काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। मङ्सिर १३ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित समारोहमा सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा गौरी प्रधानका एक दर्जन कविता वाचन गरियो।
साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सञ्चालन महासचिव डा. कृष्ण सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा वासुदेव अधिकारी, डा. फणीन्द्रराज निरौला, प्राज्ञ सुलोचना मानन्धर, प्रा.डा. ध्रुवकुमार घिमिरे, पूर्व सचिव पुण्यप्रसाद न्यौपानेलगायत साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष सत्यालले ‘अविरल जनसाहित्य यात्रा’ साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान भएको उल्लेख गर्दै २०७० साल चैत्र १४ गते डा. मोदनाथ प्रश्रितबाट सुरु गरिएको यो अभियान १०४ औँ शृङ्खलामा पुगेको बताउनुभयो। कविता सुन्ने मात्र होइन, समीक्षा गरेर परिष्कारमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको उहाँको भनाइ थियो।
कविनायक गौरी प्रधानको परिचय गराउँदै डा. कृष्ण सुवेदीले उहाँ मानवअधिकार र बालअधिकारका क्षेत्रमा सक्रिय अभियन्ता, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य तथा विभिन्न सामाजिक संस्थाका संस्थापक भएको जानकारी दिनुभयो। प्रधानका अंग्रेजी भाषामा नेपाल चिनाउने पुस्तक र सयौँ बालगीत प्रकाशित तथा रेकर्ड भइसकेका छन्।
कविनायक प्रधानले कविता लेखनको पृष्ठभूमि स्पष्ट गर्दै सामाजिक विकृति, विभेद, सत्ता संरचनाका विसङ्गति, प्रकृतिप्रतिको बेवास्ता र युवापुस्ताको विद्रोह चेतनाले आफूलाई कविता लेख्न प्रेरित गरेको बताउनुभयो। कार्यक्रममा उहाँले ‘खाल्डोभित्रका खाल्डाहरू’, ‘बागमतीका विद्रोहहरू’, ‘सिंहदरवारको कथा’, ‘थरी थरीका चोरहरू’ लगायतका गद्यलयका कविता वाचन गर्नुभयो।
कार्यक्रममा सुशीला प्रधानाङ्ग, कुसुम थापा, कुमार भट्टराई, जोन झा र डा. सरोज धितालले पनि सामाजिक यथार्थ, राजनीति, धर्म, संघर्ष र रूपान्तरणका विषयमा कविता प्रस्तुत गर्नुभएको थियो।
वाचित रचनामाथि टिप्पणी गर्दै समालोचक प्रा.डा. ध्रुवकुमार घिमिरेले गौरी प्रधानका कवितामा सशक्त विम्ब, व्यङ्ग्य र वैचारिक गहिराइ रहेको उल्लेख गर्नुभयो। उहाँले कविताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्यालाई समेट्दै न्याय, श्रम र परिवर्तनको पक्षमा स्पष्ट आवाज उठाएको धारणा राख्नुभयो।
समारोहको समापन गर्दै उपाध्यक्ष रमेश पोखरेलले गौरी प्रधानलाई मानवअधिकार, बालअधिकार र सामाजिक रूपान्तरण अभियानमा समर्पित सशक्त स्रष्टाका रूपमा चित्रण गर्नुभयो। उहाँले पुस महिनामा आयोजना हुने १०५ औँ शृङ्खलामा स्रष्टा डा. सरोज धिताललाई प्रस्तुत गरिने जानकारी पनि दिनुभयो।
