साहित्य सन्ध्यामा ‘वैदेशिक रोजगारी, सामाजिक विकृति र रूपान्तरणमा साहित्यको भूमिका’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डाै

२०७८ फाल्गुण ०७

साहित्य सन्ध्याको अझै पनि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२५ औँ शृङ्खला फागुन ७ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले नेता एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका सल्लाहकार प्रा.डा.बद्रीविशाल पोखरेल, प्राज्ञ नमुना शर्मा, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, डा.हरिप्रसाद सिलवाल, गायत्री चापागाईँ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, प्रा.डा.ध्रुव घिमिरे, लोकार्पित कवितासङ्ग्रह ‘आगाका फिलुङ्गाहरू’का कवि प्रशान्त खरेल, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, वरिष्ठ स्रष्टाहरू सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, तारा गाउँले, डम्बर पहाडी र डिल्लीराज अर्याल उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि रघुजी पन्तले ‘‘वैदेशिक रोजगारी, सामाजिक विकृति र रूपान्तरणमा साहित्यको भूमिका’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२५ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्या यथार्थमा अविरल बगिरहेको नदी हो । आजको सन्ध्याको यो विशेष समारोहमा भने हामी गम्भीर विषयमा बहस चलाइरहेका छौँ । देशभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्ननसकिएका कारण रोजगारीको खोजीका लागि विदेश जानुपर्ने बाध्यतालाई हामी वैदेशिक रोजगारी भन्छौँ । हुन त हाम्रो मुलुकबाट मात्र होइन संसारका सम्पन्न भनिएका मुलुकबाट पनि वैदेशिक रोजगारीमा जाने गरिएको पाइन्छ तर फरक यत्ति मात्र हो कि उनीहरू रहरले जान्छन् हाम्रा युवा बाध्यताले बाहिरिँदै छन् । अहिलेको ग्लोबलाइजेसनको समयमा कुनै पनि देशले युवापलायनलाई रोक्नसक्ने अवस्था पनि छैन । वैदेशिक रोजगारीमा २२–२५ वर्षदेखि माथि ४०–४५ वर्षसम्मका युवा बाहिरिइरहेको तथ्याङ्क फेला पर्दछ र यो उमेर भनेको घरपरिवारसँग बिताउने र श्रम गर्नसक्ने उमेर हो । त्यसैले यो उमेरसमूहका युवा पलायन हुँदा त्यसले विभिन्न प्रकारका विकृति पनि ल्याएको पाइन्छ । प्रमुखरूपमा पारिवारिक विखण्डन, यौनविकृति, हिंसात्मक अवस्थाको सिर्जना, ज्यानै जानेसम्मका घटना हुने गरेका र भएका पाइन्छन् । त्यति हुँदाहुँदै पनि हाम्रो देशको हकमा भने विदेशी मुद्रा आर्जनको प्रमुख र भरपर्दाे स्रोतको रूपमा वैदेशिक रोजगारी नै रहेको छ । दक्ष जनशक्ति विकसित मुलुकमा पनि जाने गरेका छन् तर तिनीहरूले उतै घरव्यवहार चलाएका छन्, यहाँ पैसा पठाउँदैनन् ! नेपालमा पैसा पठाउने भनेको अदक्ष रोजगारीमा जानेहरूले नै हो । विदेशमा गएका अदक्ष रोजगारहरूले निम्न स्तरको र जोखिमयुक्त काम गर्नुपर्ने बाध्यता रहेको, सुरक्षा नपाएर जीवन गुमाउनुपरेको, पारिश्रमिक नपाएको, वर्षाैँ काम गरेर रित्तै फर्किनुपरेकोजस्ता समस्या पनि देखिएका छन् । जेसुकै भए पनि वैदेशिक रोजगारीलाई पूर्ण नियन्त्रण गर्न भने सकिँदैन तर दक्षता हासिल गराएर मात्र पठाउन सकियो भने पनि राम्रो काम र राम्रो आय हुनसक्ने अवस्था रहेको छ । शैक्षिक वेरोजगारी झनै डरलाग्दो हुने भएकोले यस दिशातर्फ चाहिँ राज्य बढी गम्भीर बन्ने र नीति तथा योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । नेपाली श्रमिक जाने देशहरूमा श्रमिक सहचारी राख्ने व्यवस्था गर्ने र दक्ष जनशक्तिलाई समयावधि तोकेर समय भुक्तान भएपछि स्वदेश फर्किनेगरी पठाउने हो भने आम्दानी र प्रविधि पनि स्वदेश फर्किन्छ र मुलुकलाई फाइदा पुग्छ । कोरोना महामारीको समयमा क्युबाले आफ्ना डाक्टरहरूलाई धेरै मुलुकमा पठाएर महामारी नियन्त्रणमा सहयोग पनि पुर्याएको र स्वदेशमा आम्दानी पनि भित्र्याएको दृष्टान्त पाइन्छ । हाम्रो देशको हकमा कृषि र उद्योगका क्षेत्रमा दक्षता हासिल गरी फर्किेनेगरी युवा पठाइनु उपयुक्त हुन्छ ।


