साहित्य सन्ध्यामा ‘सीमा अतिक्रमण, राष्ट्रियतासँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौँ

असार ०६, २०७७

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४०६ औँ शृङ्खला असार ६ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।


वरिष्ठ कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति एवम् साहित्य सन्ध्याका परिकल्पनाकार तथा साहित्य सन्ध्या राजविराजमा सञ्चालन हुँदाका संस्थापक गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्राज्ञ डा.देवी नेपाल, कवि तथा समालोचक डा.भरतकुमार भट्टराई, प्रा.डा.खेमनाथ दाहाल, वरिष्ठ कवि विधान आचार्य, वरिष्ठ स्रष्टाहरू सीताराम नेपाल, डम्बर पहाडी ‘एलाक’ अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


सातै प्रदेशका कविहरूलाई उपस्थितिका लागि प्राज्ञ डा.देवी नेपालले संयोजन गरिदिनुभएअनुसार प्रदेश पाँचबाहेक अरू सबै प्रदेशका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार गोष्ठीमा बालकृष्ण लामिछाने इलाम, आभा सितु सिंह सप्तरी, शान्ति प्रिय बन्दना मकवानपुर, लक्ष्मी थापा पोखरा, सीता यरी सुर्खेत, जनक रसिक कञ्चनपुर महेन्द्रनगर, इन्दिरा दाहाल ललितपुर, गीता सापकोटा ललितपुर, दिव्यलक्ष्मी पोखरेल ललितपुर, जयन्ती स्पन्दन भक्तपुर, सीताराम नेपाल काठमाडौँ, ललिता दोषी काठमाडौँ, परशुराम पराशर काठमाडौँ, डम्बर पहाडी काठमाडौँ, डा.देवी नेपाल भक्तपुर, विधान आचार्य ललितपुर, प्रा.डा.खेम दाहाल काठमाडौँ, गङ्गाप्रसाद उप्रेती र राम विनयले आआप्mना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गर्नुभयो ।


वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्राध्यापक, कवि, समालोचक डा.भरतकुमार भट्टराईले आफैँमा एउटा रूपान्तरणको अभियान बनेको साहित्य सन्ध्याको नियमित मासिक शृङ्खलामा धेरै वर्षपछि संलग्न हुन पाएको; सन्ध्याको शृङ्खलामा पहिले पनि क्रान्ति, सङ्घर्ष र परिवर्तनका कविता वाचन हुने गर्दथे र आफैँमा यो एउटा रूपान्तरणको आबाज बुलन्द गर्ने इतिहास बोकेको संस्था हो । आज यो ४०६ औँ शृङ्खलामा पनि अधिकांश कवितामा वर्तमानमा देखिएका विकृति, विसङ्गतिको अन्त्य; भ्रष्टाचार, अतिक्रमण र हेपाइको अन्त्यका साथै सामाजिक रूपान्तरणको आग्रह गरिएको पाइन्छ । महामारीले संसारैलाई थिल्थिलो बनाएको वर्तमानमा पनि यस्तो प्रकारको सृजनात्मक गोष्ठी सम्पन्न गर्नु आफैँमा सकारात्मक छ । आज वाचित कविताहरूमा सुगौली सन्धिको पीडादायी इतिहासले अहिले पनि नेपाली मन आन्दोलित भइरहेको पक्ष उजागर गरिएको छ; सन्त्रास, पराधीनता, अतिक्रमण विरुद्धका सिर्जना आएका छन्; राजनीतिक नेतृत्वबाट जनअपेक्षा पूरा नभएको आक्रोश अभिव्यक्त गर्दै नेतृत्वले जनताका प्रश्नको उत्तर दिनुपर्ने आग्रह गरिएको छ; कवितामा आमा नै सम्पूर्ण हुन् र उनले दिने जस्तो शिक्षा कसैले दिनसक्तैन भन्दै आमाको महत्तागान गाइएको छ । समयसान्दर्भिक एलाक वाचन गरिएको छ र व्यङ्ग्यात्मक ढाँचाका उज्यालोका आशावादी कविता आएका छन् । गेयात्मक छान्दिक कवितामा देश र समाजको मुहार फेर्ने चाहना अभिव्यक्त भएको छ । आजका यावत विकृति र विसङ्गतिले पिल्सिएको मान्छेले सबै हिसाबले सचेत भएर देशहितमा समर्पित हुनुपर्दछ भन्ने आग्रह गरिएको छ । काला अरिङ्गालको सुन्दर विम्बका माध्यमबाट समाजका पीडकहरूको समूल अन्त्य नगरिँदासम्म दुःखी गरिबको हित हुँदैन र उनीहरूको पक्षको शासनव्यवस्था स्थापित गर्न पनि सकिँदैन भन्ने सन्देश सम्प्रेषण गरिएको छ । नारीहरू भनेका हेपिने र हेलाँ गरिने वस्तु होइनन्, उनीहरूको सम्मान गरिनुपर्दछ तर नारीहरू पनि जागरुक हुनुपर्दछ र अन्यायका विरुद्धमा उभिनुपर्दछ भन्ने दृढ वैचारिक कविता आएका छन् । छिमेकीको निर्लज्ज व्यवहार र समाजमा व्याप्त अन्धकार समाप्त पारेर उज्यालो ल्याउने आग्रह गरिएको छ । कोरोनाको कहरबाट उत्पन्न त्रासद अवस्था र शकुनि छिमेकीको निर्लज्ज व्यवहारको अनि कहिल्यै कुनै औषधिले निको नहुने भाइरस सावित भएको हेपाइको उपचारविधि नभेटिएको अवस्थाको जीवन्त चित्रण गरिएको छ । मान्छेको जीवनका अपेक्षा र प्राप्तिको तालमेल नमिलेपछि मोहभङ्ग भएको अवस्थाको चित्रण पनि गरिएको छ । जस्तासुकै चुनौती भए पनि भोग्ने र व्यहोर्ने, सामना गर्ने अनि जनचाहना पूरा गरेरै छाड्ने वैचारिक दृढता पनि बुलन्द गरिएको छ सँगसँगै भारतले हाम्रो मुल्ुकमा सिर्जना गरेको चक्रब्यूहभन्दा कठोर चक्रब्यूह हामीले सिर्जना गर्नुपर्ने आग्रह पनि गरिएको छ । कोरोनारूपी विश्वव्यापी महामारी सिर्जना हुनुमा प्रकृतिको विरुद्धमा मान्छे हिँड्नुको कारण पनि रहेको छ त्यसैले प्राकृतिक जीवन जिउनुपर्छ भन्ने आग्रह पनि कवितामा गरिएको छ । प्रविधिका माध्यमबाट एकदमै टाढा टाढा रहेर पनि गोष्ठीमा हामी जोडिएका छौँ । कुनै वेला प्रविधिले धेरै साथ नदिएर राम्ररी सुन्न पनि सकिएको छैन तापनि सुनेकै भरमा मैले मलाई लागेको धारणा व्यक्त गर्दा सबैलाई न्याय नहुन पनि सक्छ, त्यसका लागि क्षमा चाहन्छु साथै साहित्य सन्ध्याले गरेको आजको यो गोष्ठी निकै गुणात्मक र व्यवस्थित रहेको छ र यसमा उपस्थित भएर वाचित सिर्जनामाथि टिप्पणी गर्ने अवसरका लागि धन्यवाद दिन्छु भन्नुभयो ।


प्रमुख अतिथि माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले महामारीका कारणले सामूहिक गोष्ठी गर्न नै नसकिने वर्तमानमा प्रविधिको सुन्दर संयोजनका माध्यमबाट छओटा प्रदेशका कविहरूलाई उपस्थित गराई गुणात्मक गोष्ठीको आयोजना भएकोमा हार्दिक धन्यवाद दिन्छु । सबै वाचित सिर्जनामाथि अत्यन्त मसिनो र प्रेरणादायी समीक्षा डा.भरतकुमार भट्टराईले गरिदिनुभएकोमा उहाँलाई पनि हार्दिक धन्यवाद छ । निरङ्कुश पञ्चायती व्यवस्थाको कालखण्डमा नेपाली भाषासाहित्यको जगेर्नाको उद्देश्य राखेर २०३३ सालमा राजविराजमा थालनी गरिएको साहित्य सन्ध्या २०३९ सालदेखि काठमाडौँमा सामाजिक रूपान्तरण गर्ने वैचारिक अभियानको रूपमा अगाडि बढेको हो र आजसम्म निरन्तर आफ्नो अभियानमा समर्पित हुनु चाहिँ यसको उल्लेख्य उपलब्धि हो । वर्तमान नेपाली प्रगतिवादी साहित्यकारहरू प्रायः सबै यो साहित्य सन्ध्याको अभियानमा कुनै न कुनै रूपमा जोडिनुभएको छ त्यसैले सामाजिक रूपान्तरणको यो अभियान आफैँमा इतिहास बनेको हुनाले यो अभियानका सम्बाहक साथीहरूलाई धन्यवाद दिन्छु । त्यसैगरी यो अभियानले संस्थागत रूप लिएर वार्षिक पुरस्कार अर्पण गर्नेव्यवस्था गरिरहेको छ । साहित्य सन्ध्या जस्तै विभिन्न खाले संस्थागत अभियानहरूको योगदानले अहिलेको अवस्था निर्माण हुनसकेको हो । प्रविधिको सुन्दर र व्यवस्थित प्रयोग अर्काे खुसीको कुरा बनेको छ । त्यही प्रविधिको प्रयोगका माध्यमबाट सन्ध्याको मासिक यो शृङ्खलालाई राट्रियस्तरको बनाइएको पक्षलाई पनि हार्दिक बधाई छ । अहिले छिमेकीद्वारा हाम्रो अखण्डतामा चुनौती दिने दुष्कार्य भएको छ एकातिर भने त्यस चुनौतीका विरुद्धमा राष्ट्रिय एकताको परिस्थिति पनि निर्माण भइरहेको छ । हामी नेपालीले योभन्दा चुनौती सामना गर्नुपर्ने अवस्था पनि आउनसक्छ त्यसैले स्रष्टाहरूले जनताको मनोबल उच्च पार्ने, मनोवैज्ञानिक ढाडस दिने, उज्यालोको पक्षमा वकालत गर्ने, विकृति र विसङ्गतिको शालीनतापूर्वक विरोध गर्ने सिर्जना गर्नु आवश्यक रहेको हुँदा त्यतातर्फ ध्यान जाओस् । साहित्य सन्ध्याको यो लामो र इतिहास बनेको अभियान अझ सशक्त बनोस्, हार्दिक शुभकामना दिन्छु भन्नुभयो ।


साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री दोस्रो गोष्ठीमा छओटा प्रदेशका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । छओटा प्रदेशका कविहरूलाई जुटाउन प्राज्ञ डा.देवी नेपालले संयोजन गरिदिनुभएको छ । अझ उपाध्यक्ष रमेश पोखरेलको प्रविधि राम्ररी सञ्चालन नभएका कारण केही स्रष्टाहरू जोडिन नपाउनुभएको खबरले दुःखी बनाएको छ र हामी क्षमायाचना पनि गर्दछौँ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिन चाहन्छु । आज वाचित रचनाका बारेमा प्राध्यापक, कवि, समालोचक डा.भरतकुमार भट्टाईले अत्यन्त मसिनोगरी प्रेरणादायी एवम् प्रभावकारी टिप्पणी गरिदिनुभयो । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्धमा, राष्ट्रवादका पक्षमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर पायौँ । आज उपस्थित प्रमुख अतिथि, सबै अतिथि, स्रष्टा र सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.