साहित्य सन्ध्यामा ‘समसामयिक विषयसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री ४१० औँ विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डु

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१० औँ शृङ्खला मङ्सिर ६ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।


वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा विद्वान साहित्यकार डा.अमर गिरी दाङबाट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सन्ध्याका सल्लाहकार एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । धरानका साहित्यकार प्रा.डा.भीम खतिवडा, प्राज्ञ हरि तिमिल्सिना नेपालगन्ज, अग्रज साहित्यकारहरू प्रा.डा.खेम दाहाल, सीताराम नेपाल, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई कवितावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री गोष्ठीमा गोष्ठीका आचरसंहिताका बारेमा विधान आचार्यले प्रारम्भमै जानकारी गराउनुभएको थियो । गोष्ठीमा इलामदेखि नेपालगन्जसम्मका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार पुष्पमणि प्रधान नेपालगन्ज, बालकृष्ण लामिछाने इलाम, हरि तिमिल्सिना, मीना बराल र लेकप्रसाद प्याकुरेल नेपालगन्ज, कृष्ण सुवेदी, गोमा कटुवाल, ज्ञानु विद्रोही, प्रा.डा.खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल, प्रा.डा.जीवेन्द्र देव गिरी, विधान आचार्यलगायतले आआप्mना समसामयिक कविता, गीत, गजल वाचन गर्नुभयो ।


विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्य सन्ध्याले लगभग चार दशक लामो कालखण्डसम्म नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको नेतृत्व गरिरहेको र यसका अध्यक्ष राम विनय कोरोना महामारीको सङ्क्रमणमा पर्नुभएको जानकारी म आपूm स्वयम् अस्पतालको शैयामा रहेकै अवस्थामा पाएपछि ‘राम विनय सतिसाल हो, ढल्दैन’ भन्ने आत्मविश्वासका साथ कविता लेखेको अनुभूतिका साथ ‘राम विनय दाइ’ शीर्षकको कविता वाचन गर्नुभयो ।


वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि डा.अमर गिरीले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा दाङमा रहेको मलाई प्रमुख आतिथ्य ग्रहण गर्ने र आफ्ना धारणा पनि राख्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । कोरोनामहामारीलाई जित्न सफल हुनुभएका साहित्य सन्ध्याका अध्यक्ष राम विनयको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु र सन्ध्याका सल्लाहकारहरू प्रा.डा.जीवेन्द्र देव गिरी र विधान आचार्य, धरानका साहित्यकार प्रा.डा.भीम खतिवडा, कवि कृष्ण सुवेदीले कोरोलाई परास्त गर्न सफल हुनुभएकोमा बधाई ज्ञापन गर्दछु । वास्तवमा यो महामारी प्रकृतिको विनाशको उपजको रूपमा देखिएको विज्ञहरूको ठम्याइ छ त्यसैले बाँच्नका निम्ति हाम्रो आफ्नो सजगता आवश्यक छ । साहित्य सन्ध्याले नेपाली प्रगतिशील साहित्यको उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो अभियानलाई यहाँसम्म ल्याउन धेरै स्रष्टाले विशेष योगदान गर्नुभएको छ, त्यसमा पनि अभियानका अभियन्ता राम विनयको अविश्रान्त सक्रियता प्रशंसनीय रहेको छ । गोष्ठीमा संस्कृतका विख्यात साहित्यकार कालिदासको मेघदूतको अनुवादसमेत सुन्दरढङ्गले प्रस्तुत भएको छ । आजका अन्य कविताहरू विषयको विविधताले युक्त छन् । मुलुकमा देखापरेका समकालीन समस्याहरू बाह्य हस्तक्षेप, विसङ्गत परिवेश, साम्राज्यवादी–प्रभुत्ववादी उत्पीडन, नवऔपनिवेशिक उत्पीडन तथा राष्ट्रिय चेतनाका अभिव्यक्ति कवितामा समाहित भएर आएका छन् । नेपाली जनताका अनेक सङ्घर्षका माध्यमबाट स्थापित लोकतन्त्रले परिवर्तनको अनुभूति गराउनसकेको छैन भन्ने यथार्थलाई पनि कविताले गम्भीरताका साथ उजागर गरेका छन् । राजनीतिक विकृति र विसङ्गतिलाई लिएर कविता आएका छन् । सत्तारुढ पार्टीभित्र र अन्य पार्टीमै पनि देखिएका अन्तरविरोधले सिङ्गो नेपाली समाज प्रभावित हुने चिन्ता कवितामा अभिव्यक्त भएको पाइन्छ । पार्टीमा हुर्किएको आन्तरिक द्वन्द्वकाप्रतिको सरोकार पनि कवितामा उजागर भएर साहित्यसिर्जना राजनीति निरपेक्ष हुँदैन भन्ने पुष्टि गरिएको छ । नेपाली राजनीतिमा आदर्श र मानवीय मूल्य स्खलन भइरहेको अवस्थाका प्रति गम्भीर चिन्ता प्रकट गरिएको छ र सामाजिक रूपान्तरणका लागि यो अत्यन्त बाधक पक्ष हो भन्ने देखाउन खोजिएको छ । आजका कविता सुन्दर समाजनिर्माणका आकाङ्क्षी; सत्यम्, शिवम् सुन्दरम्का आकाङ्क्षी रहेका छन् । केही कविताको शिलपविधानको पक्षमा भने थप गम्भीर साधना अपेक्षित देखिन्छ । विषयवस्तुलाई कति हदसम्म स्रष्टाले कलात्मक पार्नसक्छ त्यसले सिर्जनाको गुणवत्ता स्थापित गर्दछ, त्यसका लागि साधना र अभ्यास आवश्यक हुन्छ । सुन्दर सिर्जनाले सामाजिक रूपान्तरणमा सहयोग पुर्याउँछ । नेपाली समाजको समग्र रूपान्तरण गर्न स्रष्टाको विशेष र महत्त्वपूर्ण योगदान हुन्छ । गलतलाई डटेर गलत नै र सहीलाई सही भन्नसक्नु स्रष्टाको दायित्व हो । यसलाई पाश्चात्य विद्वान ग्राम्सीले स्रष्टाको अग्र्यानिक चेतना भनेका छन् र यो कुरा हामी स्रष्टाको हकमा पनि लागू हुन्छ । समग्रमा आजको यो विषेश समारोह स्तरीय रहेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।


साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री गोष्ठीमा पूर्वको इलामदेखि, धरान हुँदै दाङ, नेपालगन्जसम्मका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा साहित्य सन्ध्याका सल्लाहकार एवम् वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । स्रष्टाहरूले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको छ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिनचाहन्छु । त्यसैगरी कोरोनामहामारीको सिकार भएर म आपूm उपचाररत रहँदा यहाँहरू सबैले मेरो स्वास्थ्यस्थितिका प्रति चिन्ता जाहेर गर्नुभएको, स्वास्थ्यलाभको कामना गर्नुभएको मैले जानकारी पाएँ, यो चिन्ता र कामनाका प्रति म हार्दिक आभार व्यक्त गर्दछु । आजको यस शृङ्खलामा प्रमुख अतिथिको रूपमा दाङबाट जोडिएर वाचित सिर्जनामाथि मसिनोगरी टिप्पणीसमेत गरिदिनुहुने डा.अमर गिरीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट समग्र समसामयिक विषयमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । आज उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, स्रष्टा र उहाँहरूका सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.