विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४१ औँ विशेष शृङ्खला असार २ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयाम्पस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘नेपालमा किसान आन्दोलन र कृषिप्रधान अर्थतन्त्र निर्माणमा पुर्याएको योगदान’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ गरी सम्पन्न भयो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष एवम् राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम दङ्गाल उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, वरिष्ठ स्रष्टा प्रा.डा.खेमनाथ दाहाल, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू उमेश उपाध्याय, डम्बर पहाडी ‘एलाक’, नर्मदेश्वरी सत्याल, खेमराज निरौला, नियात्राकार पोषरमण चापागाईँ, चिन्तामणि सिवाकोटी, नागार्जुन साहित्य प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, सीताराम फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा ‘नेपालमा किसान आन्दोलन र कृषिप्रधान अर्थतन्त्र निर्माणमा पुर्याएको योगदान’ विषयमा डा.प्रेम दङ्गाल’ले विशद चर्चा गर्नुहुँदै हाम्रो मुलुकमा सबैभन्दा बढी उत्पीडनमा परेको, शोषण, विभेद र उपेक्षाको सिकार भएको वर्ग भनेको किसान हो । जमिनमा पसिना बगाउने र आपूm बाँचेर संसारका मानवलगायतलाई बचाउने किसान नै अहिले उपेक्षाको सिकार भइरहेका छन् ! हाम्रो देशमा अहिले पनि दश लाखभन्दा बढी घरपरिवार भूमिहीन छन् । कम्तीमा एकपटक राज्यले भूमिको समान वितरण गर्नु आवश्यक छ । हामीले भोगिरहेको गणतन्त्रात्मक राज्यव्यवस्थामा किसानले जमिन पाउनु भनेको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु हो र समाजवादउन्मुख व्यवस्थासम्म पुर्याउने यात्राको प्रारम्भ पनि हो । राज्यले किसानलाई बिउ, बिजन, मल, सिचाइ उपलब्ध गराउनुपर्दछ । कृषिकर्मको प्रमुख आधार भनेको बिउ हो । बिउ उत्पादनमा आनुवंशिक हेरफेर गरी वर्णशंकर आविष्कारका नाममा किसानका परम्परागत बिउहरूको स्वामित्व खोसिइरहेको छ ! पृथ्वी शिखर सम्मलेनले बिउको नयाँ आविष्कारको स्वामित्व किसानले पाउनुपर्छ भन्ने कुरालाई उठाएको छ । समय र मौसमअनुकूलका बिउबिजनको आविष्कार गरिनुपर्दछ । सिचाइको अभावका कारण हाम्रो भूगोलको साठी प्रतिशतभन्दा बढी जमिनमा आकासे पानीको भरमा खेती गरिन्छ । नयाँ प्रविधिको प्रयोग गरेर थोरै जमिनमा धेरै उत्पादन गर्ने खेतीप्रणाली विकसित गर्नु अत्यावश्यक छ । अहिले गरिरहिएको खेतीप्रणालीमा बढी रासायनिक मल, विषादि आदिको प्रयोगले कार्बन्डाइअक्साइडको उत्सर्जन बढेको छ, मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ; मिथेन, नाइट्रोअक्साइटजस्ता हानिकारक ग्यासको उत्सर्जन भइरहेको छ । नाफाका लागि भइरहेको अहिलेको यो खेतीप्रणालीमा सुधार आवश्यक छ । तापक्रम बढ्दै जानु, जलवायुमा परिवर्तन आउनु यसका कारकका रूपमा रहेका छन् । किसानको उत्पादनका आधारमा स्थानीय तहमै अनुदान दिने नीति अवलम्बन गरी बिचौलिया नियन्त्रण गरिनु आवश्यक छ । त्यसैगरी किसानलाई सरल र सहज कर्जा दिने व्यवस्था कार्यान्वयन गरिनुपर्दछ । हाम्रो देशको जनसङ्ख्याको पचास प्रतिशत हिस्सा मात्र कृषिमा समर्पित रहेको छ र दश हजारको हाराहारीको सङ्ख्याका कृषकले मात्र कृषिबिमा गरेका छन् । कृषिबिमालाई सबै कृषकसम्म पुर्याउनु आवश्यक छ । खाध्य अधिकार, खाध्य सम्प्रभुता र खाध्य सुरक्षाको अधिकार कृषकले पाउनुपर्छ । भएजति सबै निजीकरण गर्ने कार्यले मुलुकको हित गर्दैन । खाध्य सम्प्रभुताको अधिकार जनताको सार्वभौम अधिकार हो, यसको रक्षा आवश्यक छ । किसान आन्दोलनको परिणामस्वरूप कतिपय विषय ऐन, नियम, नीतिमा समावेश पनि भएका छन् तर नागरिकको सेवाका लागि खडा गरिएका निकायहरू निष्ठावान् नभएका कारण अपेक्षित उपलब्धि किसानका तहसम्म पुग्नसकेका छैनन् । किसानका सबै समस्या र आन्दोलनबाट प्राप्त उपलब्धि प्रकाशित गरी जनतालाई सुसूचित गरिदिने काम मिडियाबाट पनि भइरहेको छैन । यसै वर्ष पनि रासायनिक मलमा दिइँने अनुदान कटौती गर्ने सरकारको निर्णयको डटेर विरोध गरिएपछि सरकार निर्णय फिर्ता गर्न बाध्य भएको तर त्यसको प्रचार अपेक्षितरूपमा हुनसकेको छैन । किसान आन्दोलन भनेको किसानकै एकताका माध्यमबाट अगाडि बढ्ने हो र २००६ सालदेखिको किसान आन्दोलनले थुप्रै परिणाम हासिल गरेको भए पनि अझै धेरै गर्न बाँकी छ । यो एउटा अभियान पनि भएकाले यसमा साहित्य सिर्जना गर्ने स्रष्टाले पनि आफ्ना सिर्जनाका विषयमा किसान, उनीहरूको उत्पादनले बजार नपाएका समस्या र सरोकारवालालाई झक्झक्याउने काम गरिदिनु आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।