अहिले आएर वैदेशिक रोजगारीले सिर्जना गर्ने र ल्याएका विकृतिलाई समावेश गरेर साहित्य लेख्ने प्रचलन बढेको पाइन्छ । अबको साहित्यको विषय प्रवासको पीडा हुनसक्छ किनभने साहित्यमा समावेश गरिने विषयमा विविधता र नयाँ पन आउन थालेको छ । आफ्ना जीवनभोगाइका यथार्थलाई उजागर गर्ने कार्य अब हुँदै जाने छन् । वैदेशिक रोजगारीले नेपालीको जीवनस्तर पनि उठाएको छ । आफ्नो पुरानो थातवास छाड्ने र खेतीयोग्य जमिन या त अर्कालाई कमाउन दिने, या त बाँझै राख्ने र सहरमा बसाइ केन्द्रित गर्ने, छोराछोरीलाई निजी विद्यालयमा शिक्षा दिने, सुविधाभोगी बन्ने, बरालिने र पारिवारिक विखण्डनको तहसम्म पुग्ने खालका विकृति देखिएका, समाचार बनिरहेका हुँदा उपयुक्त रोजगारीका आधार सिर्जना गरेर युवालाई विदेश पलायन रोक्नु नितान्त आवश्यक भइसकेको छ तापनि साहित्यले रोक्ने काम गर्ने होइन यसले समस्यालाई उजागर गरिदिने हो, यथार्थ बाहिर ल्याइदिने हो, त्यो काम हामी साहित्यसिर्जनामा लागेकाले गर्नुपर्दछ र अबको साहित्यलेखनको यो दायित्व पनि हो । यद्यपि यो संसारकै समस्या हो । राज्यले ठोस नीति निर्माण गरेर युवालाई रोजगारी प्रदान गर्ने कार्य गर्नुपर्दछ, त्यसका लागि कृषि, पर्यटन, उद्योग हाम्रा सम्भाव्य क्षेत्र भएकाले तिनै क्षेत्रमा पूर्वाधार तयार गर्नुपर्दछ । संसारको शक्तिराष्ट्र भनिएको अमेरिकामा जम्मा एक प्रतिशत मात्र मानिसहरू खेतीकिसानीमा लागेका छन् तर उनीहरूले वैज्ञानिक कृषिप्रणाली अवलम्बन गरेर आपूmलाई पुग्ने मात्र होइन खाध्यान्न निर्यातसमेत गरिरहेका छन् । त्यसैले आफ्नो देश बलियो पार्ने र पलायन हुने जनशक्तिलाई रोक्ने नीति निर्माण गर्नु चाहिँ राज्यको नै दायित्व हो । हामी स्रष्टाले वस्तुपरकढङ्गले समस्या उजागर गरी साहित्य सिर्जना गर्नुपर्दछ, यो नै आजको आवश्यकता हो भन्ने धारणा राख्नुभयो ।


गोष्ठीका प्रमुख अतिथिले साहित्य सन्ध्याका सदस्य एवम् प्रखर युवा कवि प्रशान्त खरेलद्वारा लिखित ‘आगाका फिलुङ्गाहरू’ कवितासङ्ग्रहको लोकार्पण गर्नुभयो र लोकार्पित कवितासङ्ग्रहका बारेमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले चर्चा गर्नुहुँदै झापाका कवि प्रशान्त खरेलको यो ‘आगाका फिलुङ्गाहरू’ कवितासङ्ग्रह ८४ पृष्ठको रहेको, कभर डिजाइन कवि आफैँले गरेका, कविताहरू सबै गद्यलयमा लेखिएका, प्रायः सबै कविताहरू वैचारिक रहेका हुँदा कवितामा कतै न कतै विचार सुन्दरढङ्गले अभिव्यक्त भएको रओखर फुटाएर दिउल निकालेको जस्तो मिठास कवितामा पाउन सकिन्छ भन्ने धारणा राख्नुभयो र कविलाई थप परिष्कारपरिमार्जनसहितको भावी सिर्जनायात्राको हार्दिक शुभकामना दिनुभयो ।


