‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ बाट पाँच स्रष्टा सम्मानित

रमेश पोखरेल, काठमाण्डु

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१९ औँ शृङ्खला भदौ १२ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी पाँचजना स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापनमा सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा विशिष्ट अतिथि अमृत योञ्जन–तामाङ प्रविधिको गडबडीका कारण जोडिन सक्नुभएन भने अतिथिका रूपमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, डा.मदनप्रसाद सत्याल, नर्मदेश्वरी सत्याल, डा.शेषराज आचार्य, डा.राजेन्द्रप्रसाद अधिकारी, कवि अनिता लामा, नियात्राकार प्रतीक ढकाल, शिक्षासेवी एवम् समाजसेवी तिलबहादुर कार्की, प्रा.केशव सुवेदी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.जया सत्याल, प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, प्राज्ञ नमुना शर्मा, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, झापाका वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, डा.हरिप्रसाद सिलवाल, अग्रज स्रष्टाहरू गोपाल बराल र डम्बर पहाडी उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याको कार्य समितिले उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी रहेको तीन सदस्यीय ‘स्रष्टा चयन समिति’ निर्माण गरेको र त्यस समितिले गरेको सिफारिसका आधारमा साहित्य सन्ध्याले पाँचजना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको हुँदा स्रष्टा चयनका आधार तथा रु.१५,०००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्राप्त गर्नुहुने अनिता लामा र रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्राप्त गर्नुहुने डा.राजेन्द्रप्रसाद अधिकारीको व्यक्तित्वका बारेमा रमेश पोखरेलले प्रकाश पार्नुहुँदै सिर्जनाका माध्यमबाट, सङ्गठन, समाजसेवा, जनपरिचालन आदि सबै क्षेत्रका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा होमिएकी, अत्यन्त क्रियाशील कवि अनिता लामालाई छान्ने निष्कर्षमा पुगिएको हो । त्यसैगरी सिर्जनाकै माध्यमबाट सामाजिक रूपान्तरण अभियानका अभियन्तासमेत रहनुभएका, पारिजात स्मृति केन्द्रका संस्थापक महासचिव एवम् परिपक्व व्यक्तित्व हुनुका साथै साहित्य सन्ध्याले यो वर्षभरि जुमका माध्यमबाट आयोजना गरेका गोष्ठीमा सबैभन्दा बढी सहभागी हुनुभएका डा.राजेन्द्रप्रसाद अधिकारीलाई अभिलेखका आधारमा ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’का लागि छनोट गरिएको धारणा राख्नुभयो ।


साहित्य सन्ध्याका सल्लाहकार एवम् स्रष्टा चयन समितिका सदस्य विधान आचार्यले रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित व्यक्तित्व डा.शेषराज आचार्यका बारेमा प्रकाश पार्दै आयुर्वेदाचार्यका रूपमा एकचालिस वर्ष लामो नेपाल सरकारको र नेपाली जनताको सेवा गरी अहिलेको ७८ वर्षको उमेरमा पनि जनताको स्वास्थ्य राम्रो पार्ने अभियानमा लागिरहेका आचार्यले नेपाली साहित्यको सेवासमेत गरी तीनओटा कवितासङ्ग्रह लेख्नुभएको, जनतालाई निरोगी पार्ने कर्ममा जुटिरहनुभएको हुँदा सम्मानलायक व्यक्तित्व भएको धारणा राख्नुभयो । त्यसैगरी रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ पुरस्कार तथा सम्मान’द्वारा सम्मानित नियात्राकार प्रतीक ढकालको व्यक्तित्वको बारेमा प्रकाश पार्दै नेपाली साहित्यमा कविता र नियात्राका डेढ दर्जन कृति प्रकाशित गर्नुभएका, साझा प्रकाशनबाट उत्कृट लेखकको सम्मान पाउनुभएका, अमेरिकामा र भारतको आसाममा पाठ्यक्रममा उहाँका कृति राखिएका, त्रिभुवन विश्वविद्यालयले पनि सम्मानित गरेको, एक दर्जनभन्दा बढी संस्थामा सक्रिय सहभागी भई क्रियाशलिता देखाइरहनुभएका, विचार र कलाको सुन्दर संयोजन गरेर लेख्ने र संसारलाई नेपालका हिमाल चिनाउने, नेपाल चिनाउने उत्कृष्ट स्रष्टा भएकाले सम्मानलायक रहनुभएको धारणा राख्नुभयो ।