बालकवि सोइना दाहालको वातावरणीय कविताबाट थालनी भएको गोष्ठीमा वासुदेव अधिकारी, डम्बर पहाडी, सोमनाथ दाहाल, ओमप्रसाद कोइराला, महेशराज खरेल, आभा सेतु सिंह, खेमराज निरौला, सरस्वती चिमौरिया, डा.गोविन्दप्रसाद आचार्य, विन्दु अधिकारी ढकाल, नर्मदेश्वरी सत्याल, कुमार नेपाल, डा.खेम दाहाल, उमेश उपाध्याय, सङ्गीता ढुङ्गाना दाहाल, डा.कृष्ण सुवेदी, मुकुन्द न्यौपाने, गोपाल नेपाल, चिन्तामणि सिवाकोटी, दिल पौडेल, प्रकाश खड्का, बलराम विष्ट, भावना न्यौपाने, डा.प्रेम दङ्गाल, रूपक अलङ्कार, सम्पत काफ्ले र साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारीले आआफ्ना कविता, गीत, मुक्तक, एलाक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याका सल्लाहकार एवम् वरिष्ठ कवि वासुदेव अधिकारीले साहित्य सन्ध्याको चालिस बर्से अथकित यात्रा निरन्तर छ । पहिले पहिले यसको उद्देश्य पुराना पुस्ताका स्रष्टा गोष्ठीमा बढी आइदिउन् र नयाँ पुस्ताले सिक्न पाओस् भन्ने थियो भने अहिले नयाँ पुस्ता कम जोडिएको स्थिति छ । आज वाचित सत्ताइसओटा रचनामा सात–आठओटा लयात्मक छन् र ती सशक्त छन् । कवितामा गाली मात्र होइन, सुझाव, वातावरणीय चेतनालाई विषयवस्तु बनाउनसकिँदो रहेछ भन्ने दृष्टान्त आजका केही कविताले प्रस्तुत गरेका छन् । स्रष्टाको चेतनाले विकृति र बेथितिका प्रति झक्झक्याउने र निर्माणचेतना सम्प्रेषण गर्नुपर्ने आजको दायित्व हो र त्यसमा आजका केही स्रष्टा अब्बल देखिनुभएको छ । आम राजनीतिक दुर्गन्ध, भ्रष्टाचार, बेथिति सिर्जनाका विषय हुनसक्छन् तर तिनको प्रस्तुति फरक हुनसक्दो रहेछ भन्ने दृष्टान्तलाई नाङ्गिनुको यथार्थलाई पनि कलात्मक रूप प्रदान गरेर आज कविता वाचित भएका छन् । विषयवस्तुलाई विचार, कला र प्रस्तुतिको सम्मिश्रणले युक्त गजल वाचित भएका छन् । भुटानी शरणार्थी विषयको लाजलाग्दो विषयलाई फरक फरक स्रष्टाले फरक फरक तरिकाले सुन्दर संयोजन गरिएको पाइन्छ । बुद्ध र माक्र्सले स्थापना गरेको मान्यता वा विचार सर्वग्राह्य कसरी भयो भन्ने विषयलाई पनि बडो सुन्दर तरिकाले कवितामा सम्प्रेषण गरिएको छ । छोराकी प्रेमिकालाई सम्बोधन कविताले वर्तमान नेपाली समाजको सम्झौतापरस्त यथार्थलाई उजागर गरेको छ । तस्करी र घुसखोरीका विरुद्धमा कविता आएका छन् । दुध केले दिन्छ भन्दा ‘प्लास्टिकको पोकाले’ भन्ने चेतनालाई सचेत पार्ने प्रयत्न पनि कविताले गरेका छन् । प्रायः कवितामा देशभक्तिपूर्ण भावना उदात्त भएको पाइन्छ भने विद्रोही चेतना अलि बढी प्रबल भएर आएको छ । भ्रष्टाचारजन्य दुर्गन्धको कडा विरोधसहित सही सोच र गन्तव्य देखाउने प्रयत्न पनि कवितामा गरिएको छ । आजको यो समारोहमा समग्रमा राम्रा र उम्दा कविता वाचित भएका छन् । बासी नभएका कविता वाचन गर्ने प्रवृत्ति हुर्काउँदै आफ्ना सिर्जनामा समयुगीन चेतनाको प्रतिविम्बन गर्ने र शिल्प पक्षमा सचेत हुँदै आलोचना गर्नेहरूलाई लेखेरै जबाफ दिनुपर्ने आजको आवश्यकता रहेकोतर्फ स्रष्टाको ध्यान जानु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको छ । प्रमुख अतिथिले सङ्क्षिप्तमै विशद अनि महत्त्वपूर्ण जानकारीसहित ‘नेपालमा किसान आन्दोलन र कृषिप्रधान अर्थतन्त्र निर्माणमा पुर्याएको योगदान’का बारेमा चर्चा गरिदिनुभएको छ जुन ज्यादै नै लाभदायक अनुभूत गरिएको छ । वाचित रचनामाथि सारगर्भित टिप्पणी गरिदिनुहुने वासुदेव अधिकारी एवम् आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरेर उपस्थित भइदिने सबै सबैप्रति हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । साहित्य सन्ध्याका समारोहमा यसैगरी निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।