प्रगतिवादी कवि टङ्क उप्रेतीको एकल कविता वाचन सम्पन्न

माघ १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को सानो सभाकक्ष, जमलमा जन साहित्यिक मञ्च, नेपाल र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा विगत तिन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३३ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी कवि टङ्क उप्रेतीका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त उद्देश्यमूलक विशेष समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव विनोद मन्जनले गर्नु भएको थियो । वरिष्ठ साहित्यकार, भाषाविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू नर्मदेश्वरी सत्याल, मातृका पोखरेल, सांस्कृतिक संस्थानका निमित्त महाप्रवन्धक प्रभाकरदेव शर्मा, समालोचक डा.षडाानन्द पौड्याल, सांस्कृतिक संसथानका अध्यक्ष उद्योग राई, प्राज्ञहरू उदय श्रेष्ठ, शान्तकुमार राई र सानु पहाडी, वरिष्ठ कविहरू वासुदेव अधिकारी, अनिल पौडेल, नरेश शाक्य, पूर्ण विराम र आर.आर.चौलागाईँ, अग्रज छन्दकवि डा.देवी नेपाल, साहित्यकार भगवानचन्द्र ज्ञवाली, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकार डम्बर पहाडी, कलाकारहरू मुकेश श्रेष्ठ र उत्तर राई लगायत उपस्थित हुनु हुन्थ्यो ।

16298954_836339243173959_4363966994992475644_n

हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको तेत्तिसौँ शृङ्खला सञ्चालन गर्न लागिएको जानकारी विनोद मन्जनले दिनु भयो । यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरि दिन गरिएको अनुरोध स्वीकार गरी आइ दिनु भएका वरिष्ठ साहित्यकार, भाषाविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीलाई सभाध्यक्ष राम विनयले खादा लगाइ दिएर सम्मान गर्नु भयो अनि प्रमुख अतिथिले समारोहका कवि नायक टङ्क उप्रेतीलाई माल्यार्पण गरी सम्मान पत्र अर्पण गरी सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरू आर.एम.डङ्गोल, प्रकाश सिलवाल, ठाकुर बेलबासे, प्रोल्लास सिन्धुलीय र रिता खत्रीलाई अतिथि आसन गराइयो ।
समारोहका कवि नायक टङ्क उप्रेतीको व्यक्तित्वमाथि प्रकाश पार्नु हुँदै जन साहित्यिक मञ्च नेपाल, काव्य विभागकी संयोजक डा.विन्दु शर्माले वि.सं.२०२८ सालमा जन्मिएका कवि उप्रेती मूल रूपमा कवि र निबन्धकार हुन् । उनका ‘अनुभूतिका अक्षरहरू’, ‘शब्दहरूको नेपथ्य’, ‘गजुर पग्लिएर’ र ‘निगुरोको खरानी’ कविता सङ्ग्रह प्रकाशित भएका छन् भने ‘खण्डित सपनाको गीत’ निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । त्यसै गरी सञ्चार सम्बन्धी दुई ओटा पुस्तक पनि प्रकाशित भएका छन् । सचारकर्मी भएका कारण यसै क्षेत्रमा विद्यावारिधि गरि रहेका स्रष्टाका कविता सङ्ग्रह बौद्धिक रहेका छन् । प्रतीकात्मक र अभिव्यञ्जनात्मक कविता लेख्ने यिनी थोरैबाट धेरै भन्न सक्ने कवि हुन् । कविता लेखनका अलावा सम्पादनका क्षेत्रमा समेत उनको योगदान रहेको छ । जन नायक मदन भण्डारीको वृत्तचित्र समेत निर्माण गरेका छन् । आम सञ्चारमा सामाजिक समावेशिता खोज्ने र त्यसैमा लागि रहने स्रष्टाका कविता श्रवण गरेरै उनको कविता लेखनका बारेमा जानकारी प्राप्त गर्न सकिने धारणा राख्नु भयो ।

16387976_836343369840213_8199797234507042522_n
कवि नायक टङ्क उप्रेतीले आफूले सिर्जना गरि रहेका कवितामाथि विश्वास गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिनु भएकोमा आयोजकलाई धन्यवाद दिँदै आफ्ना कविता छोटा भएकाले धेरै समय पनि नलिने भन्नु हुँदै ‘डुङ्गा’, ‘मानिसको समुद्र’, ‘इतिहास’, ‘नयाँ इस्त्री’, ‘सभ्यताको टावर’ (पेरिसको एफेल टावर हेरेपछि लेखिएको), ‘माछापुच्छ्रे र म’, ‘काँचुली’ ‘रबरको रोटी’ र ‘भग्न चौतारो’ शीर्षकका अत्यन्त शक्तिशाली र सुन्दर कविता वाचन गर्नु भयो भने वाचन सहयोगी ठाकुर बेलबासेले ‘बुकमार’ शीषर्कको, प्रोल्लास सिन्धुलीयले ‘आगोको जरा’ शीर्षकको, रिता खत्रीले ‘३७२१’ शीर्षकको, आर.एम.डङ्गोलले ‘फिङ्गर प्रिन्ट’ शीर्षकको र प्रकाश सिलवालले ‘एक इनार अँध्यारो’ शीर्षकको गरी सबै अत्यन्त शक्तिशाली, विचार प्रधान र कलात्मक कविता वाचन गर्नु भयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार, समालोचक डा.षडानन्द पौड्यालले कविता भनेको सिर्जना हो, रचना हो । जुन स्रोतबाट कच्चा सामग्री ग्रहण गरे पनि त्यसलाई छोपेर त्यसलाई कलात्मक प्रस्तुति दिने क्षमता कविताले राख्नु पर्छ । सामाजिक विषय वस्तुलाई सशक्त रूपमा व्यक्त गर्ने, कच्चा सामग्रीलाई सुन्दर ढङ्गले कलात्मक एवम् प्रतीकात्मक रूपमा व्यक्त गर्ने सामथ्र्य कवि टङ्क उप्रेतीमा देखा पर्दछ । युगीन सन्दर्भलाई बोध गर्ने, दार्शनिक चेतना सम्प्रेषण गर्ने, युद्दविभीषिकाको प्रकटीकरण गर्ने र मुख्य विषयलाई छाडेर झिना मसिना कुराहरूलाई समात्ने प्रवृत्तिका प्रति कविले आक्रोश व्यक्त गरेका छन् । समकालीन सन्दर्भसँग जोडिएको विश्व सन्दर्भलाई कवितामा अभिव्यक्त गरिएको छ । हाम्रा समग्र आस्था, मूल्य र मान्यतालाई कुनै न कुनै बहानामा सडकमै छाडेर हिँडि रहेका र बिलाइ रहेका प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको पाइन्छ । कवितालाई मसिनो गरी केलाउँदा उनी कविताका कुशल शिल्पी हुन् र उनका कविता नेपाली कविता सिर्जनाका प्राप्ति हुन् । कवितामा उनले अन्तः सङ्गतिको सशक्त प्रयोग गरेका छन् । सरल भाषामा भन्न सक्ने क्षमता कविमा रहेको छ । आफूले आदर्श मानेका व्यक्तिले आधार बिर्सने गरेको प्रवृत्तिका प्रति आक्रोश व्यक्त गर्दै अबको नेतृत्व तल जमिनका जनता देख्ने खालको होस् भन्ने अपेक्षा गरिएको छ । आफूलाई प्राप्त भएको थोरै समयमा मान्छेले उचित व्यवहार गर्नु पर्ने आग्रह समेत कवितामा गरिएको छ । सूक्तिमयता, आस्था र विश्वासको डुङ्गा डुब्दैन भन्ने जस्ता वैचारिक दार्शनिक चेतना कवितामा शक्तिशाली बनेर आएको पाइन्छ । कवितामा समकालीन चेतनाको प्रतिविम्ब खिचिएको पाइन्छ । पछिल्ला दिनमा पनि कविको सिर्जना यात्रा निरन्तर रहि रहोस् र भाषिक मर्यादाको उल्लङ्घन नगरी अति वैयक्तिकताको प्रयोग पनि नगरी सिर्जना गरि रहन कविलाई शुभ कामना समेत दिनु भयो ।

प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्यिक कार्यक्रमको इतिहासमा अविरल जन साहित्य यात्राले महत्त्वपूर्ण स्थान निर्माण गरेको; साहित्य लेखन, प्रस्तुति र परिमार्जनामा स्रष्टालाई यो अभियानले ठुलो सहयोग गरेको पाइएको हुँदा यो अभियान निकै उपलब्धिमूलक रहेको मात्र होइन यसको अनुकरण अरू सङ्घसंस्थाले समेत गरि रहेका छन् भन्नु भयो । राम्रो कार्यको प्रतिस्पर्धा गराउने यो अभियानको उद्देश्यले समाजमा सकारात्मक प्रभाव समेत पारेको छ । एक प्रकारको स्कुलिङको काम समेत यसले गरि रहेको छ । सांस्कृतिक संस्थानले पनि विगत केही समयदेखि सहकार्य गरेर आफूलाई फैलाउने कार्य गरेको छ र यो सराहनीय रहेको छ । कवि टङ्क उप्रेतीका लघु र लघुत्तर आयामका कविता वाचन भए र सुनियो । सुन्ने स्रोतालाई पनि आजका कविताले एक प्रकारको प्रभाव छाड्न सफल भए । आजका कविताको व्यञ्जना शक्ति बढी प्रभावकारी र सामथ्र्यवान् रहेको छ । कवितामा स्वदशी र विदेशी परिवेश प्रस्तुत भएको छ । विचार महत्त्वपूर्ण कुरा हो भन्ने मान्यतालाई आत्मसात गर्दै दार्शनिक चिन्तन सहित लेखिएका कविता सरल र शक्तिशाली रहेका छन् त्यसैले कविको यो यात्रा निरन्तर रहि रहोस्, हार्दिक शुभ कामना छ भन्नु भयो ।

सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आफूलाई समर्पित गर्दै नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । सशक्त कवि टङ्क उप्रेतीका एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्त्त्विका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूू, टिप्पणीकार डा.षडानन्द पौड्यालज्यू, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको नेतृत्व गर्ने सङ्घसंस्थामा समेत सक्रिय, निष्ठाका साथ आफ्नो कर्ममा र सिर्जनामा लाग्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, ग्रामीण जन जीवनका विम्ब र प्रतीकलाई कवितामा प्रयोग गर्ने; समाजका विकृति, विसङ्गति र आदर्शको स्खलनका प्रति आक्रोश व्यक्त गर्ने; सूत्रात्मक एवम् सङ्क्षीप्तात्मक तर सशक्त कविता सिर्जना गर्न सक्ने कवि टङ्क उप्रेती विचारलाई कलाको सुन्दर लेपन गरी शक्तिशाली सम्प्रेषण गर्न सक्ने स्रष्टा हुन् । आजको यो विशेष समारोहमा यिनै स्रष्टाको व्यक्तित्व उजागर गर्ने र लेखकीय क्षमताका बारेमा परिचर्चा गर्ने कार्य हामीले सम्पन्न गरेका छौँ । यो कार्यक्रमको उद्देश्य पनि यही नै हो । हाम्रो निम्ता स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू र विद्वान व्यक्तित्वमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ भन्नु हुँदै आगामी चौँतिसौँँ शृङ्खलामा वयोवृद्ध कवि हर्ष स्याङ्बोलाई प्रस्तुत गरिने अनि सोको जानकारी पनि गराइँने व्यहोरा निवेदन गर्दै अध्यक्षज्यूको अनुमतिले समारोह समापन भएको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *