‘अविरल जनसाहित्य यात्रा–९९’मा अग्रज एवम् सशक्त प्रगतिवादी कवि डा.विदुर चालिसेका एक दर्जन कविता गुञ्जिए

जेठ १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९९ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व, साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा प्रा.डा.विदुर चालिसे का एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी अध्यक्ष भूमिका सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा सङ्घका सल्लाहकारद्वय प्रा.डा.जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, कविनायक प्रा.डा.विदुर चालिसे, राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी.न्यौपाने, डा.रमेश शुभेच्छु, पद्मा चालिसे, डा.रोजेन्द्रप्रसाद अधिकारी, नन्दु उप्रेती, डम्बर पहाडी, प्रभाती किरण, त्रिलोचन आचार्य, केशव चालिसे, डा.हरिप्रसाद सिलवाल, महासङ्घका संरक्षक प्रेमनाथ अधिकारीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक महासचिव डा.कृष्ण सुवेदीले कविनायकको परिचय दिनुहुँदै काठमाडौँको उत्तरी भाग आरुबारीमा जन्मेका कवि चालिसे ऐतिहासिक नेपाली भाषामा विद्यावारिधि गरेका भाषा विशेषज्ञ हुन् भने उनका दुई दर्जन नेपाली भाषा साहित्यका कृति प्रकाशित गरेका छन् भने दशओटा त कवितासङ्ग्रह नै प्रकाशित भएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय सेवा गरेर सेवानिवृत्त भएपछि अदालती प्रक्रियाबाट प्राध्यापक भएका चालिसेको कलम आख्यानमा बढी खारिएको छ । लघुकथाको अनुसन्धान गरेर सम्मानितसमेत भएका उनको लेखन कलात्मक रहेको छ र हाल पूर्णकालीन लेखकका रूपमा क्रियाशील रहेका छन् । हालै प्रगतिशील लेखक सङ्घ नेपालका लागि जग्गाप्राप्तिको प्रयत्नका निम्ति हदैसम्मको क्रियाशीलता देखाइरहेका छन् । अविरल जनसाहित्य यात्राको नयाँ, पुराना र समाज रूपान्तरणका लागि साहित्य सिर्जना गर्ने स्रष्टा चयन गर्ने अनि नयाँ तथा पुरानालाई मिसाएर प्रस्तुत गर्ने उद्देश्यअनुसार अहिलेको यो शृङ्खलामा कवि चालिसेलाई सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारीसमेत दिनुभयो ।
समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९९ औँ शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारीको देहावसानसमेत भइसकेको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत, सशक्त र प्रखर प्रगतिवादी स्रष्टा डा.विदुर चालिसेलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी यो समारोहलाई नै सभ्य र भव्य पारिदिनेगरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका अत्यन्त प्रखर एवम् कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक डा.विदुर चालिसेले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त क्रियाशील भइरहेको, सकेजतिको सक्रियता देखाइरहेको छु । राष्ट्रिय जनसांस्कृतिक मन्च हुँदाताकादेखि नै यो संस्थामा आबद्ध रहेको आपूm वर्तमानमा पनि यो सङ्घको केन्द्रीय सदस्य रहेको छु । काठमाडौँको काँठमा लुकेर साधनारत रहेको आपूmलाई कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता वाचन गर्ने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । भावनाको विशिष्ट अनुभूतिको अभिव्यक्ति कविता हो र कविको भावना निजी कुरा हो तर त्यसले समाजको चित्रण गरेको हुन्छ । प्रयोगवादभित्र प्रगतिशील चेत खोज्ने, राष्ट्रवादका पक्षमा लेख्नुपर्छ भन्ने लागेर, देशमा जतासुकै सालिक खडा गरिएको छ तर तिनको औचित्य पुष्टि हुनसकेको देखिँदैन भन्ने मनले मूल्याङ्कन गरेपछि, रोमका सम्राटहरूले आफ्ना दासलाई बोल्न लगाउने अनि सत्य बोलेपछि मार्ने प्रवृत्ति कतै न कतै हाम्रो मुलुकमा पनि देखिने गरेको अनुभूति भएपछि; श्रम अपहेलित भएको, परदेसिएको र रेमिट्यान्सले देश चलेको पीडाबोध भएपछि; सन १२९६ मा चीनबाट थाइल्यान्डको च्याङमाइ पुगेर युद्ध गरी भूमि जितेका विस्थापित राजाले त्यहाँको परिवेश देखेपछि बुद्ध भएको दृष्टान्तलाई नेपाली माओवादी राजनीतिसँग तुलना हुने अवस्था देखेर आपूmले कविता सिर्जना गरेको भन्ने रचनागर्भको पनि विस्तृत जानकारीसहित ‘के दिऊँ तिमीलाई ?’ ‘कविगोष्ठीको शिविरबाट’, ‘सालिकजस्तैलाई’, ‘दर्शकहरू’, ‘समवेदना ग्रन्थी र सन्दर्भ’ र ‘रोटी सेकाइरहँदा’ शीर्षकका छओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू सोमनाथ दाहालले ‘फुलिदिने लालुपातेसँग’, गोपालकुमार मैनालीले ‘आदर्श सुन्न गाउँतिर’, भवानी पाण्डेले ‘हिप्नोटिज्मको झ्याम्टा’, डम्बर पहाडीले ‘खामभित्रको प्रवास’, नमुना शर्माले ‘अल्छी गुराँसहरू’ र त्रिलोचन आचार्यले ‘च्याङमाइको डबलीमा’ शीर्षकका त्यस्तै सुन्दर, शालीन र अत्यन्त सशक्त वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा.रमेश शुभेच्छुले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९९ औँ शृङ्खलामा पुगेको छ । यो अभियानअन्तर्गतको आजको यो भव्य समारोहमा उपस्थित भएर अहिलेको समयका प्रखर, प्रगतिवादी स्रष्टा डा.विदुर चालिसेका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । नेपाली कविता, आख्यान लेखनमा सक्रिय रहेका डा.विदुर चालिसेको कविता सिर्जनायात्रा अलि बौद्धिक रहेको देखिन्छ । कविताको वर्तमान प्रवृत्ति वा उपभोक्तावादका बारेमा पनि छलफल हुनु आवश्यक छ । कवितामा मानवीय मूल्यको खोजी गरिएको, कोमलताको आग्रह गरिएको, कवितामा प्रयोगवाद देखिएको, कविता समसामयिक भए पनि प्रचलित अप्रचलित विम्बको प्रयोग गरिएको; ऐतिहासिक नेपाली भाषाको प्रयोगको आधिक्य रहेको, मोहन कोइरालादेखि बैरागी काइँलासम्मको प्रयोगवादी लेखन कवितामा देखिएको, विचार र विम्बका माध्यमबाट कवितामा कवि उपस्थित भएका, समाजवादी यथार्थवाद पनि अभिव्यक्त भएको, हेगेलको द्वन्द्ववाद र माक्र्सवादी दर्शनको प्रभाव कवितामा स्पष्ट देखिएको, रूपान्तरणको कतै न कतै सन्देश सम्प्रेषण भएको, स्रष्टाले लेख्ने भनेकै आफ्नै परिवेश हो भन्ने यथार्थलाई उजागर गर्दै मुलुकमा जसको पनि र जेको पनि सालिक राख्ने प्रवृत्तिको औचित्य खोजिएको, सहिदको बलिदान ओझेलमा परेको, ऊर्जाशील मान्छेको गाउँमा अभाव भएको, जनताको जीवनस्तर जस्ताको तस्तै रहेकोप्रति चिन्ताभाव व्यक्त गरिएको; बौद्ध दर्शन र गीताको दर्शनको समन्वयको खोजी गरिएको, गुराँसजस्तै मानवजीवन फुल्नुपर्ने अपेक्षा गरिएको, बहुअर्थी विम्बको प्रयोग गरिएको, गाउँ रित्तिएको मात्र होइन युवाको पसिना अर्काको भूमिमा सिञ्चित भएको अनि मुलुक रेमिट्यानसले चलेकोप्रति आक्रोशयुक्त चिन्ताभाव व्यक्त गरिएको छ । जुकाजस्ता महाजनको साम्राज्य गाउँमा अझै रहेको, परिवारसँगको विच्छेदले गाउँ जस्ताको तस्तै रहेको, पश्चिमा विम्बको प्रयोगसमेतका माध्यमबाट शासनसत्ताका विकृतिलाई उजागर गर्दै रूपान्तरणको अपेक्षा गरिएको छ । रोमका विम्ब तथा कुप्रवृत्ति पनि उल्लेख गरिएको छ । लेखक पनि, समालोचक पनि रहेका नेपाली भाषाका विज्ञ स्रष्टाका कविता भएकाले जटिल नै लाग्छन् । हरेक कविताले सन्देश दिनुको साथै बौद्धिक रहेका छन् । प्रयोगवादभित्र प्रगतिवादको खोजी गरिएको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय स्रष्टा डा.विदुर चालिसेलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट तर अलि दुर्बाेध्य भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर तर प्रचलित अप्रचलित विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वतृमान चित्र उजागर गर्दै अनुभुति र भोगाइलाई कवितामा उजागर गर्ने; सकेसम्म देखिन नखोज्ने र विद्रोहका स्वरलाई ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने अत्यन्त प्रखर शिल्पी हुन् । यिनै स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी असार महिनामा १०० औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेकी काभ्रेकी स्रष्टा भवानी पाण्डेलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *