‘अविरल जनसाहित्य यात्रा’को १०१औँ विशेष शृङ्खला सम्पन्न : कविनायक पारसनाथ आचार्यका दर्जन कविता वाचन

काठमाडौं, साउन १० गते — राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को १०१औँ विशेष शृङ्खला काठमाडौँको बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा एक भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा कविनायक पारसनाथ आचार्यका एक दर्जन कविताहरू वाचन गरिएका थिए।

कार्यक्रमको प्रमुख आतिथ्य त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेले गर्नुभएको थियो भने अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो। कोषाध्यक्ष गीता सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

उपस्थित विशिष्ट अतिथि:

आर.सी. न्यौपाने (महासचिव, महासङ्घ), प्रेमनाथ अधिकारी (निवर्तमान अध्यक्ष), कवि जगन्नाथ आचार्य, डा. देवी दुलाल क्षेत्री (अध्यक्ष, प्रलेस), डा. फणीन्द्रराज निरौला (युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान), खेमराज निरौला, चन्द्रप्रसाद न्यौपाने, रक्तिम लामा, शशीनाथ आचार्य, साधुराम नेपाल, रत्न उप्रेती, विदुर आचार्यलगायत थुप्रै स्रष्टाहरू।

कविनायक पारसनाथ आचार्यको परिचय

वि.सं. २०४२ माघ ६ मा सिन्धुपाल्चोकको इन्द्रावती–५, धुसेनीमा जन्मिनुभएका पारसनाथ आचार्य ‘प्रतीक्षाका पाइलाहरू’, ‘संवादात्मक छन्दयात्रा’ (संयुक्त सङ्ग्रह) र खण्डकाव्य ‘प्रवासको पीडा’का स्रष्टा हुनुहुन्छ। सानै उमेरदेखि साहित्य सिर्जनामा सक्रिय रहँदै विदेश जीवनका भोगाइ, सामाजिक विसङ्गति र वर्गीय असमानतालाई कवितामा जीवन्त रुपमा उतार्दै आउनुभएको छ।

वाचन गरिएका कविताहरू र समीक्षात्मक टिप्पणी

कविनायक आचार्यले प्रस्तुत गर्नुभएको ‘अहम् भुलेर एक भई’, ‘धमिरा छिरायौ’, ‘विवशता’ लगायतका कविता शास्त्रीय छन्दमा आधारित, सामाजिक यथार्थ झल्काउने र विद्रोही स्वर समेटिएका थिए। सहयोगी कविहरू दीनेश पाण्डे, शशीनाथ आचार्य, शारदा पराजुली, दिल कार्की, जमुना आचार्य, राजन आचार्य, र राधिका भण्डारीले पनि समसामयिक विषयवस्तुमा आधारित शास्त्रीय छन्दका कविता प्रस्तुत गरे।

प्रमुख अतिथि डा. न्यौपानेले कविताहरू सरल, सम्प्रेष्य, सशक्त विषयवस्तुयुक्त रहेको र युवा पुस्ताले सामाजिक सरोकारका विषयमा सशक्त ढंगले लेखिरहेका प्रसंशा गर्नुभयो। उहाँले भविष्यमा कविता सङ्ग्रह प्रकाशनको सुझावसमेत दिनुभयो।

समापन मन्तव्य

उपाध्यक्ष रमेश पोखरेलले कविनायकको रचनामा सामाजिक रूपान्तरणको स्पष्ट सन्देश, सरल विद्रोहको स्वर, ग्राम्य जीवनका जीवन्त चित्रण, आशावादी दृष्टिकोण रहेको उल्लेख गर्दै आभार प्रकट गर्नुभयो। अध्यक्ष सत्यालले ‘अविरल जनसाहित्य यात्रा’ अभियानले कीर्तिशेष भइसकेका विशिष्ट स्रष्टाहरूलाई समेत समेट्दै आएको बताउँदै आगामी भदौमा १०२औँ शृङ्खलामा झापाका स्रष्टा परशुराम परासरलाई प्रस्तुत गर्ने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *