्भवी सुवेदी (बालकवि), भारद्वज मित्र, केशव भट्टराई, धनबहादुर मगर, नारायण निराशी, श्यामबहादुर भावुक र बालाकृष्ण अधिकारीले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि समीक्षक ननाथ लुइटेलले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, गद्यमा बढी र पद्यमा कम लेखिएका, केही शास्त्रीय छन्दमा लेखिएका निकै उत्कृष्ट समेत रहेका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैैलीमा नवीनता देखा परेको, बालकदेखि वृद्धसम्मले कविता वाचन गरेको अवस्थालाई हेर्दा गोष्ठी उपलब्धिमूलक रहेकोले साहित्य सन्ध्याको गोष्ठीमा वाचन गरिएका रचनालाई प्रविधको सहयोगले संसारभरि पुर्याउँनेतर्फ पनि विचार गर्नु पर्ने धारणा राख्नु भयो ।
उपस्थित अतिथिज्यूहरू, आमन्त्रित व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै साहित्य सन्ध्याले साहित्यका माध्यमबाट सामाजिक, साँस्कृतिक रूपान्तरण गर्ने उद्देश्यले थालनी गरेको अभियानको यात्राले लामो फड्को मारेको, अविच्छिन्न मासिक गोष्ठी गरी साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको अभियान सञ्चालन गरि रहेको र आगामी महिना फेरि कुनै विशेष कार्यक्रम सहित यहाँहरू सबैलाई उपस्थितिको आग्रह गरिने भन्दै गोष्ठीको समापन गर्नु भयो ।