काठमाडौं, असार ७, २०८२
आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा आयोजित साहित्य सन्ध्याको ४६४औँ मासिक शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा विशेष परिचर्चा र कविगोष्ठी सम्पन्न भएको छ। शनिबार अपराह्न १ बजे सुरू भएको उक्त समारोहमा साहित्यिक, शैक्षिक, तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहको अध्यक्षता साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भयो भने सञ्चालन सदस्य डा. भागवत आचार्यले गर्नुभयो। प्रमुख अतिथिका रूपमा प्रा.डा. हेमनाथ पौडेल तथा विशेष अतिथिहरूका रूपमा डा. फणीन्द्रराज निरौला, पोष चापागाईं, डा. गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, रत्ननिधि रेग्मी, त्रिलोचन आचार्य, साझा प्रकाशनकी सञ्चालक जयन्ता पोखरेल, खेमराज निरौला, ओमप्रसाद कोइराला, बैरागी जेठालगायतका व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो।
प्रमुख वक्ता प्रा.डा. हेमनाथ पौडेलले समाजवादी अवधारणा, समाजवादी यथार्थवाद, त्यसको दार्शनिक पृष्ठभूमि, माक्र्सवादको भूमिका, नेपाली साहित्यमा यसको प्रवेश, विकास र योगदानबारे विस्तृत रूपले चर्चा गर्नुभयो। उहाँले समाजवादी साहित्य सिर्जनाले वर्गीय शोषणको अन्त्य र समतामूलक समाजको परिकल्पनालाई साहित्यमार्फत उजागर गर्ने विचार व्यक्त गर्नुभयो। पौडेलले नेपालमा पञ्चायतकाल, जनआन्दोलन, सशस्त्र संघर्षलगायतका कालखण्डहरूमा साहित्यले खेलेको भूमिकालाई उदाहरणसहित प्रस्ट्याउनुभयो।
उहाँद्वारा प्रस्तुत गरिएको चौध पृष्ठ लामो गोष्ठीपत्रमा समाजवादको ऐतिहासिक विकासदेखि लिएर समकालीन नेपाली साहित्यमा देखिएका प्रवृत्तिहरूको आलोचनात्मक विश्लेषण गरिएको थियो।
कार्यक्रमको दोस्रो खण्डमा आयोजित कविगोष्ठीमा सञ्जय सोती, डम्बर पहाडी, रामकुमार पण्डित, डा. मनोज जोशी, प्रशान्त खरेल, रुक्मिणी भट्ट, भावना न्यौपाने, डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), रामप्रसाद प्रसाईं, रत्न उप्रेती, कात्यायन, गायत्रीकुमार चापागाईं, बलराम विष्ट, कुमार नेपाल, लक्ष्मण तिमिल्सिनालगायत कवि तथा स्रष्टाहरूले आ–आफ्ना कविता, गीत, गजल वाचन गर्नुभयो।
स्रष्टा सुशीला प्रधानाङ्गले वाचन गरिएका रचनामाथि समीक्षात्मक टिप्पणी गर्दै सिर्जनाहरूमा कृषकको श्रम, सामाजिक यथार्थ, प्रकृतिको चित्रण, र सामाजिक न्यायका विषय प्रभावशाली रूपमा उठान भएको बताउनुभयो। उहाँले केही रचनामा परिष्कारको आवश्यकता रहेको उल्लेख गर्दै कविगोष्ठीको स्तरीयताप्रति सन्तोष व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन मन्तव्य दिँदै सभाध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्याले विगत ४ दशकदेखि सामाजिक रूपान्तरणको लक्ष्यसहित नियमित साहित्यिक बहस तथा सिर्जनात्मक अभिव्यक्तिको प्लेटफर्म प्रदान गर्दै आइरहेको र आगामी महिनामा पनि विशेष विषयमा बहससहितको शृङ्खला आयोजना गरिने जानकारी दिनुभयो।
यसरी विशिष्ट व्यक्तित्वहरूको उपस्थिति, विचार र सिर्जनाले साहित्य सन्ध्याको ४६४औँ शृङ्खला थप समृद्ध र सशक्त बनाएको सहभागिहरूको धारणा थियो।