लोकार्पित सङ्ग्रहका स्रष्टा प्रशान्त खरेलले साहित्य सन्ध्या, प्रगतिशील लेखक सङ्घ, जनसाहित्यिक मन्च नेपालजस्ता संस्थासँगको सहकार्यले विचार निर्माण र परिष्कारमा सहयोग पुगेको, कुनै घटनाक्रमले बिझाउँदा कविता जन्मिन पुगेको, सामाजिक विद्रुपताले झस्काएको अवस्थाले पनि कविता सिर्जना भएकाले सङ्ग्रहका रूपमा ल्याएको हुँदा पढेर प्रतिक्रिया पाउने अपेक्षा गर्नुभयो र सङ्ग्रहका दुईओटा कविता वाचन गर्नुभयो ।


गोष्ठीमा दुर्गा नेपाली, जयन्ती स्पन्दन, खेमराज निरौला, डा.हरिप्रसाद सिलवाल, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, गायत्रीकुमार चापागाईँ, प्रशान्त खरेल, नर्मदेश्वरी सत्याल, डा.षडानन्द पौडेल, बेनीबहादुर थापा, नमुना शर्मा, गणेश घिमिरे ‘मार्मिक’, भावना न्यौपाने, तारा गाउँले, उर्मिला पन्त पाण्डेय, प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा.फणीन्द्रराज निरौला, उमेश उपाध्याय र राम विनयले आआफ्ना कविता, गीत, एलाक, लघु कथा, मुक्तक वाचन गर्नुभएको थियो ।


वाचित सिर्जनामाथि उमेश उपाध्यायले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा पूर्वको मोरङदेखि काठमाडौँसम्मबाट स्रष्टाहरू जोडिएर कवितावाचन गरिएको छ । वाचित कवितामध्ये पाँचओटा पद्यका र बाँकी गद्यलयका कविता वाचन भएका छन् । उत्साहपूर्ण अभिव्यक्तिका कविता वाचित भएका छन् । धेरै कविता देशभक्तिपूण रहेका छन् । निकै कविताहरू परिपक्व र गहिराइका कविता वाचित भएका छन् । मन छुने मुक्तक वाचन भएको छ । कवितामा स्वतन्त्रताको गीत गाइएको छ । एक लाइनमै तीक्ष्ण अभिव्यक्ति दिने कविता वाचित भएका छन् । वर्तमानका विसङ्गति आजका कविताको मूल विषय बनेको छ । नेतृत्वप्रतिको वितृष्णा कवितामा मजाले अभिव्यक्त भएको छ । ‘पहाडको वस्तीमा पहिरो जाने तर दुःखको पहाडमा कहिल्यै पहिरो नजाने’जस्ता सूक्तिमय अभिव्यक्ति कवितामा आएका छन् । उत्साह, आँट र हिम्मतका कविता वाचन गरिएका छन् । निरङ्कुश तानाशाह भनेर सदैव गाली गरिने जङ्बहादुरले सिमानामा गाडेका जङ्गे पिलर जोगाउननसक्नुको पीडा कवितामा अभिव्यक्त गरिएको छ । मुलुकमा लोकतन्त्र आएपछि परिवर्तन हुन्छ भन्ने जनअपेक्षा ठुकरिएको र जनताको जीवनस्तरमा सुधार नआएकोमा कवितामा चिन्ता जाहेर गरिएको छ, आक्रोश व्यक्त गरिएको छ । समग्रमा आजको गोष्ठी निकै खँदिलो रहेको छ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्दछ । समग्र विकृतिमा रूपान्तरण अनि सांस्कृतिक रूपान्तरणविना समाज रूपान्तरण हुनसक्तैन भन्ने मान्यता साहित्य सन्ध्याले राखेको छ । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ र यो अभियानमा निरन्तर जोडिइरहन हामी यहाँहरूलाई पनि अनुरोध गर्दछौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.