साहित्य सन्ध्याको विशेष समारोहमा पाँचओटा पुरस्कार तथा सम्मान अर्पण

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१४ औँ शृङ्खला तथा ‘वार्षिक पुरस्कार तथा सम्मान अर्पण’ विशेष समारोह चैत्र १४ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो भने पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ सुलोचना मानन्धर, वरिष्ठ साहित्यकार पवन आलोक, वरिष्ठ साहित्यकार रामबहादुर पहाडी, वरिष्ठ साहित्यकार एवम् पारिजात स्मृति प्रतिष्ठानका अध्यक्ष स्नेह सायमि, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, साहित्यकारहरू गङ्गा कर्माचार्य र राममणि पौडेल, सम्मानित व्यक्तित्वहरू डा.रवीन्द्र समीर, सीताराम नेपाल, हरिप्रसाद तिमिल्सिना, बन्दुमाया राई, खेमनाथ दाहाल, पुरस्कार चयन समितिका संयोजक प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल र सदस्य जयन्ती स्पन्दन, पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने साहित्यकार नर्मदेश्वरी सत्याल, डा.मदनप्रसाद सत्याल र नियात्राकार पोषरमण चापागाईँ अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

समारोहका प्रमुख अतिथि माननीय कुलपतिले ‘कार्यक्रमको शुभारम्भ भयो’ भन्ने वाक्यांश बोलेर समुद्घाटन गर्नुभएको उक्त विशेष समारोहमा स्रष्टा चयन समितिका संयोजक प्रा.डा.हेमनाथ पोडेलले रु.१५,०००।– राशिको मूल पुरस्कार ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित डा.रवीन्द्र समीर र रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हरिप्रसाद तिमिल्सिनाकोे व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै डा.रवीन्द्र समीर साहित्यसिर्जना, चिकित्सा, सामाजिक रूपान्तरण अभियान, समाजसेवाका क्षेत्रमा मात्र होइन आशावादी जीवनदृष्टि राख्ने सार्वजनिक व्यक्तित्व पनि हुनुभएको; समाजका हितमा अनेकानेक काम गर्नुभएको; साहित्यका विविध विधाका बारओटा कृति प्रकाशित गरिसक्नुभएको र त्यसमध्ये लघु कथाका मात्रै आठओटा सङ्ग्रह प्रकाशित गराउनुभएको; निबन्ध, उपन्यास, मुक्तकसङ्ग्रहका अलावा जनस्वास्थ्यसँग सम्बन्धित सयौँ उपयोगी लेखहरू प्रकाशित गराउनुभएको; सिर्जनामा संश्लेषित विचारका माध्यमबाट विन्दुमा सिन्धु पहिल्याउने काम गर्नुभएको, अनेकौँ पुरस्कार तथा सम्मानद्वारा सम्मान्ति भइसक्नुभएको, उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा मात्रै सातओटा अनुसन्धानमूलक शोधकार्य भइसकेका, म्यानमारको पाठ्यक्रममा समेत उहाँको लघु कथा समावेश भएको, भूकम्पका समयमा साठी स्थानमा आफैँ प्रत्यक्ष सहभागी भएर स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको, त्यसैगरी बाढीपीडितको समयमा तथा अहिलेको महामारीजन्य समयमा आपूmलाई जिम्मेवाररूपमा प्रस्तुत गरेर जनउपयोगी काम गरिरहनुभएको, स्वास्थ्यसँग सम्बन्धित लेखरचनालाई साहित्यिकता प्रदान गर्नुभएको, जनस्वास्थ्यसँग सम्बन्धित व्यक्तित्व भएर पनि समय निकालेर साहित्यमा विशिष्ट सेवा गरिरहनुभएको हुँदा उहाँ सम्मानलायक व्यक्तित्व ठानी २०७६ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको धारणा राख्नुभयो ।

त्यसैगरी नेपालगन्जलाई कर्मक्षेत्र बनाएर प्राध्यापन, वैचारिक सङ्गठनको नेतृत्व, साहित्य सिर्जना, साहित्यिक संस्थाको नेतृत्व आदि सबै क्षेत्रमा क्रियाशील रहेर सामाजिक रूपान्तरणका क्षेत्रमा आपूmलाई सशक्तरूपमा क्रियाशील गराइरहनुभएका, आफ्ना मातापिताको नाममा अक्षयकोष स्थापना गरेर साहित्यकारलाई सम्मान गर्ने गरिरहनुभएका अनुकरणीय व्यक्तित्व भएकाले श्री हरिप्रसाद तिमिल्सिनालाई २०७६ सालको ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।

‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित सङ्खुवासभाको पावाखोलामा जन्मिएर सानैमा अभिभावकत्व गुमाउन पुगेकी तर मेधावी विद्यार्थी भएकाले एसओएस बालग्राम काभ्रेमा हाल कक्षा दशमा अध्ययन गरिरहेकी बालसाहित्यकारसमेत रहेकी श्री बन्दुमाया राईको व्यक्तित्व तथा कृतित्वमाथि साहित्य सन्ध्याकी सदस्य देबु लुइटेलले प्रकाश पार्नुहुँदै पढाइमा, साहित्यसिर्जनामा, नृत्यमा, विनयशीलतामा, वक्तृतामा सदैव अब्बल रहेकी साहसी बालिका भएको चर्चा गर्नुभयो ।

‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित खेमनाथ दाहालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै नियात्राकार तथा पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने साहित्यकार पोषरमण चापागाईँले नियात्रासाहित्यमा साहित्य, सूचना र संवेग हुनु आवश्यक हुन्छ । तेरथुम जिल्लामा जन्मिएर सुनसरीको चक्रघट्टीमा स्थायी बसोवास गरिरहनुभएका साहित्यकार खेमनाथ दाहालले महाकाव्य, खण्डकाव्य प्रकाशित गराइसक्नुभएको र ‘सिकर्नी’ नियात्रासङ्ग्रह प्रकाशित गर्नुभएको छ र उहाँको नियात्रासङ्ग्रह नियात्रामा हुनुपर्ने तत्त्वले युक्त रहेको, व्यक्ति चिन्दै नचिने पनि कृतिले स्रष्टा चिनाएकोले पुरस्कारका लागि स्रष्टा चयन समितिसमक्ष नाम प्रस्ताव गरेको धारणा राख्नुभयो ।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित व्यक्तित्व डा.रवीन्द्र समीरले २०४६–४७ सालतिर नेपाल ल क्याम्पसमा हुने साहित्य सन्ध्यामा आपूm पनि सहभागी भएको र त्यसपछि भने अध्ययनको सिलसिलामा देशबाहिर रहनुपरेका कारण सहभागी हुन नपाएको, हालका दिनमा आफ्नो कार्यव्यस्तताले सहभागी हुने अवसर नदिएको भए पनि अहिले यो पुरस्कार आपूmलाई दिने घोषणाले पुराना दिनलाई जोड्न पुलको काम गरेको छ त्यसैले स्रष्टा चयन समितिलाई र साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु । वास्तवमा साहित्यकारले साहित्य केका लागि लेख्ने भन्ने स्पष्टता आवश्यक छ । साहित्यले समाजको यथास्थिति, समसामयिकता उजागर गर्ने र रूपान्तरणका पक्षमा वकालत गर्ने काम गर्नुपर्दछ भन्ने मेरो स्पष्ट दृष्टिकोण रहेको छ । सादा जीवन उच्च विचार भन्ने मान्यता राख्ने नदी जस्तै आफ्नो रफ्तारमा, उद्देश्यमा बगिरहेको, बढिरहेको साहित्य सन्ध्या जस्तो संस्था जसले लाखौँ पाठक र हजारौँ स्रष्टा जन्माएको छ त्यस्तो संस्थाले आपूmलाई सम्झेर, आपूmले गरेका कामको मूल्याङ्कन गरेर पुरस्कृत गरेकामा हार्दिक आभार व्यक्त गर्दछु । यो पुरस्कारले भविष्यमा यो क्षेत्रमा धेरै काम गर्नु छ, जस्तोसुकै प्रतिकूलतामा पनि देश र जनताका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यतामा थप जिम्मेवारी प्रदान गरेको छ भन्ने मैले ठानेको छु । म फेरि पनि यो सम्मानका लागि हार्दिक धन्यवाद भन्न चाहन्छु भन्नुभयो ।

‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित बन्दुमाया राईले पुर्बी पहाडको दुर्गम ठाउँबाट अवसरविहीन अवस्थामा पुगेकी मैले एसओएस बालग्राम काभ्रेको संरक्षकत्व प्राप्त गरेकी र पढाइका अलावा बालसाहित्य सिर्जनामा आपूmलाई लगाएर भविष्यनिर्माणको यात्रामा हिँडिरहेकीमा एकाएक यति महत्त्वपूर्ण पुरस्कार तथा सम्मानबाट सम्मानित हुनपाउँदा र यति विशिष्ट व्यक्तित्वहरूका साथमा उपस्थित हुनपाउँदा आजको दिनलाई आफ्नो जीवनकै विशेष दिनका रूपमा लिएकी छु र भविष्यमा पढाइ तथा साहित्यसिर्जनामा अझ खार्दै लैजाने छु भन्नुभयो ।‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हरिप्रसाद तिमिल्सिनाले नेपालगन्जमा कार्यक्षेत्र बनाएर आफ्नो कर्ममा समर्पित भइरहेको आपूmलाई खोजी गरेर नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा साहित्यिक वैचारिक अभियान चलाइरहेको साहित्य सन्ध्या जस्तो गरिमामय र ऐतिहासिक संस्थाले अर्थात् आफ्ना कर्मले नै स्थापित भएको संस्थाले गरेको यो सम्मानले म गौरवान्वित भएको छु र यस पुरस्कारले मलाई थप जिम्मेवारी दिएको महसुस गरेको छु भन्ने धारणा राख्नुभयो ।

‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित खेमनाथ दाहालले महाकाव्य, खण्डकाव्य र नियात्रासङ्ग्रह गरी जम्मा सातओटा कृति प्रकाशित गरेर आफ्नै सिर्जनामा रमाइरहेको म लुकेको स्रष्टालाई, भविष्यका लागि साहित्य लेखिरहेको अनि पुरस्कार तथा सम्मानको चाहना पनि नराख्ने मलाई कता कताबाट खोजी गरेर सम्मानित गरिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु र यो पुरस्कारले मैले थप जिम्मेवार भएर सिर्जना गर्नुपर्ने रहेछ भन्ने ठानेको छु भन्नुभयो ।

प्रमुख अतिथि माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्या २०३३ सालमा राजबिराजमा सञ्चालन गर्दा नेपाली भाषामा चेतनामूलक सिर्जना गर्ने अभियानका रूपमा थालिएको थियो र मूल स्वर चाहिँ परिवर्तन रहेको थियो । अहिले आएर यो संस्थाका हरेक कार्यक्रममा आपूm जोडिँदा यसको रूप, आकृति, गुणवत्तामा बढोत्तरी भइरहेको पाएको छु । यस संस्थाले प्रगतिशील साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । सन्ध्याका गोष्ठीहरू प्रगतिवादी लेखनका कार्यशाला बनेका छन् । यो संस्थाको यहाँसम्मको यात्रामा पारिजात, जनकप्रसाद हुमागाईँ जस्ता स्रष्टाको पनि योगदान रहेको छ । साहित्य सन्ध्यामा सिर्जना वाचन गर्नेहरू कानुन तथा न्यायसेवाका क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, प्राध्यापनका क्षेत्रमा, चिकित्साका क्षेत्रमा जताततै रहेर राष्ट्रको सेवा गरिरहेका छन् । साहित्य सन्ध्या विचार दिने संस्थाका रूपमा, प्रकाशन गर्ने संस्थाका रूपमा क्रियाशील रहेर दिशानिर्देश गर्ने प्रतिष्ठित संस्थाका रूपमा स्थापित भएको छ । यो संस्थाको श्रीवृद्धिमा समर्पित भएर सुरुदेखि हालसम्म लाग्ने सबै मित्रहरूलाई धन्यवाद छ । आजको यो विशेष समारोह भने असहज परिस्थितिमा प्रविधिका माध्यमबाट सम्मान अर्पण गर्ने समारोह बनेको छ । आज सम्मानित हुनुहुने पाँचै जना स्रष्टालाई यो पुरस्कारले प्रोत्साहित गर्ने छ भन्ने मेरो विश्वास रहेको छ किनभने सिर्जनाले नै स्रष्टालाई चिनाउने हो र सम्मान दिलाउने हो । ऐतिहासिक संस्था बनेको साहित्य सन्ध्याले आफ्नै स्रोतका दुईओटा र स्रोत जुटाएर तीनओटा पुरस्कार दिने महान र नौलो कार्य गरेको छ । उदारमना स्रष्टाहरूले अक्षयकोष राखिदिएर स्रष्टालाई सम्मान गर्ने जस्तो पवित्र कार्यमा सहकार्य गर्नुभएको छ । साहित्य सन्ध्याले स्रष्टा चयनका आधार र मानक बनाउने र त्यसैका आधारमा स्रष्टा चयन गर्ने, चयन समिति निर्माण गर्ने पारदर्शिता कायम राख्नु पनि आफैँमा सराहनीय कार्य रहेको छ । वास्तवमा स्रष्टाले पुरस्कार पाउनु भनेको प्रेरणा पनि हो र सामाजिक स्वीकृति पनि हो । आफ्नै कार्यव्यस्तताले साहित्य सन्ध्याका मासिक गोष्ठीहरूमा नियमित हुन सकिँदैन तापनि संस्था अविच्छिन्न क्रियाशील रहेको छ । महामारीजन्य प्रकोपमा पारिवारिक पीडा सहनुपरेर र आफैँ त्यसको सिकार भएर, चुनौती पार गरेर, नयाँ जीवन प्राप्त गरेर साहित्य सन्ध्याका अध्यक्ष अग्रज स्रष्टा राम विनय आजको यो विशेष समारोहको अध्यक्षता गरिरहनुभएको छ । यो संस्थालाई ऊर्जा मिलिरहोस्, संस्था अगाडि बढिरहोस्, अहिले पनि समाज बाङ्गो ढङ्गले हिँडिरहेको छ र यसलाई सोझो पार्ने अभियान साहित्यका माध्यमबाट गर्नु आवश्यक रहेको छ, त्यसमा साहित्य सन्ध्याले योगदान गरिरहोस् । साहित्य सन्ध्याको लक्ष्यप्राप्तिको अभियानमा नेपाल प्रज्ञाप्रतिष्ठान सहयोग गर्न सदैव तयार रहेको छ भन्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रविधिमैत्री विशेष समारोहमा पूर्वको इलामदेखि नेपालगन्जसम्मका स्रष्टाहरूको सहभागिता रहेको छ । यो विशेष समारोहमा सम्मानित हुनुहुने स्रष्टाहरूलाई चयन गरिदिने स्रष्टा चयन समितिको परिपक्व निर्णय धन्यवादलायक रहेको छ । प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, पुरस्कृत व्यक्तित्वहरू, सहभागी साहित्यकार मित्रहरू सबै सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्दछु । कोरोना महामारीको सिकार भएको मलाई प्लाज्माथेराफी गरेर बचाउने परिवारजन, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने, स्वास्थ्यका बारेमा चासो राख्ने तपाईँहरू सबैमा आभार व्यक्त गर्दछु । आजको यो प्रविधिमैत्री विशेष समारोह महत्त्वपूर्ण रहेको छ । यसको सफलताका लागि समर्पित साहित्य सन्ध्याका साथीहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । यसको इतिहासदेखि वर्तमानसम्मका र हालसम्म साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्राप्त गर्ने स्रष्टासम्मको सबै जानकारी कार्यक्रम सञ्चालकले दिइसक्नुभएकोले सबैमा हार्दिक आभार व्यक्त गर्दै आजको यो विशेष समारोह समापन भएको घोषणा गर्दछु भन्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.