साहित्य सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित तिलबहादुर कार्कीको व्यक्तित्वका बारेमा प्रकाश पार्दै जन्मिदै अपाङ्ग जन्मिएका, गाउँघरमा अत्यन्तै हेलाँहोचोमा परेका, ८–९ वर्षकै उमेरमा मर्न नै भनेर हिँडेका र विष सेवनसमेत गरेका तर नमरेका, पाँचथरबाट झापा हुँदै काठमाडौँमा आएर होटलमा भाँडा माझेर, आर्यघाटमा काम गरेर र मागेर पैसा जम्मा पारे पनि आबारा केटाहरूले लुटिदिने गरेकाले एउटा रुखमा खाल्डो खनेर लुकाउने गरेको र निकै वर्षपछि हेर्दा त पैसा नै सडिसकेका, २०५८ सालको दरबार हत्याकाण्डमा आर्यघाटमा पैसा छरेको देख्दा बल्ल रु.५।– र १०।– को नोट देखेका, लगातार पच्चिस वर्षसम्म पैसा जम्मा पार्दा धेरै सडे पनि पाँच लाख रुपैयाँ जम्मा भएपछि अब चैँ केही गर्नुपर्छ भन्ने सोचेर काठमाडौँको गोकर्णमा अनाथ बालबालिकाको शिक्षादीक्षा र पालनपोषणको काम गर्ने उद्देश्यका साथ ‘संयुक्त अपाङ्ग एकता आबाज केन्द्र’ स्थापना गरी हाल ४८ जना बालबालिकाको भविष्यनिर्माणमा लागिरहनुभएका कार्कीलाई मर्यो भनेर घरमा धागोले बाँधेर चिठी पठाइदिएकाले घरमा काजक्रियासमेत गरेको मर्मान्त पनि आपूm जिउँदै हुँदा भोगेका व्यक्तित्व रहनुभएको तर अत्यन्त उत्साहका साथ आफ्नो उद्देश्यमा समर्पित हुँदा अहिले उहाँले गरिरहनुभएको सत्कर्म ज्यादै नै अनुकरणीय रहेको धारणा राख्नुभयो ।


सम्मानित व्यक्तित्व अनिता लामाले जीवनमा पहिलोपटक यसरी आफ्नो मूल्याङ्कन साहित्य सन्ध्याले गरेर सम्मान गरेकोमा व्यक्त गर्नै नसक्ने खुसी लागेको छ । अहिले म सानैमा २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनाका लागि सडकमा कुद्दा चप्पलको फित्ता छिनेको सम्झिरहेकी छु, अभावग्रस्त त्यो जिन्दगी सम्झिरहेकी छु, आफैँ बाँँच्न गारो भइरहेको वेलामा अरूलाई बचाउनुपर्छ भनेर सम्झाउने बाआमाको भनाइ सम्झिरहेकी छु । मनमा लागेको कुरा भन्नुपर्छ, लेख्नुपर्छ भनेर प्रेरणा प्रदान गर्ने गुरुहरूको सन्देश अनि पढाइमा भन्दा लेखाइतिर ध्यान दिएको भनेर लेखेको कापी च्यातिदिने गुरुआमाहरूलाई पनि अहिले सम्झिरहेकी छु । विचारले सङ्गठनतर्फ आकर्षण गरेको र सङ्गठन निर्माण, जनपरिचालनमा सक्रिय भएको अनि त्यतिखेर पाएको दुःख सबै आजको यो सम्मानले बिर्साइदिएको छ । जीवनमा जताततै गर्नुपरेका सङ्घर्षलाई विचारको सहायताले काम गर्दै जाँदा थप काम गर्ने हौसला र प्रेरणा प्राप्त गरेकी हुँ तर मेरो लेखनी र आपूmले गरेको कर्म त सामान्य हो भन्ने ठानेकी थिएँ, परबाट पनि तपाईँहरूले हेर्नुभएको रहेछ र मेरो काम पनि सम्मानलायक छ भन्ने ठानेर पुरस्कृत गरेको देख्दा चाहिँ सामाजिक रूपान्तरणको अभियानमा लाग्दा अरूले पनि मूल्याङ्कन गर्दारहेछन् भन्ने लागेको छ । त्यसमा पनि साहित्य सन्ध्याजस्तो इतिहास निर्माण गरेको, सामाजिक रूपान्तरणको अभियान हाँकेको आफैँमा सम्मानित संस्थाले पुरस्कारयोग्य ठानेकोमा चाहिँ ज्यादै नै गौरवबोध भएको छ, म हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो ।


