‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ शृङ्खलामा भवानी खतिवडाका कविता वाचन

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले सञ्चालन गर्दै आएको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। कार्तिक १५ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित कार्यक्रममा उदयपुरकी प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता वाचन गरियो।

नेपाली छन्द कवितालाई समृद्ध बनाउने अभियानका अग्रणी प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव डा.कृष्ण सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी अध्यक्ष भूमिका सुब्बा विशिष्ट अतिथि तथा महासचिव आर.सी. न्यौपाने र वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

अध्यक्ष सत्यालले ‘अविरल जनसाहित्य यात्रा’ साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान भएको उल्लेख गर्दै प्रतिकूल परिस्थितिमा पनि स्रष्टाको कर्म अविरल रूपमा अघि बढ्ने बताउनुभयो। २०७० साल चैत्र १४ गते डा. मोदनाथ प्रश्रितबाट सुरु गरिएको यो अभियान हाल १०३ औँ शृङ्खलामा पुगेको जानकारी पनि उहाँले दिनुभयो।

कविनायक भवानी खतिवडाले आफ्ना कविताहरूको रचनागर्भबारे चर्चा गर्दै राष्ट्रप्रेम, सामाजिक विसङ्गति, प्राकृतिक सम्पदा, युवापलायन, छाउपडीजस्ता कुप्रथा र मूल्य–आदर्शको क्षयलाई कवितामार्फत अभिव्यक्त गरेको बताउनुभयो। कार्यक्रममा उहाँले मन्दाक्रान्ता, शार्दूलविक्रीडित, अनुष्टुप् लगायतका छन्दमा आधारित कविता वाचन गर्नुभयो।

कार्यक्रममा सहभागी अन्य कविहरूले पनि सामाजिक यथार्थ, राजनीतिक व्यङ्ग्य, मातृत्व, हिमाल र स्वाभिमानका विषयमा कविता प्रस्तुत गरेका थिए।

वाचित कवितामाथि टिप्पणी गर्दै प्रमुख अतिथि प्रा.डा. देवी नेपालले भवानी खतिवडाको साहित्यिक योगदान, छन्दमा पकड र सामाजिक चेतनाको प्रशंसा गर्नुभयो। उहाँले कविता समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै आशावादी दृष्टिकोणलाई अझ सबल बनाउनुपर्ने धारणा राख्नुभयो।

समारोहको समापन गर्दै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले कविनायक तथा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी मङ्सिर महिनामा हुने १०४ औँ शृङ्खलामा स्रष्टा गौरीबहादुर प्रधानलाई प्रस्तुत गरिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *