साहित्य सन्ध्यामा ‘सङ्घीय शासनप्रणालीमा प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूको व्यवस्थापन’ विषयक चर्चासहित विशेष कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५१औँ शृङ्खला जेठ ५ गते शनिबार अपराह्न ठिक १ बजे ‘सङ्घीय शासनप्रणालमिा प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूको व्यवस्थापन’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य रूपक अलङ्कारको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषयप्रस्तोताका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवीको उपस्थिति रहेको थियो । अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी, प्रा.डा.देवी नेपाल र विधान आचार्य, समालोचक डा.षडानन्द पौड्याल, नर्मदेश्वरी सत्याल, ज्ञानु विद्रोही, पोषरमण चापागाईँ, गायत्रीकुमार चापागाईँ, उमेश उपाध्याय, प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशका बैरागी जेठा, जयन्ती स्पन्दन, खेमराज निरौला, गोपालकुमार मैनाली, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।
‘सङ्घीय शासनप्रणालीमा प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूको व्यवस्थापन’ विषय अहिलेको समसामयिक विषय भएको हुँदा प्रमुख अतिथि प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले विशद चर्चा गर्नुहुँदै नेपालको संविधान २०७२ अनुसार हाल केन्द्र, सात प्रदेश, २ महानगरपालिका, एघार उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेको शासकीय संरचना रहेको छ । नेपालको संविधानको भाग ५ धारा ५७ मा राज्यशक्तिको बाँडफाँडको व्यवस्था गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्ने भाषा, संस्कृति, कलाको संरक्षण, प्रवर्धनका बारेमा अलग अलग व्यवस्था गरेको छ । सोहीअनुसार सङ्घमा क्षेत्राधिकार तोकेर तीनओटा प्रज्ञाप्रतिष्ठान रहने व्यवस्था गरेअनुसार हाल क्रियाशील छन् भने प्रदेश सरकारले पनि केहीले प्रज्ञाप्रतिष्ठान बनाएका छन् भने केहीले बनाउने प्रक्रिया अवलम्बन गरिरहेका छन् । स्थानीय निकायले पनि प्रज्ञाप्रतिष्ठानकै नामले संस्था स्थापना गर्ने गरेको पाइएको छ तर यस्ता निकायले सम्पादन गर्ने कामका बारेमा क्षेत्राधिकार तोक्ने काम भने कानुनतः कहीँ कतै भएको पाइँदैन । राज्यकै स्रोतबाट परिचालन हुने यस्ता सङ्घदेखि स्थानीय स्तरसम्मका निकायले गर्ने कामको पुनरावृत्ति नहोस्, राज्यको स्रोतको दुरुपयोग नहोस् भन्नाका लागि संविधानमा रहेको व्यवस्थाअनुसार नै केन्द्रले विशेष व्याख्या गरेर वा कानुन नै निर्माण गरेर क्षेत्राधिकार तोक्नु अति आवश्यक रहेको छ । हाम्रो संविधानको धारा ३२ मा भाषा साहित्यलाई मौलिक हकअन्तर्गत राखिएको छ त्यसैले प्रज्ञाप्रतिष्ठान बन्नु सकारात्मक भए पनि संस्थाको नाम पनि केन्द्रकै, पद पनि त्यही र संस्थाले गर्ने काम पनि एउटै हुनु मिल्दो हुँदैन । नेपाली समाजमा सद्भाव, मेलमिलाप, एकता कायम होस् भन्ने पक्षमा संविधानले परिकल्पना गरेको भए पनि एउटै नामबाट सङ्घदेखि स्थानीय निकायसम्म स्थापना गरिएका प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूले संविधानको उद्देश्यभन्दा पर गएर कार्यसम्पादन गरिरहेको देखिन आएको छ । सामुदायिक सिर्जनशीलताको संरक्षण र विकासका निम्ति, शोषण तथा विभेदको अन्त्य गर्ने कार्यमा अग्रसरता लिनेसमेतको उद्देश्यले गठन भएका यस्ता प्राज्ञिक साहित्यिक सङ्घसंस्थाहरूको कार्यक्षेत्र निर्धारण हुनु आवश्यक छ तर व्यवहारमा लागू गर्नसकिएको छैन । सर्वाधिक पुरानो ग्रन्थ ऋग्वेद होस् वा शुक्ल यजुर्वेद त नेपालमै लेखिएको मानिएको छ’जस्ता ग्रन्थहरूका आधारमा नेपालको प्राज्ञिक इतिहास पुरानो र ऐतिहासिक रहेको छ । कालिकोट, दैलेख आदि आदि ठाउँहरूमा पाइँने भव्य शिलालेखहरू पनि प्राज्ञिक उदाहरण हुन्÷छन् ।


ग्रिसका विद्वान एकाडेमसले आफ्नो घरबारी तथा पूmलबारीमा प्राज्ञिक उन्नयनका काम गरेका थिए पछि उनले त्यो सबै सम्पत्ति सरकारलाई दान दिएपछि प्लेटोले त्यही स्थानमा एकेडेमिया भन्ने संस्था खोले र त्यहाँ दर्शन, साहित्य आदिका बारेमा व्याख्या विश्लेषण गर्ने कार्य गराए । भारतमा स्वतन्त्रता क्रान्ति सफल भइसकेपछि जबाहरलाल नेहरुले भारतीय साहित्य एकाडमी बनाए । त्यसैको प्रभावले हुनसक्छ लक्ष्मीप्रसाद देवकोटाहरूले नेपालमा पनि एकाडमी स्थापनाको पहल गरे र बालचन्द्र शर्माको सहयोगमा राजा महेन्द्रसम्म कुरा पुर्याएर नेपाल साहित्य, कला एकाडेमी बन्यो र २०१४ सालमा आएर नेपाल एकेडेमीका रूपमा स्थापना गरियो । त्यही संस्था नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान भयो र २०६४ पछि तीनओटा प्रज्ञाप्रतिष्ठानका रूपमा हाल क्रियाशील रहेका छन् । यही नेपाल प्रज्ञाप्रतिष्ठानले गरेका वा यहाँबाट भएका काम नै अहिलेका नयाँ प्रज्ञाप्रतिष्ठानहरूले गरिरहेका छन् । कार्यालयको, पदको र कामको पुनरावृत्ति हुनुभन्दा बरु एउटै निकायमा स्रोत बढाएर विशिष्टीकृत काम गर्नु उपयुक्त हुन्छ, एउटै नाम र पद स्थानीय तहसम्म राखिनु उपयुक्त हुन्न । प्रदेश, स्थानीय तहमा अलग अलग नाम दिएर कार्यक्षेत्र तथा गर्नपाउने कामको अधिकारक्षेत्र निर्धारण गरेर क्रियाशीलता देखाउनु उचित हुन्छ, आवश्यक छ । स्थानीय सिपमा आधारित संस्कृतिको विकास गर्ने हो भने सिर्जनात्मक कामकै माध्यमबाट संस्था स्थापनाको सार्थकता प्रमाणित हुन्छ । यस्ता संस्थाको अनुगमन गर्ने निकाय खडा गरिनुपर्छ । त्यसैगरी निजी क्षेत्रका संस्थाहरूको पनि कामको प्रकृति हेरेर अनुगमन आवश्यक छ । साहित्यिक क्षेत्रमा लाग्दैमा महान् हुने होइन आचरण पनि उदाहरणीय हुनुपर्छ । अहिले प्रचलनमा रहेको घोस्ट राइटिङका कार्यमा समेत व्यवस्थापन हुनु जरुरी छ । हामी स्रष्टाले पनि आफ्ना सिर्जनाका माध्यमबाट आबाज उठाउनु जरुरी छ । जनस्तरको प्रज्ञाप्रतिष्ठानकै तहमा अत्यन्त सीमित स्रोतसधानको निजी व्यवस्थापनमा अविच्छिन्नरूपमा चार दशकदेखि चलिरहेको साहित्य सन्ध्याले आजको यो बहसमा अत्यन्त समसामयिक विषयलाई उठान गरेको हुँदा यो कार्य आफैँमा सराहनीय रहेको छ भन्नुभयो ।


विशेष समारोहमा पचासी वर्षीय ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, नर्मदेश्वरी सत्याल, पोषरमण चापागाईँ, गायत्रीकुमार चापागाईँ, बैरागी जेठा, ऋचा अधिकारी, खेमराज निरौला, नवराज श्रेष्ठ र उहाँका ७१ वर्षीय बुबा भवलाल श्रेष्ठ, उमेश उपाध्याय, ओमप्रसाद कोइराला, गोपालकुमार मैनाली, डा.मनोज जोशी, नीलहरि सुवेदी, बालकवि सोइना दाहाल, डा.षडानन्द पौड्याल, आर.सी.रिजाल, बलराम विष्ट, कल्पना अधिकारी भट्टराई, सोमनाथ दाहाल, थरेन्द्र बराल, जयन्ती स्पन्दन, प्रा.डा.देवी नेपाल, कुमार नेपाल, विधान आचार्य, वासुदेव अधिकारी र राम विनयले आआफ्ना कविता, गीत, गजल, हाइकु, नियात्रा वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै उपप्रा.ज्ञानु विद्रोहीले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको, सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा फरक फरक विषयवस्तु समेटिएका भए पनि एउटै भाव भएका कविता श्रवण गर्नपाइयो । ज्येष्ठ कविको कविताबाट थालनी भएको समारोह ज्येष्ठ कविकै कवितावाचनबाट टुङ्गिएको छ । कवितामा श्रमको सम्मान गर्नुपर्ने भाव अभिव्यक्त भएको छ । आत्मकथाका माध्यमबाट कवितामा खबरदारी गरिएको छ । पर्यावरणलाई र त्यहाँको जनजीवनलाई नियात्रामा उतारिएको छ । कवितामा जिम्मेवारीबोधको सन्देश सम्प्रेषण गरिएको छ । कवितामा आमाको महत्तागान गाइएको छ भने जननेता मदन भण्डारी र जीवराज आश्रितको सम्झना गर्दै सम्मान गरिएको छ । बाबुछोराका स्वस्पूmर्त कविताले ग्राम्य लोकजीवनको चित्रण गरेका छन् । परिवर्तनलाई संस्थागत गर्न गणितीय शैलीको उत्कृष्ट कविता आएको छ । कवितामा देशनिर्माणको सङ्कल्प अनि आशावादिता पनि सम्प्रेषित भएको छ । कवितामा वर्तमानको चित्र उतार्ने, बेथितिको उजागर गर्ने र रूपान्तरणको अपेक्षा गर्ने कार्य भएको छ । कविता कस्तो हुनुपर्छ भन्ने सन्देश पनि दिइएको छ । आँखा र यसले हेर्ने दृष्टिकोण उजागर गरिएको आँखा शीर्षकको बालकविता उत्कृष्ट रहेको छ । शब्दका इमानदार साधकहरू अजम्बरी हुन्छन् भन्ने शाश्वत भाव कवितामा आएको छ । अहिलेको समयको जीवन्त चित्र खिचिएको व्यङ्ग्य कविता आएको छ । सरल, सहज अनि श्रतिमधुर छन्दका कविता वाचित भएका छन् । कोदोजस्तो खाध्यान्नलाई विम्ब बनाएर दृष्टिकोण निर्माण गर्ने वर्गीय विभेदको चित्र खिचिएको छ । पहिचान भनेको कर्म हो भ्रममा पर्नु आवश्यक छैन भन्ने सशक्त सन्देश कवितामा सम्प्रेषण भएको छ । सङ्कल्प भनेको सफलताको बाटो हो भन्ने भाव कवितामा अभिव्यक्त भएको छ । प्रविधिको दुरुपयोगले मानवजीवन नै यान्त्रिक बनेको चिन्ताभाव पनि कवितामा अभिव्यक्त भएको छ । सही बाटो र वैचारिक गन्तव्यको पहिचानको आवश्यकता कवितामा औँल्याइएको छ । संसारको गौरव सगरमाथा हामीसँग हुँदाहुँदै पनि यसको महत्ताबोध नगरेको अनि त्यो शिखरबाट विश्व नियाल्ननसकिएको यथार्थ कवितामा अभिव्यक्त भएको छ । कवितामा मदन भण्डारी र जीवराज आश्रितको जीवन समाप्तिसँगै सङ्घर्ष, त्याग र बलिदानको समाप्तिको प्रयत्नका प्रति दुःख व्यक्त गरिएको छ । समग्रमा आजका कविताले समसामयिक यथार्थको उद्घाटन गरेका छन् र रूपान्तरणको ध्वन्यार्थ सम्प्रेषण गरेका छन् । हामी स्रष्टाले विचार र व्यवहारमा तादात्म्य राख्दै देखिएका समग्र बेथिति र विसङ्गतिमा रूपान्तरणका पक्षमा कलम चलाउनुपर्ने र अभिव्यक्तिमा कलात्मकता ल्याउनु भने आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा हामीले मदन भण्डारी र जीवराज आश्रितको नेपाली राजनीतिमा रहेको योगदानको स्मरण गरेका छौँ, सम्मान गरेका छौँ । हाम्रो निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । आज गरिएको बहस, सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । प्रमुख अतिथिले अत्यन्त विशद रूपमा परिचर्चा गरिदिनुभएको छ, म उहाँप्रति आभार व्यक्त गर्दछु । नेपाली जनजीवनको सुधार नभएसम्म र कार्यक्षेत्र निर्धारण गरी सङ्घसंस्थाको स्थापनाको औचित्य पुष्टि नभएसम्म प्राज्ञिक साहित्यिक सङ्घसंस्था स्थापनाले सार्थकता प्राप्त गर्दैन भन्ने यथार्थलाई आजको बहसले उजागर गरेको छ र वाचित कविताले पनि रूपान्तरणको सङ्केत गरेका छन् । सन्ध्याको ४५२ औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *