नारायण परिश्रमी (पोखरा)को व्यङ्य सङ्ग्रह ‘पाखण्डको पर्दाफास’ लोकार्पित

मितिः २०७०।१०।२५
रमेश पोखरेल

माघ २५ गते शनिवार अपराह्न २ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको घटक सङ्गठन ‘जन साहित्यिक मञ्च, नेपाल’का केन्द्रीय उपाध्यक्ष नारायण परिश्रमी (पोखरा)द्वारा लिखित व्यङ्ग्य सङ्ग्रह ‘पाखण्डको पर्दाफास’को लोकार्पण तथा परिचर्चा कार्यक्रम राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा सम्पन्न भयो ।

जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षता तथा रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहको प्रमुख अतिथि राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई हुनु हुन्थ्यो भने अतिथिहरूमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ विष्णु प्रभात, महासङ्घका महासचिव राजेश थापा, प्राज्ञ कविता आले, महासङ्घका सचिव द्वय प्रेम अधिकारी र कृपाराम धमला, जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष तथा व्यङ्ग्य कृतिका लेखक नारायण परिश्रमी, महासचिव विनोद मञ्जन, कोषाध्यक्ष यशोदा अधिकारी, केन्द्रीय सदस्य गायत्री लम्साल, महासङ्घका सह कोषाध्यष जङ्ग पहाडी हुनु हुन्थ्यो ।

समारोहका अध्यक्ष राम विनयले प्रमुख अतिथि खगेन्द्र राई, अतिथिहरू प्रा.डा.जीवेन्द्र देव गिरी र प्राज्ञ विष्णु प्रभातलाई खादार्पण गरी स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि खगेन्द्र राईले व्यङ्ग्यकार नारायण परिश्रमीको हास्यव्यङ्ग्य सङ्ग्रह ‘पाखण्डको पर्दाफास’को लोकार्पण गर्नु भयो । लोकार्पित कृतिका बारेमा प्रा.डा.जीवेन्द्र देव गिरीले चर्चा गर्नु हुँदै ‘पाखण्डको पर्दाफास’ गद्य र पद्यको मिश्रित रूप रहेको, एक दर्जन सङ्घसंस्थामा क्रियाशलि रहेका र पौने दर्जन विभिन्न विधाका कृतिको रचना गरि सकेका परिश्रमीको परिष्कृत कलमले यस सङ्ग्रहमा विषयको विविधता अवलम्बन गरेको, ‘प’ वर्णको पुनारवृत्तिका माध्यमबाट पाठकलाई नौलो, आफ्नै खालको र आफ्नै पाराको स्वाद चखाउने प्रयत्न भएको; फरक सन्दर्भका कुरा ल्याएर पुछारमा अर्थात् निष्कर्षमा प्रगतिशील बान्की दिन सक्नु परिश्रमीको विशेषता देखिएको; राजनीतिले नपाली समाजमा पारेको नकारात्मक प्रभाव, ढोँग, आडम्बर, पाखण्ड तथा समाजिक विकृति एवम् विसङ्गति, शिक्षण संस्थामा देखिएका, प्रहरी, प्रशासनमा देखिएका, राजनीतिक पार्टीका ठालुहरूमा देखिएका, यौन दुराचारका, शासकीय उद्दण्डताका, राजनीतिमा भएको पैसाको चल खेलका यावत् विसङ्गति उजागर गर्ने, उछितो काड्ने र रूपान्तरणको सन्देश प्रवाह गर्ने काम परिश्रमीले एकै पटक गरेका; ‘प’ अक्षरका चयनका लागि नेपाली र अङ्ग्रेजी शब्दको छनोट भएको र अन्ततः पुँजीवादलाई पाखण्डको सङ्ग्या दिई त्यसको अन्त्यको आग्रह उनका रचनाले गरेको पाइएको; आफूले जीवनमा खाएका ठक्कर, हण्डर, जागिर खोसिएर सङ्घर्ष पूर्ण जीवन बाँच्नु परेको अवस्था समेतको चित्रण गर्दै धैर्यताका साथ सङ्घर्ष गर्दै अगाडि बढेमा सफलता प्राप्त हुने निष्कर्ष तथा सन्देश उनका रचनाले सम्प्रेषण गरेका छन् । साथै लेखकले आफ्नो काव्यिक क्षमतालाई काव्यात्मकताकै हिसाबले मिहिनेतका साथ अगाडि बढाउनु पर्ने अवस्था पनि रहेको सुझाब सहितको धारणा राख्नु भयो ।

प्राज्ञ विष्णु प्रभातले तत्कालै परिश्रमीका केही रचना पढी ‘प’ वर्णको प्रयोग गरी नौलो प्रयोगकै रूपमा लेखिएको कृति तथा कृतिकारलाई ‘प’ वर्णमै लेखिएको शुभ कामना दिनु भयो ।

प्रमुख अतिथि खगेन्द्र राईले साहित्य, सङ्गीत, कला भनेको नै प्रयोगको उच्चतम अवस्था हो । यस सङ्ग्रहमा पनि ‘प’ वर्णको प्रयोग गरिएको पाइयो । यस्तो प्रयोगले सफलता पाइ रहोस् भन्दै लेखकलाई शुभ कामना दिनु भयो । कृतिका लेखक नारायण परिश्रमीले ३९ वर्षसम्म आफूले अध्यापन कार्य गर्दा र समाजमा देखिएका विकृति तथा विकृतिका बारेमा खुलेर विरोध गर्दा ५–६ पटक निकालिनु परेको र सङ्घर्ष गर्नु परेको हुँदा आफ्ना रचनामा ती पक्ष प्रतिध्वनित हुने भएकाले कृति पढी पाइएका कमी कमजोरीका बारेमा सुझाब दिन आग्रह गर्नु भयो । सभाध्यक्ष राम विनयले मञ्चका उपाध्यक्ष नारायण परिश्रमी पोखरामा रहेर सामाजिक सांस्कृतिक रूपान्तरण अभियानमा क्रियाशील हुनु हुन्छ । उहाँको पछिल्लो कृतिका बारेमा जन साहित्यिक मञ्चले आजको यो लोकार्पण तथा परिचर्चा कार्यक्रम राखेको हो यस कार्यक्रममा हाम्रो निम्तालाई स्विकार गरेर आइ दिनु हुने सबैलाई हार्दिक धन्यवाद भन्दै कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *