रमेश पोखरेल, काठमाडौँ
मितिः २०७७।१०।३
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१२ औँ शृङ्खला पनि माघ ३ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षतामा सम्पन्न भयो ।
साहित्य सन्ध्याका उपाध्यक्ष एवम् कार्यक्रम सञ्चालक रमेश पोखरेलकै प्रविधि संयोजनमा सञ्चालन भएको उक्त गोष्ठीमा पिण्डेश्वर क्याम्पस धरानका पूर्व क्याम्पस पमुख प्रा.डा.भीम खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, वरिष्ठ कविहरू डा.राजेन्द्र अधिकारी र गोपाल बराल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई सिर्जनावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री आजको गोष्ठीमा पूर्वको धरानदेखि काठमाडौँसम्मका स्रष्टाहरूको मात्र सहभागिता रह्यो । प्रविधिले धेरै सहयोग नगरेकाले जोडिन सकिएन भन्ने गुनासो आइरह्यो । राजनीतिक माहोल बिग्रिएका कारण पनि र धेरैतिरका गोष्ठी एवम् कार्यक्रमहरूमा स्रष्टा विभाजित हुनुपरेको भन्ने जानकारीका कारणले सहभागिता पहिले जस्तो नभए पनि गोष्ठीमा गायत्री लम्साल, उर्मिला पन्त पाण्डेय, डा.राजेन्द्र अधिकारी, कात्यायन, गोपाल बराल, शान्ता मानवी, गोपालकुमार मैनाली, रमेश पोखरेल, प्रा.डा.भीम खतिवडालगायतले आआप्mना समसामयिक कविता, गीत, हाइकु वाचन गर्नुभयो ।
वाचित सिर्जनमाथि टिप्पणी गनृुहुँदै प्रा.डा.भीम खतिवडाले यतिखेर साहित्यमा भन्दा समाजसेवा नामको राजनीतिक व्यस्तता बढेको समय छ तापनि हामी स्रष्टाले आफ्नो काम गरिरहेके छौँ, खबरदारी गरिरहेकै छौँ, देशलाई केन्द्रमा राखेर सिर्जनाका माध्यमबाट विशिष्ट आस्था सम्प्रेषण गर्ने कार्य गरिरहेका छौँ तर पनि स्रष्टाका आबाज नेपाली राजनीतिले सुनिरहेको छैन ! साहित्य सन्ध्याले अविच्छिन्नरूपमा हरेक महिनाको पहिलो शनिबार सिर्जनाका माध्यमबाट रूपान्तरणका पक्षमा आबाज बुलन्द गरिरहेको ऐतिहासिक कर्मको आजको विशिष्ट समारोहमा प्रमुख अतिथिका रूपमा धरानबाटै सहभागी भएर वाचित सिर्जना सुन्ने, आफ्ना सुनाउने र आप्mना धारणसमेत राख्न पाउने अवसरले भने म हजुरबा हजुरआमाको काँधमा चढेर अग्लो अनुभूति गर्ने नाति जस्तो पनि भएको छु । मलाई गौरवानुभूति भएको छ ।
यहाँ वाचन गरिएका कवितामा कविता हराएको, इमान हराएको, निष्ठा हराएको, बाचाकसम हराएको मिठो व्यङ्ग्यप्रस्तुत भएको छ । दोषको मापन नै गर्ने हो भने कोही कम र कोही बढी होलान् तर दोषी सबै छन्, बोलेका कुरा पूरा भएनन् भन्ने चिन्तासहितको सरल र सुन्दर व्यङ्ग्य कवितामा आएको छ । हामीले हाम्रो आस्था र विश्वास भनेर पूजा गरेका अलपत्र ढुङ्गाहरू सांस्कृतिक रूपान्तरणको कार्यसम्पादन नै नगरी अलप भएको व्यङ्ग्यपूर्ण र सौन्दर्यपूर्ण सम्प्रेषण पनि कवितामा गरिएको छ । कवितामा नेपालको एकीकरण अभियानमा होमिएर सिङ्गो देश निर्माण गर्ने पृथ्वीनारायण शाहको गौरवपूर्ण गाथाको चर्चासहितको सम्मान पनि जाहेर गरिएको छ । महाभारतीय चरित्रलाई प्रस्तुत गरेर धन, सम्पत्ति र श्रीमती मात्र होइन देशलाई नै दाउमा राख्ने जुवाको खेल बनाइएको प्रति आक्रोशपूर्ण अभिव्यक्ति पनि कवितामा आएको छ । राजनीतिक अस्थिरताका नायकका छेपारीमा हान्ने आक्रामक विम्बका माध्यमबाट झगडियालाई खबरदारी गर्नुका साथै बिगार्नेले नै सच्याउनुपर्ने अभिव्यक्ति पनि कवितामा सम्प्रेषित भएको छ । थोरैबाट धेरै भन्ने अनि वर्तमानको यथार्थलाई निर्ममढङ्गले प्रस्तुत गर्ने हाइकु वाचन गरिएका छन् । तँछाडमछाड गर्ने, अहङ्कार प्रदर्शन गर्ने, महत्वाकाङ्क्षा पाल्ने अनि जनविश्वासमा घात गर्नेहरू माफीलायक छैनन्, जनताको नजरबाट गिरेपछि फेरि माथि आउन सक्तै सकिँदैन भन्दै यस्तो प्रवृत्तिका प्रति कठोरताका साथ प्रहार गर्दै गरिब, दुःखीका पक्षमा होइन साहुजी र ठेकेदारका पक्षमा काम गर्ने प्रवृत्तिका प्रति पनि कवितामा आक्रोश व्यक्त गरिएको छ । मदन भण्डारी र जीवराज आश्रितले रोपेको विचारको बिउ गरिब, दुःखी जनताका पक्षमा थियो तर अहिले त्यो बिउ उम्रिनै नसकेको प्रति कवितामा चिन्ताभाव व्यक्त गरिएको छ ।
कविताले देशको वर्तमान अवस्था बोलेका छन् । बिग्रिएको समयलाई सच्याउने र सुधार्ने अझै पनि वेला छ । आफैँ आफैँ लडेर तमासा देखाउने अनि दोष एकले अर्कालाई लगाउने औचित्यहीन पाखण्डपूर्ण प्रदर्शन अन्त्य गरिनुपर्दछ भन्ने आग्रह आजका कविताले गरेका छन् । यसैले आजको गोष्ठी खबरदारीको गोष्ठी हो । यतिखेर जनविश्वासलाई पेलेर आपूm आपूm रमाउने खेल होइन इमान देखाउने वेला हो, राजनीतिलाई आयआर्जन गर्ने व्यवसाय बनाउने होइन, ठग र तस्करसँगको गठजोड होइन भनेर तल तलबाट खबरदारी भइरहेको वेलामा माथिबाटै भत्काउने दुस्साहस भएको प्रति आक्रोश व्यक्त गरिएको छ । तसर्थ आजको गोष्ठी स्वभाविक, सान्दर्भिक र समसामयिक बनेको छ, उपलब्धिमूलक बनेको छ भन्नुभयो ।
गोष्ठीका अध्यक्ष गोपालकुमार मैनालीले आजको यो प्रविधिमैत्री गोष्ठीमा पूर्वको धरानदेखि काठमाडौँसम्मका स्रष्टाहरूको सहभागिता रहेको छ । स्रष्टाहरूले आआफ्ना कविता, गीत, हाइकु वाचन गर्नुभएको छ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिनचाहन्छु । किन हो आज धेरै स्रष्टालाई जोडिनका लागि प्रविधिले साथ नदिएको जानकारी पाइयो, अर्काे शृङ्खलामा हामी सबै जोडिने छौँ । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट समग्र समसामयिक विषयमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । प्रकृतिबाट पीडित हामी अप्राकृतिक प्रहारबाट समेत वर्तमानमा पीडित भएका छौँ तापनि हाम्रो मनमस्तिष्कलाई आज वाचित सिर्जनाले झङ्कृत तुल्याएका छन् । आस्थाको छाती पश्चातापमा जलेको वर्तमानमा हामी हाम्रा सिर्जनाका माध्यमबाट सशक्त आबाज सम्प्रेषण गरिहने छौँ । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
Comments are closed, but trackbacks and pingbacks are open.