सम्मानित व्यक्तित्व डा.राजेन्द्रप्रसाद अधिकारीले आपूmले कविता सुनाएर र अरूका कविताको आस्वादन गरेर पनि सम्मानित भएकोमा र ऐतिहासिक संस्थाले सम्मानित गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो । अर्का सम्मानित व्यक्तित्व डा.शेषराज आचार्यले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान थालेको सम्मानित संस्थाले साहित्य सिर्जना गर्ने स्रष्टालाई सम्मान गर्ने पवित्र उद्देश्य आफैँमा अनुकरणीय छ । यस्तो संस्थासँग सहकार्य गरी पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिने व्यक्तित्वहरू अनुकरणीय हुनुहुन्छ । मलाई सम्मान गर्नलायक ठानेर सम्मान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु र यो पुरस्कारको रकमले साहित्यकै कृति प्रकाशन गर्ने बाचा गर्दछु भन्नुभयो । अर्का सम्मानित स्रष्टा नियात्राकार प्रतीक ढकालले पर बसेर लेख्ने, चर्चामा आउन नखोज्ने तर आफ्नो लेखनकै माध्यमबाट बाँच्न सकिने रहेछ भन्ने जीवन भोगाइ रहेको मजस्तो व्यक्तिलाई पनि खोजेर सम्मान गरेकामा साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु । मेरो लेखनको उद्देश्य भनेको विदेशीले भन्दा हामी नेपाली भाषा बोल्नेले नै हाम्रा कृति पढनुपर्छ, हामीलाई चिनाउने हिमालले नै हो, विश्वका १४ ओटा अग्ला हिमालमध्ये आठवटा हामीकहाँ छन् तर हामीले हामीसँग भएका कुराको जानकारी राखेनौँ ! हिमालमाथि नै लेखिएका मेरा दशवटा किताब प्रकाशित छन्, जसलाई संसारले पढेको छ, पढिरहेको छ । अब हामीले तलका बालबालिकालाई हिमाल चिनाउनु आवश्यक छ । अग्ला हिमालको सङ्गतले लेख्न बाध्य बनायो र त्यही लेखनी तपाईँहरूको मूल्याङ्कनमा परेकोमा खुसी लागेको छ, थप जिम्मेवारी बोध भएको छ, फेरि धन्यवाद दिन्छु भन्नुभयो ।


परिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमिले साहित्य सन्ध्याका कार्यक्रममा उपस्थित हुँदा मलाई अहिले पनि २०३९÷४० सालको सम्झना हुन्छ । सन्ध्याका कार्यक्रममा पारिजात उपस्थित भएर आफ्ना कविता भन्ने, अरूका सुन्ने र परिमार्जनका लागि प्रोत्साहित गर्ने काम पारिजातले गर्नुभएको सम्झना हुन्छ । पारिजात अलग्गै विचार बोक्ने भए पनि साहित्य सन्ध्यालाई साझा थलो ठान्नुहुन्थ्यो त्यसैले पारिजात पनि सबै प्रगतिशलि स्रष्टाकी साझा व्यक्तित्व हो, कसैले पनि सङ्कीर्णता राख्नु आवश्यक छैन । साहित्य सन्ध्याले आफ्नो अभियानलाई यति लामो समयसम्म निरन्तरता दिइरहेको कार्य पनि निकै अनुकरणीय छ । आज सम्मानित हुनुहुने पाँचैजना स्रष्टालाई हार्दिक बधाइ दिन्छु भन्नुभयो ।
प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले हामीले नेपाली भाषा बचाऊ अभियानको रूपमा राजबिराजमा २०३३ सालमा स्थापना गरेको साहित्य सन्ध्या त्यहाँबाट हामी तथा विद्यार्थी काठमाडौँ सरेपछि सामाजिक रूपान्तरणको साहित्यिक वैचारिक अभियानका रूपमा उद्देश्यमूलकढङ्गले अगाडि बढेको, लेखनको कार्यशालाका रूपमा स्थापित भएको, पुरस्कार दिने संस्थाका रूपमा चिनिएको, प्रकाशन संस्था बनेकोमा मलाई औधि खुसी लागेको छ । अहिले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिरहरको यो संस्थाले सम्मान गर्ने प्रतिभाको राम्रो मूल्याङ्कन गरेर सम्मान गर्ने परिपाटीको विकास गरेको छ । पारदर्शी तरिकाले स्रष्टा चयन गर्ने र सम्मान गर्ने परम्पराको विकास गरेको हुँदा आज सम्मानित हुनुभएका पाँचैजना स्रष्टालाई हार्दिक बधाई दिन्छु । पुरस्कारलाई व्यवस्थित पार्न र साहित्य सन्ध्याले चलाइरहेको अभियानलाई थप निरन्तरता दिन अक्षयकोषको स्थापना गर्ने, अभियानलाई साथ र सहयोग दिने व्यक्तित्वहरू अत्यन्तै उदाहरणीय हुनुहुन्छ । संस्थालाई मन र कर्मले सक्षम बनाउनुपर्छ भन्ने सोच नै ज्यादै सकारात्मक छ, बन्दनीय छ । यो संस्था यसरी यति लामो समयसम्म अभियानका रूपमा नेतृत्वदायी संस्था बन्ला र फस्टाएर जाला भन्ने त स्थापनाकालमा सोचिएको थिएन तर एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मुलुकमा चिनियाँ कम्युनिस्ट पार्टीले हुर्काएको वा गरेको सांस्कृतिक क्रान्तिको प्रभाव परेको पाइन्छ । समयक्रममा केही विचलन आए पनि समुन्नत चिनियाँ राज्य बनेकाले त्यसको सकारात्मक प्रभाव र चेतना हामीमा पनि परेको छ । अहिले महामारीले ल्याएको सङ्कटकै वेलामा पनि हामी देशभरबाट जोडिएका छौँ । सकारात्मक सोचका साथ थालिएको कार्यक्रमले अभियानको रूप लिनु र आफैँमा ऐतिहासिक संस्था बन्नु हामी सबैका लागि गौरवको कुरा हो । यो अभियानमा लाग्दा धेरैले सहादत प्राप्त गरिसक्नुभएको छ, उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । म जहिले पनि यो संस्थाका कार्यक्रममा उपस्थित हुँदा इतिहास सम्झिन्छु र संस्था आफैँ ऐतिहासिक बनेको र सत्कर्ममय अभियानको नेतृत्व गरिरहेकोमा गौरवान्वित हुन्छु भन्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि माननीय कुलपतिज्यू, अतिथिज्यूहरू, सम्मानित स्रष्टाहरू, सबैमा हार्दिक आभार व्यक्त गर्दछु । पारिजात सम्पूर्ण प्रगतिशील जनताकी कवि हुन् । पारिजातको प्रेरणा साहित्य सन्ध्याले आजपर्यन्त ग्रहण गरिरहेको छ । अग्रजहरू श्यामप्रसाद, जनकप्रसाद हुमागाईँ, केवलपुरे किसान, गोविन्द भट्टलगायतको यो संस्थामा विशेष योगदान रहेको छ । साहित्य सन्ध्याले सम्मान गरेका जनगायक जेबी टुहरे र पूर्ण वैद्यको हालै निधन भएकोमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ साथै वरिष्ठ प्रगतिवादी स्रष्टा आनन्ददेव भट्ट विरामी परी अस्पताल भर्ना हुनुभएको हुँदा उहाँको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरन्छ । फेरि हामी अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *